Filed Under:  समीक्षा

मगर जातिको गतिलो अभिलेख

8th June 2015   ·   2 Comments

Tikaram Udasi- टीकाराम उदासी

नेपालका विभिन्न्न आदिबासी–जनजातिहरुमध्ये एउटा प्रमुख जाति मगर पनि हो । जनसङ्ख्याका हिसाबले पनि यो नेपालकै तेस्रो सबैभन्दा ठूलो जातिभित्र पर्दछ । इतिहासको एउटा लामो कालखण्डदेखि आजपर्यन्त आफ्नो स्वतन्त्र पहिचानसहित यो नेपाली समाजमा अस्तित्वशील रहँदै आइरहेको छ । इतिहासका विभिन्न कालखण्डहरुमा नेपाली भूगोलका अनेक क्षेत्रमा शासककै रुपमा स्थापित यो जाति आज भने आफ्नो मौलिक विशिष्ट संस्कृति, सामाजिक जीवनशैली र मौलिक भाषाका कारण देशका अन्य जातिहरुका माझ स्वतन्त्र अनुहारमा परिचित हुनपुगेको देखिन्छ । नेपालका आदिबासी जनजातिहरुमध्ये एउटा प्रमुख जातिका रुपमा रहेको यही मगर जातिको ऐतिहासिक, साँस्कृतिक, भाषिक र राजनीतिक सन्दर्भ समेतलाई समेटेर २०७१ सालमा मगर प्राज्ञिक समूह, काठमाडौंले एउटा महत्वपूर्ण अनुसन्धानमूलक कृति प्रकाशित गरेको छ । मगर जाति नामक प्रस्तुत कृतिलाई यामबहादुर पुन र झकेन्द्र घर्ती मगरले सम्पादन गरेका छन् । यसभित्र विभिन्न १६ जना लेखकहरुका मगर जातिसँग सम्बन्धित अनुसन्धानमूलक आलेखहरु समाविष्ट छन् ।

मगर जाति नामक झण्डै चार सय पृष्ठको यस पुस्तकलाई विषयवस्तुका आधारमा चार खण्डमा विभक्त गरिएको छ । यसबाहेक पुस्तकको आरम्भमा मगर प्राज्ञिक समूह, काठमाडौंका अध्यक्ष छबिलाल चिदी मगरको सारगर्भित भूमिका तथा मगर जातिसम्बन्धी अनुसन्धानका विविध पक्ष र चुनौती शीर्षकमा मगर जातिका एक परिचित अध्येता प्रा.डा.केशरजंग बराल मगरको प्राज्ञिक मन्तव्यलाई स्थान दिइएको छ भने मगर जातिको विविध आयाम शीर्षकमा यामबहादुर पुनको सान्दर्भिक लेख समेत समाविष्ट छ । पछिल्लो भागमा लेखकहरुको परिचयदेखि प्राचीन मगरात क्षेत्र, मध्यकालीन मगरात क्षेbook_magar_1त्र, मगर पहिचानमा नामकरण भएको क्षेत्र, हालको मगर बाहुल्य क्षेत्र र हालको मगरात क्षेत्र शीर्षकमा विभिन्न नक्सासूची राखिएका छन् । यस्तै चित्र तथा तालिका सूचीभित्र भाषापरिवारअन्तर्गत नेपालमा रहेका तीनवटै मगर भाषाहरु, तीनवटा मगर भाषाका स्वरवर्णहरु र तीनवटै भाषाका व्यञ्जन वर्णहरु शीर्षकमा भाषासँग सम्बन्धित सामग्रीहरु रहेका छन् । अनुसूचीमा नेपाल मगर सड्घको हालसम्मको महाधिवेशन र नेतृत्वको विवरण पनि राखिएको छ । यसरी पुस्तकअघि र पछि राखिएका यी विभिन्न सन्दर्भहरु पनि पुस्तकका अति महत्वपूर्ण पूरक सामग्रीका रुपमा रहेका देखिन्छन् ।

प्रस्तुत पुस्तकको मूल संरचनाको पहिलो खण्डमा मगर जातिको इतिहास, भूगोल र राजनीतिसँग सम्बन्धित सामग्रीहरु रहेका छन् । यसभित्र सबैभन्दा पहिले फटिकबहादुर थापा मगरको मगर जाति : उत्पत्ति, आगमन र फैलावट शीर्षकको लेख रहेको छ । यसमा उनले मगर जातिको उत्पत्तिकथा, उनीहरुको इतिहास, नेपालमा उनीहरुको आगमन र बिस्तारका विविध पक्षबारे प्रकाश पारेका छन् । साथै यसभित्र गोरखा राज्यको बिस्तार अभियान, गोरखा भर्ति र मगर बस्तीजस्ता विभिन्न पक्षबारेमा पनि चर्चा गरिएको छ । त्यस्तै छबिलाल चिदीको नेपालमा मगरात भूमिको पहिचान नामक लेखमा प्राचीन कालमा मगर, मध्यकालीन नेपालमा मगर, आधुनिक नेपालमा मगर मगर देवस्थल, मगर भाषा र नदीनाला, गाउँ विकास समितिको नामकरण, हाल मगर बाहुल्य क्षेत्र तथा हालको मगरात क्षेत्रजस्ता उपशीर्षकहरुमा मगरहरुको इतिहास र वर्तमान स्थितिका बारेमा चर्चा गरिएको छ । टुकबहादुर थापाको मगरातको राजनीतिक इतिहास ः विगत र वर्तमान शीर्षकको लेख पनि यसै खण्डमा रहेको छ । यसमा उनले मगरात इतिहास, नेपाली राज्य र मगर राजा अनि त्यसभित्र मगर राजा अरमुडीदेखि बलिहाङ हुँदै गोरखाका खड्का मगर राजा, रुकुम तकसेराका राजा विनय घर्ती मगर साथै इतिहासमा उल्लेख भएका अन्य मगर राजाहरुका बारेमा जानकारी दिएका छन् । त्यस्तै उनले मगरातको वर्तमान सन्दर्भ तथा मगरात र त्यसको साझा पहिचानलाई पनि केही खोतल्ने प्रयास गरेका छन् । खण्डको अन्तिम लेखका रुपमा रहेको बमकुमारी बुढा मगरको मगरातको इतिहासमा काला र गोरा शेषका आधार भन्ने लेखले केही ऐतिहासिक सामग्री, केही जनश्रुतिलाई र केही प्राकृतिक तथ्यलाई प्रमुख आधार बनाएर काला शेष, गोरा शेष, काला र गोरा पल्टन उपशीर्षकका माध्यमबाट लुकेको इतिहासलाई उत्खनन गर्ने काम गरेको देखिन्छ । यसरी पुस्तकको यस खण्डमा प्रायः सबैजसो खोजमूलक तथा विचारोत्तेजक लेखहरु समाविष्ट छन् ।

प्रस्तुत पुस्तकको खण्ड दुई मगर भाषा, धर्म र संस्कारसँग सम्बन्धित रहेको छ । यसभित्र धनबहादुर रोका र कर्णबहादुर बुढामगरको मगर जातिको भाषिक सामीप्यता भन्ने भाषासँग सम्बन्धित लेख सबैभन्दा पहिले छ । यसमा मगर मातृभाषा र सड्ख्या, भाषापरिवार, नेपालमा रहेका विभिन्न तीन मगर भाषामा सामीप्यता, मगर भाषाका समाज भाषाविज्ञान पक्ष, भाषाका चुनौती र सम्भावना आदि शीर्षकमा रहेर नेपालमा रहेका मगरहरुले बोल्ने विभिन्न भाषाहरुको मूल रुप एउटै भएका कारण ती सबै एउटै भाषाका भाषिकाहरु हुन् भन्ने निष्कर्ष दिइएको छ । त्यस्तै मीन श्रीस मगरको मगर जातिको संस्कार र चाडपर्व भन्ने लेखमा मगरात सभ्यता र मगरातीकरणको चर्चा गर्दै नेपालमा मगरहरुले मनाउने विभिन्न चाडपर्व र संस्कारहरुका बारेमा जानकारी दिइएको छ । यस खण्डमा भोजबिक्रम बुढामगर र श्याम घर्तीमगरको काइके मगरको भाषा, संस्कार र चाडपर्व शीर्षकको लेख पनि छ । यसमा काइकेहरुको भाषासँग जोडिएको इतिहास, काइके मगर र धर्म, काइके मगरको संस्कार, जन्म तथा न्वारन, विवाह, मृत्यु संस्कारदेखि उनीहरुले मनाउने विभिन्न चाडहरुका बारेमा जानकारी दिइएको छ । यस्तै खण्डको अन्तिममा यामबहादुर पुन मगरको धार्मिक पहिचानमा भएको बहस शीर्षकको सामग्रीलाई स्थान दिइएको छ । यसरी यस खण्डमा मगर भाषा र संस्कृतिका विविध आयाम समेटिएका लेखहरु समाविष्ट रहेका देखिन्छन् ।

पुस्तकको तेस्रो खण्ड मगरहरुको परम्परागत पेसा, संस्था र स्वास्थ्यसँग सम्बन्धित रहेको छ । यसभित्र कमलबहादुर थापा मगरको मगर जातिको परम्परागत संस्था भेजा शीर्षकको लेख सबैभन्दा पहिले छ । यसमा उनले तामाङको चोहो, गुरुङको रोधी, तिथो र गोला, नेवारको गुथी, थकालीको ढिकुरी भएजस्तै बाह्र मगरातहरुको सामूहिक जीवनशैलीका रुपमा रहेको एउटा महत्वपूर्ण संस्कृति भेजाका बारेमा प्रकाश पारेका छन् । उनले यसमा भेजाको ऐतिहासिक पृष्ठभूमि, भेजाको साङ्गठनिक स्वरुप, बार्षिक रुपमा गरिने भेजा, भेजाको संरचना र भूमिका तथा त्यसको सामाजिक, साँस्कृतिक, आर्थिक पक्ष, कल्याणकारी र राजनीतिक पक्ष, स्रोत व्यवस्थापन पक्ष, राज्यको नीति र भेजाजस्ता विभिन्न उपशीर्षकहरु राखेर भेजा संस्कृतिबारे जानकारी दिएका छन् । यस्तै दिलप्रसाद मगरको मगर जातिको परम्परागत पेशा व्यवसाय शीर्षकको लेखमा मगरहरुको शिकार गर्ने वा खेल्ने, पशुपालन, कृषि, खानी उत्खनन, सेनामा नोकरी, व्यापार, घरेलु उद्योग, काष्ठकला र हस्तकलाका सामग्रीहरु निर्माण तथा अन्य सीपमूलक व्यवसायका बारेमा जानकारी रहेको छ  । खण्डको अन्त्यमा विष्णुकुमार सिङ्जाली मगरको मगर संस्कृतिमा स्वास्थ्यसम्बन्धी परम्परागत विश्वास शीर्षकको लेख रहेका छ । यसभित्र उनले नेपालमा परम्परागत र आधुनिक स्वास्थ्य, संस्कृतिमा स्वास्थ्य अभ्यासको प्रभाव, मगरको परम्परागत स्वास्थ्य इतिहास, मगर संस्कारमा परम्परागत स्वास्थ्य अभ्यास, मगर संस्कृतिका परम्परागत उपचारक, परम्परागत उपचारका तरिकाजस्ता विभिन्न उपशीर्षकका माध्यमबाट मगर समाजका रहेका स्वास्थ्य उपचार नमूना र विधिबारेमा धेरै जानकारी दिएका छन् ।

पुस्तकको अन्तिम खण्डका रुपमा रहेको चौथो खण्डमा पहिचानको सङ्घर्ष र महिलाको अवस्थासँग सम्बन्धित लेख परेका छन् । यस खण्डमा मनकुमारी ठाडा मगरको मगर जातिमा महिलाको स्थान र भूमिका भन्ने एउटा मगर महिलासँग सम्बन्धित लेख छ । यसमा उनले संस्कारमा महिलाको भूमिका र स्थान, चाडपर्व र महिला, घरायसी निर्णयमा भूमिका, मगर संगठनमा भूमिकाजस्ता सन्दर्भका कोणबाट मगर समाजमा महिलाको भूमिकालाई खोज्ने प्रयास गरेका छन् । यस खण्डको मात्रै नभएर पुस्तककै अन्तिम सामग्रीका रुपमा झकेन्द्र घर्ती मगरको पहिचानको आन्दोलन र मगर जातिको सन्दर्भ शीर्षकको सामयिक लेख रहेको छ । यसमा उनले पहिचानको आन्दोलनको प्रवृत्ति र पहिचान आन्दोलनको सैद्धान्तिक दृष्टिकोणबारे सङ्क्षेपमा उल्लेख गर्दै राज्य निर्माण र मगर पहिचानका मुद्दा, नमासिने मतुवाली र लाहुरे पहिचान, पहिलो प्रजातान्त्रिक काल र मगर समाज सुधार (सन् १९५२–१९६२), पञ्चायती काल ः पहिचान आन्दोलको शैशावस्था, सन् १९९० पछि मगर पहिचानको आन्दोलन, राज्यमा पहुँचका लागि मगर आन्दोलनजस्ता सन्दर्भहरुका बारेमा चर्चा गरेका छन् । यसले विशेषतः नेपालमा मगरहरुले गरेको पहिचान र अधिकारको आन्दोलनबारे प्रकाश पार्ने काम गरेको देखिन्छ ।

यसरी नेपालको सबैजसो भूगोलभित्र छरिएको र जनसङ्ख्याको दृष्टिले पनि नेपालकै तेस्रो ठूलो जातिका रुपमा रहेको एउटा आदिबासी मगर जातिको इतिहास, भाषा, संस्कृति र राजनीतिसँग सम्बन्धित विभिन्न अनुसन्धामूलक सामग्रहीहरु समेटिएर पाठक समक्ष आएको प्रस्तुत कृति सर्वसाधारणदेखि बौद्धिक मगर र गैरमगर सबैका लागि उत्तिकै पठनीय, सड्ग्रहणीय र विमर्शयोग्य बन्न पुगेको छ । यसले मगरहरुको लुकेको इतिहास र मौलिक संस्कृतिका केही महत्वपूर्ण आयामहरुलाई मात्र उजागर गरेको छैन, नेपालको समग्र लिखित इतिहासले अझै प्रकाशित गर्न नसकेका कतिपय ऐतिहासिक तथ्यहरुलाई समेत उत्खनन गरेर सार्वजनिक गर्न सफल भएको छ । यसले यस क्षेत्रमा अझै व्यापक अध्ययन र अनुसन्धान गर्न चाहनेहरुका लागि एउटा गोरेटो निर्माण पनि गरिदिएको छ । यस दृष्टिले पनि प्रस्तुत मगर जाति नामक कृतिको आफ्नै ऐतिहासिक र विशिष्ट महत्व रहेको देखिन्छ ।

By

Readers Comments (2)

  1. Bhoj Bikram Budhamagar says:

    समिक्षाको लागि लेखक उदासी र नयायुगबोध लाई धन्यवाद आगामी दोस्रो मुद्र्रणमा अझ परिकृस्त गरि प्रकाशन गर्ने योजना छ ।बिग्री

  2. Duk Bahaadur Tilija Pun Magar Paali says:

    हार्दिक धन्यवाद सबै सम्लग्न आदरणीयज्यूहरुलाई | GO AHEAD EVER & EVER .