Filed Under:  विचार | टिप्पणी

नेपाली भाषाको स्वत्वरक्षा र समृद्धिका लागि सतर्कता र सङ्कल्प

19th September 2015   ·   0 Comments

Narayan nepal- नारायण नेपाल

प्रसङ्ग
भाषा र भावमा भाव मुख्य हो र भाषा गौण हो भन्ने हृदयवादी मान्यताका कारण सधैं भाषाले भावको दासता सहनुपरेको हुन्छ । त्यसैले युगौंदेखिका मानवीय भावहरु जस्ताको तस्तै छन् तर भाषाहरुले अनेकौं काँचुली फेरिसके । भाषामा यति धेरै परिवर्तन आउनुको प्रमुख कारण यही हो । यात्रा, सम्पर्क, नयाँ आविष्कार र परिघटनाहरु पनि सँगसँगै भाषिक परिवर्तन र विस्तारका कारक तत्वहरु हुन् ।

भाषाप्रति सचेत मानव समाजले भाषामा आएका स्वाभाविक एवं मर्यादित परिवर्तन (अपभ्रंश) हरुलाई सहजै पचाउँदै आएको भएपनि हठात् कुनै एउटा अप्राकृतिक विधिको निर्णयबाट शासित भाषापरिवर्तनलाई सहन सक्दो रहेनछ । त्यसैले हाम्रा गोष्ठीहरुमा शब्दविकारहरुप्रति प्रायः औंला ठड्याइए । कति समालोचकहरु स्रष्टाका आँखी पनि भए, कति गोष्ठीका सहभागी भाषाशुद्धिको प्रसङ्ग निकालेर आफ्नो प्रवचनको समय बढाउन खोज्ने समीक्षकहरुसित झिंजिए र रिसाए पनि । तिनै सचेतता र तिनै झिंज्याहटको प्रतिफल हो यो संगोष्ठी भन्दा कत्ति फरक पर्दैन ।

कुनै एउटा यज्ञ आयोजित र सम्पन्न हुन त्यसका कर्ताहरुमा सात्विक उत्साह प्रबल हुनुपर्छ । यो आयोजना, यो अनुष्ठान आयोजक तथा सहभागीहरुको जागरणको पूर्व सङ्केत हो । उपस्थित सबैले आ–आफ्नो कर्तव्य पूर्ण विधिपूर्वक निर्वाह गरियो भने भाषिक पुनर्जागरणको फूल दाङमा सर्वप्रथम फुल्छ र त्यसको सुवास भाषिक सभ्यताको सन्देश बोकेर सम्बद्ध भाषा प्रदेशहरुसम्म फैलन्छ ।

यस सङ्गोष्ठीबाट यथासम्भव बढी उपलब्धिको विश्वास बोकेर अब लागौं भाषा, स्वभाषा (नेपाली), प्रयोगका गुण, अवगुण, राष्ट्रभाषा नेपाली प्रयोगको अहिलेको अवस्था र सुधारका प्रयत्नहरुतर्फ :

१) भाषा :
जन्मिनेबित्तिकै शिशु रुन्छ, बस्, त्यहींबाट भाषिक प्रयोग सुरु हुन्छ । रोदन शिशुको अमूर्त भाषा हो, वर्णहरुको निर्मल ध्वनि नखुलेको अव्यक्त अभिव्यक्ति हो । कुनै दिन शोध गर्न सकिएछ भने अलग–अलग महादेशका बेग्लाबेग्लै मातृभाषी समुदायका शिशुहरुका रोदनहरुलाई उनीहरुका पछि विकसित हुने भाषास्वरुपका पूर्व पृष्ठका रुपमा पक्कै विश्लेषण गरिएला । त्यसपूर्व पनि शिशुको रुवाइलाई उसको पहिलो भाषा मान्दा कसैलाई पनि अनुचित लाग्दैन ।

अहिलेको नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा २०५२ मा मुद्रित नेपाली बृहत् शब्दकोशले ‘भाषा’ शब्दको अर्थ ‘मनका भाव वा विचार अरुछेउ प्रकट गर्ने सार्थक शब्द वा वाक्यहरुको समूह, आशय वा भाव व्यक्त गर्ने सार्थक ध्वनिसमूह, वाणी, बोली’ भनेर गरेको छ । त्यस्तै अक्स्फोर्ड एडभान्स्ड लर्नर्स डिक्शनरी (२०००) ले पनि ‘The System of communication in speech and writing that is used by people of a particaler country’ भनेर’Langugge of country’ शब्दको सामान्य अर्थ गरेको छ ।

दुवैको आशयमा भिन्नता छैन तर भाषाको नेपाली परिभाषा बढी व्यापक र पूर्ण छ । भाषाका दुवैथरी लक्षणहरुको सामान्य अर्थ पारस्परिक भावना आदानप्रदान गर्ने कथ्य वा लेख्य माध्यम भाषा हो भन्ने बुझिन्छ । भाषिक परिवार अनुसार सबैका वर्ण ध्वनि लिपि आदिमा वैषम्य भए पनि सबैको कार्यचाहिँ भावनाको आदान–प्रदानद्वारा मानवीय व्यवहारलाई सुगम र सहज बनाउनु नै हो ।

२. नेपाली भाषा (स्वभाषा) :

नेपाल राष्ट्रका बहुसंख्यक जनताले बोल्ने, व्यवहार गर्ने र सरकारी अड्डाखाना तथा अन्य सामाजिक संघ संस्था आदिका कार्यालयहरुमा चलेको प्रमुख भाषा अर्थात् नेपाल राज्यको सर्वाधिक प्रचलनमा रहेको भाषा नै नेपाली भाषा हो । नेपाली भाषा भूगोलमा (खास गरेर नेपालभित्र) प्रयोगमा रहेका मुख्य ‘चारवटा परिवार (भारोपेली, भोटबर्मेली, द्राविड र आग्नेय) मध्ये भारोपेली परिवारभित्रको सर्वाधिक बढी प्रयोगक्षेत्र भएको नेपाली भाषा संस्कृत भाषाको कोखबाट जन्मिएको हो । कालक्रमले मानवीय व्यवहार, व्यवसाय, वक्ताहरुका विभिन्न संस्कृति, आचार–विचार, यात्रा, आजीविका, भौतिक–राजनीतिक परिवर्तन आदिले यसमा अनेकौं स्रोतबाट विभिन्न शब्दहरु मिसिन आइपुगे पनि यसले आफ्नो मौलिक स्वरुप र स्वभाव गुमाएको छैन । संसारका भाषाहरुमध्ये पहिलो लेख्य रुप भेटिएको संस्कृत भाषाबाट अनुप्राणित नेपाली भाषाको आफ्नो सुव्यवस्थित प्रयोग विधि, मिठास र विशेषता रहेको छ । आजको यो गोष्ठी यसै भाषाको प्रयोगमा वर्तमानले उभ्याएको अन्योल निराकरणतर्फ अभिलक्षित छ ।

३. नेपाली भाषाले भोग्नुपरेका असहजताहरु :

राष्ट्रभाषा नेपालीप्रति कतै राज्य संवेदनशील नहुनु र कतै अनुचित हस्तक्षेपमा प्रयत्नशील हुनुले अहिले यो भाषा अनाथजस्तै हुन पुगेको छ । यस प्रसङ्गमा एकजना भाषाप्रेमी भाषाविद् प्रा.डा. माधवप्रसाद पोख्रेलले ‘नेपाली भाषाको हिज्जे र समाधानका स्थायी प्रयत्न’ शीर्षकको कार्यपत्र (२०६७, ९, २६) मा प्रयुक्त यो अनुच्छेद मात्र पनि पर्याप्त छ ः–

‘नेपालमा शिक्षामन्त्री, शिक्षासचिव, विश्वविद्यालयका कुलपति, उपकुलपति, शिक्षाध्यक्ष, कुलसचिव, सङ्कायका अध्यक्ष, विभागीय प्रमुख प्राध्यापक, शिक्षाधिकारी र शिक्षक हुन अनि प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति र प्रज्ञा परिषद् तथा प्राज्ञसभाका सदस्य हुनचाहिँ हिज्जे शुद्ध लेख्न जान्नुपर्दैन, पाँचौं कक्षा पास हुन चाहिँ हिज्जे शुद्ध लेख्न जान्नुपर्छ, जानेन भने नम्बर काटिन्छ ।’

एकातिर राज्यका वरिष्ठ भाषारक्षकहरु भाषाप्रति पटक्कै जिम्मेवार नभएको यो अवस्था छ भने अर्कोतर्फ भाषाका बाँकी प्रयोक्ताहरुमा पनि ‘नेपाली भाषा जस्तो लेखे–बोले पनि हुन्छ, भाषा भनेको भाव सम्प्रेषणको बाह्य आधार मात्र हो, भाव बुझिएपछि लेखाइ बोलाइको शुद्धता वा अशुद्धिले कुनै अर्थ राख्तैन’ भन्ने अपरिपक्व सोचले पनि यो भाषा बिग्रेको छ । नमुनाका लागि हाम्रो सञ्चार (श्रव्य–दृश्य) क्षेत्रले प्रायः प्रयोग गर्ने गरेका कथ्य र लेख्य रुपमा केही अशुद्ध शब्द–ध्वनिहरु र तिनका शुद्ध रुपको यो सूची हेरौं–

प्रयुक्त रुप                   हुनुपर्ने रुप
अग्रीम                      अग्रिम
अत्याधिक                अत्यधिक
अदक्ष                       अध्यक्ष
अनाधिकृत              अनधिकृत
आतिथ्यता                आतिथ्य
आध्यात्म               अध्यात्म
उपलक्ष                   उपलक्ष्य
एन                            ऐन
कार्वान्वयन          कार्यान्वयन
कृत्तिम                  कृत्रिम
ग्राहस्थ                   गार्हस्थ्य
चीर शान्ती             चिर शान्ति
टुक्राइएका              टुक्र्याइएका
दुरावस्था                      दुरवस्था
दोश्रो/दोर्सो               दोस्रो
दृष्य                      दृश्य
धैर्यता             धैर्य/धीरता
प्रमूख                   प्रमुख
प्रतक्ष                    प्रत्यक्ष
पुनरावलोकन          पुनरवलोकन
पुनस्र्थापना              पुनःस्थापना
बार्ता                    वार्ता
बासठ्ठी                बैसठ्ठी
मुल्याङ्कन              मूल्याङ्कन
लचक                   लचिलो
व्यावसाय                        व्यवसाय
विध्यालय/उध्योग             विद्यालय/उद्योग
श्रोत                                   स्रोत
सम्वाद/सम्बाद                  संवाद
संयमता                           संयम
सामीप्यता                     सामीप्य
सुपुर्दगी                           सुपुर्द
सौन्दर्यता                    सौन्दर्य/सुन्दरता

उपर्युक्त केही शब्द नमुना बाहेक बोलाइ–लेखाइमा प्रयोग हुने गरेका केही पदावली र वाक्य वाक्यांशहरु पनि प्रायः खट्किन्छन्–
हुने गरेका                                                                   हुनुपर्ने
अन्तिम दाह संस्कार ।                                               अन्त्येष्टि/दाहसंस्कार ।
सान्त्वना हुनुभएको छ ।                                          चौथो हुनुभएको छ/सान्त्वना पुरस्कार पाउनुभएको छ ।
हुन गइरहेको छ ।                                                     हुँदैछ/भइरहेको छ/हुन लागेको छ ।
‘पाल टाँसेर बस्नुभएको छ’ (हरिदेवी रोकाया बीबीसी, डा.गोविन्द के.सी.को आमरण अनसन प्रसङ्ग ०७२ भाद्र १४)           ‘टाँसेर’को सट्टा ‘टाँगेर’ हुनुपर्ने ।

‘य’ र ‘व’ वर्णको प्रयोगमा त अझ मनपरी छ । २७ वटा उपसर्गका जम्मा ३९ वटा अक्षरहरुको हेक्का राख्न नसक्दा भाषामा धेरै त्रुटि हुने गरेका छन् । तीमध्ये पनि ‘वि’ र ‘अव’ उपसर्गका तीन अक्षर मात्र शुद्ध नलेख्दा ‘ब’ र ‘व’ लेखाइ ज्यादै त्रुटिपूर्ण हुने गरेको छ । (स्थानीय पत्रपत्रिका उल्लेख्य)

यसरी एकातिर माथिदेखि तलसम्म भाषिक सतर्कता घटेको छ भने अर्कातिर नेपाली भाषा–साहित्य र इतिहासको संरक्षणको दायित्व बोकेको नेपाल प्रज्ञा प्रतिष्ठानको भाषिक गोष्ठी (२०६७, मङ्सिर) र २०६९ श्रावणमा नेपाल सरकार मन्त्रीस्तरको निर्णयबाट प्रसारित ‘वर्णविन्यास प्रयोगसम्बन्धी जानकारी’पछि औपचारिक तहपिच्छेका बेग्ला–बेग्लै वर्णविन्यासका निर्देशनहरु पालना गराइँदै छन् । दाजुले आफूले जानेको वर्णविन्यास सिकाउन खोज्दा भाइ–बहिनी दुवै दाजुसित लड्न तम्सिन्छन् ।

भाषामा बढ्दै आएको यो अव्यवस्थाले हाम्रो गरिमा झन्–झन् होचिनुसिवाय अर्को परिणाम हुँदैन । अहिले हाम्रा युवाहरु युरोप–अमेरिकातिर पाइला राख्न जि.आर.इ. र टोफेलको पढाइमा लाखौं रुपियाँ खर्चँदै छन् । विदेशीहरुमा त्यहाँसम्मको भाषिक सतर्कता छ, उनीहरु आफूसरह बोल्न, लेख्न नसक्नेलाई भुइँ कुल्चनेसमेत न्यानो स्वीकृति दिदैनन् । यहाँ पनि विभिन्न प्रतिवेदन तथा शोधप्रबन्धहरुमा शब्दकोश हेरी–हेरी अंग्रेजीलाई शुद्ध पार्ने पूर्ण प्रयास हुन्छ तर नेपाली कामचलाउ भए पुग्छ’ भन्ने मान्यताले जितिसकेको स्पष्टै देखिन्छ ।

दाङमै आयोजित एउटा भाषिक गोष्ठीमा सम्बद्ध सरकारी क्षेत्रका प्रमुख व्यक्तिले नै नेपालीका ‘क्ष त्र ज्ञ’ जस्ता संयुक्त अक्षरहरु हटाए हुँदैन ? भनेर सहज जिज्ञासा राखेको घटना यस प्रसङ्गको एउटा स्मृतिचित्र हो । यसरी हेर्दा देशभित्रै नेपाली भाषाले दोस्रो दर्जा पाउन थालेको छ र भाषालाई यसरी बेलगाम छोडिदिने हो भने आजका सन्धि सम्झौताका अभिलेखहरु एकाध शताब्दीपछि कुनै बाहिरी विशेषज्ञ झिकाएर पढाउनुपर्ने स्थिति आउँछ र आजका सर्जकहरुका बौद्धिक व्यायामहरु पुस्तकालयका दुर्बोध्य भारहरुका रुपमा ढाँडमा कोचिएर थन्किने दिन पनि धेरै टाढा हुँदैन ।

४. जननी भाषा संस्कृतमा भाषिक मर्यादा :

नेपाली भाषाको प्रयोगमा आएको छाडापन उचित होइन भन्नका लागि यसको मातृभाषाका मनीषीहरुद्वारा सन्तति शिक्षाका निम्ति दिइएका उपदेशहरु यहाँनेर प्रासङ्गिक छन्–

– संस्कृत व्याकरणका तीनवटा मुनिहरुमध्येका पहिला पाणिनिले ‘पाणिनीय शिक्षा’मा भने–
‘कुतीर्थादागतं दग्धमपवर्णञ्च भक्षितम्
न तस्य पाठे मोक्षोऽस्ति पापाहेरिव किल्विषात् ।।
सुतीर्थादागतं व्यक्तं स्वाम्नायं सुव्यवस्थितम्
सुस्वरेण सुवक्त्रेण प्रयुक्तं ब्रह्मराजते ।।
अनक्षरमनायुष्यं विस्वरं व्याधिपीडितम्
अक्षता शस्त्ररुपेण वज्रं पतति मस्तके ।।

उपर्युक्त तीनवटा पद्यको क्रमशः भाव–
‘विधि र मर्यादा बिग्रेको पाठले भाषाको लक्ष्य सफल हुँदैन, राम्ररी पाठ गरियो (उच्चारण गरियो÷लेखियो भने ब्रह्मरुप आनन्द प्राप्त हुन्छ र अक्षर पूरै छुटाउँदा आयु घट्छ, स्वर बिगार्दा रोगी भइन्छ तर अक्षत (शुद्ध) प्रयोग भयो भने प्रभावकारी हुन्छ’ भन्ने हो । अनि पाणिनि सदृष्टान्त सुझाव दिन्छन्–

व्याघ्री यथा हरेत् पुत्रान् दंष्ट्राभ्यां न च पीडयेत्
भीता पतनभेदाभ्यां तद्वद् वर्णान् प्रयोजयेत् ।।

उद्धरणको पूर्ण अर्थ हो–
‘जसरी बघिनीले आफ्ना छाउरा सार्दा उनीहरुलाई नदुख्ने र बाटामा नखस्ने गरी सावधान भएर लाने–ल्याउने गर्छे, त्यसैगरी वर्णहरुलाई पनि कुनै अंश नछोडी, कुनै ध्वनि नबिगारी उच्चारण गर्नुपर्दछ ।’

पाणिनिपछि अर्का आचार्य महर्षि पतञ्जलि भन्छन्– ‘एकः शब्दः सम्यग्ज्ञात ः सुप्रयुक्त ः स्वर्गे लोके च कामधुग् भवति ।’ (महाभाष्य)

यसको अर्थ स्पष्टै छ– एउटा शब्द पनि राम्ररी जानेर उचित प्रयोग गर्न सक्नेले यस लोक र परलोक दुवैमा इच्छित प्रतिफल पाउँछ ।

हुन पनि मानिस कुनै सभामा बोल्न थाल्दा, कुनै यात्राहरुमा भेटिंदा पहिलो शब्दबाटै चिनिन थाल्छ । उसका ज्ञान, अभ्यास, संस्कार– शिक्षा र जन्मे–हुर्केको ठाउँसमेत उसले प्रयोग गरेका एक–दुई शब्दभित्रै व्यक्त भइसक्छन् ।

त्यस्तै एक जना पिताले आफ्ना छोरालाई दिएको यो अर्तीले पनि समुचित भाषाप्रयोगको महत्वलाई समर्थन गर्छ–

यद्यपि बहु नाधीषे तथापि पठ पुत्र व्याकरणम् ।
स्वजन स्वजनो माभूत्, सकलं शकलं सकृत् शकृत् ।।

अर्थात् ‘ए ! छोरा, यदि धेरै पढ्न सक्दैनस् भने पनि व्याकरण त पढ् ताकि आफ्नो मान्छे भन्नुपर्दा कुकुर, सम्पूर्ण भन्नुपर्दा टुक्रा र एकपटक भन्नुपर्दा दिसा (मल) भन्ने अर्थ लाग्ने उच्चारण नहोस् ।’

यसैगरी भारतका एकजना संस्कृत कविले–

‘वाण्येका समलङ्करोति पुरुषं या संस्कृता धार्यते ।’ (परिष्कृत भाषाले मात्र व्यक्तिलाई विभूषित गर्छ) भनेर भाषा परिष्कारलाई सर्वाधिक महत्व दिएका छन् । पुर्खाहरुले यति धेरै सतर्कतापूर्वक जोगाएर राखेको आफ्नो भाषिक परम्परालाई संरक्षण र पालन गर्न नसक्नु हाम्रो गतिछाडा प्रवृत्तिकै परिचायक हो । त्यसैले अब जागरण अपरिहार्य छ, आवश्यक सुधारका निम्ति सचेतता अनिवार्य छ ।

५. भाषिक समुत्थानका लागि आवश्यक प्रयत्नहरु :

सर्वप्रथम नेपाली भाषाको माउभाषा (संस्कृत)सित नयाँ पुस्ता परिचित हुनैपर्छ । कुनै पनि भाषाको मातृगुणको पहिचान र सुरक्षा नहुँदासम्म स्वत्वरक्षा सम्भव छैन । तसर्थ अब विलम्ब नगरी विगतको द्वन्द्वकालदेखि विच्छिन्न भएको संस्कृत पठन–पाठनको परम्परालाई अझ परिमार्जित रुपमा आरम्भ गर्न अत्यावश्यक छ ।

– अब बालबालिकाहरुलाई भाषा सिकाउँदा स्वर–व्यञ्जन सिकाउने बेलादेखि नै उच्चारणमै भेद गरेर ह्रस्व, दीर्घ, व ब आदि बुझाउने प्रयत्न गर्नुपर्छ र य र ल व वर्णसित अन्य सबै व्यञ्जन संयुक्त गरी क्य क्र क्ल क्व को ढाँचामा सिकाउनै पर्छ । एकैचोटि शब्द पढाए पुग्छ भन्ने मान्यताले भ्रान्त भएकाहरुलाई वर्णहरुको सुशिक्षण अत्यन्त उपयोगी हुनेछ ।

– सबै सञ्चार गृहहरुले कानुनी सल्लाहकार वरण गरेजस्तै आफूबाट प्रसारित हुने भाषा पठनीय र अनुकरणीय बनाउन आवश्यक संख्यामा भाषाविज्ञहरु वरण गर्ने र सहयोग लिने प्रचलनमा वृद्धि गर्नुपर्छ र श्रव्य–दृश्य सञ्चारमाध्यमका व्यवस्थापकहरुले आफ्ना प्रसारण नियमित, निरवच्छिन्न सुन्ने, हेर्ने र गल्ती भएको देखिएमा तत्काल सच्याउने र क्षमायाचनासमेत गर्ने शिष्टता प्रदर्शन गर्न सक्नुपर्दछ । साथै यस क्षेत्रमा व्यक्ति नियुक्त गर्दा लिखित र मौखिक भाषापरीक्षा लिनैपर्छ ।

– गाउँ–नगरका भौतिक संरचनाहरुको निर्माणमा नक्सापाससहित स्वीकृति लिने प्रचलनको विस्तार भइरहँदा गाउँसहरमा सार्वजनिक रुपमा प्रयोग हुने सूचना, व्यावसायिक विज्ञापन आदिको भाषा प्रयोग हुनुपूर्व हेर्ने निकाय र परिपाटीको थालनीका लागि पनि अब माग उठ्नुपर्छ, सभ्य परम्पराको लागि अलिकति पहल र आत्मानुशासन सभ्य नागरिकहरुले देखाउनै पर्छ ।

– हामी वक्ताहरुले औपचारिक रुपमा बोल्दा विकल्प हुँदासम्म सकभर एउटै भाषाको प्रयोगबाट आफ्नो भनाइ पूरा गर्नुपर्छ । कहिलेकाहीं इतर भाषाको ज्ञान पनि आफूमा छ भनेर देखाउने प्रलोभनमा वक्ताहरुले आफ्नै भाषामा आफ्नो दरिद्रता देखाइरहेका हुन्छन् । भरसक त्यो स्थितिबाट राम्रो वक्ताले आफूलाई बचाउनै पर्छ ।

– सार्वजनिक रुपमा प्रयोग हुने गीत–संगीत आदि भाषासामग्री प्रसारणपूर्व उचित–अनुचित हेरी अनुमति दिने निकायकोा व्यवस्था हुनुपर्छ ।

– आफू र आफूसम्बद्ध कार्यक्षेत्रमा भाषाको औपचारिक प्रयोग गर्दा कम्तीमा हाल प्रचलनमा रहेका प्रतिष्ठित शब्दकोशहरुको सीमालाई ननाघ्ने (यथावत् अनुसरण गर्ने) सङ्कल्प गर्न सकियो भने मात्र पनि भाषिक सभ्यतामा अलिकति रोगन थपिन्छ ।

र, अन्त्यमा सबैतिर यस्तै भाषिक पुनर्जागरणहरु थप्दै एउटा बृहत् तथा सार्थक राष्ट्रिय भाषासम्मेलन गरी सकेसम्म सर्वमान्य नत्र अत्यधिक जनमान्य भाषाविधान बनाएर लोकलाई त्यसमा दीक्षित गर्ने गरी मर्यादापालनको शिष्ट परम्परा बसाल्नुपर्छ र आफ्नो भाषिक निधिमाथि गौरव गर्ने स्थितिका लागि सचेत वर्ग जागृत र क्रियाशील हुनुपर्छ । अस्तु !

प्रस्तुत विचार पत्र मोती जयन्तीको अवसरमा २०७२ भदौ २६ गते शनिबार सर्वोदय पुस्तकालय तथा वाचनालयको आयोजनामा घोराही, दाङमा हुने ‘भाषिक सचेतना संगोष्ठी’का लागि तयार गरिएको हो ।

–लेखक नेसं विश्वविद्यालयका सह–प्राध्यापक हुनुहुन्छ ।)

By

Readers Comments (0)