Filed Under:  कविता

बा र गान्धीको देश | घनश्याम अस्तित्व

5th September 2015   ·   0 Comments

Ghanshyam Astitoक्रम चलिरहेछ
बाउ घरबाट निस्कने र पुग्ने गान्धीको देशतिर

यो बिरानो सहरमा
अभावको पिँजडाभित्र उकुुुसमुकुस म
यतिबेला सुनिरहेछु– बाउ निस्किएको खबर
र सम्झिरहेछु– बाउ घरबाट निस्किदाका
ती पुराना दिनहरु

मैले थाहा पाउँदाका ती सुरुआती दिनहरुमा
बाउ घरबाट निस्किदा– साइत बनाउथिन् बोइले
फूल राख्दै, पानी भरिएको पहेंलो बेला– ढोकामा राखेर
हात कमाउँदै–कमाउँदै रातो अक्षता राखिदिन्थिन् निधारमा
र आँशु बोल्थिन् आर्शिबाद– आँखाबाट

म र बहिनी आँखा मिच्दै तालबाट झर्दा
दिदी ढोका पोतिरहेकी हुन्थी– रातो माटोले
बाउ निस्कनुअघि नै
आमा निस्किएकी हुन्थिन्– मौवारी ख¥यानतिर
लट्ठी टेक्दै बाजे आइपुग्थे
एक फन्को मारेर– असारे खेतबाट

यही क्रम चलिरह्यो
केहीपछिका बर्षहरुसम्म
बोइ नजाउन्जेल– ईश्वरको दुनियाँतिर

अक्षरहरुसँग खेल्दा–खेल्दै
देवकोटा, शेरचन, रिमाल र मैनालीका
कविता, कथा पढ्दा–पढ्दै
नाघिएछ फलामे ढोका
र नाघियो घर र गाउँ पनि
आइयो यो सहरभित्र– सपनाहरु हुर्काउन

सहर बसाइको पाँच बर्ष बिताउँदा पनि मैले
क्रम चलिरह्यो– बाउ घरबाट निस्कने
र पुग्ने गान्धीको देशतिर

दिदीले माइत बनाई घरलाई
बहिनीले माइत बनाई घरलाई
घर रित्तियो– रित्तिएनन् बाउका सपनाहरु

अभावको पिँजडाभित्र उकुसमुकुस म
आज फेरि सुन्दैछु– बाउ घरबाट निस्किएको खबर
उतै त हो पुग्न– गान्धीको देशतिर

सानो कठिनाइ हुने छैन बाउलाई
फेरि एक बर्ष बिताउन– गान्धीको देशमा

८२ बर्षे बूढो बाउको
घरि–घरि याद आउँदा
पाँच सय या हजारको नोटमा
हेरेर चित्त बुझाउनुपर्ने छ– गान्धी बाजेको तस्बिर

अब अर्को सालबाट
पन्जाब जानुपर्दैन बा भन्दै
आश्वासन दिदै आएको मलाई सम्झिँदा
चित्त बुझाउनुपर्नेछ– हेरेर मार्कसिटको फोटोकपी

घर र आमा सम्झँदा
घरि घरि मिसकल बज्नेछ– ९८४७८८१९४४ मा

यसै यसै कट्नेछ
ब्याट्री कम्पनीमा– बाउको एक बर्ष
र आउनेछ फेरि घर फर्कने दिन

कम्ता गाह्रो छैन
घर र गाउँबाट खुट्टा निकाल्न
हप्ता, हप्ता, हप्ता– अर्को हप्ता भन्दै
चारपल्ट भाका सारेर
निस्किए रे बाउ फेरि पनि घरबाट
पुग्न– गान्धीको देशतिर ।
०००

By

Readers Comments (0)