Filed Under:  संस्मरण | निबन्ध, सौगात विशेष

हाँसको अण्डा र छायाँक्षेत्र | केबी मसाल

18th April 2015   ·   0 Comments

KB_Mashalegg_1कर्मचारीको जागिर ! महिना पारिभन्दा पनि वारि, खटाएको ठाउँको यात्रा, कहिलेकाहीं परिंदो रहेछ अलपत्र । लामो समय जागिर खाने कर्मचारीमा यस्ता अनुभव र अनुभूति धेरै हुन सक्दछन् ।

मेरो यो संस्मरण चाहिं २०३६ सालको हो । जुन बेला म रुकुम जिल्लामा जागिरे थिएँ । त्यतिबेला रुकुम यातायातको नाममा काठमाडौं र नेपालगञ्ज हवाइ सेवाको लागि चौरजहारीमा एयरपोर्टबाहेक अरु केही थिएन । अहिलेको जस्तो मोटरमार्गको परिकल्पना समेत नभएको समय थियो त्यतिबेला ।

वर्षाको समय गोष्ठीमा काठमाडौंसम्म जानुपर्ने काम भयो । वर्षातको बेला चौरजहारीमा हवाइ जहाज नबस्ने । मुसिकोटबाट काठमाडौं जान दाङ तुलसीपुर हुँदै कोइलाबाससम्म पैदल यात्रा र त्यसपछि भारतीय भूमि हुँदै भैरहवा निस्केर बसको यात्रामा काठमाडौं जानुपथ्र्यो । सरकारी काम– तोकिएको समयमा पुग्नुपर्ने । काठमाडौंको यात्रामा म मुसिकोटबाट बाटो लागें ।

त्यतिबेलासम्म चन्द्रशमशेरको पालामा बनेको नेपालकै पहिलो झोलुङ्ले पुल चौरजहारी जाजरकोट जोड्ने भेरी नदीमा मटेलाबाहेक अन्य नदी र खोलामा पुलहरु थिएनन् भन्दा पनि हुन्छ । रुकुम जिल्लामा सानो भेरी र ठूलो भेरी नदी पनि चिन्हाबाट वारपार हुने गर्दथ्यो । ठाडा खहरे खोलामा भने बाढी आएको समयमा पर्खनेबाहेक अन्य विकल्प थिएन । बाटोमा हिड्ने यात्रुहरुको लागि बास बस्ने र खाने होटलहरु पनि थिएनन् । रुकुमको मुसिकोटमा १/२ वटा चिया चमेनाका होटलबाहेक अहिलेको जस्तो सुविधाजनक होटल थिएन । बैरागीठाँटीमा चिया पसलबाहेक अरु केही थिएन । बाटोमा हिड्ने सबैले खाने बस्तु साथमा लिएर हिड्नुपर्ने बाध्यता थियो । सबैले साथमा सुख्खा रोटी र सुख्खा अचार अथवा तरकारी लिएर यात्रा गर्दथे । घोडेहरुको व्यवसाय धेरै थियो । सामान ढुवानी गर्ने घोडाबाहेक अन्य कुनै विकल्प थिएन । घोडेहरु पनि खोला किनार र पानी भएको ठाउँमा आफै खाना बनाएर खाने गर्दथे । अहिले जस्तो बिस्कुट, चाउचाउ र फाष्टफुड बजारमा उपलब्ध थिएन ।

पानी परिरहेछ । लौराबाङ खोलाको उकालो एक जना कार्यालय सहयोगीको साथ सल्यान जिल्लाको शिवरथ, दमाचौर हुँदै अत्तरकाँडाको खोला किनारमा आउनासाथ हामी दुबै जना भयभित भयौं । खोलाको बाढीले सबै खेत बगाएको दृश्य देखियो । अत्तरकाँडाको खोला मात्र होइन शारदा खोला झन् बाढीले जलाशयमय भएको भियो । खेतमा रोपाइ गर्ने सबै कृषकहरु आ–आफ्नो गाउँतर्फ लागे । खोला तरेर हाम्रो यात्रा छायाँक्षेत्रतर्फ लाग्न सकेनौं । आकाशमा मेघ गर्जिएकै छ, पानी रोकिने संकेत देखिन्न । खोलाको पानी कम होला र खोला तर्न सकिएला भन्ने सोचले खोलाको किनारमा बस्दा बस्दै रात पर्न थाल्यो । खेतको बीचमा केही गोठजस्ता घरहरु देखिन्थे । तर त्यहाँ न त गाईवस्तु थिए, न त मानिसहरु नै । हाम्रो लागि त्यो खोलाको किनार र छायाँक्षेत्रका बस्तीको बारेमा पहिचान थिएन । खोला घट्ने प्रतीक्षामा रहँदा रहँदै रात पर्न लाग्यो । खेतका भ्यागुता कराउन थाले । आश्रयको लागि हामी नजिकको गोठतर्फ लाग्यौं । गाइवस्तु र मानिसबिनाको गोठ, माथिल्लो तलाको कोठामा ताला लगाएको छ । खानेकुरा त कुरै भएन सामान्य बिछ्याउने साधनसमेत हामीले पाउन सकेनौं ।

दिनभर भिजेको शरीर, भोको पेट, साथमा भएको झोलाको सिरानीमा खाली जमीनमा रात काट्न बाध्य भयौं । उज्यालो भयो । खोलाको पानी घटेको छैन । शारदा खोलाले बगाएर ल्याएको जंगलका रुख, मृत गाईवस्तु र घरगोठका सामानले खोला किनारका खेतमा छरिएको छ । कोही मानिस देखिएका छैनन् । आकाशको बादलले पानी रोकिने कुनै संकेत देखिदैन । सहयोगी साथी टेकबहादुर ले भन्न थाले, ‘सर अब मुसिकोट नै फर्कौं, यो भन्दा अगाडि दाङ पुग्ने बाटोमा धेरै खोलाहरु पर्दछन् ।’

मेरो लागि त्यो भूगोल नयाँ थियो । तर फर्किने बाटोमा पनि खोला थिए । यस्तै तर्क बितर्कमा हाम्रो नजर खोलामा केन्द्रित हुँदै समय बित्न थाल्यो । खोलाको स्वरुप भने उस्तै छ । आकाशको पानी पानी रोकिएको छैन । अब हाम्रो चिन्ता खोलाको भन्दा पनि खानाको हुन थाल्यो किनकि दिनको ११ बजिसकेको थियो ।

मानव बस्तीका गाउँ टाढा–टाढा पहाडमा देखिने, बास बसेको गोठमा केही चीज छैन । त्यो अवस्थामा लागेको भोक कसरी टार्ने ? यस्तै कुरा सोच्दै थियौं, हामी बसेको गोठभन्दा पश्चिम शारदा किनारको एउटा गोठका आगोको धुँवा निस्कियो । त्यस गोठमा मानिस हुनुपर्दछ, हामीले अनुमान लगायौं । भर्खर रोपेको खेत, रातभरको पानीले बनाएको जलमग्न फाँट, खेतको बीचबाट धुँवा निस्किएको गोठमा पुग्यौं ।

गोठमा एक जना मानिस भेटिए । उनको घर दमाचौर रहेछ । खेत रोपाई गर्न बेंशी झरेका रहेछन् । एकैछिनको कुराकानीमा धेरै कुरा थाहा भयो । तर खानेकुरा उनको गोठमा पनि सकिएको रहेछ । उनले यस्तो खोला त मैले कहिल्यै पनि देखेको थिइनँ । निकै नोक्सान ग¥यो, कतिको छाक बाससमेत गयो होला भन्दै शारदाले बगाएर ल्याएको गोरुलाई देखाउँदै भने कसको बल्ल हो अब उ कालापार जानुपर्छ ।

उनको कुराको भाव मैले बुझिनँ । मैले सोधें, ‘खानेकुरा केही छ ?’

‘म हिजो बिहान आएको हुँ, घरबाट नै रोटी ल्याएको थिएँ । बेलुकी घर जान सकिनँ, अहिले घरबाट परिवार आएपछि खानेकुरा आउँछ ।’

गोठमा दुई जोडी हाँस देखियो । पानीमा पौडिएको हाँस देख्नासाथ मैले सोधें, ‘यो हाँस बेच्ने हो ?’

‘बेच्ने हैन यो त छोरीको कोल्की हो ।’

‘हामी ज्यादै भोकाएका छौं के खान दिन सक्नुहुन्छ त ?’

उनले असजिलो मान्दै भने, ‘खानेकुरा केही छैन । बरु खाने भए हाँसका अण्डा छन् ।’

भोकको झोकमा अण्डा पाएपछि के खोज्ने ? हाँसको अण्डा राखेको ठाउँमा हेरेको त १५ वटा अण्डा रहेछन् । सबै अण्डाको मूल्य गरी उसिन्न लगायौं । अघिल्लो दिनदेखिको भोको पेट हाँसको अण्डाले टन्न भरियो ।

मध्यदिन भइसकेको थियो । बिस्तारै पानी रोकिन थाल्यो । खेतमा मानिसहरु देखिन थाले । खोला किनारै किनार मानिसहरु हिडिरहेका थिए । कोही बगाएर ल्याएको रुख तान्न आतुर थिए, कोही माछा मार्न । हामी तिनै मानिसको सहारामा खोला तर्न सफल भयौं ।

हाम्रो यात्रा अगाडि बढ्न लाग्यो । छायाँक्षेत्रको बस्ती छाडेर शंखमुल आइपुग्दा बल्ल थाहा भयो पहिरोले बाटो बन्द भएको । शंखमुल नजिक ठूलो पहिरो गएको रहेछ । अघिल्लो दिनबाट सबै यात्रुहरु र घोडे शंखमुलमा नै बसेका रहेछन् । हाम्रो बास पनि त्यही नै भयो । राति मलाई सन्चो भएन । पेट फुलेर आयो । हाँसको अण्डाको डकार, उकुसमुकुस भएको पेट, शंखमूलमा त्यतिबेला औषधिसमेत पाइएन । मेरो पीडाको महसुस गरी एकजना घोडेले धुलोमुलो के औषधि दिए कुन्नि ? त्यसले मेरो पेट फुल्लिएको अलि कम भयो ।

भोलिपल्ट हाम्रो यात्रा अगाडि बढ्न थाल्यो । बाटोमा पर्ने लुहाम खोलाको भल तर्दै फालाबाङको उकालो लाग्यौं । फालाबाङको उकालो जति उचाइमा पुग्यो, उति नै रमणीय दृश्य । हरियाली पहाडको रमाइलो वातावरणको यात्राको क्रममा हामी आमा होटल पुग्यौं ।

सल्यान फालाबाङको आमा होटलको सञ्चालिका भण्डारी थरकी महिलालाई फालाबाङी राजाहरुले काठमाडौंबाट ल्याएका रहेछन् । त्यतिबेला सल्यान, रुकुम र जाजरकोट पुग्ने यात्रीहरुलाई खाना र बास दिएर आमा होटलले सबैको सेवा दिएको थाहा भयो । आमा होटलको खाना साँच्चै नै आमाले पकाएको जस्तो लाग्यो । फालाबाङ चैतेडाँडाको आमा होटल त्यसबेला राप्तीको भूगोलमा प्रख्यात मानिदो रहेछ । खानापछि यात्रा शुरु भयो– थर्कोटगढी, बल्ले हुँदै हामी दाङको तुलसीपुरसम्म आयौं । तुलसीपुर आइपुग्दासम्म पनि मेरो पेटको पीडा भने उस्तै छ । बेला–बेलामा अण्डाको डकार आउन छाडेको छैन ।

हाँसको अण्डाको भोजनले बाटोभरि निकै कष्ट व्यहोर्नु प¥यो । काठमाडौं पुगेपछि मेरो लामो उपचार गरेर मात्रै पेट सन्चो भयो ।

अहिले पनि मलाई हाँसको अण्डा देख्नासाथ त्यहीं छायाँक्षेत्रको खोला किनारको घटना याद आउँछ । हाँसको अण्डाले मलाई जीवनभर संस्मरण गराएको छ । कसैले अण्डा खाउँ भन्यो भने पनि हाँसकै अण्डा सम्झिने मेरो बानी परेको छ ।

By

Readers Comments (0)