Filed Under:  संस्मरण | निबन्ध

ट्याक्सी नम्बर ४१८ | टंक गौतम

2nd June 2015   ·   0 Comments

Tanka_gautamउसले बिहे गरी भन्ने खबर सियोझैं भित्र कतै चसक्क बिझ्यो । भावशून्य अवस्थामा म निकैबेर टोलाएँ । र, मेरो यो मौनता करिब हप्ता दिन कायम रह्यो । खान मन लाग्न छाड्यो । सुत्न मन लाग्न छाड्यो । आफूलाई यो धर्तीमा निकै अर्थहीन पाएँ । जिउनु र मर्नुको सीमारेखाको खोजीसम्म पनि मन भौतारियो । थाहै नपाई ऊ यसरी मभित्र बसिसकेकी रहिछ, मैले आज महसुस गरेँ । लाग्यो, गह्रुँगो भारीले टाउको थिचिरहेछ । कन्चट कटकटी दुख्न थाल्यो । यस्तो लाग्यो, अब जीवन यहीबाट समाप्त भयो ।

महक रेडियोमा हिन्दी क्लासिकल गीत सुन्दै थियो । आफू हिन्दी नबुझ्ने झोक चल्यो र रेडियो भुइँमा बजारिदिएँ । कङ्कालका बङ्गाराले आँऽऽऽ, गरेर मुख बाइरहेझैं त्यो केहीबेर त्यही भँइँमा असरल्ल प¥यो । महकका गालामा एकाएक गम्भीरता प्रकटियो र त्यो आँखामा आएर टक्क रोकियो । बिस्तारै ओठ खोल्यो र मुस्कुरायो, मानौं त्यहाँ केही भएकै छैन । उसले मसिनो आवाजमा एउटा वाक्य बोल्यो, ‘टंक, त्यो रेडियोमा गाउनेहरुमा मात्र प्राण छ तर त्यो रेडियोमा प्राण छैन । त्यो निर्जीव हो ।’ उसले भन्यो, ‘जाउँ घुम्न, म तिमीलाई आज विशेष ठाउँमा घुमाउन लैजान्छु ।’

उसले घुमाउन कतै लिएन र म पनि कतै गइनँ । यसपछिको एकहप्ता म मौन ब्रत बसेँ । त्यो मेरो उदासीको एउटा भयङ्कर डरलाग्दो समय थियो ।

करिब तीन वर्षपछि मैले बीए पास गरें । गमक्क फुलें । लाग्यो, जीवनमा ठूलै काम गरियो । बाआमाको चाहना हुँदो हो अब छोरो कमाउन थालोस् । तर कहिल्यै भन्नुभएन । अझै बाको छाला काड्न मन लाग्यो । होइन, म एम.ए. गर्छु । बिकल्पको बारेमा पनि सोचेकै हुँ । जागिर पाइने छाँट देखिनँ । र मेरा अघि एउटा विकल्पको राजमार्ग लमतन्न पल्टिएको थियो एम.ए. गर्ने अनि कलेज पढाउने । लाग्यो एम.ए. पास भएपछि कलेज पढाउन कसो नपाइएला ।

मास्टरीको भविष्य आँखामा सजाएर म जीवनमा पैलोपल्ट राजधानी हान्निएँ । बीए पास भइसक्दासम्म पनि मैले राजधानीको दर्शन गर्ने अवसर पाएको थिइनँ । बाका निम्ति बिहान बेलुकाको चारो जुटाउनु फलामको च्यूरा चपाउनु सावित भइरहेको बेला ‘बा राजधानी घुम्न जान्छु, पैसा देऊ’ भन्न पनि मनले मान्दैनथ्यो । त्यसैले म यसअघि राजधानी पुगेको थिइनँ । मेरा निम्ति राजधानीको यात्रा एउटा सपना थियो । गएर आएकाहरु अनेक गफ सुनाउँथे फूलबुट्टा भरेर । म कतै हराउँछु कि भन्ने डर पनि भित्र कतै जिउँदै थियो । यसअघि घरबाट टाढा ननिस्केको र अलि अन्तर्मुखी म एकदिन झिटीगुन्टा बोकेर राजधानीका लागि रमाना भएँ ।

बिस्तरा र सिरकको एउटा गुन्टो, केही खत्र्याक खुत्रुक भाँडाकुडा र एउटा दाल चामलको पोको बोकेर कुनै अपरिचितलाई छेउको सिटमा बसाएर मेरो गाडी झिसमिसे साँझमा हान्निएको थियो– राजधानीका लागि । ती पोका पन्तुरामा अलिकति रोगले थलिदै गएकी आमा र बुढ्यौलीले लखेट्दै गरेका बाको आशिर्वाद पनि सम्मिलित थियो । जीवनमा यात्राका क्रममा पहिलोपल्ट निधारमा रातो चामलको टीको लगाएको थिएँ । छिटफुट आफन्तहरु थिए । मेरा बाको एउटा मान्यता थियो, ‘कुनै सहयोग लिनका लागि आफन्तलाई भेट्ने होइन, बरु आफूले सकेको सहयोग गर्नु राम्रो हो ।’ एक हदसम्म यो मान्यता मलाई ठीक लागेको थियो । यसको विशेष कारण के थियो भने, आफन्त भनिनेहरुले एक छाक खुवाउनु र एक रात सुताउनुलाई आफुले महान उपकार गरेको सम्झिन्थे । र जीवनभर तिनीहरुको ऋण खाएझैं चुपचाप सुनेर बस्नुपर्ने हुन सक्थ्यो । त्यो मान्यतामा केही परिवर्तन भएको छ अहिले । परिवर्तन गर्नु उचित लागेर होइन– नसकेर । मैले पनि साथीकै सहायता लिने र आफ्नो व्यावहारिक समस्या सल्टिएपछि मात्रै आफन्तसँग भेटघाट गर्ने सोच बनाएको थिएँ ।

युवराज थियो । केही समयअघि राजधानी छिरेको थियो ऊ । उसले एउटा माहोल बनाइसकेको थियो । उसका निम्ति राजधानी नौलो सहर थिएन । किनकि ऊ यसअघि पनि कैयौपल्ट राजधानी आउजाऊ गरिसकेको थियो । उसैलाई फोन गरेँ । उसले भन्यो, ‘म यही छु । ढुक्कसँग आ । जे गर्नुपर्छ म गर्छु ।’ यति भनेपछि मन निस्फिक्री भयो ।

कुनै दिन थिए, हाम्रो एउटा मण्डली थियो । घोराहीका कैयौं सडकहरुमा हामी रातबिरात सँगै हिडेका छौँ । भोकै सुतेका छौँ । त्यो मण्डली अहिले विघटित भए तापनि ती मित्रहरुको माया भित्र कतै सगरमाथा बनेर बसेको छ– नाम सुन्ने बित्तिकै जुर्मुराएर ब्युझिन्छ । यसको नेतृत्व गथ्र्यो, वीरेन्द्रले । महेन्द्र, म, युवराज, दीपेन्द्र र असीम यस मण्डलीका अघोषित सदस्य थियौँ । हाम्रो सम्बन्ध यसरी घनिभूत हुँदै थियो हामी जेमा पनि सँगै हुन्थ्यौं । एउटाको अभाव हाम्रा निम्ति निकै खड्किन्थ्यो । पछि सबैजना चार दिशामा छरियौं । दीपेन्द्र घोराही छोडेर सुर्खेत लाग्यो । असीम विदेश उड्यो । वीरेन्द्र डोल्पा पुग्यो । युवराज बेला–बेला घोराही काठमाडौं गर्ने गरे पनि अन्तमा घोराही नै बस्यो । महेन्द्र पनि केही समय काठमाडौं बस्यो र पछि विदेश उड्यो । म धेरै समय राजधानी बसेँ । पछि दोलखातिर हान्निएँ, मास्टरी गर्न ।

युवराज केही समयको लागि काठमाडौं पुगेको थियो । मैले एक रात फोन गरेँ । भनेँ , ‘म आउँदै छु । म नयाँ छु राजधानीका लागि । मेरा लागि बसेरो खोज्दिने र टाकनटुकुन जुटाइदिने तेरो काम हो ।’ ऊ हाँस्यो र भन्यो, ‘तँ आइज, म छदैछु । चिन्ता नगर । तँ मर्दैनस् ।’

यही सम्वादको बिश्वासमा म राजधानीको लागि यात्रारत थिएँ ।

मुग्लिनमा दुइटा गाडी एक आपसमा जोल्टिएछन् । रातभर जाममा परियो । अर्को दिनको करिब ११ बजे महानगरी काठमाडौंको कलङ्की भन्ने ठाउँमा म चढेको बाहन झ्याप्प रोकियो । युवराजले भनेको थियो ‘कलंकीमै ओर्लनू । बसपार्क पुग्नु पर्दैन ।’ मैले त्यसै गरेँ । झिटीगुन्टा सडक किनारमा थन्काएर युवराजलाई फोन गरें । उसले भन्यो, ‘म चक्रपथमा छु, आउँदैछु । जाममा छु, नआत्ति बस् ।’ मैले ‘हस् हजुर’ भनें  । करिब १ बजे ऊ आयो । २ घण्टा सडक किनारमा कुरी बसें । जीवनमा घडीको सुई सबैभन्दा बिस्तारै घुमेको त्यही क्षण होला ।

युवराजले ट्याक्सीको बन्दोबस्त ग¥यो । झिटीगुन्टा त्यसैभित्र खाँद्यौँ र हामी बसेको बाहन कलङ्कीबाट दायाँतिर मोडियो र सीता पेट्रोल पम्पको छेवै भएर उकालोतिर हान्नियो । ट्याङ्गला फाँट, नयाँबजार हुँदै त्यो ट्याक्सी युवराजको निर्देशन बमोजिम पाँगा दोबाटोबाट सुलुत्त भित्रपट्टि छि¥यो । अलि अघि गएपछि एउटा घरको गेटनेर युवराजले ट्याक्सी रोक्न लगायो । भित्रबाट उसका साथीहरु ओर्लिए । सबैले हात हातमा केही न केही उचालेर कोठाभित्र पु¥यायौं । सामान झारेपछि ट्याक्सी १ सय ५० रुपैयाँ गोजीमा हालेर लुरुक्क फक्र्यो ।

त्यतिबेला अहिलेजस्तो काठमाडौंमा श्रीमती पाउनभन्दा कोठा पाउन कठीन भएझैं त थिएन तर कोठा पाउनु सजिलो पनि थिएन । दिनभर युवराज र म कीर्तिपुरका सडकमा धुइपत्ताल कुद्यौं । कतै के मिल्दैन कतै के मिल्दैन । आफूलाई भनेजस्तो कुनै नलाग्ने । अन्त्यमा उचित कोठा पाएमा सर्ने गरी भैपरी आउने समस्या समाधानका रुपमा एउटा कोठामा स्ट्याम्प लगायौं– पाँगा स्कूलको छेवैमा । महिनाको भाडा सात सय तिर्ने शर्त थियो । कोठामा एक्लै बस्दाको भाडा थियो त्यो, अर्को मान्छे थपिए थप तीन सय लाग्ने गरी । त्यो दिन बेलुका हामीले कोठामा सामान सारेनौं । म त्यो रात युवराजको कोठामै बसेँ । भोलिपल्ट सामान ल्याउन भनी अघिल्लो दिन छोडेको साथीको कोठामा गयौँ ।

त्यहाँ पुग्नेबित्तिकै एउटा यस्तो खबर सुनियो, जुन खबरले मेरा खुट्टा लल्याकलुलुक भए र एक्कासी चक्कर लाग्लाजस्तो भयो । कोठाका मित्रले भने, ‘हजुरको कुनै सामान हिजो ट्याक्सीमा छुट्यो कि, हेर्नोस् त ।’ मैले सामान थन्काएको ठाउँतिर नजर डुलाएँ । केही भेउ पाउन सकिनँ । उनैले भने, ‘हिजो हामीले सामान झारेको करिब २ घण्टापछि एउटा ट्याक्सी आएको थियो रे, एउटा के जाति सुटकेस छुटेछ, त्यही फिर्ता ल्याइदिएर आएको छु भन्थ्यो रे । हामी कोठामा थिएनौँ । कोठामा ताल्चा लाएको थियो । घरबेटीले राख्दिन मानेनछन् । फर्किएछ ।’ यति सुन्नेबित्तिकै मैले सामानतिर फेरि आँखा दौडाएँ । त्यहाँ मेरो नीलो रङ्गको सुटकेस थिएन । जसमा महत्वपूर्ण भनिएका सामानहरु खाँदिएको थियो । जस्तो कि, एसएलसीदेखिका शैक्षिक योग्यताका सम्पूर्ण प्रमाणपत्र, नागरिकता, आफूले लगाउने कपडाहरु र त्यही कपडाको बीचमा आमाले ‘हराउलास् नि ख्याल गरेर राख्नू’ भन्दै रातो कपडाले पोको पारेर राखिदिएका हजार हजारका ९ वटा नोट । तिनै ९ वटा नोटको भरमा म काठमाडौंका लागि रमाना भएको थिएँ ।

मेरा निम्ति काठमाडौंमा बाआमा जे भने पनि तिनै ९ वटा नोट थिए । ती बाआमाले एकाएक मबाट बिदा लिएर अर्कैको खल्तीमा घरजम गरिसकेका थिए । आफूलाई निकै एक्लो पाएँ । सहाराविहीन भएँ । जीवनभर आफ्नो हड्डी र छाला घोटेर सङ्ग्रह गरेका प्रमाणपत्ररुपी कागजका खोस्टा र बाले वर्षभरि हड्डी घोटेर आर्जन गरेका नोटरुपी कागजका खोस्टा एकैपल्ट अलप भएका थिए । जीउमा एकसरो लुगाबाहेक केही थिएन । आँखा पिलपिल भए । अनुहार एकाएक मरिचमा रुपान्तरण भयो । छाती भुक्लुक–भुक्लुक उम्लिएलाझैं गर्न थाल्यो ।

झिनो आशाको किरण मसिनो गरी कतै झल्याकझलुक भएझँै लाग्यो । म जिउँदैछु । उसो भए सबै ठीकै छ । ट्याक्सीवाला इमान्दार नभइदिएको भए ऊ फर्केर मेरो कोठासम्म आउँदैनथ्यो । त्यसलाई फेला पार्न सके अवश्य फिर्ता पाइएला । मनलाई अलिकति बौरिन उत्प्रेरित गरेँ । अर्को फसाद के थियो भने मलाई ट्याक्सी नम्बर याद थिएन । ड्राइभरको अनुहार पनि धुमिल मात्र याद छ । अब केका आधारमा उसलाई खोज्ने ? मन पुनः उदेकियो । युवराजले ढाडस दियो, ‘चिन्ता नगर्, ट्राफिकको सहयोग लिउँला, केही उपाय लाग्ला ।’ हामी कलङ्की हान्नियौँ । सोध्यौँ । कसले थाहा पावस् त्यो हामीले सनाखत गर्न नसकेको ट्याक्सीको बारेमा । हामीले त्यहाँ ट्याक्सी काउन्टरमा सोध्यौँ । ट्याक्सीवालालाई सोध्यौँ । ट्राफिकलाई सोध्यौँ । सबैको एउटै उत्तर हुन्थ्यो, कि त ट्याक्सी नम्बर भन्नुस् कि त ड्राइभरको नाम भन्नोस् । मैले आफ्नो सुटकेससँगै यी दुबै कुरा गुमाइसकेको थिएँ । अब कहाँबाट ल्याउनु यी सूचना । मेरो समस्या सुनाउँदा कोही झर्किए कोही चुकचुकाए । मान्छेको स्वभाव न हो ।

एउटा रोकिएको ट्याक्सीछेउ पुगेर हामी केही सोध्दै थियौँ । उसले अरुचिपूर्वक हामीलाई जवाफ दिइरहेको थियो । उसमा अरुचि जाग्नुको एउटै कारण थियो, हामी उसका ग्राहक यात्रु थिएनौँ । हाम्रो सम्बाद सुनेर होला सायद, परबाट एकजना मानिस हाम्रो नजिक आयो । रोकिएको ट्याक्सीको ड्राइभरसँग भएका अरुचिपूर्ण संवाद सुनेर उसले ठूल्ठूला आँखा बनायो र भन्यो, ‘ए त्यो सुटकेस तपाइँको हो ? हो हो मलाई थाहा छ । उसले मसँग भन्दै थियो । एकछिन पर्खिनोस् अबको एकछिनमा ऊ आउँछ । बूढानीलकण्ठ गएको छ प्यासेन्जर लिएर ।’ उसले आफ्नै मोबाइलबाट उसलाई फोन ग¥यो । प्रतिमिनेट करिब चार रुपैयाँ लाग्ने त्यो जमानामा पनि उसले हामीलाई फोन गर्न नअह्राइ आफै डायल ग¥यो र हामीलाई एउटा अभूतपूर्व सूचना दियो, ‘ऊ आउँदैछ पर्खदै गर्नू रे । म यतै छु आयो भने म चिनाइदिउँला ।’ उसले हामीलाई विश्वस्त तुल्यायो । जीवनको भयङ्कर खुसीको क्षण मेरो त्यही हो । खुसीले मेरा आँखा टिलपिलाए । यति भन्यो र ऊ एकातिर लाग्यो । एकछिन ऊ कतै हरायो । एकाएक बौरिएको खुसीमा ऊ गायब भएपछि फेरि हिउँ पर्न थाल्यो । यसले पनि गफै दिएछ भन्ने शङ्काको तुवालो एक्कासी मडारियो ।

करिब २५ मिनेटपछि एकजना पिलन्धरे कालो वर्णको केटोलाई साथै लगाएर ऊ आयो । मेरा आँखामा एकाएक चमक उम्रियो । मलाई हिजो ट्याक्सीमा दौडाउने मान्छेको अनुहारसँग मिल्दोजुल्दो लाग्यो । मैले खुट्याउन नपाउँदै उसले भन्यो, ‘तपाइँको घरबेटी खत्तम रहेछ । मैले फर्काएर उही पु¥याइदिएको थिएँ, राख्दिनै मानेन । तपाइँको कोठामा ताल्चा लागेको थियो ।’ उसको आवाजमा चौधरी टोन थियो । यस्तो लाग्यो यसलाई प्रेमिकालाईझैं गम्लङ्ग अँगालो हालौँ र उसकै छातीमै आँसु बगाइदिउँ । मैले ओठ कमाउँदै भने, ‘दाइ तपाइँजस्ता इमान्दार मान्छे पनि यो धर्तीमा हुँदा रहेछन् ।’ उसले भन्यो, ‘मेरो कोठा कालीमाटीमा छ । मैले सुटकेस पनि उतै छोडेको छु । आउनुस् मेरो ट्याक्सीमा बस्नोस् उतै कालीमाटीबाट गाडी चढ्नुहोला ।’ युवराज र म उसकै ट्याक्सीमा कालीमाटी गयौँ । बाटामा उसले सुनायो, ‘मैले अस्ति पनि एउटा मोबाइल फर्काइदिएँ, मेरो ट्याक्सीमै छुटेछ । एक वर्षअघि एकजनाले साढे तीन लाखसहितको झोला यही छोडेर गएछन् धेरै सामान थियो, बूढाले त्यही छुटाएछन् मैले फिर्ता गर्दिएँ । मलाई २५ हजार दिएका थिए । मैले राख्दिनँ भनेँ । त्यो पनि लिइनँ ।’ मलाई यो युगमा त्यो मान्छेको कुरा सुनेर भित्रैसम्म छोयो ।

ट्याक्सी रोक्यो । भित्र गयो र मेरो सुटकेस जस्ताको त्यस्तै फिर्ता गर्दियो । उसले भन्यो, ‘हेर्नोस तपाइँको सबै सामान छ कि छैन ।’ मैले उसलाई विश्वास नगर्ने कुरै थिएन । मैले सुटकेस खोलिनँ । सुटकेस जस्तो हालतमा थियो, त्यो त्यस्तै थियो । पकेट खर्च भनेर राखेको, खल्तीमा १ हजार चार सय बाँकी थियो । धन्यवादसहित एक हजारको नोट निकालेर मैले उसलाई दिएँ । ऊ झर्कियो र भन्यो, ‘के मैले पैसा पाउन तपाइँको सामान राखेको हुँ र ? मलाइ पर्दैन । आफै राख्नोस् ।’ मैले भनेँ, ‘तपाइँ हिजो फर्केर जानुप¥यो । ट्याक्सीमा तेल त लाग्यो होला नि । अनि अर्को ग्राहक पनि आउन सक्थ्यो होला ।’ उसले भन्यो, ‘उसो भए मेरो कीर्तिपुरको ट्याक्सी भाडा १ सय ५० हो, त्यति नै दिनोस् ।’ मैले १ सय ५० उसको हात पारेँ । उसले कोठाभित्र पस्दै भन्यो, ‘आजचाहिँ सामान नबिर्सी कोठामा पु¥याउनुहोला है ।

ट्याक्सी नम्बर — ४१८ ।

नाम– पुरन चौधरी ।

घर– बर्दिया ।

कस्सम, त्यसपछि मैले ४१८ नम्बरको ट्याक्सी देखेको छैन र पुरन चौधरीको अनुहार पनि देखेको छैन, कुनै पनि ट्याक्सीमा ।०

By

Readers Comments (0)