Filed Under:  विचार | टिप्पणी

कविताको भाषा | घनश्याम अस्तित्व

28th February 2015   ·   0 Comments

Ghanshyam Astitoकविताका प्रायःजसो कार्यक्रमहरुमा बोल्दा अग्रज कवि यज्ञबहादुर डाँगी कविहरुका लागि अथवा कविता लेख्न चाहनेहरुका लागि एउटा सुझाव बोल्नुहुन्छ । र, निश्चय नै कविहरुले सुन्छन् यसलाई । तर कुन हदसम्म बुझ्छन् त्यो फरक कुरा हो । उहाँ भन्नुहुन्छ–

– अंग्रेजी बोल्नका लागि अंग्रेजी भाषा सिक्नैपर्दछ ।

– हिन्दी बोल्नका लागि हिन्दी भाषा सिक्नैपर्दछ ।

– र कविता लेख्नका लागि कविताको भाषा सिक्नैपर्दछ ।’

साँच्चै बुझ्ने कविहरुका लागि ठूलो खुराक हो यो । र हो ठूलो व्यंग्य पनि बुझ्न सक्ने तर अकविता लेख्नेहरुका लागि । कविता भट्याउँदै हिड्ने तर कविता लेखनका लागि कुनै मेहनत तथा साधना नगर्ने प्रवृत्ति छ हामीमाझ । यो प्रवृत्तिमाथिको ठूलो प्रहार हो यो । कविता लेखें भनेर पाठक र स्रोताहरुलाई भ्रमको सागरमा डुबाउनेहरुलाई चुनौति पनि हो यो ।

सिंगो देशको साहित्य विकासका लागि राप्ती, अझ भनौं मध्यपश्चिम, सुदूरपश्चिमको निकै महत्वपूर्ण भूमिका छ । र हामीलाई यो पनि थाहा छ कि कविता लेखनमा यी क्षेत्रहरुको स्थान कहाँ छ भन्ने कुरा । हामी लेखिरहेका छौं, निश्चय नै हामी लेखिरहेकै छौं । हामीलाई थाहा छ– लेखिरहनुपर्छ । तर कहिल्यै थाहा भएन हामीहरुले कस्तो लेख्नुपर्छ ? कस्तो लेखनको आवश्यकता पर्छ ?

कविता यदि अरु विधाभन्दा फरक छ भने त्यो कविताको भाषाको कारणले छ । कविता कस्तो हुनुपर्छ भन्नु नै कविताको भाषा कस्तो छ भन्नु हो । अरु सबै विधाको साहित्य लेख्दा अनुच्छेदमा लेखिन्छ र कविता लेख्दा पङ्तिमा लेखिन्छ । पङ्तिमै लेख्ने भएको कारणले मात्रै कविता फरक भएको होइन । कविता पङ्तिमा हुनुपर्छ र पङ्तिमा केही हुनुपर्ने भएकाले फरक भएको हो कविता ।

कविता जुन कुरा लेखिएको हुन्छ त्यति मात्रै होइन । लेखिएको कुराले त केही संकेत मात्रै गरेको हुन्छ कवितामा । प्रसिद्घ अमेरिकन कथाकार भ्चलभकत ःष्ििभच ज्झष्लनधबथ ले विकास गरेको क्ष्अभदभचन त्जभयचथ लागू हुन्छ कवितामा । जहाँ लेखिने कुरा भन्न खोजिएको कुराको केही प्रतिशत मात्रै हुन्छ । यसको अर्थ कविता जटिल हुन्छ भन्नु होइन । कविता अरुभन्दा अलि फरक भाषा शैलीमा लेखिने कुरा हो मात्रै भन्न खोजिएको हो ।

कविताको समालोचना गर्दा परम्परागत सिमाहरुको कैदी बनाएर कवितालाई समालोचना गरिन्छ । यो नितान्त गलत प्रवृत्ति छ । कविता भनेको सिर्जना हो । सिर्जना भन्ने कुरा नयाँ हुन्छ । सिर्जनाले आफ्ना सिमाहरु आफै बनाइरहेको हुन्छ । कुनै निश्चित आधारहरुमा रहेर कविताको समालोचना गर्न सकिदैन । प्रत्येक कविताको लागि कविताअनुसार सिमाहरुको निर्धारण हुनुपर्छ । कविताका सिद्घान्तहरु पढेर यदि कसैले कविता लेख्न सिक्न खोज्यो भने त्यो जस्तो बेवकूफ कोही पनि होइन । कविको दायित्व कविता लेख्नु हो । लेखिरहनु हो । लेख्नुभन्दा पनि आविष्कार गर्नु हो । आविष्कार भन्ने कुरा पूर्वनिर्धारित सिद्घान्तअनुसार गरिदैन । यसको अर्थ जे लेखे पनि र जसरी लेखे पनि कविता बन्दोरहेछ भन्नु होइन । मैले यहाँनेर आलोचना शब्दको प्रयोग गर्नु उपयुक्त ठानिनँ किनकि नेपाली साहित्य लेखनमा आलोचना हुँदै हुँदैन । आलोचना भएकै छैन । आलोचनाका लागि तर्कहरुले भरिएको मस्तिष्क हुनुपर्छ । त्यस्तो मस्तिष्क भएकाहरु छैनन् यहाँ । त्यस्तो भए पनि देखाउन चाहँदैनन् । देखाउनु पनि गाह्रो छ, भत्किन सक्छ सम्बन्धको महल ।

कवि हुनु र कविता लेख्नु फरक कुराहरु हुन् । कवि भनिनेहरु सबैले कविता लेख्दैनन् । कविता लेख्नेहरु सबै कवि पनि हुन सक्दैनन् । यसको अर्थ कवि फरक जन्तु हो भन्न खोजिएको होइन । कविमन मानवीय संवेदनाले भरिएको हुनुपर्दछ । र, हुनुपर्दछ जीवनप्रति हार्दिकभाव पनि कविमा । कविता अलि फरक कुरा हो । फरक शैलीमा लेखिने चिज हो कविता भन्ने बुझ्न जरुरी छ ।

सुन्दरताको विषयमा बोल्दा मान्छेहरु भन्छन्, मान्छेको बाहिरी रुप होइन भित्री मन राम्रो हुनुपर्छ । भित्री मन राम्रो छ भन्ने कुरा प्रस्तुत हुन्छ भाषा र व्यवहारबाट । सबै कुरा राम्रो हुने भाषाले हो । भाषा मिठो भएन भने केही कुरा राम्रो लाग्दैन । भाषा नै हो हृदय छुने माध्यम । अब आफै सोंचौ– कविताको भाषा कस्तो हुनुपर्ला ? के आजसम्म हामीहरु कविता लेखिरहेर कविताप्रति अन्याय त गरिरहेका छैनौं ? पाठक तथा स्रोताहरुलाई कविता हो भन्ने भ्रमको सागरमा त डुबाइरहेका छैनौं ? कविहरुले एउटा कुरा सोच्न जरुरी छ । सर्वप्रथम कविताको आविष्कार किन भएको थियो ?

निश्चय नै कविता भाषा हो । भाषा नै हो कविता । भाषाकै माध्यमले लेखिन्छ कविता भनेर जस्तोसुकै भाषाको संरचनालाई कविता मान्न सकिएला ? अर्थ र शब्दहरुको संगीतसँग खेल खेलेर कविबाट उपज हुने कुरा हो कविता ।

‘……Poetry provides the one permissible way of saying one thing and meaning another.’ यो भनाइ हो प्रसिद्घ कवि Robert Frost को । यसको अर्थ हो कविताले भन्ने कुरा एउटा र अर्थ फरक हुने छुट दिन्छ । हामीहरुले के बुझ्न जरुरी छ भने कविता गहिरो भाव अथवा अर्थ प्रदान गर्नका लागि लेखिन्छ । कवितामा खर्चिएका शब्दहरुले ओगटेको आयतन भन्दा बढी हुनुपर्छ अर्थको आयतन । भावको आयतन फराकिलो हुनुपर्दछ । निबन्ध विधाका कृतिहरु चर्चामा छन् । उपन्यासहरु चर्चामा छन् वर्तमान साहित्य बजारमा । ती किताबभित्र काव्य भाषाको केही छिटा परेका छन्, त्यसैले पनि रुचाइएका छन् । अब कविता लेख्नेहरुले सोचौं, कवितामा नै काव्य भाषाको छिटा पनि परेन भने के त्यो कविता हुन सक्ला ?

Edwin Arlington Robinson ले कविताको सन्दर्भमा भनेका छन्, ‘…Poetry…that is figurative language.’ अर्थात् कविता भनेको आलङ्कारिक भाषा हो ।

कविता आलङ्कारिक बन्नका लागि बिम्ब, प्रतिक, अलङ्कार, रुपक, शब्द संयोजन शैलीजस्ता कुराहरुको महत्वपूर्ण भूमिका हुन्छ । भनौं न कविता तथा कविताको भाषा आलङ्कारिक बनाउने ‘building blocks’ हरु हुन् यी । र हुन् कविताका लागि नभइ नहुने तत्वहरु पनि । तर कविले यी तत्वहरुको प्रयोगको सिमा भने बुझ्न आवश्यक हुन्छ । गुलियो धेरै खाएपछि तीतो हुने भए झैं यी तत्वहरुको अत्याधिक र अभद्र प्रयोगले कविता दुर्बोध्य बन्न सक्ने सम्भावना पनि रहन्छ । कवि यो कुरामा निकै सचेत हुन जरुरी हुन्छ । दुर्बोध्य कविता लेख्नुको पनि त केही अर्थ हुँदैन ।

कविता भन्ने कुरा भाषाको अत्याधिक बिचलनबाट निर्माण भएको एउटा अर्थपूर्ण नयाँ संरचना हो । जुन संरचनामा अर्थको अत्याधिक गहिराइ भेटिनुपर्छ । शास्त्रीय छन्दमै हुनुपर्दछ कविता भन्ने मान्यता किन भत्कियो ? जरुर सोचनीय विषय छ यो । अभद्र र अबौद्घिक व्यक्तित्वहरुबाट भत्किएको होइन यो मान्यताको पर्खाल । यो पर्खाल थियो र भत्किएको हो । भत्किने कुरा नै नभएपछि के भत्किन्छ ? भत्किनुपर्ने कुरा भत्किसक्यो ।

साहित्य पढाउने मेरा सम्माननिय गुरु टंक शर्माले एक दिन  Free Verse शीर्षकको विषयवस्तु पढाउने क्रममा भन्नुभयो, ‘गद्य कविता लेखन ठूलै नदी बनेर बगिरहेछ ऐले, छन्द कविता लेखन त सानो सोतो मात्रै हो । जुन नदीमा मिसिन आउँछ ।’ यो कुराले पनि के देखाउँछ भने कवि मन पिंजडाभित्रको सुगा बन्न चाहन्न । कवि मन त उड्न चाहन्छ, सिमानाहरुको सिमाभन्दा पर अर्थात् पंक्षीजस्तै आकाशमा । यही भएर नै बगेको गद्य कविता लेखनको ठूलो नदी ।

कविता स्वतन्त्र रुपमा लेखिनुपर्छ । यसको अर्थ स्वतन्त्र रुपमा लेखे कविता बनिहाल्छ भन्नु होइन । कविताले आफ्ना सिमानाहरु र सिमाहरु आफै निर्माण गरेर आएको हुनुपर्दछ । कविता जीवन र जगतको वकालत गर्ने हुनुपर्दछ । कविता मन छुने हुनुपर्दछ । मनका तार हल्लाउने हुनुपर्दछ । त्यो निर्माणमा कवि स्वयं सक्रिय हुनुपर्दछ । चनाखो बन्नुपर्दछ । चिन्तनको गहिराइमा डुब्नुपर्दछ । बैज्ञानिकले जस्तै आविष्कारमा मस्तिष्क खियाउनुपर्दछ ।

कविता लेखनमा एउटा विवाद देख्छु म सधैं । ‘कवितामा कला या विचार’ । यो वास्तवमा कविता लेख्नेहरुले गर्ने विवाद नै होइन । कुनै पनि अभिव्यक्ति विचारहीन हुन सक्छ ? मान्छेमा हुने हरेक संचारले उद्देश्य बोकेका हुन्छन् । ती उद्देश्यहरु नै विचार हुन् । र, अर्को विचार भन्नेहरुले ‘विचार’ शब्दको व्यापकतालाई बुझेको देखिदैन् । नबुझेकै कारण विवाद हो यो । मान्छेले बोल्ने हरेक वाक्यले एउटा विचार बोकेको हुन्छ भने कविता कहीं विचारहीन हुन सक्छ ?

गिलो माटोबाट बनाइएको सानो मट्याङ्ग्रो हातले समाएर रुखमा बसिरहेको चरालाई हान्ने हो भने नलाग्न सक्छ, लागे पनि नखस्न सक्छ । उस्तै परे थोरैबेर चोट सुम्सुमाएर भुर्रर उडेर जान सक्छ । तर त्यही मट्याङग्रोलाई गुलेलीको सहायतामा रुखमा बसेको चरालाई हान्ने हो भने लाग्ने सम्भावना बढी हुन्छ र खस्ने सम्भावना पनि उत्तिकै ।

कविता र कविताको भाषा हातले समाएर फ्याँकिने मट्याङ्ग्रोको जस्तो होइन गुलेलीबाट छुटेको मट्याङ्ग्रो जस्तो हुनुपर्दछ । जुन कारणले कविता अरु विधाभन्दा पृथक रहँदै आएको छ र रहन दिनुपर्छ पनि । हो, कला र विचारको सम्बन्ध पनि मट्याङ्ग्रो र गुलेलीको जस्तै हो । विचारविना कलाको निर्माण हुन सक्दैन । कलाविनाको विचार पनि हातले फ्याँकेको मट्याङ्ग्रो जस्तै बतासिन्छ ।

By

Readers Comments (0)