Filed Under:  संस्मरण | निबन्ध

विदेशमा दुःख : हल्ला र यथार्थ

23rd May 2015   ·   0 Comments

Subas_sharmaसुवास शर्मा

आजभन्दा २९ महिना पहिले म नेपाल छोडेर युएई आएको पहिलो दिन एक जना झापाली मित्रसँग भेट भएको थियो । जीवनमा पहिलोपल्ट बिदेश आएको म त्यसमाथि नेपाली भेट्दा यो मन कति खुसी हुन्छ त्यो बिदेशमा आएका नेपालीलाई मात्र थाहा हुन्छ ।

ती मित्रले मलाई सुरुमा सोधे, घर कहाँ हो भनेर । मैले दाङ भनें । अनि उनले फेरि भने, के खान आ’को यस्तो पाजी कम्पनीमा म त नेपाल जान कोसिस गरिरा’को छु ।

उनको त्यो कुराले मन खिन्न भयो । साँच्चिकै नराम्रो कम्पनी परेछ कि क्या हो भन्ने पनि लाग्यो । केहीबेरपछि मैले उनलाई दाइ कति बर्ष भयो तपाईं यो कम्पनीमा काम गर्न लागेको भनेर सोधे । उनले ८ बर्ष भने । त्यसपछि मेरो पारो तात्यो ।

यदि कम्पनी साँच्चिकै नराम्रो भएको भए त्यो आठ/आठ बर्षसम्म के खान बसेको ? के तिम्रो जागिर चन्द्रमामा छ र आठ/आठ बर्ष लाग्ने नेपाल जान ?

नेपालमा साथीहरु भन्थे– बिदेशमा नेपालीलाई डिप्रेसनमा पार्ने, ठग्ने नेपाली नै हुन्छन् भनेर । मलाई उसको कुराले प्रष्ट पारिदियो ।

अनि आजभोलि मेरो फेसबुकको भित्तामा विभिन्न अनलाइन पत्रिकामा छापिएका लेखहरु देख्छु– जुन प्रायः जापान, कोरिया, युरोप र अमेरिकामा बस्ने नेपालीले लेखेका हुन्छन् । त्यसमध्ये केही दिन पहिले सेतोपाटी अनलाइनमा कोरियामा बस्ने एक नेपालीले यौटा लेख लेखेका थिए, कोरियामा जान चाहने नेपालीका लागि भनेर । उनको त्यो लेखमा कोरियामा धेरै दुःख हुने र कोरिया आउनभन्दा नेपालमै बसेर देश बिकासमा लाग्न अनुरोध गरेका थिए ।

आज म खाडीमा बसेर ती जापान, कोरिया र अमेरिकामा बस्ने नेपालीलाई भन्न चाहन्छु– यदि त्यस्तो दुःख भए तिमी फर्केर देखाऊ न त जापान, कोरिया र अमेरिकाबाट । तिमीलाई देशको र नेपालीको यत्रो माया लाग्छ भने किन बसेका छौ बिदेशमा ? अनि प्रदेशमा साँच्चिकै दुःख भोगेका छौ भने किन फर्कदैनौ आफ्नो देश ? देशमा रोजगार नमिलेर अनि व्यापार व्यवसाय नचलेर घर परिवारलाई छोडी केही कमाउला अनि जिन्दगी केही भए पनि सहज होला भन्ने सपना बुनेका बिचरा दाजुभाइहरुको मनमा किन तरङ्ग पैदा गर्छौ ?

हामीलाई नि थाहा छ नेपालको दुःख र बिदेशको दुःख । दुःख गरेर पारिश्रमिक पाउँछ भने जोसुकै जाओस् । मान्छेको मनमा डर देखाउने तिमी को हौ ? तिमी नेपाल फर्केर देखाउन सक्छौ ?

हो दुःख हुन्छ प्रदेशमा तर के नेपालमा बसेर केही गर्न नसकेका बिचरा बेरोजगार दाजुभाइहरुको मनमा पहिले नै डर पैदा गर्ने ? त्यस्तो दुःख छ भने तिमी के खान बसेका छौ त्यहाँ ?

हिजो कोरिया जानको लागि कलेज स्कुलको पढाइभन्दा कोरियन भाषाको किताबमा र पढाइमा रात दिन लागि प¥यौ । अनि हरियो डलरको सपना देखेर गैरकानुनी रुपमा नेपालबाट दुबइ, मेक्सिको र ग्वाटेमालाको जङ्गलै जङ्गल खाली खुट्टा हुँदै अमेरिकाको जेल परेर माओवादी पीडित अनि शरनार्थी भन्दै नेपाली नागरिकता त्यागी ग्रीन कार्ड समायौ अनि आज आफू ठाउँमा पुगेपछि नेपालीको मन भड्काउदै किन हिड्छौ ? के अरु नेपाली तिमी बसेको देशमा आएपछि तिम्रो मासिक तलबमा कटौती हुन्छ र ?

जो घरमा कुनै काम नगरीकन बसेको, उसको धेरै आवश्यकता बुबाको कमाइले धानेको, अल्छी उमावि तह पास गरेको बाबुको होटलमा एमडी भएको अनि कोरियन भाषा पास गरि कोरिया, युरोप पुगेकाहरु एकैचोटी १२ घण्टा खट्नु पर्दा तिरिमिरी झ्याँइ हुन्छन् अनि यस्तो दुनियाँ नाटकबाजी कुरा लेख्छन् ।

अर्को कुरा केहीले दुःख नि पाएका होलान्, त्यो हुन सक्छ । तर १ हजारमा २५ ले दुःख पाए भन्दैमा पूरै दुःख छ भन्न कतिको उचित हो ? त्यो २५ को समाधान खोज्नु पर्छ पूरै नकारात्मक कुरा रोजगारलाई दिनुभन्दा पहिले ।

बिदेशिनु रहर न तपाईलाई थियो न मलाई थियो अनि ती रात दिन मरिमेटी अर्काको भाषा सिकेर कोरिया जाउला पैसा कमाउला भन्ने नेपालीहरुलाई छ । सबैको आफ्नो–आफ्नो व्यथा छ ।

नेपालमै केही गर्छु भनेर चार बर्ष दुबइको एक होटेलमा कुकको काम गरेर काठमाडौंको नयाँ बसपार्क नजिकै होटेल खोलेर आफ्नो परिवार पाल्ने सपना बुनेर होटेल चलाइबसेका थिए रामहरि दाइ । जसोतसो जीवन थेगिरहेका थिए त्यहीं होटेलको कमाइले । तर एकाबिहानै एक पार्टीका भरौटे कार्यकर्ताहरुले बन्दमा होटेल खोलेको बहानामा उनको होटेलको सामान केही बाँकी राखेनन् । सबै भताभुङ्ग बनाइदिए । होटेलका कुर्सी भाँचेर पिर्का बनाइदिए । अनि आज रामहरि दाइ देशलाई धिकार्दै फेरि त्यहीं पुरानो राहदानीमा दुबइको भिसाको छाप लगाउने तयारीमा छन् ।

काठमाडौंमै पसिना बगाइरहेका कृष्ण दाइ जसले बिदेशमा बर्षौं पसिना बगाएर जोगाएको पैसाले यौटा ट्याक्सी किने । आफ्नो अनि परिवारको त्यो जिन्दगीभरि नभरिने खाल्डो अर्थात् पेट भर्नको लागि । तर उनको त्यो ट्याक्सीमा पनि बन्दकर्ताको ढुङ्गा बर्सियो एकैछिनमा धुवाँ बनेर उड्यो उनको त्यो रोजीरोटीको भाँडो । अनि आज ती कृष्ण दाइ के गरेर बस्ने नेपालमा ? के गरेर पाल्ने परिवार ? आज ती कृष्ण दाइ अनि रामहरि दाइ भन्दैछन् नेपालमा भन्दा सयौं गुना खुसी बरु म बिदेशमै थिएँ । १५ घन्टा जोतिए पनि कमसेकम आफूले दुःख गरि कमाएको पैसा कसैले लुटेर लग्ला भन्ने भय त थिएन ।

दुःख र सुख जीवनका दुई पाटा हुन् । हुन्छ दुःख मानिसलाई । पर्छ सहन हरेक कुराहरु । म पनि स्वयम् हिजो बिदेश आएको एक महिनामै होम सिक भएर तनावमा जिन्दगी गुजारेको थिएँ ।

त्यो तनाव सहन नसकेर कोठाभित्रै झुन्डिएर प्राण त्याग्न कोसिस नगरेको पनि हैन । तर जिन्दगीलाई बुझ्दै जाँदा हरेक समस्यासँग जुध्दै जाँदा आज प्रदेशमा मासिक बीस हजारको तलबबाट सुखसँग आफू अनि आफ्नो परिवारका लागि पुग्ने तलब कमाउनेसम्म भएको छु । गतिलैसँग चलेको छ मेरो जिन्दगीको बयलगाडा । धेरै खुसी छु म प्रदेशमा अनि खुसी छन् मेरा परिवार पनि । हिजो कुनै एक सुपरमार्केटमा १२/१३ घन्टा हलचल नगरी एकै ठाउँमा उभिएर सुरक्षा गार्डको काम गर्ने म आज आफ्नो मिहनत र लगानशीलताले राम्रै पदमा बसेर काम गरिरहेको छु ।

हुन त म आज यो स्थानमा पुगें भनेर सबैलाई त्यही अबसर मिल्छ भन्न खोजेको हैन । छोटो समयमा नै बिदेशमा ठूलै प्रगति गर्नेहरु पनि छन् र बर्षौं बसेर खाली हात फर्किनेहरु पनि छन् । अझ ठूलो सपनाको भारी बोकेर बिदेश पलायन भएर सोचेजस्तो काम र दाम नमिलेपछि जीवन समाप्त गर्नेहरु पनि छन् । सबैलाई भनेको जस्तो हुने भए त्यो जापान पढ्न भनी गएको नेपाली विद्यार्थीले रेलको लिगमा हाम फालेर किन मर्नुपथ्र्यो ? अनि अमेरिकाजस्तो देशमा गएर पनि आत्महत्याको बाटो रोज्नु परेको समाचार किन सुन्नुपथ्र्यो र ?

हामी नेपाली मात्र होइन संसारका धेरै गरीब देशका जनता बाहिरिएका छन् आफ्नो देश छोडेर बिदेशमा । आफ्नो देशले पाल्न नसकेर आफुले रेमिटेन्सबाट देशलाई पालिरहेका छन् । गरिब देशमा जन्मियौं देशमा रोजगार र व्यापारको सम्भावना न्यून छ । देशमा बसेकाहरु पनि दिनदिनैको बन्द, हडताल र राजनीतिक अस्तव्यस्तताले दिक्क छन् । अनि आफ्नो अन्तिम बिकल्प दोस्रो मुलुक बनाएका छन् । रहर कसलाई छैन र आफ्नो परिवारसँग हाँसी खुसी आफ्नै देशमा बस्नलाई । तर के गर्ने यस्तै छ हाम्रो नियति ।

जे जस्तो भए पनि जीवनलाई सहज तरिकाले लिनुपर्छ । सुख कसैलाई छैन संसारमा । खुसी र सुख भन्ने कुरा आफुले आफैमा खोज्नुपर्छ । एकपटक आँखा चिम्म गरेर आफ्नै वरिपरीको दुनियाँ नियाल्नुस् त ! तपाईं भन्दा कति दुःख पाएकाहरु छन् । जीवन त एकदिन ढलेर जानु नै छ तर बाँचुञ्जेलसम्म दुःखलाई सामना गर्न सिकेर अगाडि बढ्नुस् त भोलि तपाईंलाई बोझ लागेको यो जीवन कति रंगीन लाग्छ । स्वदेशमा भए पनि प्रदेशमा भए पनि आफ्नो जीवनलाई माया गर्न सिक्नुस्, आफुले आफैलाई बिश्वास गर्न सिक्नुस् जीवन त्यसै सहज बन्छ ।

मान्छे सफल बन्नको लागि उसले आफ्नो विगत र वर्तमान सम्झिनु धेरै आवश्यक पर्छ । हिजो नेपालमा छँदा महिनाभरि काम गरेर पनि जीवन धान्न हम्मेहम्मे पथ्र्याे त्यसैले बिदेशिनु हाम्रो बाध्यता बन्यो । आज बिदेशमा बसेर मिहनत गरेर कमाएको पैसाले पहिलेको भन्दा केही सहज बनेको छ जीवन । दुःख आफ्नो ठाउँमा छ । कमसेकम बिहान के खाउँ साँझ के खाउँ भन्ने चिन्ता त दूर भएको छ ।

तपाईं हामीजस्ता धेरैले आफ्नो घरपरिवार अनि सन्तान छोडेर बिदेश आएका छन् अनि अरु धेरै जना आउने सपना बुन्दैछन् । आज ती देशमा केही नभएर आफ्नो अन्तिम रोजाइ बिदेश बनाएकाहरुलाई यसरी नानाथरीको कुरा सुनाई मनमा डर उत्पन्न गराउनुभन्दा के गर्दा राम्रो हुन्छ भन्ने सल्लाह दिनु उपयुक्त हुन्छ । आफ्नो देशमा त सुख मिल्दैन भने अर्काको देशमा त्यति सजिलै कहाँ मिल्छ र ? त्यसैले सकिन्छ आफ्नै देशमा केही गर्ने कोसिस गर्नुस् । गर्न सक्ने हो भने नेपालमा पनि धेरै सम्भावनाहरु छन् । बिदेश बसेर कमाएको पैसा नेपालमा लगानी गरेर ठूलै प्रगति गरेका उदाहरण पनि हाम्रैसामु छन् ।

बिदेश नै तपाईंको अन्तिम बिकल्प हो भने धेरै बुझेर सोचेर आउनुस् तर धेरै ठूलो सपना बोकेर नआउनुस् । आफुले देखेको सानो सपना भोलि ठूलो बिपनामा परिणत हुँदा जति आनन्द लाग्छ, त्यति नै नमज्जा लाग्छ भोलि आफुले देखेको ठूलो सपना तुहिन पुगेपछि । आफ्नो काममा मिहनत र लगनशील भएर काम गर्न सके, आफूसँग राम्रो सीप र सधैं सकारात्मक सोचाइ बोकेर हिड्न सके पक्कै पनि तपाईं हामीले सुनेजस्तो निरासै हुनुपर्ने र ठूलै दुःखको भारी बोक्नुपर्ने ठाउँ हैन बिदेश ।

हापुर, दाङ हाल : यूएई

By

Readers Comments (0)