Filed Under:  कविता

दाङ छोड्नुपर्ने भो

9th April 2015   ·   0 Comments

Dhundi paudel- डा. ढुण्डीराज पौडेल

आखिर लेखाइ त्यो भाग्यको थियो कि
राज्यको थ्यो
तर लेखिएको जे थ्यो
आखिर त्यस्तै हुने भो
प्यारो दाङ मैले छाड्नैपर्ने भो
यो मनै कस्तो भो
सकिनँ होला बस्न म यहाँका मनहरुमा
यो मनमा भने सधैं–सधैं यहीको माया बसिरहने भो
यो मनै कस्तो भो
सुन्दर छ है पहाडी काखको घोराही बजार
न थाक्छन् पैरहरु हिडाइमा
न थाक्छन् निर्मिमेष हेराइमा नजर
यो राप्तीको नजर हृदय नयनमा सधैं छाइरहने भो
तराईको समथर खोजे पनि छ यहाँ
पहाडी रमणीयता पनि त पाइन्छ जहाँ
न पहाडको अप्ठ्यारो छ यहाँ
न तराईको उष्णता छ यहाँ
जहाँ गए पनि यो छातीभरि यहीको माया अटाउने भो
यो मनै कस्तो भो
कहाँ मिल्ला र यहाँझैं
ऐतिहासिक मन्दिर माता अम्बिकेकेश्वरीको दर्शन
अशान्त अनि अस्थिर हुँदा मन
यौगिक प्रेरणा अनि शान्ति मिल्ने गोरख अनि रत्ननाथको दर्शन
यो शरीरभित्रका पाण्डवहरुले शान्ति अनुभूति गर्ने
त्यो पान्डवेश्वरको दर्शन
यी सबै–सबैको अभिलाषा अधुरो हुने भो
यो मनै कस्तो भो
के वर्णन गरुँ यो सुन्दर अनि विशाल दाङ उपत्यकाको
अनुभूति हुन्छ हृदयमा शिव, सुन्दर अनि सत्यको
उत्तर महाभारत लेक अनि दक्षिण सिवालिक
यहीका पहाडका सोतामा खोचमा उद्गमित बबई खोलाले
पार गर्दै चार सय किमिको यात्रा
यो हुँदै समाहित सरयु अनि गङ्गामा
धैर्यताको प्रेरणाश्रोत बन्छ
अविरल बगिरहने राप्तीले
निरन्तरताको सन्देश प्रवाहित गर्छ
साहित्य सिर्जनाको धनी यो
कोमलता अनि नम्र भद्रहरुको बस्ती हो
कहाँ पाइन्छन् र यहाँका जस्ता निश्चल अनि सरल धर्तीपुत्र थारु मनहरु
कहाँ भेटिन्छन् र यहाँका जस्तै सरल अनि निष्कपट मगर मनहरु
आखिर सबै–सबै छाडेर जानैपर्ने भो
लेखेको जे थ्यो त्यो भोग्नैपर्ने भो
यो प्यारो दाङ आखिर छोड्नैपर्ने भो
बनाए यही स्वर्ग हो
सोचे मनै स्वर्ग हो
तर लुम्कीका बाल तपस्वीको त्यो स्वर्गद्वारीको यो ढोकै छोड्नुपर्ने भो
बनाए जे पनि बन्ने
प्यारो यो दाङ छाड्नैपर्ने भो
यो मनै कस्तो भो ।०

By

Readers Comments (0)