Filed Under:  कथा, सौगात विशेष

तीजको तिलहरी | दीपक घिमिरे

19th September 2015   ·   0 Comments

Dipak‘ए बुढा, यो तीजमा तीन आनाको भए पनि तिलहरी बनाइदिन्छु भनेका हौ, तीज आउन एक हप्ता छैन, खै चालचुल गर्दैनौ तो ।’

घरको पेटीमा बसेर मकै खोसेल्दै गरेकी बसन्तीले ठट्टै ठट्टामा आफ्ना माग फेरि दोहो¥याई । पैला त रिसले कन्सिरी ताते, मुखमा गालीका शब्दहरु निस्कनै लागेका थिए, तर फेरि सोचें– हो त नि । भनेकै त हुँ यो तीजमा पक्का भनेर ।

‘यो साल नक्कली सुनको तिलहरी किनी दिन्छु, अर्को साल पक्का भयो ।’

‘भो त्यो जाबो नक्कली लाउनु भन्दा त नलाउनु बेश । सक्छौ भने सक्कली किन्देउ होइन भने पर्दैन ।’

बसन्ती अलि रिसाहा नै छे । घरको अवस्था उसलाई राम्रोसँग थाहा छ । तर पनि कहिलेकाहीं बाध्यता बुझ्दैन । अनि मलाई झनक्क रिस उठ्छ । आज पनि रिस उठेकै हो तर रहर उसको हो अनि बाध्यता मेरो भएकाले म झुक्नुपर्ने थियो । र झुके पनि ।

‘रुक, जिम्दार साइल्बाले अलिकति ऋण दिए भने तेरो सपना पनि यो तीजमै पूरा गर्दिम्ला । तर अहिले कामको बेला तनाव नदे ।’

tilari fबसन्तीको अनुहार चाउरियो, ठुस्स परी । मकै खोसेल्दै उता फर्की । म उसलाई जिस्काउन थालें, ‘तँ जब ठुस्स पर्छेस् नि बड्डी, माँ कसम भस्मै राम्री देखिन्छेस् । तर तेरो नाक चैं खै किन हो, कुखुराको ठोरजस्तो चुच्चो पार्छेस् र अलि सुहाउँदैन ।’

उसले मतिर हेरिन । आफ्नै काममा लागिरही । सोच्दै होली यस्ता नालायक पोइ हुनुभन्दा त नभएकै जाती । तर यस्तो नसोचेर सायद कति सोझो छ मेरो पोइ मेरो खुशीका लागि आफु रुन तयार छ भन्ने सोचेकी पनि त हुन सक्छे नि यार ।

‘ल, ल धेरै सेन्टी मुड नबना, भोलि ब्यानै जिम्दार साइल्बाको घरमा गएर रुप्पे मागेर तेरो लागि तीन आनाको तिलहरी र मेरा लागि एक जोर कपडा किन्नुपर्ला ।’

‘भो, भो परेन, ऋण गरेर सुन लाउनु छैन मलाई । जुन दिन सक्छौ त्यहीं दिन किन्दिनू ।’

अरे बाफ रे । बड्डीको दिमाग आ’को कि रिसमा बोलेकी ? म छक्क परें । उसको मुहारमा हेरें । हाँसो थिएन । निधार चाउरी परेको थियो । लाग्थ्यो– बसन्ती रिसमै बोलेकी हो, फकाउनुपर्छ एकैछिन भए पनि ।

‘मेरो बुढीलाई यहीं तीजमा तिलहरी किन्दिन्छु, तर एकपटक हाँसेर चिया बनाउन जा । भोक लाग्यो ।’

बुढीले अनुहार लुकाएर हाँसी । म उसको हाँसोमा संसार भुल्न चाहन्थें । तर उसले अनुहार देखाइन ।

उ गई । तर मनमा कुरा खेल्न छाडेनन् । यदि जिम्दार साइल्बाले रुप्पे ऋण दिएनन् भने उसको तीज यो बर्ष पनि नरमाइलोसँग बित्नेछ । बिहे गरेको यत्रो बर्ष भयो तर उसको तिलहरी लाउने धोको आजसम्म पूरा गर्न नसक्दा आफैले आफैलाई धिक्कार्छु तर उसको खुसीका लागि चोरेर ल्याउन सक्दिनँ बरु आफै बिक्न सक्छु ।

जिम्दार साइल्बा पनि त्यति मनकारी दानबीर चैं होइनन् । ब्याज तिर्ने क्षमताको आधारमा लगानी गर्न रुचाउने सामन्ती नै हुन् । तर क्यार्नु हात पसार्न जान मन नहुँदा नहुँदै पनि उनीकहाँ जानै पर्ने थियो । भोलिको मुख्य काम मेरा लागि त्यहीं बन्यो ।

भन्नेले भन्छन्– ‘धनले सम्पन्न भन्दा मनले सम्पन्न जीवनमा खुशी हुन्छन् ।’ तर यस्तै चाडपर्व आउँदा चैं जीवनको सबैभन्दा दुःखी आफैलाई सोच्दछु । पल्तिर सिराने घरमा बस्ने बाआमालाई कहिले चाडपर्व आयो भनेर दुई रुप्पे खर्च दिन सकिएको छैन । अरु दिन केही नसोचे पनि यस्तै बेलामौकामा बाआमाले पनि छोराबाट आशा गर्दा हुन् भन्ने त लाग्छ । तर आफ्नो अवस्था नै यस्तो छ । भन्छन् नि ‘आफै त महादेव उत्तानो पर, कसले देला बर !’

‘यो तीजमा दर खाँदा तेरो घरमा आएर रमाइलो गर्ने भनेका छन् तिम्रा सालीहरुले । व्यबस्था आफै गर्नु ।’

‘टेन्सन नले, दुई किलो मासु ल्याम्ला । दूधको खिर बनाम्ला, रमाइलो गरम्ला ।’

भन्न त भनिगे तर आधा किलो मासु किन्ने हैसियत छैन यत्रा ठूला गफ ! आफै अचम्ममा परें । तर यति भन्देसी बसन्ती हाँस्छे । आमालाई हँसाउन नसके पनि स्वास्नी हँसाउने कोशिश गर्दैछु । भन्नेहरु त भन्दा हुन जोइटिङ्ग्रे भनेर । तर सबै छोराले स्वास्नी च्यापेर बाआमाबाट अगल हुन हाम्लाई बाआमा र यही समाजले नै सिकाएको हो ।

तीज लगत्तै जाडो सुरु हुन्छ । जाडोमा राम्रो ओढ्ने सिरक छैन, त्यो पनि ऋण गरेरै किन्ने हो । घरमा उब्जनी हुने अन्नको नाममा मकैसिवाय अरु केही हुँदैन । कहिलेकाहीं चामलको भात खाउ भन्ने लाग्यो भने किनेर खाने हो । आयस्रोत केही छैन । रातभर यिनै कुरा मनमा खेलेर निदाउनै दिएनन् । बुढी मस्तले सुती । सायद तिलहरीको सपना देख्दैछे होला । कोल्टे फेर्दैमा रात बित्यो, बिहानपख एकैछिन निदाएछु । उठ्ने बेला आठ बजिसकेको थियो । हतार–हतार हातमुख पखालें । अनि जिम्दार साइल्बाको घरतिर लम्किएँ ।

‘नमस्ते मालिक ।’

जुँगाले ओठ नदेखिने, हेर्दै डरलाग्दा जिम्दार साइल्बाले नमस्ते फर्काएनन् । त्यो उनको स्वभाव हो । कसैले नमस्कार ग¥यो भने हेर्छन् तर मुसुक्क हाँसेर कहिल्यै नमस्कार फर्काउँदैनन् । घमण्डले मात्तिएका तर क्यार्नु, दुःखमा काम लाग्ने यिनै छन् ।

‘भन् के कति कामले बिहानै यता मुन्टिस् ?’

‘साइल्बा, बीस हजार रुप्पे ब्याजे ऋण चाइया थ्यो । त्यै भएर आ हम् ।’

‘सावाका कुरा छाड, ब्याजै तिर्ने तेरो औकात छैन । मलाई बौलाहा कुकुरले टोक्या छ र तँ माथि लगानी गर्नु ? बिहान–बिहान दिमाग तताउन आ’को छ ।’

‘दशैं मानेर लाउर जाँदैछु साइल्बा, कमाएर तिरिहाल्छु ।’

‘फाल्टु कुरा गरेर दिमाग खराब नगर्, म ऋण दिन सक्दिनँ ।’

जिम्दारका कुरा सुनेर त्यसलाई जुरुक्क उचालेर भुइँमा भ्यागुतो पछारेको जस्तै पछार्न मन लाग्यो । त्यसका जुँगा तानेर आँखाबाट तरक्कै आँसु झार्दिम् जस्तै भयो तर केही गर्न सक्दैनथें । रिसले तातो भएँ तर चुँसम्म नबोली बाहिरिएँ ।

अब कहाँ अनि को सँग हात पसार्न जानु ? बसन्तीको तिलहरी लाउने सपना साकार गर्नु थियो । उसको खुशीमै हजारौं दुःख भुल्ने म उसलाई दुःखी बनाएर कसरी चाडपर्वमा रमाउन सक्थें र । तर उसलाई खुशी पार्ने उपाय दायाँ बायाँ कतै देखिनँ । ऋणका लागि हात पसार्ने अरु ठाउँ पनि थिएनन् मेरा लागि । गोजीमा आठ सय रुप्पे थियो– अस्ति घ्यू बेचेको, त्यो पनि दर खाने दिनका लागि खर्च भनेर कतै नमासी राखेको ।

घर जानै मन लागेन, अन्त कहाँ जानु ? थोरै रुप्पेले आउने सामान भए पनि बजारमा गएर किन्न हुन्थ्यो तर कुरा बीस हजारको थियो । तनावमा परेको दिमागले केही सोच्नै सकेको थिएन । यस्तै तनावमा परेर दिमाग फुलेको बेला एक खिल्ली चुरोट तानेसी अलि हल्का हुन्थ्यो मलाई । उसो त मैले नशाको रुपमा चुरोट कहिल्यै खाइनँ तर यस्तै टेन्सन हुँदा तान्ने गरेको छु । मैले चुरोट तानेको बसन्तीलाई सुइँकोसम्म छैन । चुरोट किन्न पसल छिरें– खुकुरी चुरोट एक खिल्ली मागें । पाँच रुप्पे तिरें, पसलमै सलाई मागेर चुरोट सल्काएँ । पसलमै बसेर धुवाँ उडाउँदै थिएँ, रेडियोमा प्रचार आउँदै थियो– ‘ज्ञारेण्टी सुनका गहना पाइने स्थान । हेर्दा सुनजस्तै, छुट्टाउनै नसकिने ।’ यस्तै–यस्तै के–के भन्दै थियो रेडियोमा । साहुजीलाई सोधें कहाँ पर्छ भनेर । उसले पनि धेरै बयान ग¥यो नक्कली सुनको । भन्दैथ्यो ‘हेरेर छुट्याउन सकिन्न, सक्कली नै गरिबले लाए नक्कली र धनीले नक्कली नै लाए पनि सक्कली हुने जमाना आएको छ । हराए पनि डर भैन, चोरिए पनि डर भैन, सय रुप्पेमा त गजबका मंगलसूत्र पाइन्छन् ।’

सोचेजस्तै आइडिया त पाइयो तर यो श्रीमतीलाई धोका हो कि जस्तो लाग्यो । फेरि सोचे कसले चिन्छ र ? बसन्तीले चिनोस् बिचरी । अघि नै साहुजीले भनिगे धेरै धनीले पनि यही जलप लगाएका सुन लाउने गरेका छन् भनेर । गोजीमा आठ सय जति थियो । जस्ता भने त्यस्तै गहना आउँथे । पसल बसेको ठाउँ पत्तो लगाएँ अनि लागे त्यतैतिर ।

अरे बाफ रे, उस्तै यार । सक्कली र नक्कली छुट्टाउनै नसकिने, म अचम्ममा परें । सुनचाँदी गहना पसलजस्तै सिसै सिसामा सजाएर राखिएका गरगहना देखेर कुन लगम जस्तो भयो । सोचें– यदि औकातभन्दा माथि लगे भने त्यो सिधैं नक्कली भन्ने पत्तो लागिहाल्छ । त्यसैले तीन आनामा बन्नेजत्रो तिलहरी किनें एक सय पचास रुप्पेमा । तिलहरी राख्ने डिब्बा पनि सुन राख्ने डिब्बाजस्तै राम्रो दियो, म मख्ख पर्दै घरतिर लागें ।

बिहान भातै नखाई हिडेको मान्छे दिउँसोको दुई बजे आएको देखेर एकछिन बसन्ती बक–बक गरी । गोजीबाट तिलहरी राखेको डिब्बा निकालेर देखाइदे’को खुशीले उज्यालो भई । आँखा रसिला गराइ । सायद औकातभन्दा माथि उठेर बुढाले गरेको माया देखेर होला । तिलहरीको डिब्बालाई सुरक्षितसँग राखी तर सोधिन् कति ऋण काढिस् र कति प¥यो भनेर ।

यहीं जलप लगाएको सुनकै कारणले बसन्ती तीजमा रमाउने भई । सालीहरुले तीजको रमाइलो गर्दै दर खान पाउने भए । मनमा त पीडा छँदै थियो मेरो । तर के गर्नु– बाध्यता त्यस्तै थियो । गोजी छामे– अझै छ सय पचास थियो ।

मनमनै सोचें– तीज सजिलै कट्ने भयो ।

By

Readers Comments (0)