Filed Under:  समीक्षा

निर्भिक, खरो र तर्कपूर्ण विचार | सुशील गौतम

7th July 2015   ·   1 Comment

bhimarjun bookSushilमुलुकमा लोकतन्त्र वा गणतन्त्र आएर मात्र केही हुँदो रहेनछ । खासगरी राजनीतिक संस्कृति र समग्रमा सम्पूर्ण समाजको संस्कृति लोकतान्त्रिक, गणतान्त्रिक नहुँदासम्म लोकतन्त्र औपचारिक सिमाबाट अघि बढेर आम जनताको जनजीवनमा, जनजिविकामा प्रतिबिम्बित हुन सक्ने रहेछ भन्ने कुरा समकालीन नेपालको तितो भोगाइ हो । हामीले पञ्चायती तानाशाही व्यवस्थालाई फालेर बहुदलीय व्यवस्था ल्यायौं । राजतन्त्र फालेर गणतन्त्र स्थापना ग¥यौं । लोकतन्त्र, गणतन्त्रको आत्मा भनेकै असहमति वा आलोचनात्मक चेत हो । जब यसका संवाहकहरु नै आलोचनात्मक चेत होइन, जयजयाकारलाई प्राथमिकता दिन थाल्छन्, जब स्वतन्त्र, निर्भिक र निष्पक्ष जनमत सिर्जना गर्नुपर्ने दायित्व बोकेका बुद्धिजीवीहरु नै आश वा त्रासमा परेर विवेकलाई बन्धकी राखेर अन्ध समर्थकमा रुपान्तरित हुन्छन्, त्यसबेला लोकतन्त्र आत्माबिना (यहाँ मैले आत्मा शब्द पूर्वीय दर्शनको आत्मा भन्ने चीजभन्दा प्रतीकका रुपमा मात्र प्रयोग गरेको छु) को शरीरमात्र रहन्छ । नेपाली जनताले लामो, कठीन र कष्टपूर्ण बलिदानपछि स्थापित भएको लोकतन्त्र, गणतन्त्रको अवस्था त्यस्तै छ भन्दा अतिरञ्जित हुँदैन होला । यहाँ आलोचनात्मक चेतलाई प्रोत्साहित गर्ने होइन, उल्टो प्रवृत्तिको बिगबिगीले गर्दा नै राजनीति लगामहीन, मूल्यहीन र आदर्शबाट डरलाग्दो गरी च्यूत हुँदैछ ।

तथापि सीमित भए पनि मुलुकका बुद्धिजीवीहरु आश र त्रासमा नपरेर दल वा नेताको मुख हेरेर होइन, मुद्दा हेरेर खरो र निर्भिक टिप्पणी गरेर आफ्नो नागरिक दायित्व पूरा गरिरहेका छन् । यस्तै मध्ये एक हुन् दाङमा जन्मिएर देशव्यापी छवि बनाइसकेका संविधान, कानून र राजनीतिका अध्येता डा. भीमार्जुन आचार्य । आफ्ना प्रष्ट, निर्भिक र भीडभन्दा पृथक विचारका कारण चर्चित आचार्यले गत वर्ष (२०७१) मा ‘कानून र राजनीति’ शीर्षकको बृहत आकारको पुस्तक आफ्नो २२ औं कृतिका रुपमा प्रकाशन गरेका छन् ।

‘राष्ट्र–राष्ट्रियता, विधिको शासन र लोकतन्त्रमा विश्वास गर्ने सबैप्रति’ समर्पित चार सयभन्दा बढी पृष्ठ रहेको कानून तथा राजनीति गरी दुई अध्यायमा विभाजित प्रस्तुत पुस्तकमा मूलतः कानुनसँग जोडिएका ३२ वटा र मुुलुकको समसामयिक राजनीतिका ज्वलन्त प्रश्नहरुसँग सम्बन्धित ४६ वटा गरी जम्मा ८९ वटा लेखहरु रहेका छन् । पुस्तकमा समेटिएका सबैजसो लेखहरु विभिन्न पत्रपत्रिकाहरुमा पूर्वप्रकाशित भइसकेका हुन् भने समयको कालखण्डका दृष्टिले विक्रमको ५० को दशकको उत्तरार्धदेखि २०७१ को प्रारम्भसम्म रहेका छन् ।

पुस्तकको पहिलो अध्यायमा समेटिएका लेखहरुले माथि उल्लेख गरेझैं कानुन, न्यायसम्बन्धी विविध पक्षहरु रहेका छन् । यस अध्यायमा न्याय, कानुनसम्बन्धी कतिपय सैद्धान्तिक प्रश्नको साथै नेपालमा त्यसको व्यवहारिक प्रत्याभूति विधिको शासन र यससँग सम्बन्धित विविध पक्षहरुको विस्तृत चिरफार गरिएको छ । आफै नेपालको सर्वोच्च अदालतमा बहस पैरवी गर्ने कानुन व्यवसायी हुनुको साथै सर्वोच्चको फैसलाले मुलुकको न्याय, कानुनको क्षेत्रमा तत्कालीन र दीर्घकालीन असर पार्ने भएर पनि होला लेखकले सर्वोच्च अदालतले गरेका कयौं महत्वपूर्ण फैसलाहरुबारे पनि कानुनी एवम् प्राज्ञिक टिप्पणी गरेका छन् । यस्ता टिप्पणीहरुमा कानुनी पक्षको सन्दर्भ स्वभाविकरुपमा उठ्ने भए पनि ती टिप्पणीहरु निरस र जटील वादविवादमा सीमित छैनन् । कानुन क्षेत्रको वा मुलुकको समसामयिक विषयमा सामान्य ज्ञान र रुचि राख्नेका लागि पनि सहज रुपमा पठनीय छन् । निर्भिक छवि बनाएका डा. भीमार्जुनले कानुन, न्याय, अदालत र फैसलामाथि टिप्पणी गर्दा सधैं विधिको शासन र जनअधिकारलाई सर्वोच्च स्थान दिएका छन् र आफूलाई अत्यन्त दृढतापूर्वक आमजनताको अधिकारको पक्षमा, लोकतन्त्र र लोकतान्त्रिक सस्कृतिको पक्षमा उभ्याएका छन् । राज्य, कानुन वा अदालत जहाँ–जहाँ त्यसको विपक्षमा उभिएको देख्छन्, उनले त्यसको कठोर तर ज्यादै तर्कपूर्ण आलोचना गर्दछन् । प्रस्तुत अध्यायका साथै समग्र पुस्तक पढिसकेपछि आचार्यमा आफ्नो विषयको गहिरो ज्ञान भएको र त्यसको आधारमा उनमा आलोचनात्मक चेत बलियो रहेको कुरा एउटा सजग पाठकले सहजरुपमा अनुभूति गर्न सक्छ ।

पुस्तकको दोस्रो अध्याय मूलतः राजनीतिमा केन्द्रित छ । यस अध्यायका अधिकांश लेखहरु विगत छ दशकअघिदेखि नै चर्चित र पछिल्लो चरणमा नेपालमा अभ्यासरत संविधानसभा र संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने सवालमा केन्द्रित छन् । त्यसमा पनि उनले सबैभन्दा बढी कलम अहिलेको नेपालको सबैभन्दा बढी चर्चित विषय राज्यपुनःसंरचनाका विषयमा चलाएका छन् । संविधानसभा, यसले बनाउने भावी संविधानलगायत राष्ट्रिय राजनीतिका ज्वलन्त प्रश्नबारे डा. भीमार्जुनले आमसञ्चार माध्यमबाट आफ्ना खरा तथा पृथक विचार राख्दै आएका छन् । प्रस्तुत पुस्तकमा पनि सार्वजनिक रुपले अभिव्यक्त गर्दै आएका सुप्रचारित विचारहरु अभिव्यक्त भएका छन् । डा. भीमार्जुन आफ्ना लेखनीहरुमार्फत् राष्ट्रिय राजनीतिका महाविवादका पक्ष संविधानसभाबाट संविधान निर्माणको प्रश्न, संघीयता, संघीयताको आधार र स्वरुप, धर्मनिरपेक्षता आदि विषयमा मौलिक, प्रष्ट एवम् तर्कपूर्ण दृष्टिकोण राख्दै बौद्धिक हस्तक्षेप र कडा विरोध गर्न सफल भएका देखिन्छन् । त्यसैगरी राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, जनतामा निहित सार्वभौमिकताबारे अत्यन्त गम्भीर चिन्ता र चासोको उनले आफ्ना समग्र लेखहरुमा प्रकट गरेका छन् ।

लगातारको वैदेशिक हस्तक्षेप, नेपाली राजनीतिमा पछिल्लो चरणमा देखापरेको राष्ट्रियताको सन्दर्भमा हीनभाव, आफ्नो निहित स्वार्थका लागि विदेशीको गोटी बन्ने आत्मघाती प्रवृत्तिलाई सबैले बुझ्ने (निदाएको भान पार्नेलाई भने कसले उठाउन सक्छ र ?) गरी शल्यक्रिया गरी पाठकहरुलाई छर्लङ्ग पार्न डा. भीमार्जुनको कलम सफल देखिन्छ । उनी जातीय राज्य, नेपाली समाज, धर्म परम्परा र संस्कृतिमाथि विदेशीहरुको योजनाबद्ध आक्रमणबाट अत्यन्त चिन्तित मात्र देखिदैनन्, कलमका माध्यमबाट सशक्त प्रतिकार गर्ने कोसिस पनि गरेका छन् ।

नेपाल २००७ सालदेखि नै अस्थिरताको शिकार भएको छ र यस्तो अस्थिरताको तानाबाना बुन्ने र गोटी बन्ने को हुन् भन्ने शब्दचित्र उनले प्रस्तुत पुस्तकमा कोरेका छन् । विचारको विविधता (जसलाई डा. भीमार्जुनले पनि उच्च सम्मान गरेका छन्) को यो युगमा उनले अभिव्यक्त गरेका सबै विचारमा कयौंको सहमति नहुन सक्छ । तर, उनको यो पुस्तक कुनै पूर्वाग्रहबिना पढ्नेले उनका विचारप्रति असहमत भए पनि ति विचार बहसका पृथक कोणबाट आएका गम्भीर तर्कसहितका विचार हुन् भन्ने कुरा स्वीकार गर्नुपर्ने हुन्छ ।

पुस्तक विस्तृत रुपमा संविधान निर्माण प्रक्रियाबारे चर्चा गरिएको छ । प्रस्तुत पुस्तकको यो छोटो समीक्षा लेखिरहँदा नयाँ संविधानको पहिलो मस्यौदा सार्वजनिक भइसकेको छ । तथापि डा. भीमार्जुनले उठाएका मूल मुद्दाहरु भने अझै पनि कायम छन् । खासगरी संघीयता, यसको सिमाङ्कन र नामाङ्कन सम्बन्धमा । जस्तो कि डा. भीमार्जुन यो पुस्तकमा भन्दछन्–

– संविधान निर्माणको प्रसंगमा उठाइने संघीयता, जातीय पहिचान र स्वायत्तवादका मुद्दाहरु यो प्रक्रियाका सबैभन्दा डरलाग्दा चुनौती हुन् ।

– आजसम्मको पृथकतावादी आन्दोलनको जड … संघीय राज्य र जातीयता सम्बन्धी विषय नै हो ।

– नेपाली नेताहरुको सक्षमतामा संविधानसभाबाट संघीय राज्य त्यसमा पनि जातीय राज्यको संविधान लेखेर जारी हुन, जारी भएमा लागू हुन र लागू भएमा टिकाउ हुन सम्भव छैन ।

– समावेशीता र संघीय राज्य व्यवस्थाबीच कुनै अन्तर्सम्बन्ध हुँदैन । मल्टीकल्चरिजम अर्थात् विविधता त संघीय राज्यव्यवस्थाको सफलताको सबैभन्दा ठूलो बाधक तत्व हो ।

– राष्ट्रको तटस्थताको सिद्धान्तअनुसार एउटै देश धर्मको नाउँमा निरपेक्ष तर जातको नाउँमा सापेक्ष हुन सक्दैन ।

कोही पाठक डा. भीमार्जुनका उपरोक्त विचारसँग असहमत हुन्छ भने पनि उनले उठाएका यी प्रश्नको गम्भीरतामा मलाई लाग्छ– कोही असहमत हुन सक्दैन ।
अन्तमा प्रस्तुत पुस्तकका लागि निर्भिक, खरो र तार्किक विचारका कारण मुलुकभरि नै बेग्लै पहिचान बनाउन सफल डा. भीमार्जुन आचार्यलाई उहाँको यो २२ औं पुस्तकका लागि धन्यवाद दिदै शुभकामना ।

पुस्तक : कानुन र राजनीति
लेखक : डा. भीमार्जुन आचार्य
प्रकाशक : अलायन्स ल हाउस, काठमाडौं
मूल्य रु. : ६५०।–

By

Readers Comments (1)

  1. Madhu Soodan Poudyal says:

    You have honestly made very fair comment on Dr. Bhomarjun’s thoughts & works. Though I have not red this newly published collection of his articles, I do not miss his articles & interviews. His words are really “Geeta” of Politics & Law for me. Sushil Ji, I will buy n read the book with your aspiration.