Filed Under:  समीक्षा

खेमराजको ‘बूढाको अर्ति’

28th February 2015   ·   0 Comments

PadmaPrasad sharma- पद्मप्रसाद शर्मा

रोल्पा घोडागाउँ निबासी तिलकराम शर्मा र रिमाल्नी शर्माका जेठा छोरा हुन् खेमराज शर्मा । खेमराज शर्मा थरका हिसाबले पोख्रेल हुन् । उनी वि.सं. २०१३ बैशाख ३० गतेका दिन रोल्पाको घोडागाउँमा जन्मेका हुन् ।

एक्काइस वर्षको उमेरदेखि खेमराज शर्मा शिक्षण पेशामा संलग्न भएका हुन् र हालसम्म पनि उनी शिक्षण पेशामै रमाइरहेका छन् । कतिलाई आफ्नो पेशा काँचो भ्यागुतो जस्तो लाग्छ र घिन मानेर खाने गर्छन् तर खेमराजलाई सधैं आफ्नो पेशाप्रति गर्व लाग्छ र त शिक्षक भएकोमा गौरव गर्छन् अनि त उनले आफ्ना हरेक काव्यकृतिमा पेशा लेख्न भुलेका हुँदैनन् ।

गहुँगोरो वर्ण, पातलो र गठिलो शरीर भएका खेमराज शर्मा प्रायः शान्त मुद्रामा देखिन्छन् । ठट्टा रमाइलोमा आफै कम उत्रने तर अरुको रमाइलोमा निकै रमाउने स्वभाव भएका खेमराज शर्माले भारत, हङकङ, अष्टे«लियाजस्ता विदेशी मुलुक र स्वदेशका विभिन्न भागको समेत भ्रमण गरेका छन् । खेमराज शर्मा एक कुशल शिल्पिकार हुन्, उनले शब्दको माला राम्ररी जोड्न जानेका छन् । उनले जोडेका शब्दको माला उनलाई होइन हाम्रो देश र समाजलाई कामलाग्दो र सुहाउने गर्दछ ।

खेमराज शर्मा विभिन्न साहित्यिक संघसंस्थामा आवद्ध छन् भने विभिन्न साहित्यिक संघ संस्थाबाट सम्मानित तथा पुरस्कृतसमेत भएका छन् । प्रगतिशील लेखक संघ रोल्पाका संस्थापक अध्यक्षसमेत रहेका खेमराज शर्मा कुराकानीका अवसरमा उनले कसैलाई पनि झट्ट बिझाउने कुरा गर्दैनन् तर उनको कलमले भने अलिक प्रखर भाषा बोल्छ । विकृतिमाथि च्वास्स पार्छ ।

उनले निकै वर्ष अघिदेखि साहित्यमा कलम चलाउन लागेका हुन् । उनले दोमाइ र छोरी नामक दुई उपन्यास प्रकाशित गरेका छन् भने भोको पेट र वीरे खण्डकाव्य प्रकाशित गरेका छन् । उनले उपन्यास र खण्डकाव्यमा मात्र नभएर नाटकमा समेत कलम चलाएका छन् । “गाउँको मुक्ति” गीति नाटक उनको प्रकाशित नाटक हो । यसका साथमा उनले पोख्रेल वंशावली आफै तयार गरेर प्रकाशनसमेत गरिसकेका छन् । जो इतिहासका रुपमा रहेको छ ।

खेमराज शर्माले विभिन्न विधामा कलम चलाए पनि उनको मुख्य विधा कविता हो । उनले गद्य, पद्य दुबै शैलीमा कविता रचना गर्न सक्छन् । यसपटक मेरो हातमा उनको बालहितोपदेश खण्डकाव्य ‘बूढाको अर्ति’ कृति रहेको छ ।

खेमराज शर्माले आफ्नो काव्य कृतिमा यस सुन्दर धर्ती देखाइदिने र जीवन टेकाइदिने बा–जेईमा समर्पण गरेका छन् । उनले पिताजीलाई बा र मातालाई जेई भनेका छन् । ठेट नेपाली भाषामा पितालाई बा र मातालाई स्थान अनुसार आमालाई आमै, आम्मै र जेई शब्दबाट सम्बोधन गरिन्छ । उनले पनि आमालाई जेई भनेर सम्बोधन गरेका छन् ।

यसअघि उनले प्रकाशन गरेको पोख्रेल वंशावली बाहेक अन्य कृति अध्ययन गर्ने मौका मिलेको हो भने यसपटक यसै वर्ष प्रकाशित कृति बूढाको अर्ति नामक कृति अध्ययन गर्ने अवसर मिल्यो । खेमराज शर्माले आफ्नै गन्थनमा “निकै जान्ने भएर अर्ति दिएको होइन । मैले सकेसम्म सन्तानहरुलाई असल बाटोमा हिडाउनु पर्छ भन्ने उद्देश्यले लेखेको हुँ’ भनेका छन् । हो यस खण्डकाव्यको केन्द्रीय कथ्य भनेको सन्तानलाई हौसला, जिम्मेवारी सुम्पने र कर्तव्यमा हिड्न सिकाउने नै रहेको छ ।

खेमराज शर्माको यस कृतिमा दर्शनशास्त्र–माक्र्सवादी दर्शनदेखि सम्पूर्ण महाभारत, त्यसभित्रको गीता सार अनि रामायण खप्तड स्वामीको आचार विचारको स्वाद खुब चाख्न पाइन्छ । यो खण्डकाव्यभित्र गान्धी, नेहरु, लेनिन र माओलाई पनि पढ्न सकिन्छ, पढ्न सक्नुपर्छ । खेमराज शर्माको यो खण्डकाव्य आफ्ना सन्तानलाई पढ्न लगाउने र पूर्ण आचरणमा राख्न सक्ने हो भने जीवनमा राम्रो प्रगति गर्नेछन् ।

पुस्तक हेर्दा सानो छ । जम्मा ४७ं१२ पेजको छ भने जम्मा २७ शीर्षक रहेका छन् । सबै शीर्षक उत्तिकै महत्वका छन् । यो शीर्षक आवश्यक छैन भन्ने कुनै छैन । प्रत्येक शीर्षकको मुन्तिर रसिला र कामलाग्दा कोटेशन (भनाई) हरु रहेका छन् ।

खेमराज शर्माले बूढाको अर्ति भनेर बालबालिकालाई राम्रो उपदेश दिन चाहेका छन् उनले “श्रम गर्न सिक, साँचो बोल, सहयोगी बन, सधैं पढ्न जाउ, पढाइमा ध्यान देउ, नयाँ कुरा सिक, आदर र माया गर, सफा हुने गर, हाल खबर बुझ, राम्रा कुरा पढ, झगडालु बानी त्याग, असल मित्र रोज, चिन्ता नगर, समयको ख्याल गर, शिष्टाचार गर, माटोको माया गर, जिम्मेवार बन, दया गर्न सिक, स्वास्थ्यको ख्याल गर, मिठो बोली बोल, कर्तव्यको ख्याल गर, अनुशासित बन, यस्तै–यस्तै अर्ति दिदै गएर उनी अन्त्यमा जीवनको अर्थ बुझ” भनेका छन् । मान्छेले जीवनको अर्थ नबुझेर भौतारिएको छ । खाने खाएको छ, नखाने पनि खाएको छ । बेसमयमा आफूलाई मिल्काएको छ । बेकाममा कसैको अन्धभक्त भएको छ । यसबाट बच्नका लागि मानिसले जीवनको अर्थ जान्न आवश्यक छ ।

खेमराज शर्माले यो कसरी लेख्न सकेभन्दा उनी आफू आचरणमा रहेका व्यक्ति हुन् त्यसैले पनि यो अर्ति लेख्न सकेका हुन् । व्यवहारमा परिणत हुन नसक्नेहरुले यस्ता खालका अर्ति लेख्न सक्दैनन् ।

खेमराज शर्माको यस काव्य कृतिमा चर्चित साहित्यकार देवी नेपाल र राप्ती साहित्य परिषद दाङ शाखाका अध्यक्ष कमलमणि देवकोटाले आफ्नो सम्मति प्रदान गरेका छन् । दुबैको सम्मतिबाट यस काव्यको रस लिन सकिन्छ ।

देवी नेपालले खेमराज शर्मालाई “प्राकृतिक कवि हुन्, उनी पहरामा फुलेका गुलाब हुन् उनलाई कसैले मलजल र स्याहार सुसार गर्नु पर्दैन फुलिरहन्छन्, फक्रिरहन्छन्, पहरामा फक्रिएको गुलाबको महत्व बुझ्नेलाई मात्र थाहा हुन्छ” भनेका छन् ।

त्यस्तै कमलमणि देवकोटाले खेमराज शर्मालाई “जाँगरिलो र आँटिलो मनका व्यक्तित्व” भनेका छन् । उनले यस कृतिलाई धेरै विषयवस्तुलाई समेटिएको जसमा नीति र अनुशासनका कुराहरु छन् पनि भनेका छन् ।

समग्रमा खेमराज शर्माको बूढाको अर्ति बालकलाई मात्र होइन युवायुवती र वृद्धवृद्धालाई पनि अत्यन्त कामलाग्दो छ । पुस्तकको आवरण कला अनिल पोख्रेलले तयार गरेका छन्, जो निकै सान्दर्भिक छ । पुस्तकको छपाइ पनि राम्रो छ खण्डकाव्य पढ्दै जाँदा शीर्षक अनुसारका चित्रहरु भै दिएको भए बालबालिकाका लागि अझ आकर्षक हुने थियो जस्तो लाग्दछ । अन्य खोट लगाउने ठाउँ छैन । थोरै चाखी हेरौं :

नयाँ कुरा सिक :

ज्ञान अन्त खोज्नुभन्दा धर्तीभित्र खोज
जति पढ्ने विचार छ मन लागेको रोज
नढलेर पुरानो त उम्रिदैन नयाँ
युग सदा माग गर्छ चीज नयाँ–नयाँ ।

सधैं पढ्न जाऊ :

यो संसार बुझ्नलाई पढ्नु पर्दो रै’छ
जिन्दगानी बुझ्नलाई पर्नु पर्दो रै’छ
देश अनि समाज पनि पढ्न छाड्नु हुन्न
अचाक्लीको विरुद्धमा लड्न छाड्नु हुन्न ।

स्वास्थ्यको ख्याल गर :

आहार र विहारमा खुबै गर्नु ख्याल
अहितकारी वस्तुदेखि नचुहाउनु ¥याल
समयमै खाना खानु रुखै भए पनि
समयमै सुत्नु उठ्नु दुःखै भए पनि ।

खेमराज शर्माले यस्तै अर्तिले खण्डकाव्य तयार गरेका छन् । जे होस्, उनको काव्य कृति पठनीय र संग्रहनीय छ । अझ बालबालिकाका लागि त हितकारी छ भन्न सकिन्छ । खेमराज शर्माको लेखनी नरुक्ने गतिमा यस्तै लय र छन्दमा अगाडि बढ्दै जाओस् शुभकामना ।

By

Readers Comments (0)