Filed Under:  संस्मरण | निबन्ध

मरुभूमि र ढुंगाको पहाडदेखि समुद्रको छालसम्म

29th August 2015   ·   0 Comments

uttam kirshna majgyyain C- उत्तमकृष्ण मजगैंया

यात्रा मेरो रुचिको विषय हो । अध्ययन–अवलोकन र मनोरञ्जनका लागि मैले यस्ता अवसरहरु खोजिरहन्छु । गन्तव्यसम्म जाँदा–फर्कंदाको बाटोको कष्टप्रद थकाइ र तनावका अवसर बिर्सिदिने हो भने जुन प्राप्ति बाँकी रहन्छ, त्यो निकै मूल्यवान हुन्छ । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ साथी–संगाती तथा नयाँ ज्ञान र अनुभवले सम्बन्धित व्यक्तिलाई परिपक्वता, चेतना, आत्मविश्वास, सन्तुष्टि र हार्दिकताका साथै प्रशस्त मनोरञ्जन पनि प्रदान गरेको हुन्छ । यस्तै एउटा यात्राको सुन्दर अवसर जुराइदियो ब्रह्मकुमारी राजयोग ईश्वरीय विश्वविद्यालयको घोराही शाखाले । सर्वप्रथम वि.सं. २०२२ सालमा नेपालमा यस संस्थाको गठन भएको हो र जिल्लाहरुमा यसका शाखा बिस्तार गर्ने क्रममा २०५० सालमा तुलसीपुरमा यसको शाखा खुलेको हो । यसपछि घोराही (२०५४), लमही, निमुवा–हेमन्तपुर, बैबाङ (हेंकुली), बाँकी, गढवा तथा भालुबाङको चिसापानीमा पनि यसका उपशाखाहरु गठन भएका छन् । यस संस्थामार्फत् ईश्वरीय ज्ञान र सहज राजयोग (ध्यान र हलुका शारीरिक योग)को प्रशिक्षण दिइन्छ । राजयोग र ध्यानका माध्यमबाट मानव स्वास्थ्यका साथै मानवलाई चरित्रवान्, मूल्यवान्, सदाचारी एवं कर्तव्यनिष्ठ बन्न अभिप्रेरित गर्ने यस संस्थाको लक्ष रहेको देखिन्छ भने ‘One God, One World and One World Family’ अर्थात् ‘बसुधैव कुटुम्बकम्’ जस्तो उदात्त विचारबाट अनुप्राणित रहेको पाइन्छ । यस संस्थाले दूर शिक्षा पद्धति (Distance Education System) अन्तर्गत झण्डै १ सय २५ जतिलाई मूल्य शिक्षा एवम् आध्यात्म डिग्री एमएस्सी प्रदान गरिसकेको बुझिएको छ भने राप्तीका झण्डै २५ हजार जतिलाई मुख्य केन्द्र माउण्टआबु लगेर विभिन्न कार्यक्रममा सहभागी बनाएको देखिन्छ । घोराही सेन्टरमा सेवारत (हाल लमही) आनन्द भाइजीले धेरैपटक मलाई जान अनुरोध गर्नुभएको तर जान सुयोग जुरेको थिएन । मेरो रुचि राजयोग प्रशिक्षण मात्रै थियो । मैले २०२२ सालदेखि योगासन, प्राणायाम र ध्यान गर्दै गरेको झण्डै ५० वर्ष व्यतीत भइसकेको र योग सन्दर्भमा थप जान्न उत्सुक भएकैले पनि मैले यस अवसरलाई छोड्न चाहिनँ । तोकिएको कोटाअनुसार राप्ती अञ्चलका इच्छुक व्यक्तिहरु र दाङ तथा लमही सेन्टरका केही दिदीहरुसमेत साउन २३ देखि २७ गतेसम्म मुख्य केन्द्र माउण्टआबुमा हुन गइरहेको राजयोग शिविरमा सहभागी हुने सूचनाका आधारमा मैले आवश्यक रकम जम्मा गरें, सात दिने कोर्ष र चारदिने योग भट्ठी शिविरमा समेत भाग लिएर आफूलाई मानसिकरुपले तयार गर्दै रहें ।

लामो प्रतीक्षापछि अन्ततः यात्रा आरम्भ गर्ने दिन पनि आइपुग्यो । केही प्राविधिक कारणले दुई दिन ढिलो गरी ट्रेनको रिजर्भेसन भएको रहेछ । त्यसैले २२ गते साँझ ४ बजे हिंड्ने निधो भएको थियो । तर वर्षायामको प्रतिकूल मौसमका कारण खोलानाला बढेर यात्रा नै अवरुद्ध हुनसक्ने सम्भावना भएकाले ३ बजे नै हिंड्नुपर्ने निधो भएअनुसार सबैलाई खबर भएछ । म पनि पूरै तयारीका साथ २ बजे नै घोराही सेन्टर आइपुगें । पूर्वपरिचित बघौसीका शालिकराम पौडेल, युवराज अधिकारी, विष्णु गौतम, रझेनाका जनार्दन गौतम, नारायण पन्थीहरु आ–आफ्ना पत्नीसहित उपस्थित हुनुहुन्थ्यो । एकैछिनपछि पनौराका नवदीप शाह र उहाँकी श्रीमती यज्ञकुमारी शाह, विष्णु वली आइपुग्नुभयो । राप्ती अञ्चल प्रमुख आदरणीय ब्रह्मकुमारी गीता दिदी र घोराही सेन्टर–प्रमुख अनिता दिदीले सबैलाई शुभ साइतको टीका र प्रसाद दिदै यात्राको शुभकामना व्यक्त गर्नुभयो । बस सेन्टरमै आइपुगेको थियो । तुलसीपुर सेन्टरमा सेवारत ब्रह्मकुमार शिवलाल भाइको नेतृत्वमा हाम्रो यात्रा आरम्भ भयो । साथमा रुकुमकी शोभा सुनी, घोराहीकी अनन्ता गिरी र देउखुरी सुन्डबरीकी संगीता बहिनी पनि थिए । देउखुरी लमहीबाट भिङ्ग्रीकी मीना राउत, मधुकर मल्ल ठकुरी, सुमित्रा मल्ल र उनकी अढाइ वर्षे छोरी ज्यास्मिन (रोल्पा) तथा सुन्डबरीबाट मदन गौतम–सरस्वती गौतम, सतीष गौतम–यशोदा गौतम पनि चढ्नुभयो । सबै निकटका आफन्ती ! सहयात्री साथीहरु देख्दा मेरो मन पनि क्रमशः खुल्दै गयो र यात्रा रमाइलो हुने विश्वास बढ्दै गयो । प्युठानका लक्ष्मी पौडेल, बसन्त पौडेल, कल्पना पौडेल, कमल सुवेदी, शान्ता पण्डित, गिरिजा पुलामीसहित ६ जना र दाङका स्थानीय विकास अधिकारी पुष्पराज शाही र उहाँका पिताजी पनि क्रमशः यस ग्रुपमा मिसिदै गर्नुभयो । यसरी हाम्रो गाइडलगायत हामीहरु ३५ जना भयौं । टिकट नपाएर एकदिन अरु बिलम्बमा पर्नुभएका वामदेव आचार्य (भमके), उत्तमराज तिमिल्सिना र उहाँकी श्रीमती (काठमाडौं) हरुलाई २३ गते लिएर स्वयं गीता दिदी माउण्टआबु जाने सूचनाअनुसार अब हाम्रो ग्रुप ३९ जनाको हुने निश्चित भयो ।

हामी समयमै कृष्णनगर पुग्यौं । बढनीबाट गोरखपुरका लागि राति ९ बजेको ट्रेन भए पनि रेलस्टेसनमै आराम गर्न उचित ठानेर सबै उतैतिर पैदलै लाग्यौं । ५÷७ मिनटको बाटो भए पनि केही सौकिनहरु वा गह्रँुगो झोला हुनेहरुले रिक्साको सुविधा लिएको पनि देखियो । ट्रेन केही बिलम्ब भएकाले कष्टप्रद प्रतीक्षा गर्नुप¥यो । नेपालमा मात्र होइन रहेछ, त्यहाँ पनि लोडसेडिङको समस्या झेलियो । अँध्यारोमै टर्च वा मोइबाल बत्तीकै सहाराले भान्जी सरस्वती गौतमहरुले तन्ना र ठूला प्लाष्टिक बिछ्याएर बस्ने सुविधा मिलाउनुभयो । त्यही मधुरो प्रकाशमै हामी सबैका कुटुरा–झोला खोलिए र घर–घरबाट ल्याइएका खानेकुरा निकालेर आ–आफ्नो ग्रुपमा सहभोज चल्यो । यस आत्मीयताले सबै भिजेहोलान्, म पनि निथ्रुक्कै भएँ । यौटै लक्षका साथ सँगै गरिएको यात्रामा त्यसै पनि आत्मीयता रहन्छ । तर यहाँ भने धेरै नजिकका केही इष्टमित्रहरु पनि भएकाले अझ बढी आत्मीयता र सौहाद्र्रता रहेको थियो ।

त्यहाँ नेपाली सीमले काम गर्दोरहेछ– धेरैले घरमा फोन सम्पर्क ग¥यौं । मैले भारतीय सीम राखेको थिएँ तर एक्टीभ भएन । केही साथीहरुले भने त्यहीं भारतीय नयाँ सीम किने ।

गोरखपुर र बढनी छोटीलाइन रेलसेवा रहेछ । केही बेरपछि बत्ती आयो र त्यसको लगत्तै ट्रेन पनि आइपुग्यो । जुन जता अटाए त्यतै बसे । झण्डै साढे तीन घण्टापछि गोरखपुर पुग्दा बिहानको १ः३० बजिसकेको थियो । स्टेसनमै बिहान ४ः३० बजेसम्म माउण्टआबुका लागि ट्रेन कुर्नु थियो । त्यसैले फ्रेस हुने, चिया खाने मात्र नभई केही महिलाले कपाल कोर्न तथा केही पुरुषले दारी काट्नसम्म भ्याए । अन्नतः प्रतीक्षाको समय आइपुग्यो– रेल लाग्यो । त्यति धेरै टिकट रिजर्वेसन गर्दा सबैको सिट एकसाथमा हुने कुरै भएन– ग्रुप फुटेर बस्नुपर्ने अवस्था आइप¥यो । म रोल्पाका साथीहरुसँग परें । मोटोघाटो खाइलाग्दो पुरुष (मधुकर मल्ल ठकुरी) र उनकी दुब्लीपातली पत्नी (सुमित्रा), सानी अढाइ वर्षे छोरी (ज्यास्मिन) । पूरै अपरिचित ! प्रथमतः मै खुलें । परिचय दिएँ, परिचय मागें, आखिर त्यति लामो यात्रा तय गर्नु थियो । एक्लै समय काट्न कसरी सम्भव हुन्थ्यो र ? खुल्दै जाँदा पो थाहा लाग्यो, उनीहरुको हृदयमा पनि अटाइनसक्नु आत्मीय भावना रहेछ तर कुनै बाँध नै नभएको । यसो कोट्याउँदा मात्र पनि ह्वालह्वाल्ती बगेर छताछुल्ल पो भयो । विचारहरुको आदान–प्रदानसँगै खानेकुराहरु पनि साटासाट भए । पूरै तयारीका साथ आएका रहेछन् । भावना र भोजन सबै टन्न, मनग्य ! भान्जी सरस्वती र सुधा मलाई खोज्दै आउनुभयो र घरबाटै ल्याएको भुजिया, लड्डु (कसार) र खजुरका पोका दिनुभयो । सिटका कारण साथ छुटेकोमा दुःख मनाउ पनि गर्नुभयो । उहाँको यस हार्दिक स्नेह–प्रदर्शनले म ता पूरै पग्लें । आफ्नाको अपनत्व यस्तै यस्तै अवसरमा महसुस गरिने रहेछ । मीना राउत, शोभा सुनी पनि हाम्रै डिब्बामा तल–माथिको बर्थमा थिए । दुबै सेवामा रहन माउण्टआबु जान थालेका । एउटी अर्की बहिनी अनन्ता गिरी पनि सेवाका लागि जाँदै रहिछन् । ब्रह्मकुमारी संगीता चौधरी, दाङका एलडिओ पुष्पराज शाही र उहाँका बुवा पनि हाम्रै छेउको अर्को कोठामा हुनुहुन्थ्यो । शिवलाल भाइको ज्ञान, वाचन–भाषणकला, उद्घोषणकला प्रशंसनीय ! मैले लमही सेन्टरको वार्षिकोत्सवमा (म त्यसको प्रमुख अतिथि थिएँ) तथा तुलसीपुरमा सम्पन्न योगभट्ठीमा (म त्यसमा सहभागी थिएँ) उहाँको प्रतिभासित परिचित हुने मौका पाएको थिएँ । उहाँले त्यहाँ पनि हामी सहयात्रीहरुका साथै रेलमा यात्रा गर्ने भारतीय यात्रुहरुसँग पनि गफिंदै मज्जाले ज्ञान बाँडिरहनुभएको थियो । सेन्टरका दिदीबहिनीहरुले यात्रा–भोजन बाँड्दै थिए भने हाम्रा साथीहरुले पनि कर गरेरै विविध खाद्य बाँडेर गज्जबको पारिवारिक वातावरणको सिर्जना गरिरहेका थिए । यात्रा रमाइलो गरी कट्दै थियो । दिदी मीना राउतले ‘नो फिक्कर ! भोलिको चिन्ता किन गर्ने, जो करना है बाबा करेगा’ भनेर नेपाली–हिन्दीको खिचडी भाषा बोलेर सबैलाई हँसाइरहनुभयो भने शोभा सुनीचाहिँ टाउको दुखेकोले अधिकांश समय शान्त नै रहनुभयो । मेरो मनोरञ्जनको साधनचाहिँ मधुकरजीकी अढाइ वर्षे छोरी ज्यास्मिन थिई । टाठोबाठो बनाउन ल्याएका रे ! हामी एक आपसमा रमाएर खेल्यौं । बाजे–नातिनीको गहिरो नाता रह्यो । मलाई मेरी नातिनी सेजलको खुब सम्झना भइरह्यो । एउटा जोडा चढ्यो मुसलमानको– कानपुरबाट अजमेर जानका लागि । पटक–पटक गरी उनीहरुले ५÷६ थरीका खानेकुरा खाएर दङ्ग पारे । जीवनभरिको भोक त्यहीं मेटे वा खानाको विविध स्वादको आनन्द लिए ? राति दुई बजे आफ्नो गन्तव्यमा झरेछन्– बिहान मिर्मिरेमा देख्दा त खाली भएको त्यसै सिटमा अजङ्गको एउटा मनुवा सुतिराखेको ! हाम्रा साथी मधुकरजीले ‘राति दुब्लोपातलो मान्छे सुतेको त कत्रो भुसतिघ्रे बनेछ’ भन्दा हाम्रो हाँसोको फोहरा छुट्यो । अझ रमाइलो के भने हाम्रा मधुकरजीको ज्यान पनि उसको भन्दा कम चाहिँ थिएन । मधुकरजीमा गज्जबको हास्य र व्यङ्ग्य चेतना रहेछ । हार्डवेयरको व्यापारी तर गफ र अभिव्यक्ति कुनै विज्ञको भन्दा कम थिएन । आफ्नो गाउँ, ठाउँ र जातिको इतिहाससमेत रोचक पारामा सुनाउनुभयो ।

राजस्थान शुरु भएपछि मरुभूमिको अवस्था यत्रतत्र देखियो । त्यस क्षेत्रको आसपास कुनै ठूलो हिमाल वा पहाड नभएकैले पनि कहिलेकाहीं आक्कलझुक्कल सानो पानी परिहाले पनि पूरै सुख्खा । दृष्टि पुग्ने ठाउँसम्म बालुवै–बालुवा र होंचा काँडेझाडी, बबुलका थेप्चे बोट मात्रै । व्यक्तिका घर समेत नरहेका । माउण्ट आबुको नजिक–नजिक पुग्दा भने पत्थरै–पत्थरका होंचा पहाड र कतै त्यसैको घेराबाट बनेका उपत्यकाजस्ता क्षेत्र देखिए । तर खेतीशून्य, बस्तीशून्य ! ‘माउण्ट आबु आउनै लाग्यो । मेरो टाउकोको दुखाइ पनि छुमन्तर भयो’– भन्दै शोभा सुनी उठेर हाँस्न थाल्नुभयो । विश्वासको कत्रो प्रभाव ! हामीले पनि उहाँलाई हाँसोमा साथ दियौं ।

झण्डै बिहानको ९ बजेतिर आबुरोड जक्सन पुगियो । हामीलाई मधुवन पु¥याउन प्रतिमा बहिनीसहित केन्द्रकै गाडी आइपुग्यो । चारैतिर पहाड ढुङ्गैढुङ्गाका । केही पत्थर त अब ढल्दैछन् जस्ता । भयावह सौन्दर्य पोखराको सेतीको खोंचजस्तै । त्यस क्षेत्रका जमिनमा भने हरियाली देखियो । केही ठूला वृक्ष र खेती गरेको पनि देखियो । केहीबेरमै गन्तव्यसम्म पुगियो । विशाल भवनहरु ! सडकका दुबै किनारमा फूल र वनस्पतिहरु ! सडक यति सफा कि त्यहीं बिस्तरा लाएर सुते पनि हुने । भवनहरु एक–अर्कासँग जोडिएझै देखिएर कुनै सहरको झल्को दिने तर अस्तित्वमा फरक–फरक ! आवास क्षेत्र मनमोहिनी १० एकडमा र कार्यक्षेत्र शान्ति वन ६० एकडमा फैलिएको । मनमोहिनीमा ब्रम्हलोक, त्रिलोक, बैकुण्ठ, दिव्यलोक, स्वर्णिम प्रभात र कार्यक्रम पनि गर्न मिल्ने विशाल हलकोठाहरु भएका ! कुनै–कुनै ६÷७ तल्ला भन्दा बढीका सयौं हात चाक्ला भवनहरु तथा शान्तिवनमा रिसिभवन, आनन्दभवन, त्रिलोक भवन, कमलकुञ्ज, दिव्यधाम, सरस्वती भवन जस्ता अनगिन्ती भवनहरु, २० हजार मान्छे अड्ने क्षमता भएको डायमण्ड हल, कन्फ्रेन्स हल, अडिटोरियम हल, बाबाको कोठा, दादीको कोठा, लोटस हल, ठाउँठाउँ ध्यान केन्द्रहरु, केही ठूला डायनिङ हल, अस्पताल भवन, विभिन्न कारखाना, स्टोररुम, सञ्चार भवनजस्ता कति हुन् कति भवनहरु ! जता पनि सफाइ, स्वच्छता, हराभरा गार्डेनहरु, पार्कहरु, प्रवेश र निकासका लागि थुप्रै द्वारहरु सिक्योरिटीसहित । पहिचानसहितको व्याच लाएकोलाई मात्र प्रवेशको अनुमति ।

पुरुष र महिलाहरुलाई अलग–अलग आवासको व्यवस्था रहेछ । हामी १३ जना पुरुषलाई पाँचौं तल्लाको १२१ र १२२ नं. का कोठा मिल्यो । एक कोठामा ८ ओटा पलङ, कुनै कुनैमा पाँच ओटा पनि । शान्तिवनमा पनि केही आवासीय भवन रहेछन्– मनमोहिनीमा कन्फ्रेन्स हल भए जस्तै । अटेच बाथरुम, चिसो, तातो पानीको प्रबन्ध, कूलर समेत । बेसिन, ऐना सबै । शहरको कुनै सुविधायुक्त होटेलजस्तै । बेडमा धोएका स्वच्छ तन्ना र ओढनाहरु । यत्रतत्र पिउनका लागि मिनिरल वाटरका धारा, कुनै ठाउँमा विशेषगरी डायनिङ हलहरुमा पिउने तातो र चिसो पानीको व्यवस्था भएको पाइयो । एकैपल्ट १५ हजारजतिका लागि खाना तयार गरेर ख्वाउन सकिने तर कहिलेकाहीं विशेषगरी बाबा मिलन (माघतिर) का अवसरमा ३५ हजारसम्मको उपस्थितिलाई भोजन र आवासको प्रबन्ध हुने गरेको जानकारी पाइयो । भाडावर्तन मसिनद्वारा सफा गरिने, खाना पनि सोलारबाट र स्वचालित यान्त्रिक प्रक्रियाबाट तयार हुने गरेको पाइयो । १ घण्टामा २ हजार सुख्खा रोटी पाक्ने, परोठा पकाउने १६ ओटा मसिन, एउटा मसिनमा एकपल्टमा ३० ओटा पाक्ने गरी एकैपल्ट जम्मा ४ सय ८० पीस पाक्ने रहेछन् । यसरी नै तरकारी, खिर, हलुवा, दाल, भात आदि यान्त्रिक तरिकाबाटै पाक्ने भएकैले तयारी गर्न र खुवाउनमा कुशल सन्तुलन र संयोजन भएको पाइयो । भोज्य पदार्थ बाँड्न पनि स्वयंसेवकहरु नै खट्ने गरेका देखियो । स्वच्छ थाल, कचौरा, गिलास र चम्चा लिएर इच्छाइएको भोजन अघाउन्जेल खान पाइने, चिनी राखेको–नराखेको चिया–कफी, दूध वा फिक्का चिया पनि बिहानै चारबजेदेखि तैयार । बिहान ८ देखि खाजा (रोटी–पराठा, खिचडी, मिठाइ (बुँदिया) वा सुजीको हलुवा, तरकारी), दिउँसो १ बजेदेखि लञ्च र साँझ ७ः३०/८ बजेपछि डिनर । प्रायः दुबै समयमा रोटी–पराठा, भात–दाल, तरकारी, अचार मही वा दही । फाल्न नहुने तर आवश्यकतानुसार जति पनि लिन हुने । चाहना हुनेले भोजनपछि १ गिलास दूध पाउनसक्ने गुलियो वा सुगरफ्री इच्छाअनुसार । सबै व्यवस्थित र एक लयमा परिचालित जस्तो ! व्यवस्थापनको यस्तै स्तरीयता, तर यसको सानो रुप हरिद्वार तथा देवघाटका आश्रममा देखेको थिएँ– यहाँ त्यसको विराट रुप देख्ने अवसर जु¥यो । भोजन बाँड्नेहरुका आँखामा तत्परता र स्नेहका साथै अनौठो समर्पण भाव देख्दा अचम्म लाग्थ्यो । झिंजिनु, उत्तेजित हुनु, हप्काउनु वा यस्तै कुनै अप्रिय व्यवहार कसैले देखाएको पाइएन । सबै तत्पर समर्पित र सक्रिय थिए आ–आफ्ना काममा । कसैले कसैलाई अह्राएको, खटाएको पाइएन । सबै आफ्नै अन्तश्चेतनाबाट अभिप्रेरित आ–आफ्ना निर्धारित कर्ममा स्वतःस्फूर्त जुटेका देखिन्थे । कसबेला सडक सफा गरिन्थ्यो होला, कोठाचोठा वा चोक–बरण्डा बढारिन्थ्यो होला, हामीले देखेनौं । सिढी भए पनि लिफ्ट नै बढी प्रयोग भएको पाइयो तर कतै पनि फोहोर भने देखिएन । ठाउँ–ठाउँमा डष्टविन र फोहोर फाल्नका लागि कन्टेनर राखेको देखियो । सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्था स्थान–स्थानमा थियो । अचम्म संयोग जुरेछ– सोच्दै नसोचेको ठाउँमा काठमाडौंकी खोज पत्रकार तथा साहित्यकार सरला शर्मासँग त्यहीं भेट भयो । यिनी निकै ऊर्जावान् सक्रिय र जुझारु पत्रकार हुन् । यसमा समावेश गरिएका केही तथ्यको खोजमा उनको तीक्ष्ण दृष्टि पनि परेको छ । म केही ठाउँ उनको साथमा घुमें पनि । अरुबाट सहजै तथ्य र सारवस्तु निकाल्न सक्ने उनको कला र प्रतिभा त्यहाँ पनि देख्न पाइयो ।

सन्तान शोक वा कुसन्तानको पीडा, पतिको दुव्र्यवहारले विक्षिप्त, प्रेममा असफल र निराश, दुर्भाग्यले एकल बन्न बाध्य पुरुष वा महिला, विभिन्न सामाजिक, आर्थिक, पारिवारिक समस्याले थिल्थिलिएका, डिप्रेसनका रोगी वा कतिपय यस्तै क्षतिग्रस्त मानसिकता बोकेका व्यक्तिहरु शान्तिको खोजीमा त्यहाँसम्म पुगेका पाइए भने केहीले आफू बिशुद्ध पर्यटक र सैलानीका रुपमा मात्र आएका बताइरहेका थिए । मेरो प्रश्नको उत्तरमा भारतका केही प्रान्त र नेपालका अन्य जिल्लाका केही सहभागीहरुले पनि यस्तै मिश्रित प्रतिक्रिया दिएका थिए । केहीलाई त्यहाँ भइरहेको राजयोग प्रशिक्षण र अन्य कार्यक्रमप्रति त्यति चासो रहेको पनि देखिएन । एक दुई जनाले दिदीहरुसित तीतो बहस गरेको पनि सुनियो । यसमा मैले शालीन तरिकाले केही समन्वयकारी र केही हस्तक्षेपकारी भूमिका पनि निर्वाह गर्नुप¥यो । ‘धर्मको सम्बन्ध बुद्धिसँग भन्दा बढी मन र भावना, आफ्नो समाज, कुल परिवारको संस्कार एवं संस्कृतिसित रहेकाले पनि यसमा तर्क र बहस जस्तो कुनै सूत्र काम लाग्दैन । विमति रहँदारहँदै पनि अरुको स्वतन्त्रता र अधिकारको सम्मान गर्नुपर्छ । नितान्त आफ्ना लागि भने आफ्नो अन्तरआत्माले जे भन्छ त्यही गर्नुस्’ भन्दै बहस टुंग्याउन अनुरोध गर्नुप¥यो । तर केही व्यक्तिहरु भने साँच्चिकै मर्यादित, अनुशासित, जिज्ञासु तथा अध्ययनशील देखिए र यस यात्रालाई सकेसम्म सार्थक, सफल र स्मरणीय बनाउन प्रयत्नरत रहेका पाइए । त्यहाँ भइरहेका विभिन्न कार्यक्रमहरुमा देशी–विदेशीहरुका साथै विभिन्न जाति र धर्मका व्यक्तिहरु जस्तैः जाट, शिख, दक्षिण भारतीय ब्राह्मण र साधु–सन्त समेतको बाक्लै उपस्थिति देखिन्थ्यो । तर मुसलमान भने देखिएनन् । रुचि आफ्नो–आफ्नो, विचार पनि आफ्नो–आफ्नो ! त्यहाँ जात, धर्म र छुवाछूत जस्तो संकीर्णतादेखि मुक्त सबैको सहआवास र सहभोजन थियो । ‘सह नाववतु ! सह ना भुनक्तु, सहवीर्यं करवावहै’ र ‘वसुधैव कुटुम्बकम्’ जस्तो उदात्त भावना देख्न पाइयो त्यहाँ ।

केही साथीहरुको स्वास्थ्यमा सामान्य खराबी देखियो तर निःशुल्क डाक्टरी जाँच र औषधि उपलब्ध भयो । ठूला–ठूला रोगहरुको पनि उपचार निःशुल्क हुँदोरहेछ । एम्बुलेन्सहरु प्रत्येक समय तैयार ! मनमोहिनी (आवास क्षेत्र) र शान्तिवन (कार्यक्रम स्थल)को बीचमा पैदल दूरी ८÷१० मिनटभन्दा बढी नभए पनि सहभागीहरुको सुविधाका लागि कतिपय गाडीहरु निरन्तर चलिरहेका थिए । कति प्रोग्राम सकेर घर फर्किरहेका थिए, कति नयाँ प्रोग्रामका लागि आइरहेका थिए । त्यस अवसरमा पनि विभिन्न पाँचथरि विषयमा कार्यक्रम चलिरहेको थियो अलग अलग हलहरुमा । हाम्रो राजयोग शिविरको कक्षा भने सबैभन्दा ठूलो डायमण्ड हलमा चलेको थियो । त्यसको विशाल पर्दा र त्यसको दुबैतर्फ रहेका फिल्म हलको पर्दाजस्तै टिभी स्क्रिन जसमा एकैसाथ पढाइँदै गरेका विषयवस्तु देखिने, सबैतिर सुनिने गरी मिलाइएको साउण्ड सिस्टम, प्रकाशको विशेष व्यवस्था, उद्घोषक र प्रशिक्षकहरुको शालीन प्रस्तुति सबै अत्यन्त प्रभावकारी थियो । बिहान ४ बजेदेखि ५ बजेसम्म अमृत बेला, ६ देखि ८ सम्म मुरली र अन्य विषयक विवेचना, ९ देखि १ बजे सम्म पुनः राजयोगको प्रशिक्षण, १ देखि ५ बजेसम्म भोजन र विश्राम, ५ बजेदेखि ८ बजेसम्म पुनः कक्षारम्भ, अनि भोजन र विश्राम, निद्रा । कहिलेकाहीं सायमकालीन भोजनपछि विशेष कक्षा वा विषयगत भिडियो प्रदर्शनी पनि हुने गथ्र्यो ।

प्रशिक्षणको आरम्भमै सहभागीहरुलाई केही महत्वपूर्ण जानकारी गराइएको थियो, जस्तै यस राजयोग शिविरमा नेपालबाट ६ सय जनाको उपस्थिति, संसारका विभिन्न ठाउँमा जम्मा २५ हजार सेन्टर, १८ हजार युवतीहरुद्वारा सार्वजनिक सामाजिक जीवन परित्याग गरेर ॐ शान्तिका लागि पूर्ण समर्पण, केन्द्रमा दैनिक कार्यक्रममा परिचालित ४ सय जना र उनको नित्य भोजन, कार्यमा समर्पित स्वयंसेवी ब्रह्माकुमारी र ब्रह्माकुमारहरुलाई वर्षमा ८ जोडा कपडा प्रदान गरिने व्यवस्था रहेछ । संयुक्त राष्ट्रसंघले यस विश्वविद्यालयलाई मान्यता प्रदान गरेको रहेछ ।

पानीको व्यवस्था : भौगालिक कारणले गर्दा पानी निकै कम पर्ने भएकाले र भूमिगत जल नभएकैले पनि हाहाकार नै रहेछ, तर झण्डै ५ किमि टाढा भूमिगत विशाल ट्याङ्की निर्माण गरिएको रहेछ । जसमा वर्षात्को पानी संकलन गरेर त्यसलाई आधुनिक प्रविधिबाट शुद्ध बनाएर स्नान, सरसफाइ जस्तो सामान्य प्रयोग गर्ने, अरु पानी विशेष यन्त्रमा पठाएर, मिनिरल मिक्स गरेर मिनिरल वाटर बनाउने, बाँकी फोहर पानीलाई संकलन गरेर सागसब्जी, फलफूल र धानखेतीमा सिचाइका लागि प्रयोग गरिने तथा बचेको फोहर कचराबाट कम्पोष्ट मल बनाइने व्यवस्था रहेछ । धारा सुकेको, पानी सप्लाई रोकिएको जस्तो कुनै समस्या नै देखिएन ।

विद्युत व्यवस्था : प्रतिमहिना झण्डै रु. २० लाखको विद्युत खपत हुँदोरहेछ । विद्युतको वितरण प्रणाली यति सबल कि विद्युत गएकै थाहा भएन । एउटा सोलार प्लाण्टभित्रै रहेछ, जसबाट केही विद्युत र खाना पकाउन चाहिने ऊर्जा प्राप्त हुँदोरहेछ । झण्डै दुई किलोमिटर पश्चिममा आफ्नै जमिनमा जर्मन पर्यावरणको आंशिक सहयोगमा झण्डै ५५ एकडमा फैलिएको रु. ७५ करोडको लागतमा सोलार प्यानल बनेको छ जो विश्वकै पहिलो ठूलो प्यानल रहेछ । अब एक वर्षभित्रै यसबाट २४ सै घण्टा विद्युत उत्पादन हुन थाल्नेछ र केन्द्रको मासिक रु. २० लाख बचत हुनेछ । ७÷७ मिटरको दूरीमा बनेका प्यानलहरुको मुन्तिर तरकारी र जडीबुटी रोपण गरिएको छ जसबाट करोडौं रुपियाँ बराबरको उत्पादन लिन सकिनेछ । भारत सरकारले पनि केही आर्थिक सहयोग गरेको रहेछ र यसकै अनुकरण गरेर अन्य क्षेत्रमा प्यानल जडान गर्ने योजना बनाएको रहेछ ।

तपोवन फार्म हाउस : झण्डै ३ सय एकडमा फैलिएको रहेछ यो फार्म हाउस । तरकारी, फलफूल र धान खेती व्यापकरुपमा गरिएकोले केन्द्रले आंशिक खर्च यसबाट चल्दोरहेछ । बडेबडे सिङ भएका ठूला जातका दुधारु गाइहरुको बथानै देखियो जसले केन्द्रको आंशिक खर्च टार्दो रहेछ । एक्लै गोठालोले सयौं गाई चराउन लिएर हिडेको देखियो । निकै अनुशासित ढंगले सडकको किनार–किनार बिस्तारै हिडेका गाइहरुको बथान निकै मनोहारी देखिने तर तिखारिएका दुई अढाइ फुटे सिङ देख्दा भने नजिक जानै डर लाग्ने । यस क्षेत्रमा एक लाख दर्शक अड्न सक्ने विराट सभाकक्ष निर्माण हुने योजना रहेछ, जसको निर्माण कार्य अब छिट्टै आरम्भ हुने जानकारी पाइयो ।

आवश्यक सामग्रीको निर्माण र व्यवस्थापन :

साबुन, सर्फजस्ता अत्यावश्यक सामग्री त्यहीं भित्रकै कारखानामा निर्माण हुँदोरहेछ । आवश्यक फर्निचर र फलामजन्य वस्तुका लागि पनि त्यहीं कारखानाहरु रहेछन् । सम्बन्धित साहित्य वा पठनीय सामग्रीहरु त्यहींकै प्रेसमा छापिने भएर निकै कम मूल्यमा प्राप्त हुँदोरहेछ । झोला, व्याग, पर्स, श्रव्यदृश्य सामग्री, स्टिकर, सिडी, आदि सबै त्यहीं निर्मित भएर सुपथ मूल्यमा बिक्री वितरण हुँदोरहेछ । सुटिङ÷छायांकन, यातायात व्यवस्थापन, खाद्य सामग्री संकलन केन्द्र, भोजन विभाग, सागसब्जी र राशन विभाग, सरसफाइ विभाग, जल विभाग, विद्युत् विभाग, टेलिफोन (सञ्चार विभाग), आवास विभाग, कार्यक्रम विभाग, हरियाली विभाग (पार्क र पुष्प–वनष्पति), भवन रेखदेख विभाग, यहाँसम्म कि आइरन विभाग (कपडा प्रेस गर्ने) समेतको व्यवस्था रहेको पाइयो । मानौं एउटा सिंगो राज्य व्यवस्था र तिनका मन्त्रालय र विभागहरु ! सबै चुस्तदुरुस्त ! मलाई लाग्यो हाम्रा मन्त्री र उच्च पदस्थ कर्मचारीहरुलाई एकपल्ट लगेर त्यहाँको सबल व्यवस्थापन र स्वचालित सिष्टम देखाउँदै सोध्नुपर्छ– एउटा साधनविहीन व्यक्तिले एक्लै शुरु गरेर यस्तो चमत्कार देखाउन सकिन्छ भने तिमीसँग त सम्पूर्ण राज्य–संयन्त्रका साथै स्रोतसाधन प्रशस्त छ । वनजंगल, जमिन, नदीखोलाहरु र अकूत भौगर्भिक खानी–खजानाहरुका साथै विदेशी अनुदान र न्यून व्याजदरमा पाइएको सहुलियत ऋण छ तर किन कंगाल बन्दैछ हाम्रो देश ? बरु किन चुलिंदैछन् तिम्रा गगनचुम्बी भवन, महल र बैंकका संचिति ? त्यहाँको व्यवस्थापन देखेर मेरो मनमा आएको पहिलो प्रभाव र स्पष्ट प्रतिक्रिया यही नै थियो । तर राज्यको ढुकुटी मास्दै विदेश पुगेकाहरुले कहिले त नेपाललाई सिंगापुर बनाउँछौं भन्दै त कहिले स्वीजरलैण्ड बनाउँछौं भन्दै जोकरझैं मञ्चमा कुर्लिंदै, उफ्रदै पटक–पटक तमासा देखाइरहेकै हुन् । तर विडम्बना, स्वयम् उनीहरु नै देशलाई झन्पछि झन् इथोपिया र सोमालियाभन्दा पनि खत्तम बनाउन उद्यत् देखिएका छन् । मेरै छेउको बेडमा बस्ने युवराज अधिकारीसँग प्रशस्त राजनीतिक चेतना रहेछ, यस्तै विषयमा र प्रसंगमा धेरै कुराहरु भइरहे । नेतृत्व तहका व्यक्तिहरुप्रति उहाँसँग निकै गुनासा रहेछन्– एक अर्थमा तीब्र वितृष्णा नै भएको रहेछ । प्रायः सबै चेतनशीलहरुमा निराशा र हताशा छाएकै छ यस बखत !

माउण्ट आवु : यस वर्षको व्यापक वर्षाले ३० वर्षको रेकर्ड तोडेको रहेछ । ठाउँठाउँ बाटो भत्किएको भनिए पनि माउण्ट आवु पनि हाम्रो मुख्य गन्तव्य थियो । बाबाले आफ्नो चिन्तन र विचारलाई मूत्र्तरुप दिन आरम्भ गरेको मुख्य स्थल यहीं रहेछ । पत्थरको शहर, पत्थरकै पहाड तर यहाँ केही हरियाली देखियो । पानी परेन तर बादल भइरहँदा गर्मीको महसुस नै भएन हाम्रो यात्राभरि ।

२५ एकडमा फैलिएको ज्ञान सरोवर क्षेत्र । डा. एन चन्ना रेड्डी (पूर्वराज्यपाल) को प्रयासबाट निर्मित आध्यात्मिक चित्र प्रदर्शनी हल, २५ सयजति अट्ने अन्तर्राष्ट्रिय कन्फ्रेन्स हल रहेछ जसमा एकैपल्ट ४५ भाषामा वक्तव्य अनुवाद हुन सक्ने रहेछ । वक्तव्य जुन भाषामा दिइए पनि अडियोमा आफ्नो भाषाको कोड नम्बर थिचेर आफ्नै भाषामा सुन्न सकिने प्रबन्ध मिलाइएको रहेछ । यस्तै, जे बाटुमल मेमोरियल ग्लोवल हस्पिटल रिसर्च सेन्टर, म्युजियम, पाण्डव भवनका history hall, tower of peace, meditation room, training center, राजयोग प्रशिक्षण केन्द्र, बाबाको बाँसले बनेको छाप्रो, घोडाको तबेला (बाबाको शयनगृह) Universal peace hall आदि आकर्षणका केन्द्र रहेछन् । यही पाण्डव भवनमा हाम्रो दिवा भोजन भयो । उस्तै प्रबन्ध, उस्तै व्यवस्थापन । जैन धर्मगुरु महावीर जैनको विशाल मूर्ति भएको देलवाडा मन्दिर पनि प्रख्यात रहेछ ।

Peace park :  झण्डै ५ सय प्रजातिका फूल–वनष्पति र ध्यान योग गुफा समेत रहेको यस पार्कको सम्पूर्ण व्यवस्थापन आफ्नै लगानीमा एउटा करोडपति व्यापारी ब्रह्मकुमार किशोर भाइले गरेका रहेछन् । पुदिना र कागती राखेको सर्वतले हामी सबैको स्वागत गरे उनले । एक सफल व्यापारी तर सबै छोडेर आफ्नो सम्पूर्ण जीवन बाबाको सेवामा समर्पित गरेका रहेछन् ।

नक्कीझिल : झण्डै ५ वर्ग किमिमा फैलिएको नक्कीझिल पर्यटकहरुको मुख्य आकर्षणको केन्द्र रहेछ । डुङ्गा र स्टिमर समेतमा जलविहार गर्न सकिने यस झिलमा विभिन्न प्रजातिका माछा र अन्य जलचर रहेछन् । पानीबाटै उठेको हुस्सुले पूरै दृश्य देख्न पाइएन तर त्यसको किनारामा हाम्रा साथीमध्ये केही जोडाहरुले राजस्थानी भेषमा फोटो खिचाउन भ्याए भने मैले पनि सानोतिनो खरिददारी गर्ने मौका छोपें ।

विशेष यात्रा सोमनाथसम्मको : हाम्रो ग्रुपमा विविधता थियो चाहनाको, विचारको, योग्यता र प्रतिभाको । केही अति बौद्धिक थिए भने केही अत्यन्त सामान्य । त्यसैले पनि हाम्रो समुच्चै ग्रुप टेन ग्रुप, सेभेन्टिन ग्रुप, सेवेन ग्रुपमा विभाजित हुन पुग्यो । सबैको एकमत नहुने ! म जस्ता केही भने दुबैतिर मिसिन बाध्य थियौं । घोराहीबाटै सामेल हुनुभएका शिशिर गौतम र सुधा गौतम (देउखुरी वनकट्टा) हरुले सोमनाथसम्म पुग्ने लक्ष लिएरै नक्सासमेत लिएर आउनुभएको थियो । शिवलाई भाइको नेतृत्वमा हामी १७ जना त्यसमा सामेल भयौं । दुईओटा गाडीको व्यवस्था गरियो । आरम्भमा सीट व्यवस्थापनमा केही असहजता देखिए पनि शिवलाल भाइ र नारायण पन्थीको बुद्धि–चातुर्यले समस्याको सहजै समाधान भएर यात्रा सकुशल आरम्भ भयो । निकै सौहाद्र्रपूर्ण पनि रह्यो ।

सावरमती आश्रम : महात्मा गान्धीको यो आश्रम सावरमती नदीको किनारमा अवस्थित रहेछ । इतिहास झल्काउने विभिन्न तस्विरहरु, ऐतहासिक अतिथिगृह र गान्धीसँग सम्बन्धित ग्रन्थहरुको पुस्तकालय रहेछ । पुस्तकहरु किन्न सकिने व्यवस्था पनि रहेछ र केही साथीहरुले किने पनि । गान्धीले आफ्ना भद्र अवज्ञा आन्दोलन, ऐतिहासिक डाण्डीमार्च र अहिंसात्मक आन्दोलन यहींबाट शुरु गरेको पाइन्छ ।

अक्षरधाम : विष्णुको स्वर्णीम मूर्ति (सुनको प्लेटबाट बनेको) र कतिपय कलात्मक मूर्ति रहेको यस अक्षरधाममा पर्यटकहरुको ओइरो नै लाग्ने रहेछ । फोटो खिच्न मनाही गरिएको सुन्दर प्राकृतिक हरियालीका बीच अवस्थित गुलाफी संगमरमरबाट निर्मित यस कलात्मक मन्दिरको गर्भगृहमा पनि अत्यन्त सजीव लाग्ने प्रशस्त मूर्तिहरु देखिए । केही साथीहरु त असली मान्छे ठानेर झुक्किए पनि । त्यहाँको अति प्रसिद्ध र विष्मयकारी water show साँझ मात्रै देखाइने भएकाले समयाभावका कारण देख्न सम्भव भएन । बिना स्क्रिन, बिना पर्दा पानीको फौव्वाराकै पर्दामा फिल्म शो हुँदोरहेछ ।

राजस्थान नाघेर गुजरात छिरेदेखि नै विकास र समृद्धिको झलक देख्न पाइहालियो । आरम्भकै चोकमा भैंसी, पाडो र दूध दुहुँदै गरेकी गुजराती पहिरनमा सजिएकी महिलाको पत्थरकै कलात्मक मूर्तिले र कपासको व्यापक खेतीले मोदीको स्वेत क्रान्ति एवं नजर पुग्ने ठाउँसम्म बदम र अन्य नगदे बालीको खेतीले उनको हरित क्रान्ति स्मरण गराए । चिल्ला चार लेनसम्मका फराकिला सडक, सफा र स्वच्छ सहर, छुट्टै बनेका व्यवस्थित औद्योगिक केन्द्रहरुले हामीलाई निकै प्रभाव पारे । यहाँ नहर र बोरिङबाट पनि सिंचाई भएको देखियो । विहार र उत्तर प्रदेशका झै गरिब बस्ती र घाँसफुसका छाप्रा भएका गाउँ कतै देखिएनन् । जता हेरे पनि खेती र हरियाली मात्र ! ‘गुजराजकै विकास र समृद्धि दिन सक्लान् त मोदीले सम्पूर्ण भारतलाई ? यदि यस्तो हुन सम्भव भए यिनलाई आजीवन भारतको प्रधानमन्त्री बनाइदिए पनि हुन्छ’– भन्ने टिप्पणी गरे साथीहरुले । साथै हाम्रा नेताहरुलाई लाञ्छित पनि गरिरहे ।

सोमनाथ मन्दिर अरब सागर :

झण्डै ६ सय ५० किमिको दूरी पार गरेर अन्ततः रातीको १ः३० बजेतिर सोमनाथ पुगियो । एउटा सामान्य होटलमा झोला बिसाएर दुई घण्टाजति सुतेर आँखाको विष मा¥यौं । सबेरै उठेर नुहायां । बिहानको आरतीको महत्व थियो– त्यो पनि शिव–साउन महिनाको । चार नाथमध्येको एक प्रसिद्ध शिवधाम यो सोमनाथ र अन्य पशुपतिनाथ, अमरनाथ, विश्वनाथ !

मुसलमानहरुद्वारा बारम्बार लुटिएको समुन्द्रकै किनारामा अवस्थित अति प्रसिद्ध एक ऐतिहासिक मन्दिर ! भित्र तस्विर लिन नपाइनेरहेछ । मोबाइल र क्यामरा बाहिरै राख्नुपर्ने । उत्तम तिमिल्सिना हामी सबैका सामान लिएर बाहिरै उभिनुभयो, पछि उहाँलाई पालो दिइयो । धर्म र दर्शनको कुरा भन्दा पनि देख्न पाइएको सन्तुष्टि देखिन्थ्यो धेरैको अनुहारमा । मन्दिरको विशाल बाह्य परिसर सम्पूर्ण टायलले छोपेको, परेवाहरुको ठूलो बथान उड्दै बस्दै, बस्दै उड्दै गरिरहेको । शंख र घण्टको उच्च ध्वनि ! कमालको आध्यात्मिक वातावरण ! आरतीपछि फूलपाती र प्रसादसहित मन्दिर किनारको रेलिङमा केहीबेर अडिएर समुद्र हे¥यौं अघाउञ्जेल ! समुद्र देख्ने रहर थियो धेरैको, मेरो पनि । यात्रा सार्थक लाग्यो, थकाइ र आलश्य कपूर बनेर उड्यो ।

समुद्र क्रिडा :

समुद्रको छालसँग खेल्ने रहर जाग्यो धेरैको । त्यसैले मन्दिरबाहिर निस्केर समुद्रको खुल्ला किनारतिर लाग्यौं सबै । कहिल्यै समुन्द्र नदेखेका हामीलाई कल्पनातित लाग्यो । छालाहरु आउँदै हाम्रा पाउ पखाल्दै फर्किरहे, हामी रोमाञ्चित भइरह्यौं समुद्रको सम्मान र आतिथ्य प्राप्त गरेर । केहीले उँटमा चढेर तस्वीर खिचाए, केहीले समुद्रको किनारैकिनार घोडा दौडाएर मनोरञ्जन प्राप्त गरे । सबैको अनुहारमा अनिर्वचनीय खुशी र उल्लास देखिन्थ्यो । धेरैले रु. १० गोटा नरिवल पानी खाए, कसैले चिया । केहीबेर प्रसाद, मन्दिरका तस्वीर, शंख र कढाइ गरेका झोलाको खरिददारी भयो र भरपुर मनोरञ्जन प्राप्त गरी तृप्त भएको हाम्रो टोली पुनः मधुवनकै लागि फर्कियो ।

दुई दिन विलम्ब गरेर आएकाले हाम्रो फिर्ती पनि दुई दिनपछि नै भएकाले यसरी घुम्ने अवसर जुरेको हो । गौतम र पन्थीहरुको टेनग्रुप समय मिलाएर उदयपुर पनि गयो । बाटोमा पर्ने राणा प्रतापको हल्दीघाटी, उदयपुरको दरवार, साँभरझिल, सहेलियोंकी बाडी (बगैंचा), श्री नाथमन्दिर (कृष्णको) जस्ता विशेष दर्शनीय क्षेत्र हेरेर साँझमै फक्र्यो त्यो टोली ।

साँझको खानापछि पार्कमा हामी सबै भेला भयौं । भोलि बिहानै हाम्रो फिर्ती थियो नेपालका लागि । गीता दिदी र शिवलाल भाइजीले मार्मिक वक्तव्य दिंदै भोलिको यात्राका लागि शुभकामना पनि दिनुभयो । दिदीबाट अनुरोध गरिएपछि मैले आफ्नो अनुभव सुनाएँ । सेभेन्टिन ग्रुपले दिदी र भाइ दुबैलाई उपहार दिएर सम्मान प्रकट ग¥यो । सबैलाई किन नसमेटेको भनेर झिनो असन्तुष्टि पनि गाइँगुइँ सुनियो । ३९ जनाको समूह रहेको र विविध विचारका कारण पनि सबै ग्रुप एकजुट हुन नसकेर विशेष स्थान भ्रमणसमेत भिन्दाभिन्दै गरिएकामा शिवलाल भाइले दुःख प्रकट गर्दै त्यसको जिम्मेवारी आफैंले लिन खोजेर वातावरण सहज बनाउने प्रयास गर्नुभयो ।

बिहानको ५ः३० को टे«न । बेलैमा आबुरोड स्टेसन पुगी झोला बिसाइयो । उस्तै प्रक्रिया, उस्तै साहचर्य, उस्तै आत्मियता । ३१ साउन बिहान ९ः३० मै गोरखपुर र १ः३० तिर कृृष्णनगर आइपुगियो । तर बन्दका कारण स्थिति असहज थियो । प्रादेशिक विभाजनको बिरोधमा ठाउँ ठाउँमा हिंसा र भिडन्तको स्थिति थियो र तराई बन्द गरेका थिए– आन्दोलनकारी थरुहट र मधेशवादी दलहरुले । ‘ॐ शान्ति’ भन्दै मधुवन पुगेर आएका हामी, आफ्नै दोशको अशान्तिले क्षुब्ध बन्यौं । भाइ नारायण पन्थी दाङ बस व्यवसायीसँग सम्बन्धित रहेका र दुर्घटना प्रमुख पनि भएकाले सक्रियरुपमा गाडीको व्यवस्था गर्न र प्रशासनसँग सुरक्षा प्राप्त गर्न लागि परेकैले केही आशा देखियो । विभिन्न ठाउँका धेरै व्यक्तिहरु ३÷४ दिनदेखि रोकिएका पानी झरीमा पनि सडकमै सुत्न बाध्य भएका थिए, उनले साँझतिर बन्द खोल्न र सुरक्षा दिन माग गर्दै नारा जुलुस पनि गरेका थिए । हामीले कृष्णनगरकै ओम शान्तिको सेन्टरमा झोला बिसाएका थियौं र त्यहाँकी सञ्चालिका विमला दिदीले मिठाइ र पानीले स्वागत गर्नुभएको थियो । सेन्टरकै छेउमा रहेको मेरा साढुभाइ ओम भुसाल र बहिनी सीता भुसालको स्नेह र रात्रि–भोजनको न्यानो आतिथ्य समेत प्राप्त गरेर झण्डै १०ः३० तिर प्युठानका सहयात्री बसन्त पौडेलले व्यवस्था मिलाउनुभएको र स्वयं चालक बन्नुभएको गाडीमा अगाडि सशस्त्र र पछाडि जनपथ प्रहरीले हाम्रोसहित अन्य केही गाडीहरुलाई स्कर्टिङ गरेर चन्द्रौटासम्म पु¥यायो । त्यहाँ नारायण पन्थीले लमहीबाट मगाउनुभएको गाडीबाट हामी दाङतर्फ अविलम्ब कुद्यौं । बाटोमा कुनै अवरोध नभएकाले यात्रा निर्विघ्न सम्पन्न भयो । घर आइपुगेर घडी हेर्दा रातीको दुई बजिसकेको थियो ।
०००

By

Readers Comments (0)