Filed Under:  व्यक्ति

कला, गला र राजनीतिका त्रिवेणी

5th September 2015   ·   1 Comment

OLYMPUS DIGITAL CAMERA- काशीराम डाँगी

उनी नेता हुन् वा कवि भनेर थुप्रै समयमा छुट्याउन कठिनाई पर्छ । पहिले कविता, त्यसपछि भाषण । रोल्पा कांग्रेसका सभापति कृष्णबहादुर घर्तीमगरका विशेषता बनिसकेका छन् कविता भन्नु र भाषण गर्नु । त्यसो त भाषणमा भन्दा कवितामा बढी वाहवाही पाउँछन् पनि ।

एउटा कविले कविता वाचन गर्नु कुनै अनौठो कुरा होइन, तर नेताले कार्यक्रमपिच्छे यसरी कविता वाचन गर्छन् भन्ने सुन्दा चाहिं अनौठै लाग्न सक्छ । कहिलेकाहीं एक दिनमै तीन÷चार ठाउँमा भएका सार्वजनिक कार्यक्रममा समेत उनले कविता वाचन गरेरै छाड्छन् । मनका कुरा अरुलाई सुनाएरै छाड्छन् । त्यसो त उनले कविता भन्ने सूचना थाहा पाएपछि कार्यक्रममा कविता सुन्न सहभागीहरु पनि उपस्थित भइहाल्छन् । सहभागी समेत ज्यादै उत्सुक बनेका हुन्छन् । ‘आज नेताले कस्तो कविता भन्ने हुन्’ भनेर सबै प्रतीक्षारत हुन्छन् । कार्यक्रमका पाहुनाले पनि भाषण भन्दा कवितालाई महत्व दिन्छन् । घर्तीमगरको कविता चाहिं निकै तीखो व्यङ्ग्यपूर्ण हुन्छ ।

जिल्लामा आयोजना गरिने कार्यक्रमहरु प्रायः राजनीतिसँग सम्बन्धित हुन्छन् । कि त त्यस्ता कार्यक्रमहरु विकास निर्माणसँग सम्बन्धित हुन्छन् । सदरमुकामका कार्यक्रम वा गाउँका, सबै कार्यक्रमका उनका श्रोताहरु कविता सुनेर ताली बजाइहाल्छन् । उनका कविता वा रचना भने व्यङ्ग्यपूर्ण रसले भरिएका हुन्छन् । प्रायः सबै कार्यक्रममा कविता वाचन गर्दै हिड्ने उनी त्यतिबेला भने नेताजस्ता मानिन्नन् । श्रोतलाई लाग्छ– उनी यी कुनै नाम चलेका कवि होलान् ।

कृष्णबहादुर घर्तीमगर

कृष्णबहादुर घर्तीमगर

पुख्र्यौली राजनीति गर्दै आएका कृष्णबहादुर घर्तीमगर जिल्ला तहका एक सशक्त राजनीतिक कार्यकर्ता हुन् । उनका बाजे ओसे कुनै बेला घर्तीगाउँ र आसपासका क्षेत्रमा मुखिया थिए । पछि बाबुको पिछा गर्दै कृष्णका बुबा अमृतबहादुर घर्तीमगर रोल्पा जिल्ला विकास समितिको सभापति बने । स्थानीय निकायको सबैभन्दा पछिल्लो पटक भएको निर्वाचनमा रोल्पा जिविसका निर्वाचित सभापति थिए अमृतबहादुर घर्तीमगर । निकै सोझा मानिएका उनी सभापति भएका बेला टाँठाबाठाले उनको साथ पाएर आर्थिक लाभ लिएको जिल्लाभर चर्चा पनि चल्दै आएको छ । केही वर्षअघि मृत्यु भएका अमृतबहादुरका ५ मध्ये दुई जना छोरा मात्र राजनीतिमा छन् । जेठा कृष्ण कांग्रेसका जिल्ला सभापति छन् भने साइला विजय नेकपा–माओवादीका जिल्ला सचिवालय सदस्य छन् ।

वंशाणुगत रुपमा राजनीतिमा लाग्दै आएका यी दाजुभाइको राजनीतिलाई निकै नजिकबाट बुझ्दै आएका नेकपा–माओवादीका जिल्ला सह–सेक्रेटरी फविन्द्र आचार्य क्षितिजका अनुसार बाजेबाउले थालेको राजनीतिक लाइन समातेका यी दाजुभाई पनि भिन्ना–भिन्नै लाइनमा लागेका छन् । ‘कृष्णले परम्परागत राजनीतिमै रमाएका छन् भने विजयले ‘छलाङ’ हानेर पुख्र्यौलीभन्दा भिन्न आस्थाको पार्टीमा लागेका छन्’ उनले भने । कृष्ण कांग्रेसमा भइरहे तर विजयले भने कम्युनिष्ट पार्टी रोजे । क्षितिज भन्छन्, ‘विजयले क्रमभङ्ग गरेर क्रान्तिकारी राजनीतिक लाइन रोजेका छन् ।’

कविता भनेर ‘कवि–नेता’का नामले परिचय बनाएका कृष्णबहादुृर घर्तीमगर, ५८ कांग्रेसका जिल्ला सभापतिले हुनुअघिदेखि नै व्यङ्ग्य साहित्य सिर्जना गर्दै आएका हुन् । उनले अहिलेसम्म हजारौं कविता लेखिसके । सुनाइसके । उनलाई कविता रच्न न कुनै अवस्था चाहिन्छ, न त कुनै स्थानको नै आवश्यकता पर्छ । एकैछिनको बसाइमा उनले कविता तयार पारिहाल्छन् । एकैछिनमै सुनाइहाल्छन् । उनले सुनाएका कैयौं कवितामध्ये एक अंश यस प्रकार छ :

चरित्रहीन अपराधी भ्रष्टको जालो कस्तो
सधैँ प्रिय भइरहन्छन् आफन्त जनभित्र

सीमा मिचे पनि, संविधान नबने पनि
सामान्य लाग्दोरहेछ सत्ता सुविधा धनभित्र

कविता लेख्न उनलाई कुनै ‘मुड’को समेत खाँचो पर्दैन । आफ्नो पार्टीसहित सहभागी भएको सरकारकै कटाक्ष गरेर उनले थुप्रै पटक कविता कोरे । सहमतिको वातावरण निर्माण गर्न नसकेकामा कविता मार्फत् उनले राजनीतिक व्यङ्ग्य गरेर कविता वाचन पनि गरे ।

कृष्णबहादुर घर्तीमगर

कृष्णबहादुर घर्तीमगर

कार्यक्रममा बस्दाबस्दै उनले आयोजकसँग सम्बन्धित त्यसै कार्यक्रमका बारेमा पनि कविता तयार गरेका छन् । उनले आफ्नो कवितामार्फत् के हुनुपर्ने हो र त्यो के हो र किन हुन सकेन भन्ने पनि प्रष्ट्याउँछन् । चाहे त्यो आयोजकका लागि तीखो वाण नै किन नहोस् । उनी कवितामा चाहिं निडर देखिन्छन् । उनले सकेसम्म आयोजकले आमन्त्रण गरी लेखेको पत्रको पछिल्तिर कविता लेख्छन् र त्यसै कार्यक्रममा सुनाउँछन् । किनभने कुन प्रसङ्गमा लेखिएको हो भन्ने जानकारी निकै पछिसम्म राख्न सघाउ पुग्ने उनको भनाई छ । राजनीतिमा आउनुअघि लामो समय कृष्ण संगीत र साँस्कृतिक कार्यक्रममा संलग्न थिए । उनले ‘गला र राजनीति’बीच राम्रो ‘फ्यूजन’ गर्दै आएको माओवादीका नेता क्षितिज भन्छन् । कृष्णले समातेको राजनीतिक लाइनलाई उनले ‘उदारवादी सामन्ती’ प्रवृत्तिको भएको बताए ।

सदरमुकाममा आयोजना हुने साहित्यिक मात्र होइन, गैर साहित्यिक कार्यक्रममा पनि उनले लय हालेर कविता वाचन गर्छन् । कम्तीमा चार लाइन कविता उनले लेखेकै हुन्छन् । कहिलेकाहीं गाउँ जाँदा पनि उनका कविताले खुबै चर्चा पाउँछन् । उनकी पत्नी गायत्रा हमाल भने स्थानीय तहमा चर्चित कवयित्री मध्येमा पर्छिन् । छन्द कविता लेखनमा उनी राप्तीकै दक्ष मानिन्छिन् । श्रीमानले अहिलेसम्म कुनै संग्रह ननिकाले पनि उनले केही कविता संग्रह प्रकाशित गरिसकेकी छन् । नेता कवि आफ्ना पति कृष्णप्रति उनको टिप्पणी छ ‘उहाँले देश काल चाँडै बुझ्न सक्नुहुन्छ । त्यसलाई साहित्यिक पाराले आफ्नो व्यङ्ग्य अभिव्यक्ति दिन सक्ने उहाँमा खुबी छ ।’ तर ती रचनाको संकलन गरेर संग्रह नै निकाल्न सके राम्रो हुने उनको सुझाव छ ।

आफूले लेखेका कवितात्मक सिर्जनाहरु संग्रह गर्ने उनको भनाइ छ । तर राजनीतिले फुर्सदै नभएको कृष्णले बताए । भन्छन् ‘राजनीतिक भाषण भन्दा मेरो कविताले मलाई परिचय बनाएको छ । मैले कुनै दिन कविता भनिनँ भने सहभागीहरु रिसाएको फेला पारेको छु ।’ गलत कुराको भण्डाफोर गर्नुपर्छ भन्ने उनको मान्यता रहेको छ । मानिसहरुले गरेका गल्तीहरु सच्याउन सकिन्छ भन्ने धारणाका उनले राजनीति चाहिं फोहोरीको खेलजस्तै भइसकेको भन्न पछि परेनन् । त्यसैले उनको कविताको व्यङ्ग्य निशानामा राजनीति, बुद्धिजीवी, सत्ता, कर्मचारी, सञ्चारकर्मी पनि परेका छन् । राम्रो कुरालाई पनि कवितामा माध्यमबाट प्रचार गर्ने उनको राम्रो शैली रहेको छ ।

भविष्यमा कविता संग्रह तयार पार्ने उनको धोको भने अझै मरेको छैन । तर काम भने थालनी भएको छैन । उनले अहिलेसम्म वाचन गरेका कविताको संग्रह गरेमा राम्रै पुस्तक तयार हुने कवि तथा गीतकार रमेश क्षितिज बताउँछन् । ‘उहाँले राम्रा व्यङ्ग्य कविताका अंश लेख्नुहुन्छ ।’ उनले भने ‘यी अंशहरुलाई संग्रहका रुपमा पुस्तक निकाल्न सकेमा उहाँको प्रतिभा सार्वजनिक हुने विश्वास गर्न सकिन्छ ।’

www.kashiram.com.np

By

Readers Comments (1)

  1. Reshmi Adhikari says:

    कृष्ण दाईको बाटो भनेको कलाकार को हो तर राजनिती बाटो पकडेका छन । सादय उनी कलाको क्षेत्रमा भएको भए धेरै योगदान गर्थे होला जस्तो मलाई लाग्छ ।