Filed Under:  कविता

अहिले पनि | यज्ञबहादुर डाँगी

28th February 2015   ·   0 Comments

Dangi_1म यहाँ थिएन
भर्खर आएँ त्यहाँबाट
जहाँ मेरो साल नाल बनिरहेको समय थियो
जहाँ मेरो बाल्यावस्था खेलिरहेको समय थियो
जहाँ मेरो किशोरावस्था हुर्किरहेको समय थियो
जहाँ मेरो युवावस्था भट्किरहेको समय थियो
म भर्खर भर्खर आएँ
त्यहाँ….. त्यहाँ……. त्यहाँबाट

म त त्यहाँ पनि पुगेको थिएँ
जहाँ मदनहरु परदेश गइरहेका थिए
र देवकोटाले ‘मुना–मदन’ लेखिरहेका थिए

म त त्यहाँ पनि पुगेर आएँ
जहाँ दलहरु असफल भइरहेका थिए
र, महेन्द्रले पौष १ गते रचिरहेका थिए

म त त्यहाँ पनि पुगेर आएँ
जहाँ प्रजातन्त्र पुनःबहाली भएको थियो
र, सत्तामा पुगेकाहरु
आफ्नो गाथमा बोसो मात्र थपिरहेका थिएनन्
केवल स्रोतबिनाको कमाइ कमाइरहेका थिए

म त भन्नै बिर्सेछु
म त त्यहाँ पनि पुगेको थिएँ
जहाँ देवकोटाले आधा सल्केको बिडी तानिरहेका थिए
कसै–कसैले उनलाई पागल भनिरहेका थिए
र, उनले ‘पागल’ कविता लेखिरहेका थिए

म भर्खर भर्खर आएँ
त्यहाँ…. त्यहाँ…… र त्यहाँबाट
अहिले
राजनीतिको टेबुलमा
त्यहाँको हावाको गन्ध
र यहाँको हावाको गन्धलाई
परीक्षणको लागि सँगसँगै राखेको छु
धेरै मात्रामा समानता पाइन्छ भन्छन् साथीहरु
अहिले पनि ।
०००

By

Readers Comments (0)