Filed Under:  संस्मरण | निबन्ध

बारपाक डायरी | भुपेन

23rd May 2015   ·   0 Comments

Bhupenत्यो नदेखिने समयले धेरै विभत्सता देखाएर गयो ।

शरीर बिसाएको पाँच मिनेटमै अर्थात् साँझको ८ : ५५ बजे समयले बेस्सरी हल्लायो । त्यो भूकम्प थियो थिएन तर उकालो हिड्दै गर्दा मन निक्कै हल्लिसकेको थियो । स्थानीय रुट गाइडरहरु उकालो काट्दै गर्दा बेला–बेलामा भूकम्प आयो भन्दै तर्सिएर यत्रतत्र दौडिन्थे ।

करिब ५ घण्टाको उकालो, जताततै भत्किएका घरका संरचना, धाँजा–धाँजा फाटेको पहाड… ! कैयन् विभत्सता छिचोल्दै भूकम्पको केन्द्रबिन्दु बारपाक पुग्नेबित्तिकै बेस्सरी हल्लायो ।

हिडिरहँदा सबैको मुखबाट एउटै शब्द दोहोरिरहेको थियो– स्थिति सोचेको भन्दा कैयन् गुणा भयावह रहेछ । घर भएको ठाउँमा ढुङ्गै–ढुङ्गाको थुप्रो, सुनसान बस्ती, तल बस्तीतिर देखिने पालहरुको लस्कर, पहिरोले मेटाइदिएका गोरेटोहरु, त्यसरी चर्किएका पहाड कल्पना गरेभन्दा फरक दृश्य त्यहाँ देखिन्थ्यो ।

धेरैपछि हिड्न व्यस्त भएका गोडाले धौ गरी उकालो काटे । त्यसैले होला त्यो झट्काले स्थानीयलाई उचालेर चौरमा पु¥याइदिए पनि मेरा खुट्टा उचालिन मानेनन् ।

barpakगोरखा सदरमुकाम वरपर चर्किएका घर देख्दा च्वःच्वः गर्ने ओठ बालुवा भन्ने स्थानबाट उकालो लागेपछि निःशब्दजस्तै भइदिए । किनकि बालुवाबाट माथितिरको दुर्दशा निकै कारुणिक थियो । बालुवा, मान्द्रे, राङरुङ खोला हिडिरहँदा भूकम्पको केन्द्रबिन्दु बारपाक पुग्न झनै हतार भइदियो मन । तर दुई घण्टा लाग्ने उकालोलाई धौ–धौ पाँच घण्टा लगाएर काट्दा बारपाकलाई अँध्यारोले निलिसकेको थियो ।

रातभर बारपाकको विभत्स दृश्य यस्तो उस्तो भनी कल्पनामा कोरिरहें ।

***

बिहान उठ्दा नेपालको सबैभन्दा ठूलो गाउँको भत्किएको अवशेषमा थिएँ ।

सयौं बर्ष लगाएर बारपाकले कमाएको सुन्दरता एक मिनेटको भूकम्पको झट्काले तहसनहस पारिदिएछ । गाउँमा भएका १ हजार ४ सय ७० घरमा दुई/चार पक्की घरबाहेक अरु कुनै घर सग्ला छैनन् । सारा गाउँ कहालीलाग्दो सपना देख्दै गहिरो निन्द्रामा डुबेजस्तो सुनसान देखियो ।

चियाको चुस्कीसँगै मानिसहरुको सामान्य चहल पहलका बीच गाउँको निरीक्षणमा हिड्यौं हामी । शायद जिन्दगीको यो एउटा नमिठो पहिलो अनुभूति होला । बारपाक गाउँमा हिड्दा हामी कमै ठाउँ बाटोमा हिड्यौं । भत्किएका घरमाथि भत्किएको मन सम्हालेर हिड्नु जिन्दगीले थुपारिदिएकोे तीतो यथार्थ थियो ।

घरको पर्खाल र छानो दुबै ढुङ्गाले नै बनाएको होला आरसीसी जडान गरिएका घरबाहेक बारपाकमा ठाडिएको अन्य घरको संरचना भेटिदैन । हामी हिडिरहँदा घरमा युवा भएका परिवार घरभित्र भएका सामान बाहिर निकाल्नमा व्यस्त थिए । सँगै दुधे बालक पिठ्यूँमा बोकेर काम गरिरहेका आमाहरु पनि भेटिए । लोग्नेमान्छेको अभावमा सकिनसकी काम गरिरहेका आमाछोरीहरु पनि भेटिए ।

गाउँले एकले अर्कालाई सहयोग गर्ने स्थिति पनि थिएन । किनकि यो पीडा सबैमा उस्तै गरी थियो । सँगै रहेका नेकपा माओवादीका महासचिव विप्लवलगायतका नेताहरु बूढा आमाबाको काँधमा धाप मार्दै नआतिन आग्रह गर्थे । त्यसै क्रममा हिड्दै गर्दा एकजना बूढी आमाले निःशब्द आँसु मात्र खसाइरहिन् । शायद सबैभन्दा गह्रौं आँसु आफूभन्दा अभिभावकको भइदिन्छ । ती आमैको आँसुसँगै कैयन् मन एकैचौटी भक्कानिए ।

***

barpak 1बारपाक पुगेको भोलिपल्ट दिउँसोदेखि काममा जुटेका हामी साँझ पर्दासम्म थकाइले लखतरान भइसक्थ्यौं । मानसिक रुपमा सेवाका लागि तयार रहनु एउटा कुरा रहेछ, शारिरीक परिश्रम फरक कुरा ।

मलाई लाग्छ– गोरखा बारपाक, घ्याल्चोक, भच्चेक जहाँ हामी पुग्यौं, ती ठाउँमा बढी नै क्षति हुनुको कारण घर बनाउँदा भित्तादेखि छानोसम्म पनि ढुङ्गाकै प्रयोग गर्नाले पनि हो । शायद जस्तापाताको छानो भइदिएको भए त्यति क्षति पनि हुँदैनथ्यो र अहिले त्यसको व्यवस्थापन गर्न पनि धेरै कठिनाइ हुने थिएन । हाम्रो पश्चिमका पहाडी जिल्लाहरुमा पनि ढुङ्गाको छानो बनाउने चलन छ । तसर्थ हामीले अबका दिनमा घर बनाउँदा अत्यधिक ढुङ्गाको प्रयोग गरे त्यसले जोखिम बढाउँदो रहेछ भन्ने कुरा बुझ्न आवश्यक छ ।

खासगरी घरटहरा निर्माणका लागि भनेर काठमाडौंमा सानो तालिमसमेत लिएर गएका हामीले कमै स्थानमा टहरा निर्माण गर्न सक्यौं । बारपाकमा त झनै दुई/चारभन्दा बढी टहरा बनाइएन । किनकि बारपाक आफैमा पहाडको सानो एरियामा अवस्थित छ ।

त्यति सानो क्षेत्र रहेका १ हजार ४ सय ७० घरमध्ये ९५ प्रतिशत घर भत्किदा त्यहाँ जमिनको माटो भेटाउन पनि गाह्रो । त्यसपछि स्थानीयकै सल्लाहअनुसार भत्किएका घरका धराप हटाउने, काठ व्यवस्थापन, घर छाउने ढुंगाको व्यवस्थापन र भत्किएका घरबाट अन्नपात निकालिदिने काम नै धेरै ठाउँमा ग¥यौं । भत्किएका घरबाट माटो र ढुङ्गा निकाल्दै गर्दा कहींकतै अन्नको एउटा गेडा भेटिदा पनि अपार सफलता र खुसी मिल्दो रहेछ । थाकेको हातहरु बाँकी अन्न बाहिर निकाल्न छिटो–छिटो काममा सर्दो रहेछन् ।

मनमनै सोचें– हामीले भत्किएका घरबाट अन्न निकाल्दा त यो खुसी पायौं, राजधानीलगायतका स्थानमा ज्यूँदै मान्छेको उद्धार गर्ने उद्धारकर्ताले कति खुसी महसुस गरे होलान् ?

रुपेश दाइ

उहाँको नाम नलेखे मेरो यो लेखनी पूरा नहोला । शायद कमै उहाँजस्ता मान्छे भेटिन्छन्, जसको संगतको प्रेरणाले ठूला–ठूला पहाडको हिडाइलाई पनि समतल मैदानमा हिडेजस्तै बनाइदिन्छ ।

भूकम्पमा रुपेश दाइको घर पनि उसैगरी भत्कियो । तर जिम्मेवारी र सेवाभावले यिनलाई आफ्नो घरको धुरी ठड्याउनमा मात्र रोक्न सकेन । भूकम्प आएको भोलिपल्टदेखि नै निरन्तर भूकम्प पीडितहरुको सेवामा जुटेका रुपेश दाइका श्रीमान्÷श्रीमती काम गर्दा थाकेको महसुस कहिल्यै गरेको मैले पाइनँ ।

कामबाट कटेका हामी एकछिनमै ढुङ्गा उठाउँदा लथ्रक भएपछि उनी मुस्कुराउदै साथ दिन आइपुग्थे । एउटा छोरीलाई चितवन मामाघर पठाएर काममा जुटेका यस्ता मानिसको संगत पाउनु मेरो लागि निकै अहोभाग्यको कुरा भएको छ ।

रुपेश दाइ मात्रै हैन गोरखामा बस्दै आएका प्रकाश दाइ, स्याङ्जाका निरु, म्याग्दीकी सुशीला दिदी प्रायः आफ्नो भत्किएको घरको चिन्ता नगरी जनताको सेवामा खटिएका मानिस हुन् । त्यस्तै दाङबाट सँगै गएको साथी प्रकाश, उज्वल दाइ, अर्जुन भाइ सबैको योगदान उल्लेखनीय छ ।

हामी एक/दुई पेटी चाउचाउ बाँडेर ठूला समाजसेवीका रुपमा चित्रित हुन खोज्छौं । तर यी मानिसले सेवाको सही अर्थ बुझाइदिए– जहाँ आफ्नै प्रचार हुन्छ, त्यहाँ सेवा हैन व्यापार हुन्छ ।

गोरखा जाँदा राहतसँगै आँसु लैजानू

– बारपाकका वडा नम्बर ८ का छविलाल विश्वकर्माले चितवनमा एउटा घडेरी जोडेका रहेछन् । भूकम्प जानुको केही दिनअघि मात्र उनले श्रीमतीलाई अब तराइतिर गएर बस्न आग्रह गरेछन् । तर बारपाकको सुन्दरता र चिसो हावापानी छोडेर तराईको गर्मीमा बस्न उनकी श्रीमतीले मानिनन् । तर १२ गतेको भुँइचालोले छविलालको श्रीमती सँगसँगै तराई झर्ने सपना कहिल्यै पूरा नहुने गरी तुहिएको छ । शायद केही समयपछि छविलाल एक्लै तराई झर्नेछन् ।

– सानुमाया गुरुङका आमाछोरी १२ गते दिउँसो गोरखा सदरमुकाम जाँदै थिए । बालुवामाथि आएको पहिरोले उनीहरु दुबैलाई सदाका लागि त्यहीं रोकिदियो । सरकारले लगाएको डोजरले पनि करिब १३ दिनसम्म उनीहरुको लास पत्ता लगाउन सकेन । सानुमायाका श्रीमान राहतका लागि नाम दर्ता गराउन जाँदा प्रशासनले लाश नदेखाई कुनै राहत प्रदान गर्न नसकिने बताएछ । सानुमायाका श्रीमान प्रशासनको बालहठदेखि वाक्क भएर बसेका होलान् ।

– कुञ्जे गाबिस लालटिनमुनि अँध्यारो भनेजस्तै भएको छ । भूकम्पको केन्द्रबिन्दु भएकाले सबैको ध्यान बारपाक वरिपरि केन्द्रीत छ । तर बारपाकबाट आधा घण्टा ओरालो झरेपछि आउने कुञ्जेगाउँकी सविता गुरुङले १४ दिनसम्म एउटा त्रिपालसम्म पनि पाएकी रहिनछिन् । चिसोका कारण निमोनियाले ग्रस्त भइसकेका छोराछोरी देखाउँदै उनले हामीले आफ्नो लागि बोकी हिडेको पाल मागेपछि रुपेश दाइले आफूले ओढ्दै आएको पाल दिए ।

यिनी केही प्रतिनिधि घटनामात्र हुन् । खोतल्दै जाँदा हामी पुगेका बारपाक, घ्याच्चोक, भच्चेक लगायतका स्थानमा यो भन्दा पनि कारुणिक घटनाहरु भेटिन्छन् । दिनमा करिब आठ/दशचोटी ती स्थानमा रित्ता हेलिकप्टरले ओहारदोहर गर्छन् । राहत ल्याएर आएका हेलिकप्टर मैले कमै देखें । तर ती हेलिकप्टरले चलाउने हुरीले बल्लतल्ल बनाएका टहरा उडाइदिन्छन । घ्याच्चोक गाबिसका जनताले कति दिन त हेलिकप्टर नै बस्न दिएनछन् ।

त्यो लोभलाग्दो आत्मविश्वास

हामी घर बनाउन सकेन भनेर चिन्तामा हुन्छौं । तर जिन्दगीभरको दुःखले आर्जेको सारा सम्पत्ति र आफन्त एकै चिहान भइदिए हाम्रो अवस्था के होला ? प्रायः घले र गुरुङ बस्ने बारपाक घ्याच्चोकका बासिन्दाको आत्मविश्वासबाट म निकै प्रभावित भएँ । नमिठो गास, पालको बास भए पनि उनीहरुमा भविष्यप्रतिको मननयोग्य आत्मविश्वास छ । मेरो सबै बिग्रियो, सकियो भन्नेजस्ता नकारात्मक धारणा त्यहाँ कमै मानिसमा भेटाउन सकिन्छ ।

हामी बाहिरबाट गएका मानिस त्यहाँको दुर्दशा देखेर रुन मात्र नसकिरहेको बेला उनीहरु मुसुक्क मुस्कुराएर जिन्दगीप्रतिको सकारात्मकता गहिरो उदाहरण पेश गर्ने क्षमता राख्दा रहेछन् । त्यसमा पनि खासगरी महिलाहरुमा रहेको उत्साह म यहाँ वर्णन गर्न सक्दिनँ । स्थानीयको एकताले स्थानीयको मात्र नभई त्यहाँ सघाउन जाने सहयोगीको पेट जस्तोसुकै पीडामा पनि भोको रहन दिदैन ।

केही नमीठो लाग्ने कुरा

बारपाक हुँदै घ्याच्चोकसम्म पुग्दा एउटा नकारात्मक पक्षले मन पोलिरह्यो । बाहिरबाट गएका सहयोगी हात दिनभर काममा खटिरहँदा त्यहाँको युवा जमात भने दिनभर कुरा गरेर दिन बिताउनमा नै व्यस्त थियो । बूढा बाआमा टहरा बनाउनमा मरीमेटी काम गरिरहँदा मैले बुझ्न सकिनँ कसरी ती युवाहरु भलिबल खेलेरै दिन बिताउन सकेका होलान् ?

मलाई कता–कता एउटा अनुभूति भयो वैदेशिक निकायले नेपाललाई सहयोग गरिरहेका छन् तर कैयन् नेपालीलाई अझै यो ख्यालठट्टाको विषय छ । त्यस्तै कैयन् नेपाली पश्चिमदेखि पूर्वका गाउँमा पुगेर सहयोेग गरिरहेका छन् तर त्यहींका कति गाउँलेलाई यो सहयोग ख्यालठट्टाको विषय छ ।

छिमेकीले एउटा पाल नपाइरहँदा छेवैको छिमेकीले घरगोठ ढाक्ने गरी पाँच/छ वटा पाल कसरी कुम्ल्याएर बस्न सकेको होला ? र काम गर्न गएका हामीजस्ता मान्छेको अपेक्षा सबैभन्दा विपन्नको उद्धार पहिला होस् भने पनि सम्पर्कको अभावले त्यसको उल्टो भइदियो । ज्याला दिएर काम गराउन सक्ने हैसियत राख्ने मान्छेहरुको घरमा काम गर्नुपर्दा नमिठो लाग्दो रहेछ ।

गोरखा फेरि उभियोस्

फर्किदा एक जना आमैसँग पेन र कापी नभइदिदा भुइँको माटोमा सम्पर्क नम्बर र ठेगाना कोरीदिएँ ।

गोरखा जानुअघि मेरा राजधानीका केही शुभचिन्तक मित्रहरु त्यता धेरै दिन नबस्न सुझाव दिन्थे । धेरै बसे जनताका लागि लगिएको राहत पनि आफूले खाएर सिध्याउने बाहेक अरु उपलब्धि नहुने उनीहरुको जोड थियो । तर मलाई यहाँनेर आज आएर के भन्न मन छ भने हाम्रो देशको व्यवस्थापन पक्ष बिग्रिनुको कारण यसरी नै राजधानीसँगको समानान्तर नजरले हो । हामीमा सहरी र ग्रामीण भेगको भिन्नतालाई आत्मसात नगरी योजना बनाउने चलन छ ।

स्थलगत निरीक्षण नगरी काठमाडौंको जस्तै व्यवस्थापकीय पक्ष ग्रामीण भेगमा पनि लागू गरिदा त्यसले उल्लेख्य प्रगति गर्न सकिदैन । यो भूकम्पको बेला त झनै गाउँ र राजधानीको व्यवस्थापन पक्ष धेरै फरक छ । नेपालको ग्रामीण भेगमा मलाई लाग्दैन कुनै पनि भूकम्प पीडित भोकै मर्नुपर्ला । गाउँघरमा जतिसुकै बेइमान भए पनि छिमेकीलाई भोकभोकै मर्न दिएर अर्को छिमेकीलाई पेट भर्ने दरिद्रता छैन ।

राजधानीलगायतका स्थानमा राहतको समस्या देखिए पनि ग्रामीण जनता कोदो खाएर पनि दिन कटाउन सक्छन् । सधैं एउटा सामान्य जीवनयापन गर्दै आएका मानिसका लागि पालमुनिको बसाइ असहज त होला तर शहरका महलमा बस्नेहरु जस्तो पीडैपीडाको कारण बनिरहन सक्दैन ।

ग्रामीण जनतालाई एकपेटी चाउचाउभन्दा उनीहरुका मूल्यवान् वस्तु जस्तै– घर छाउने ढुङ्गा, काठको व्यवस्थापन गरिदिन सकियो भने भोलिका दिनमा उनीहरुले आफ्नै बलबुताले घर निर्माण गर्न सक्छन् ।

भूकम्प जानुअघिसम्म मैले बारपाकलगायतका ती उत्तरी गाबिसबारे सुनेको थिइनँ । शायद त्यति सुन्दर, रमणीय स्थान र मनहरु बारेमा थाहा पाएको भए पहिले पुगिसकेको हुन्थें । त्यहाँको सुन्दरता निर्माणमा स्थानीयले गरेको मेहनत निकै प्रशंसनीय छ ।

भूकम्पपछि हेरेका फोटोहरुको आधारमा भूकम्प जानुअघिको बारपाक निकै सुन्दर रहेछ । हालै पनि त्यो बारपाक डाँडामा ठूलो स्वीमिङ पुल र डाँडामै फूलबारीको जंगल बनाउने बारपाकबासीको सपना भूकम्पले बीचमै तुहाइदियो ।

त्यसैले पुनः बारपाक उसैगरी एकचोटी उभिएको हेर्ने आशा छ । त्यहाँका स्थानीयको कृत्रिम मुस्कानमा यथार्थ भरिनु आवश्यक छ । त्यो आत्मविश्वासले सार्थकता पाउन आवश्यक छ । यति सोच्दैछु– यस्तो अवस्थामा पनि हामी आशा मात्र गरेर बसौंला या सहयोगका लागि हात अघि सारौंला ?

b 1

By

Readers Comments (0)