Filed Under:  समीक्षा

प्रा.तीर्थराज सुवेदीको स्मृतिग्रन्थमाथि एक विहङ्गम दृष्टि

7th June 2015   ·   0 Comments

uttam kirshna majgyyain C- उत्तमकृष्ण मजगैयाँ

आफ्नो शुद्ध आचरण, मृदु व्यवहार र असल कर्महरुद्वारा समाजमा राम्रो छवि बनाउन सफल उच्च व्यक्तित्वहरुको मृत्युपश्चात् सम्मानस्वरुप स्मृतिग्रन्थ प्रकाशन गर्ने सामाजिक परम्परा रहिआएको छ । उनको अनुकरणीय व्यक्तित्व र कृतित्वको स्मरण गर्दै उनले दिएका योगदानको बारेमा लेखिएका विभिन्न संस्मरणात्मक लेख रचनाहरुद्वारा वर्तमान एवं भावी पुस्ताले समेत जानकारी प्राप्त गरेर अभिप्रेरित भई आफूलाई सत्कर्मतिर डो¥याउन प्रयासरत रहने गर्छ । वास्तवमा यस्ता समर्थ व्यक्तिहरुको निष्कलंक छवि र समाजका लागि गरिएको निःस्वार्थ सेवा सबैका लागि प्रेरणाको स्रोतका रुपमा स्थापित भएको हुन्छ । यस्ता व्यक्तिहरुको विशिष्ट कर्म समाजमा एक दृष्टान्तका रुपमा उपस्थित रहेको हुन्छ भने यस्ता व्यक्तिहरु प्रेरक–प्रतीक पनि बनेका हुन्छन् । यस्तै एक व्यक्तिव प्रा. तीर्थराज सुवेदीको गत २०७१ जेठ १६ गते असामयिक स्वर्गारोहणले गर्दा विशेष गरी नेपालको विद्वत् समाजले अपूरणीय क्षति बेहोर्नुपरेको थियो । त्यसै अवसरमा पौरस्त्य धर्म, संस्कृति एवं संस्कृत वाङ्मय र साहित्यका मर्मज्ञ एवं कुशल व्याख्याता प्रा. तीर्थराज सुवेदीको स्मृतिग्रन्थ प्रकाशन गर्ने निर्णय गरेर लब्धप्रतिष्ठित विद्वान्हरु यथा प्रा.डा. वेणीमाधव ढकालको संयोजकत्व र प्रा. लेखनाथ आचार्यको सहसंयोजकत्वमा प्रा. गदाधर पौडेल, प्रा. स्थानेश्वर गौतम, सह प्रा. टीकाराम गौतम, उप प्रा. बद्रीप्रसाद गौतम, उप प्रा. श्यामकुमार सुवेदी, उप प्रा. कपिलदेव सुवेदी सदस्य एवं मदन सुवेदी सदस्य सचिव रहनुभएको सम्पादन तथा प्रकाशन समिति गठन गरिएको थियो जसले डिमाइसाइजको चार सय ३२ पृष्ठको विशालकाय स्मृतिग्रन्थ प्रकाशन गरेर जनसमक्ष प्रस्तुत गरेको छ । परिवार–स्वजन खण्ड, विद्वत्वर्ग खण्ड, शिष्य खण्ड र परिशिष्ट खण्ड गरी चार खण्डमा विस्तारित यस ग्रन्थमा जम्मा ९५ जना व्यक्तित्वहरुका संस्मरण संग्रहित रहेका छन् । प्रायः सबै संस्मरण–लेखकहरुले प्रा. सुवेदीको प्रखर व्यक्तित्व, सरल स्वभाव, पौरस्त्य धर्म–संस्कृतिप्रतिको उहाँको अनन्य निष्ठा र संस्कृत वाङ्मय तथा साहित्यको व्याख्यान र प्राध्यापनप्रतिको समर्पण भावको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ भने उहाँको सरलता, सौम्यता, शिष्टता, मृदुलताजस्ता कोमल मानवीय भावनाका साथै स्नेहशील कुशल अभिभावकत्वको पनि यहाँ प्रशस्त चर्चा गरिएको छ ।

Smrit Grantha Cover1आजको जस्तो शिक्षा सर्वसुलभ नभएको त्यस कठिन युगमा पनि ज्ञान प्राप्तिको असीम बुभुक्षा लिएर यताउता हण्डर खाँदै संघर्षरत रहेका तीर्थराज सुवेदीले अन्ततः उच्च शिक्षा प्राप्त गर्न सफल हुनुभएको उपलब्धिमूलक संघर्षगाथा पनि यस्तै जिजीविषा लिएका अन्यलाई प्रेरणाको स्रोत बनेको छ भने संस्कृत शिक्षाको गुणात्मक विकास कार्यमा उहाँले पु¥याउनुभएको योगदान महनीय दृष्टान्तका रुपमा उपस्थित रहेको अधिकांश लेखक–चिन्तकहरुले यस स्मृतिग्रन्थमा प्रस्तुत गर्नुभएको विचारबाट स्पष्ट हुन्छ । उहाँले आफ्नो लामो प्राध्यापकीय जीवनमा हजारौं शिष्यहरुलाई शिक्षा–दीक्षा प्रदान गर्नुभएको थियो जसले अहिले प्राध्यापक, प्रशासक तथा शिक्षकका रुपमा समाजमा विशिष्ट योगदान दिइरहनुभएको छ भने केहीले साहित्य र पत्रकारिता क्षेत्रमा रहेर सौन्दर्य र चेतना विस्तारमा गहकिलो योगदान पु¥याइरहनुभएको छ । प्रा. लेखनाथ आचार्य, प्रा. गदाधर पौडेल, प्रा. स्थानेश्वर गौतम, प्रा. श्रीधर मजगैयाँ, प्रा. प्रेमकुमार आचार्य, प्रा.डा. नारायणप्रसाद खनाल, प्रा.डा. भीम खतिवडा, सह प्रा. देवीप्रसाद काफ्ले, सह प्रा. डा. नारायण चालिसे, सह प्रा.डा. लेखप्रसाद निरौला, सह प्रा. गणेश विषम, सह प्रा. बाबुराम आचार्य, सह प्रा. सागरमणि सुवेदी, सह प्रा. गणेश पाण्डेय (वल्कल), सह प्रा. बाबुराम आचार्य, उप प्रा. भक्तिराम ज्ञवाली, उप प्रा. पुष्पप्रकाश ज्ञवालीजस्ता कतिपय लब्धप्रतिष्ठित विद्वान् साहित्यकार–चिन्तकहरुमा साहित्यप्रति उत्कट अभिरुचि जागृत गराउने महनीय कार्यको शुभारम्भ उहाँकै सरस तथा आकर्षक प्राध्यापन शैलीबाटै भएको धेरैले विचार व्यक्त गर्नुभएको पनि छ । उहाँ पाठ र त्यसको विषयवस्तुकै अनुरुप आफ्नो अनुहारमा तत्क्षण भाव परिवर्तन गर्न समर्थ हुनुहुन्थ्यो र पूरै अभिनयका साथ रसपूर्ण तरीकाले गरिएका व्याख्या विवेचना कहिल्यै बिर्सन नसकिने प्रभावकारी रहने गरेको हामी पनि सुन्थ्यौं र उहाँसँग अनुमति लिएर कहिलेकाहीं उहाँको कक्षाको पछिल्तिर बसेर श्रवण गर्ने र रसास्वादन लिने अवसर पनि जुट्थ्यो । यहाँसम्म कि विषयवस्तुको भावपक्षको व्याख्यानका अवसरमा उहाँ यति भावुक बन्नुहुन्थ्यो कि उहाँलाई भावातिरेकका अवसरमा आफ्ना आँखाबाट अश्रु प्रवाहित भइरहेको समेत होस रहँदैनथ्यो । यस्तो भावुक क्षण विभिन्न ठाउँमा पुराण वाचनका क्रममा पनि जब उहाँ भक्ति–ज्ञान एवं वैराग्यलाई साधारणीकरण गर्दै भक्तजनहरुसामु तन्मय अभिव्यक्त हुन थाल्नुहुन्थ्यो– उहाँका दुबै नयनबाट निर्भmर झर्दै गरेका निर्दोष र पवित्र आँसु उपस्थित प्रायः सबै स्रोता भक्तजनहरुले देखेकै हुनुपर्दछ भने म पनि यस्ता अवसरको साक्षी बसेको छु ।

उहाँको विचार र व्यवहारमा कुनै तात्विक भिन्नता थिएन भने सात्विक विचार, सरलता, पवित्रता र स्वधर्म–संस्कृतिको कट्टर अनुयायी, पूर्वीय दर्शन र संस्कारद्वारा अनुप्राणित एक कर्तव्य परायण, गरिमा र महिमामण्डित गुरु तीर्थराज सुवेदीको प्रायः सबैले मुक्तकण्ठले प्रशंसा गर्नुभएको पाइन्छ भने प्रा. शिवहरि मरहट्ठा, प्रा. डा. वेणिमाधव ढकाल, प्रा. नारायणकुमार आचार्य, प्रा. आचार्य पूर्णचन्द्र ढुंगेल, प्रा. ताराकान्त झा, प्रा. माधवशरण उपाध्याय, प्रा.डा. भागवतप्रसाद शर्मा, प्रा.डा. विष्णुप्रसाद देवकोटा, सह प्रा. नारायण नेपाललगायत २५ जना लब्धप्रतिष्ठित विद्वान्हरुले उहाँमा निहीत ज्ञानगरिमा र संस्कृत शिक्षाको क्रमबद्ध विकासका साथै दाङमा संस्कृत विश्वविद्यालयको स्थापनार्थ उहाँले दिनुभएको योगदान र समग्र प्राज्ञिक उन्नयनमा उहाँले देखाउनुभएको सक्रियता, अभिरुचि एवं पूर्ण समर्पण भावको सम्झना निकै प्रभावकारी ढंगबाट आ–आफ्ना संस्मरणमार्फत गर्नुभएको पाइन्छ । यहाँसम्म कि प्रा. सुवेदीज्यूको विद्वत्ता र ज्ञान–सौरभ स्वदेश र विदेशमा समेत सुवासित–प्रवाहित रहेको कुरा यत्रतत्र व्यक्त गरिएका छन् । त्यो चाहे २०५७ साल मंसिर २८–३० (१४–१६ दिसम्वर २००० सन्) मा तिरुपतिस्थित संस्कृत विद्यापीठमा सम्पन्न भएको नेपाल–भारत संस्कृत सम्मेलन होस् वा राष्ट्रियरुपमा आयोजित अन्य केही विशिष्ट सम्मेलन होउन् उहाँले प्रस्तुत गर्नुभएका विशिष्ट कार्यपत्र र आध्यात्मिक प्रवचन–मन्तव्यको प्रभावकारिताबारे पनि केही संस्मरण–लेखकहरुले यहाँ चर्चा गर्नुभएको पाइन्छ । पटक–पटक सम्पन्न भएका विश्वहिन्दू सम्मेलन, शास्त्रार्थ एवं धार्मिक तथा आध्यात्मिक प्रवचनका क्रममा उहाँले व्यक्त गर्नुभएका अभिमत, शास्त्रीय व्याख्या–विवेचना र आध्यात्मिक जीवन दर्शनको प्रकटीकरणलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ भने सनातन धर्म संस्कृति, संस्कृत वाङमय र साहित्य एवं प्राचीन कला–संस्कृतिलाई अर्वाचिनसँग जोड्दै सबैको संरक्षण र जगेर्ना गर्दै जान अभिप्रेरित पनि गर्दछ ।

प्रा.डा. वेणिमाधव ढकालज्यूले विभिन्न तीर्थहरुका लक्षणहरुको प्रा. तीर्थराज गुरुमा समन्वय गर्दै उहाँको तीर्थसमान पवित्र वाणी र विशुद्ध सामाजिक–धार्मिक आचरणका साथै काव्यगुरु प्रा. सुवेदीद्वारा अनुशिलीत काव्यतीर्थहरुको हृदयाभिराम सौन्दर्यको प्रस्तुति एवं उहाँसँगको साहचर्य र सहकार्यलाई संस्मरण गर्नुभएको छ भने नेसंविका उपकुलपतिसमेत रहनुभएका प्रा. शिवहरि मरहट्ठाले ‘मीतभाषी, मृदुभाषी तर अनर्थ प्रलाप नगर्ने र परिहासमा मन नलगाउने, प्रायः सधैँ गम्भीर देखिने अन्तर्मुखी स्वभावका साहित्यका विशिष्ट विद्वान् एवं साहित्यशास्त्रमा प्रगाढ ज्ञान राख्ने शिक्षणकुशल र विनम्र स्वभावका तीर्थ गुरु आँखामा नबिझाउने प्रसिद्ध विद्वान् हुनुहुन्थ्यो’– भन्नुभएको छ । साथै काव्यका सुन्दर पुष्पहरुबाट समेत–

‘जस्बाट पाए कति शिष्य विज्ञता
पढे लिए हुन् कति अज्ञ–अग्रता ।’

भन्दै उहाँको विशिष्ट योगदानको स्मरण गर्नुभएको छ । यस्तै, प्रा. नारायणकुमार आचार्यले ‘कीर्तिर्यस्य स जीवति’ शीर्षकअन्तर्गत उहाँका विविध विशेषताहरुलाई स्मरण गर्दै महिमामण्डित व्यक्तित्वका रुपमा स्व. तीर्थराज सुवेदीलाई सम्झनुभएको छ भने प्रा. ताराकान्त झाले सद्विचार, सदाचार एवं सद्व्यवहारका त्रिवेणीका रुपमा पं. तीर्थराज सुवेदीको सम्झना गर्नुभएको छ । प्रा. माधवराज गौतमले सच्चरित्र, यशस्वी प्राध्यापकका रुपमा चित्रित गर्नुभएको छ भने प्रा. विद्यानाथ उपाध्यायले स्व. सुवेदीज्यूको बहुआयामिक व्यक्तित्वको बारेमा चर्चा गर्नुभएको छ ।

यो सानो आलेखमा यस विशद् ग्रन्थको पर्याप्त चर्चा, शास्त्रीय व्याख्या–विवेचना वा अनुशीलन सम्भव छैन पनि । पुस्तकाकारकै रुपमा समालोचना गर्न सकिने अध्ययनको विषयवस्तु रहेको यस स्मृतिग्रन्थले पछि यस्तो अवसर पनि पाउने नै छ भन्न सकिन्छ । साथै प्रा. तीर्थराज सुवेदीको कृतित्व र व्यक्तित्वका बारेमा अध्ययन अनुसन्धान गर्न चाहने जुनसुकै अध्ययेता अनुसन्धातालाई यो ग्रन्थ एक महत्वपूर्ण स्रोत सामग्रीका रुपमा रहने नै छ । यस स्मृतिग्रन्थले तत्कालीन समयको न्यूनाधिक राजनीतिक, सामाजिक, आर्थिक अवस्थाको केही झलक प्रस्तुत गर्नुका साथै विशद्रुपमा तत्कालीन समयको शैक्षिक अवस्था, धर्म, संस्कृति र त्यसको प्रभाव एवं संरक्षणको चुनौती, संस्कृत, भाषा र साहित्यको औचित्य तथा संरक्षण र सम्बद्र्धनको अपरिहार्यता, यस्तो कार्यमा प्रा. तीर्थराज सुवेदीजस्ता कतिपय विद्वानहरुले गरेको विशिष्ट योगदान र आगामी दिनहरुमा पनि योजनावद्ध ढंगले गरिनुपर्ने कार्यहरुप्रति केही संकेत निर्देशन गर्दछ भन्न सकिन्छ । आजको जटिल समयमा यो कुनै एक व्यक्ति वा संस्थाबाट मात्रै सम्भव छैन पनि । यसमा प्रायः सबै विद्वान्हरुको उत्तिकै सक्रियता, राष्ट्रिय सरोकारवालाहरु एवं सर्वसाधारणहरुको पनि उत्तिकै चिन्ता र चासो हुनुपर्ने कुरातिर पनि यस स्मृतिग्रन्थका केही लेखकहरुबाट व्यक्त भएको पाइन्छ । प्रा. तीर्थराज सुवेदीजस्ता विशिष्ट विद्वान्हरुको जीवनभरको तपश्या र भाव–भार पनि यही विषयमै केन्द्रित रहेको हामी महसुस गर्दछौं ।

परिवार–स्वजन खण्डमा सबैभन्दा बढी जम्मा ४३ वटा संस्मरणहरु रहेका छन् । प्रा. सुवेदीका विद्वान् पुत्रत्रय मदन सुवेदी, श्याम सुवेदी र कपिलदेव सुवेदीले उहाँसँग सम्बन्धित कतिपय कुराहरुलाई समाजिकीकरण गर्दै उहाँको प्रखर व्यक्तित्व, पितृवात्सल्य र कुशल अभिभावकत्व सन्दर्भमा अत्यन्त अनुग्रहका साथ पूर्ण संवेदित भएर आफ्ना भावहरुको प्रकटीकरण गर्नुभएको छ । स्मृतिग्रन्थ सम्पादन र प्रकाशन समितिद्वारा आफ्ना श्रद्धेय पिताजीको इतिवृत्त तयार गर्ने निर्देशन प्राप्त गरेका ज्येष्ठ सुपुत्र मदन सुवेदीले उहाँसँग सम्बन्धित विविध अनुभव र अनुभूतिको संकलन गर्दै उहाँका आचार–विचारगत विविध पक्ष, पौरस्त्य दार्शनिक मूल्य सिद्धान्तको सापेक्षतामा निर्मित जीवन मूल्यप्रतिको निष्ठा, विद्वत्ता आदिका माध्यमबाट व्यक्तित्वको खोजी गर्ने स्तुत्य प्रयास गर्नुभएको छ । यस सार्थक प्रयासबाट प्रा. सुवेदीज्यूको व्यक्तित्वमा थप चहक, थप श्रद्धा र थप सौमनस्य प्रकट हुन्छ । यस्तै माहिला सुपुत्र श्याम सुवेदीले सुवेदी परिवारको ‘आर्ष वंशपरम्परा’को विवेचना गर्दै वंशावलीसमेत प्रस्तुत गर्नुभएको छ भने कनिष्ठ सुपुत्र कपिलदेव सुवेदीले आफ्ना पूज्य पिताजीलाई ज्योतिषीय केन्द्र बिन्दुमा राखेर उहाँको आचरण, स्वभाव, मूल्य र मान्यता, उपलब्धि र सफलतालाई नियाल्ने प्रयास गर्नुभएको छ । प्रा. सुवेदीको कुण्डलीका आधारमा नै उहाँमा शिक्षा र संस्कृतिप्रति अभिरुचि बढ्नु, मृदु र सरल स्वभावको हुनु, धर्मप्रति निष्ठा र समर्पणको भाव रहनु, घर, परिवार, समाज र आफू कार्यरत संस्था एवं राष्ट्रप्रतिकै दायित्वबोध महसुस गर्दै भूमिका–कर्म निर्वाह गर्नु जस्ता कतिपय विशेषताहरुको चर्चापरिचर्चा गर्नुभएको छ । जेठी बुहारी सुशीला सुवेदीले आफ्नो गीति रचनाबाट आप्ना सासूससुरालाई सम्झिनुभएको छ भने अन्य कतिपय परिवारजन र स्वजनहरुबाट पनि उहाँमा रहेका सद्गुण, वात्सल्य एवं अभिभावकत्वबारे स्मरण गरेको पाइन्छ । यस्तै, परिशिष्ट खण्डमा उहाँले प्राप्त गर्नुभएका सम्मानपत्र, प्रशंसापत्र र उहाँसँग सम्बन्धित केही तस्बिरहरु रहेका छन् । उहाँकै हस्तलिखित काव्य रचना पनि यसमा समावेश गरिएको छ । पुत्रहरु मदन सुवेदी, श्यामकुमार सुवेदी र कपिलदेव सुवेदी प्रकाशक रहेको यस स्मृतिग्रन्थले प्रा. तीर्थराज सुवेदीज्यूसँग सम्बन्धित विविध आयामलाई समेटेको छ । यति विशालकाय ग्रन्थको प्रकाशनसम्बन्धी सम्पूर्ण व्ययभार बहन गरेर पुत्रहरुले पितृउद्धार कार्य गरेर असली श्राद्धको शुरुवात गरेका छन् भने संयोजक प्रा.डा. वेणीमाधव ढकाललगायत प्रकाशन र सम्पादनमा अहोरात्र खट्ने सम्पूर्ण सदस्यहरु धन्यवादका पात्र हुनुहुन्छ । साथै सम्पूर्ण संस्मरण लेखकहरुलाई पनि धन्यवाद दिनुपर्छ, जसका रचनाहरु आ–आफ्नो दर्शन, धारणा र दृष्टिकोणका अन्तर्यसँगसँगै विभिन्न शास्त्रीय सूक्ति र उद्धरणसहित तार्किकता, बौद्धिकता र हार्दिकताका क्वाँटी बनेका छन् ।

तर यहाँ एउटा प्रश्न पनि उब्जिएको छ– के प्रा. सुवेदी सम्पूर्ण समाज र राष्ट्रकै धरोहर थिएनन् ? उनको योगदान यदि साँच्चिकै महत्वपूर्ण, समाजोपयोगी र स्मरणीय—अनुकरणीय थियो भने उनको स्मृतिग्रन्थ कुनै संस्थागत वा राष्ट्रकै व्ययभारमा प्रकाशित गरिनु पर्दैनथ्यो ? शोकसभा गर्दै दुई शब्द श्रद्धाका प्रस्तुत गरेर सबैले आ–आफ्नो कर्तव्य टुंगिएकै ठानेका हुन् त ? यदि सन्तानहरु आर्थिक वा भावनात्मकरुपमा सम्पन्न नभइदिए त कसरी रहन्छ त ‘कीर्तिर्यस्य स जीवति ?’ जुनसुकै उचाइको मान्छे पनि अन्ततः मर्छ, केही दिन सम्झनामा रहन्छ अनि कुनै किम्वदन्तीका रुपमा केही समय बाँचेर विलय हुन्छ, नेपथ्यमा हराउँछ । यो नियति यसरी पटक–पटक दोहोरिनुहुँदैन तर पनि कमसे कम अब प्रा. तीर्थराज सुवेदी गुमनाम रहने छैनन् । आफ्नो स्मृतिग्रन्थमा सधैं जीवित रहने छन् र सम्बन्धित पक्षको बेलैमा सद्बुद्धि फिर्न गए उनको ‘स्मृति प्रतिष्ठान’ पनि भविष्यमा खुल्ने नै छ भन्ने आशा गर्न सकिन्छ ।

अन्तमा, अत्यन्त सचेत रहँदा रहँदै पनि यति बृहत् ग्रन्थ तयार गर्ने क्रममा केही सामान्य त्रुटि हुन सक्छन् । हिज्जे, भाषा एवं मात्राका केही सामान्य त्रुटि यहाँ पनि रहेकै छन् । यो केही प्रविधिकै पनि दोष हो । विद्वान्हरुबाट अक्षर–अक्षर केलाइए पनि टंकणका अवसरमा सच्याउनेले असावधानीवश सच्याएन भने त्रुटि रहन जान्छ नै । तस्बिरहरुको अस्पष्टता वा छपाइको स्तर सम्बन्धमा प्रश्न उठाउनु पनि त्यति जायज हुँदैन । धन्न सबैको स्तुत्य प्रयासबाट स्मृतिग्रन्थ प्रकाशित भएर जनसमक्ष आएको छ र आफ्नो पूरै गुरुत्व र महिमाका साथ आएको छ । यसको सम्पादन र प्रकाशनसँग सम्बन्धित सबैलाई साधुवाद दिंदै आफ्नो लेखनीलाई यहीं विश्राम दिन चाहन्छु ।०

By

Readers Comments (0)