Filed Under:  कथा, सौगात विशेष

प्रेमको आँखामा एसिड काण्ड | बसन्त विवश आचार्य

18th April 2015   ·   0 Comments

Basant_bibasacid 1212प्रेमको गहिराइ, उचाइ अनि चौडाइ कति हुन्छ होला ? के प्रेमलाई आयतनको सूत्रभित्र ‘अट्याच’ गर्न सकिन्छ ? किन संसारमा सबथोक भुल्न सक्ने मान्छेले प्रेमलाई भुल्नै सक्तैन होला ? मान्छेको रगतसमेत पिउने तानाशाहहरु प्रेममा के भएर मैनजस्तै पग्लन्छन् होला ? अनि रातभर किन एउटै तस्बिरले आँखाको निद चोरेर लैजान्छ होला ?

मलाई अहिले गहिरो ढङ्गले अनुभूत हुँदै गएको छ । प्रेमको कुनै सिमाना हुँदैन, भूगोल हुँदैन र हुँदैैन आयु पनि । मान्छे जन्मन्छ र मर्छ, तर प्रेम पहाडजस्तो छाती बनाएर बाँचिरहन्छ । मलाई याद छ– मुनामदन, लैला मजनु, अनि रोमियो जुलिएट । प्रेमका किताब पल्टाएर सूत्रबद्ध रुपमा संसारमा कसले पो प्रेम गरेको छ र ? लोकसेवाको किताब कण्ठस्थ पारेजस्तै प्रेमका फर्मूला घोकेर कसले पो प्रेमलाई जीवन दिन सकेको छ र ? मनको गहिराइबाट निस्कन्छ साँचो प्रेम अनि त्यही गहिराइमा बिलाउँछ– हातमा असिना बिलाएजस्तै । बस् हामी अनुभूत मात्र गर्न सक्छौं– प्रेम शाश्वत छ यसको कुनै अन्त्य छैन । कति प्रेम भए मुटु भरिन्छ ? संसारको कुनै यन्त्रले नाप्न सक्दैन प्रेमको दायरा ।

हो, तिमीले मलाई गणित र विज्ञानका फर्मूला घोकाउँथ्यौ म नजानी–नजानी प्रेमको फर्मूला घोक्न पुगेछु । अचानक आफ्नो भन्दा तिम्रो बढी माया लाग्न थालेपछि थाहा भयो, प्रथम पुरुषको एकवचन ‘म’ अचानक बहुवचन ‘हामी’मा रुपान्तरण भइसकेछ । मान्छेको जीवनमा कतिपय कुरा थाहै नपाई परिवर्तन हुँदोरहेछ । बालकबाट बूढो हुँदासम्म पनि मान्छेले कहाँ आफूलाई फरक परिवर्तनको आभाष गर्छ त ? प्रेम अनौठो हुँदोरहेछ, मनमा सल्बलाइरहँदा आफैलाई थाहा नहुने, मन शीतल पारेर बहने हावाजस्तै ।

प्रेमको गहिराइमा डुबेका बेला तिमीबाट अलग हुनु न त मेरो हृदयको आग्रह थियो न त मष्तिस्कको निर्देशन नै । तिमीलाई थाहा छ समाजमा तिम्रो र मेरो पुस्ता बदलिए पनि हाम्रो अघिल्लो पुस्ता अझैं पनि सुनपानी हालेर घर भित्र छिर्छ । मलाई दुःख लाग्छ, जातीयताको नमिठो गन्धले समाजलाई अझै पनि दुषित पारिरहेको छ । अनि राम्रोसँग थाहा पनि छ– समाजमा पुरुष र महिलाबाहेक कुनै पनि जात छैन । तर, म घरमा बाबुआमालाई परिवर्तन गर्न सक्दैन र सक्दैन आफू आँसुको झरीमा निथ्रुक्क रुझेर मलाई प्रेमको ओत दिने बाबुआमाको सपना र चाहना त्याग्न पनि । मैले तिमीप्रति गरेको नराम्रो व्यवहार मैले मन रुवाएर गरेको हुँ । जसले सपना देख्न सिकायो उसैका सपना म कसरी टुक्राउन सक्छु ? १० या १२ दिन पानी हालेको एउटा भित्ता भत्काउन हम्मे–हम्मे पर्छ मान्छेलाई अनि म कसरी दशकौंदेखि मेरा बाआमाको दिमागमा सिमेन्टेड भएको जातीय विभेदको कुविचारलाई टुक्राउन सक्छु ?

समाजमा धेरै छन् म जस्ता रोएर जीवन काट्ने अभागीहरु जो प्रेमको परीक्षामा सधैंभरि हारिरहेका छन् । तिमीलाई अंगालु बाआमासँग हार्ने, बाआमालाई अंगालु तिमीसँग हार्ने । मान्छेको जीवनमा कुनै पल यस्ता परीक्षा आउँदा रहेछन् जति मेहनत गर्दा पनि हार हुने । हो, यही हार हुने परीक्षामा मैले तिमीसँग हार्न चाहे । तिमी आफै भन के एउटा आदर्शवान् छोरीले बाआमाका सपनामाथि लात हान्न सक्छे ? पक्कै पनि सक्तैन । चाहे ती सपनामा झुण्डिएर उसलाई आत्महत्या नै गर्न किन नपरोस् ।

अस्पतालको बेडमा छु । धेरै शुभचिन्तक आउँछन् तर पनि म आफूलाई एक्लो महसुस गर्छु । यति ठूलो शहरमा किन मान्छे आफूलाई एक्लो महसुस गर्छ बल्ल बुझ्दैछु । तिमीलाई कस्तो सजाय दिने ? यी पत्रकारहरु मलाई अदालत बनाउन खोज्दैछन् । किन बुझ्दैनन् मान्छेहरु मुटुलाई सजाय दिएर बाँच्न सकिदैन भन्ने कुरा । सोच्छु– यतिबेला म मृत्युशैयामा हुनुपर्ने कम्तिमा यो शारीरिक र मानसिक पीडाको भरिया त बन्नुपर्ने थिएन । मेरो अनुहार बिगार्ने एसिडले तिम्रा याद र प्रेमहरु दौडिरहने यो दिमाग किन जलाउन सकेन ? तिम्रै प्रेमको प्रतीक्षामा टोलाइरहने मन जलाउन सकेन ? किन आउँछन् यादहरु मुटु चर्काउन ? यो संसारमा भगवान छ भन्ने कुरा मैले त्यही दिनबाट विश्वास गर्न छाडिदिएँ, जुन दिन मनभरि प्रेमको गुलाब उमारेर मुखमा बाआमाका लागि तिमीलाई मरुन्जेल गाली गरेको थिएँ । असल छोरा हुन् जति सजिलो छ त्यो भन्दा कयौं गुणा जटिल छ एउटी असल छोरी हुन ।

पुराना कुरा फर्किएर आउँदैनन्, थाहा छ तर बाँच्नका लागि जीवनमा सबैभन्दा बलियो सहारा तिनै पलहरु हुँदा रहेछन् । स्कुलबाट आउनेबित्तिकै तिमीलाई अंगालोमा बाँधेर दिनभरिको थकान मेट्ने मेरो आदत भइसकेको थियो । कहिलेकाहीं तिमी घरमा नभएको पल म तिम्रो तस्बिर नियालेर खाजा खान्थें । सासभन्दा पनि बढी आवश्यक थियौ तिमी मेरो जीवनका लागि । त्यो दिन पनि तिम्रो नागरिकतामा बिक देखेपछि मैले अँध्यारो अनुहार बनाएको अब हाम्रो प्रेम यहींनेर छुट्छ कि भन्ने डरलाग्दो त्रासले गर्दा हो । तर मैले बाआमालाई दोषी बनाउन चाहिनँ, आफै तिमीसँग विवाद गरें । तिमीलाई आज भन्नैपर्छ– जीवनमा पहिलोपटक म त्यति धेरै रोएको थिएँ । आज पनि एसिडले क्षतविक्षत अनुहार हुँदासमेत मैले आँसु झारेको छैन । मलाई तिमीलाई जस्तै मर्न मन थियो तर जति भने पनि गाह्रै हुँदो रहेछ मर्न । मान्छे आँसुमा डुबेर मर्न सक्छ तर आफै मृत्यु रोज्न सक्दो रहेनछ । तिम्रो वास्तविकता घरमा पनि मैले निडरतामा साथमा भनें । मलाई थाहा थियो नकारिन्छ भनेर तर मलाई घरमा पिट्नेसमेत काम भयो । म चुपचाप सहिरहें । प्रेमको नाममा पिटाइ खानु पनि आनन्द हुँदोरहेछ । मलाई पहिलो पटक जीवनमा पिटाइ खाँदा आनन्द आयो ।

तिमीबाट मनले सोचेअनुसार धेरैपटक टाढा हुन खोजें । प्रेममा जति टाढा हुन खोज्यो रबरजस्तै उति नै नजिक भइदोरहेछ । तिमी बिनाका पलहरु म कयौं पटक रोएँ कराएँ । अविश्वास गरेको भगवानप्रति फेरि विश्वास जगाएर प्रार्थना गरें, ‘भगवान मलाई पनि दलित बनाइदेऊ ।’ आफै विभाजनको रेखा कोर्ने भगवानले मेरो पुकार कसरी सुन्थ्यो र ?

मन नअघाउञ्जेल तिमीलाई आँखाभित्र राखिरहन मन लाग्थ्यो । तर म बाध्य थिएँ । लुकिछिपी तिमीलाई हेर्नु मेरो दिनचर्या नै थियो । मेरो प्रेमको अभाव र मेरा बाआमाको तिमीप्रतिको हेय भावले तिमी हरबखत तनावमा हुन्थ्यौ । जसको मनका पीर र बहहरु दूर गराउँला भन्थें त्यसैको पीडाको कारण बन्दा मलाई आफ्नै जिन्दगीप्रति दया लागेर आउँथ्यो । प्रेम जतिसुकै तातो किन नहोस्, गर्मीमा भए पनि न्यानो दिन्छ अनि जतिसुकै चिसो किन नहोस् जाडोमा पनि शीतलता दिन्छ तर मेरो जीवनमा यहीं कुरा उल्टिएर आयो । मन हँसाउने प्रेमले मेरो जिन्दगीमा कहिल्यै नमेटिने वेदनाको कालो दाग दिएर गयो । जुनै साबुनले धोए पनि नमेटिने दाग ।

तिमीलाई सम्झिएर टोलाउनु मेरो जीवनको आदत बनेको थियो । तिमीसँगका तस्बिरहरु मात्र होइन, तिम्रा उपहारहरु पनि मनजस्तै टुक्रा–टुक्रा पारियो । खुकुरीले मनै रेट्दा बरु त्यति पीडा हुँदैन थियो होला त्यो भन्दा पनि बढी पीडा भएको थियो त्यो क्षण मलाई । तर म मेरा बाआमालाई दोष दिन चाहन्नँ । अझै पनि जातीय विभेदको पर्खाल लगाउन चाहने यो समाजसँग लड्ने तागत मेरा बाआमासँग पनि छैन । समाज परिवर्तनका लागि आवाज चर्काउनेहरुले आफैलाई परिवर्तन नगर्दासम्म प्रेमको बाटोमा ऐंजेरुहरु निरन्तर पलाइरहन्छन् । जातीयताको विरोधमा उठ्नुभन्दा जात परिवर्तन गरेर समाजसँग घुडा टेक्ने तिम्रा कमजोरीहरु पनि छन् तर म तिमीलाई कहिल्यै कमजोर आँखाले हेर्न सक्तिनँ ।

तिमी लामो समय घरबाट हराउँदा म करिब–करिब पागलजस्तै भएकी थिएँ । प्रेम अभावमा झन् गहिरो ढङ्गले महसुस हुँदोरहेछ । मलाई पनि त्यस्तै भयो । म यति विवश थिएँ न त तिम्रो ठेगाना थाहा पाउन सक्थें न त सोध्न नै । अचानक ट्युसन सेन्टरमा तिमीलाई देख्दा मन मीठोसँग रमाएको थियो । बिडम्बना ! तिमीले आफ्नो मुटुमा लागेको दागको बदला लिन मेरो अनुहारमा एसिड छ्याप्यौ । साँच्ची मेरो अनुहार त सबैले देख्छन् अनि सहानुभूति पनि दिन्छन् तर तिम्रो मनमा छ्यापिएको एसिड कसले पो देख्छ र ? कुन ठानेदारले लगेको छ र जेलको चिसो छिंडीमा मनमा एसिड छ्याप्नेहरुलाई ? तिमीले मलाई दिएको पीडा मैले दिएको पीडाभन्दा लाख गुणा बढी छ । मलाई कुनै पनि दुःख छैन कम्तिमा तिमीलाई दिएको चोटको बदला जीवनभरिलाई पाएँ । अब ऐना हेर्दा मेरो कुरुप अनुहार देखेर म रुने छैन त्यहीं कुरुप अनुहारभित्र तिम्रो सुन्दर तस्बिर देखिनेछ । जहाँ म आफूलाई संसारकै भाग्यमानी महसुस गर्नेछु । मैले तिमीलाई चिनेर पनि किन प्रहरीलाई खबर गरिनँ ? किन प्रहरीले अनुसन्धानमा सहयोग नगरेको आरोप लगाउँदा पनि मैले तिम्रो नाम उच्चारण गर्न सकिनँ ? के तिमी अनुमान लगाउन सक्छौ ? तिमीलाई प्रेम गर्न आउँछ, त्यसकारण मलाई थाहा छ– मेरो मौनताको अर्थ तिमीले सहजै बुझेका छौ र त मेरो नाममा खुसी–खुसी जेल जान तिमीलाई रहर लाग्यो ।

भगवान कि यो समाजबाट प्रेम नामको विरुवा उखेलेर फ्याँक कि त जातीय विभेदको पर्खाल भत्काएर समाजमा सबै प्रेमीहरुलाई मन खोलेर प्रेममा रमाउन देऊ । संसार प्रेममा अडिएको छ भन्छन् तर त्यहीं प्रेममा तगारो बनेर जीवन रित्याउनेहरु यहाँ दिनदिनै सल्बलाइरहेका छन् । मलाई थाहा छ– अब मेरो जीवनको पानामा कुनै पनि रङ्ग कोरिने छैन र मलाई तिमीबिना जीवनमा रङ्गिन मन पनि छैन । यो समाजले मलाई नूनजस्तै आफ्नो स्वाद अनुसार प्रयोग गरिरहेको छ । मलाई बोल्न नै दिइदैन । यी पत्रकारहरु पनि मनको भाषाभन्दा समाचारको भाषा बढी गर्छन् । तिमीलाई बदनाम गरेर मलाई प्रसिद्धिको उकालो चढ्नु छैन । धेरै मान्छेले भन्छन्, यो जीवनमा पाप गरे अर्को जीवनमा सजाय पाइन्छ तर मैले तिमीलाई यति धेरै पाप गरें कि भगवानले पनि सहन नसकेर मलाई यो जुनीमा नै सजाय दियो ।

पहिलो पटक आफूभन्दा तिमीलाई बढी माया गर्दा म ८ कक्षामा पढ्थें । कति धेरै सपनाहरु थिए मनको बाकसमा । कुनै दिन सँगै खोलौला भनेर ताल्चा मारेर बसेको थिएँ थाहै नपाई लुटिएछ । जीवनमा अब कहिल्यै उज्यालो घाम लाग्ने छैन । साँच्ची कस्तो कमजोर रहेछ हाम्रो प्रेम न त तिम्रो जीत भयो न त मेरो नै । जातले प्रेमलाई टुक्राएको टुलुटुलु हेरिरह्यो । यो सुन्दर जीवन फेरि पनि पाइदैन । एकपटक पाएको यो जीवनलाई तिम्रो घृणाको एसिडले कुरुप बनाए पनि तिम्रो माया पाएको दिन म संसारको सबैभन्दा सुन्दरी महसुस गर्नेछु । दुइ दिनमा उडिजाने अनुहारको रङ्ग भन्दा सधैं उस्तै रहने मनको रङ्गमा तिम्रो एसिडको बाछिटा नपरेसम्म म आफूलाई भुल्न सकुँला तर तिमीलाई फ्याँक्न सक्दैन ।

जीवनका रहरहरु कति घाउ बनेर हराउँछन् कति तृष्णा बनेर । आऊ, अझैं सजाय देऊ मलाई तर बिन्ती मेरो प्रेमलाई दोष नदेऊ किनकि मेरो प्रेममा हरपल तिमी जोडिएका हुन्छौ र तिमी जोडिएको ठाउँमा तिम्रो बदनामी मलाई सह्य हुँदैन ।

तिम्रो आफ्नो मान्छे
अस्पतालको शैयाबाट

By

Readers Comments (0)