Filed Under:  कविता

नटुङ्गिएको कविता | दीपा धिताल

5th September 2015   ·   0 Comments

Dipa Dhitalआफ्नो दृष्टि लम्बाइको परिधिभित्र
जीवनको लक्ष हो कि
मरुभूमिको पल्लो छेउमा टल्केको
बालुवालाई पानी सम्झेर पिइरहेका
परदेशीको कथा हो कि
खाडीमा भेडा चराइरहेका गोठालाको व्यथा
या मेरो देशको भविष्य कवितामा
मैले कोरिरहेकी थिएँ
आँखा पनि धर्तीतिरै निहुरिएका थिए
एक्कासी पृथ्वी कम्पन भयो÷जमिन हल्लियो
मैले लेख्दै गरेको कलम फुत्कियो हातबाट
चर्कियो सिङ्गो घर
पहाड र घरका जगहरु हल्लिए
हिमालका छातीहरु भत्किए
पृथ्वीका अनुनय र विनयका हतियारहरु पट्किए
घरभित्रबाट धूलो र धुवाँ निस्कियो
दिउँसै कोठा अँध्यारो भयो रातभन्दा पनि
नजिकैको झाङमा नरमाइलोसँग बास्यो स्याल
आँखाबाट निकाल्यो आगोको ज्वाला
फुटेको अनुहार स्पर्श गरेर हुइकियो हावा
मेरो देशको अनन्त श्रृङ्गार हरायो
सँगै चुरा पोते र सिन्दूर पनि खोसियो
क्षणभरमै मान्छेका चेहराहरु बदलिए
अनुहारको वर्ण भावभूमिमा परिणत भए
कसैको छातीबाट बहन थाल्यो रगत
अनन्तसम्म फैलियो पीडाको स्वर
सँगसँगै दौडिन थाले चिच्याहटका नाराहरु
यन्त्र नदीजस्तै बेगसँग बग्न थाल्यो शहर
कसैलाई मृत्युका डोरीहरुले घेरे
कसैलाई पातालका डोरीहरुले बेरे
हतारमा टिभीको रिमोट थिचेर हेरें
लगातार दक्षिण पश्चिमतिर जहाँबाट
रक्ताम्य भएका गाउहरु देखिन थाले
डर त्रासले कलेटी परेका ओंठहरु
फरफराउन थाले
एकाएक हजारौं मानिसका चिहानमाथि
भइरह्यो नयाँ इश्वरको नवीकरण
त्यही नयाँ इश्वरको नवीकरणसँगै
नटुङ्गिएकै कविता छोडेर
खै कहाँ हरायो कहाँ मेरो कलम ।
०००

By

Readers Comments (0)