Filed Under:  कथा

बिहे संविधान बनेपछि..

28th February 2015   ·   0 Comments

Dipak- दीपक घिमिरे

‘संविधान बनेसी गरम्ला नि हुँदैन !’

आजभोलि जे कुरालाई पनि यसै भन्दै टार्दै आइरहेको छु ।

‘पढाउन खोजेकै हुँ हेर ठूले, पढ्न सकिनस् ! अब लाउर जा, सक्दिनँ पाल्न मैले । यत्रो लाठे छोरो भएर पनि मै बूढोलाई काममा जानुपर्ने !’

बाले पहिलो चोटी दुखेसो पोख्नासाथ उत्तर दिए ।

‘पख्नु न बा, पैला देशमा संबिधान त बन्न दिनुस् । संबिधान बनेसी बल्ल पासपोर्ट बनान्छु अनि जान्छु ।’

बा ट्वाँ परेर मलाई हेरिरहनु भो, म चैं भान्सामा छिरें, आमाले पकाको रुखो सुखो हसुर्न ।

मलाई त संबिधान बनोस् कि नबनोस् केही मतलब छैन तर बालाई छिटो बने हुन्थ्यो भन्नेछ । कारण म बेरोजगार बन्या छु । त्यसैले त जतिबेला पनि रेडियोको कान बटारेर खबर सुन्नुहुन्छ अनि खबर सकिने बित्तिकै नेताहरुलाई सराप्दै भन्नुहुन्छ, ‘नालायकहरुले संबिधान बनाउने त परैको कुरा देश पो डुबाउने भए ।’

बास्तवमा बालाई पनि संबिधान चाहिएको त छैन होला, मात्र छोरो तह लागोस् भनेर छिटो संबिधान बने हुन्थ्यो भन्ने कामना गर्दै बस्नुहुन्छ ।

मलाई त संबिधान बन्नेभन्दा नबने हुन्थ्यो भन्ने लाग्छ । फेरि अर्को चुनाव हेर्न पाइन्थ्यो । कुनै दलको पछाडि लाग्यो कि बाइक मा तेल , गोजा मा दुइ चार रुप्पे अनि जता गयो त्यता दारु र मासु पार्टी ! जाबो संबिधान बनेर हाम्लाई के हुने हो र । उल्टो बालाई बचन दिएअनुसार लाउर पस्नुपर्छ अनि न त मोज न त मस्ती ।

‘ओए ठुले, अस्तिको बियर र सेकुवाको पैसा बाँकी छ भन्ने भुलिस् कि के हो हँ ?’

संबिधान नबनोस् भन्ने कामना गर्दै एकसुरे भएर हिडिरा’ बेला भट्टीवाले ठूल्बाले झस्किने गरी थर्काए । अस्ति शिवरात्रीमा साथीहरुसँग मोजमस्ती गर्ने भनेर टन्न उधारो खाइयो । अब काँ बाट ल्याएर तिर्नु । भट्टीवाले ठूल्बा पनि हिसाब किताबमा खत्रा छन् । बाटोघाटो जहाँ भेटायो त्यही रुप्पे माग्न छाड्दैनन् । मान्छेका सामु बिल्ला गर्दिन्छन् यार ।

‘लौ के कुरा गर्नुन्च गाँठे ठुल्बा ! संविधान बनेसी दिम्ला भनेर उधारो खाको हम । यति चाँडै भुल्नु त भएन नि ठूल्बा ।’

ठूल्बा ट्वाँ परेर मलाई हेर्दै सरापे ‘थुइय किटारी ! किट्टा खाने बेला मोजमस्ती भन्दै खाने अहिले आएर रुप्पे तिर्ने बेला संबिधान बनेसी तिरम्ला भन्ने । थुक्क पाजी !’

भट्टीवाले ठूल्बाले गर्नुसम्म बिल्ला गर्दे तर पनि संबिधान बनेसी उधारो रकम उठ्ला भन्ने आशा गर्दै संबिधान बनोस् भन्ने कामना गर्न लागें ।

तर मैले चैं संबिधान नबनोस् भन्ने कामना गर्दै दिनहरु धकेल्दैछु । संबिधानले जागिर दिने हो र ? संविधानले बेरोजगारहरुलाई बेरोजगार भत्ता दिने हो र ? कि संविधान बन्नासाथ फ्रीमा दुबै जान पाइने हो र गाठे ! यो संविधान बनोस् नबनोस् मलाई बाल भएन तर मोजमस्ती गर्न पुगोस् बास ! यति भए काफी ।

‘अब तिम्रा बाउछोरालाई पकाएर खान दिन सक्दैन हेर ठुले, खुरुक्क यही आउँदो महिनाको लगनमा ब्या गरेर मलाई सुख दे ।’

बेलुकीको भात खुवाउने तयारी गर्दै गर्दा आमाले बुढेसकालमा रीसका पोका ओकल्न थाल्नु भो ।

एक्कासी बिहेका कुरा निस्किदा बा पनि आगोमा घ्यू थप्नतिर लाग्नु भो । ‘तैंले घरको काममा आमालाई सहयोग नगरे पनि तेरी स्वास्नीले त गर्ली नि । अनि तँलाई पनि हल्लेर खान अलिकति त लाज लाग्ला त्यसैले यही फागुनकै लगनमा ब्या गर्नुपर्छ तैंले ।’

बाआमा गनगन गर्न थालेसी मलाई पनि रीस उठ्न लाग्यो अनि फ्याट्ट भन्दिए, ‘संविधान बनेसी व्या गर्छु ।’

हरेक कुरामा संविधान बनेसी भनेर टार्ने मेरो बानीले यतिबेला फेल खाला जस्तो भो । आमाले झन्डै पन्युले टाउको फुटाल्दिनु भएन । बाले पनि सम्झाउनुको सट्टा आमालाई साथ दिएर मलाई गाली गर्न लाग्नु भो । तर म गल्नेवाला थिइनँ । गमागम एक थाल भात घिचेर गएँ टिभी हेर्न । मलाई बाआमाको रीससँग बाल मतलब ।

हुँदा–हुँदा बिहेसम्म संविधान बनेसी गर्ने भनेर सारियो । सारियोभन्दा पनि टारियो भनम् । बाआमा तल भान्छामा खाना खाँदै पिर ब्यथा पोख्दै हुनुहुन्थ्यो । म टिभी कोठामा बसेर टिभी हेर्दै थिएँ । आठ बजेको खबर सुरु भो ! खबर शुरु हुनासाथ के हेर्नु छ र खबर ! अघिल्लो रात को हानाहान अनि कुटाकुट आज बल्ल टिभीको खबरमा हेर्दै छु ।

जनताको पसिनाको कमाइबाट तिरिएको राजश्वलाई तलब भत्ताको नाममा गोजा भरेर घर व्यवहार चलाउने सभासदहरु को कुटाकुट देखेसी संविधान नबन्ने पक्कापक्की कल्पना गर्दै खुशी भएँ ।

घरमा आमालाई धेरै दुःख थियो । हुन त बालाई पनि दुःख त थियो तर बेलुकीपख हल्का सोमरस तान्देसी बा फिलिलि ! अनि सब दुःखहरु सुखमा परिणत भैहाल्थे । बा सोमरसको नसामा किच्च हाँस्दै मेरो प्रगतिको लागि कामना गर्नुहुन्थ्यो तर बिचरी आमा चैं बिहान उठेदेखि काम मात्र । त्यो दुःख देख्दा त अहिले नै गएर मनरुपालाई मन्दिरमा लिई सिन्दूर हाल्दिमझैं हुन्थ्यो तर दुःखको कुरो संविधान नबनी पनि के बिहे गर्नु र यार !

मनरुपा पनि मलाई भस्मे माया गर्छे । घर पनि एकै गाउँमा पर्छ । मैले पनि उसलाई भस्मे मन पराउँछु नि पराउन त तर के गर्नु पाल्न पो सक्दिनँ त्यसैले त संविधान बनेसी ब्या गर्छु भनेर आलटाल गरेको छु । यो संविधान बनेसी भन्ने शब्दले मनरुपा पनि चिन्तित छे ।

संविधान बन्ने छाँटकाट छैन । संविधानसभा भवनभित्रै कुटाकुट भएसी कसरी बन्छ संविधान । संविधान बन्नलाई त पैला सबै दलको सुमधुर सम्बन्ध चाहिन्छ । यस्तो कुकुर र बिरालोको जस्तो सम्बन्धले पनि कतै संबिधान बनाउन सकिन्छ र ? तर मेरा लागि खुशीकै कुरा हो, जताततै बोलिएको छ– संविधान बनेसी ।

यो संविधान बनेसी गरीब दुःखी जनताले पाउने त केही पनि होइन् तर जसले पनि संविधानकै कुरा गरेका छन् । संविधान बनेसी दुइ चार जनालाई भने फाइदा पुग्ने छ ।

भट्टीवाले ठूलबाले दारुको पैसा पाउनेछन् । बाले मलाई लाउर पठाउने छन् अनि मनरुपाले म जस्तो सोझो अनि हेन्सम पोइ पाउने छे र मेरी आमैले गतिली बुहारी । त्यो बाहेक केही फेरबदल भएछ भने कान काटेर फाल्दिन्छु ।

फेरबदल पनि के कुरामा हुने के ? संविधान बन्नासाथ अहिलेका नेतालाई जेल हाल्ने नियम कानुन बन्ने कुरो भएन । अब उनै नेता उनै मन्त्री भएसी उनका आसेपासेले बाहेक हाम्ले जागिर पाम्ला भन्ने कुरा भएन । बा नेता भैदिएको भए मेरो जागिरको लागि संविधान कुर्नु पर्थेन । लाउर जानु नै पर्थेन ।

नेताकै छोरा भैदेको भा मनरुपा जस्ती तीनवटी बुहारी घरमा राख्दिन्थे, आमा कति खुशी हुदि हुन् । भनेकै दिन मनरुपालाई घर लग्दिन्थें, मनरुपा खुशीले गदगद हुन्थी होला । तर क्यार्नु, परियो सर्वसाधारण !

त्यसैले त अहिलेसम्म सबैलाई संबिधान बनेसी भन्दै ठग्दैछु ।

By

Readers Comments (0)