Filed Under:  विचार | टिप्पणी

राप्ती साहित्य परिषद् : संक्षिप्त शब्दचित्र

28th February 2015   ·   1 Comment

Kamalmani Devkota- कमलमणि देवकोटा

परिचय : राप्ती अञ्चलको दाङ जिल्लामा आजभन्दा ३७ वर्षअघि स्थापना भई हालसम्म निरन्तर रुपमा क्रियाशील रहिआएको साहित्यक संस्थाको नाम हो राप्ती साहित्य परिषद् । यो वि.सं. २०३४ साल बैशाखमा स्थापना भई २०४४ सालमा जिल्ला प्रशासन कार्यालय (तत्कालीन जिल्ला कार्यालय) दाङबाट नं.०९÷२०४४ ‘राप्ती साहित्य परिषद्, दाङ’ को नामबाट दर्ता भएको हो । पछि २०६४ सालदेखि दाङ जिल्लाको सीमित क्षेत्रबाट बिस्तार भएर राप्ती अञ्चलभरिकै एक मात्र आञ्चलिक संस्था ‘राप्ती साहित्य परिषद्’ बन्न गएको छ ।

यो कुनै सैद्घान्तिक आस्था वा विचारधारामा मात्र सीमित नरही सबै विचारका भावनाहरुरू अट्नसक्ने साहित्य, संगीत, कला र संस्कृतिको उत्थानका निम्ति क्रियाशील एक साझा चौतारीको रुपमा स्थापित हुन सफल भएको छ । हालसम्म यसमा आजीवन सदस्यहरुको संंख्या पौने ४ सय पुगिसकेको अवस्था छ भने यसप्रति सबै साहित्यानुरागीहरुको आस्था एवं विश्वास बढ्दै गएको कारण सदस्यहरूको संख्या पनि यसरी थपिदै गएको छ । विधानको मूल मर्म र उद्देश्य बमोजिम परिषद्ले आफ्नो स्थापनाकालदेखि नै निम्नानुसारका बिभिन्न रचनात्मक गतिविधिहरु संचालन गर्दै आएको छ ।

१) संस्थाको उद्देश्य :

– साहित्यको विकासका निम्ति विभिन्न गतिविधिहरू सञ्चालन गर्ने ।

– साहित्यिक प्रतिभाहरूको सिर्जनात्मक विकासका निम्ति सचेतन सामूहिक प्रयत्न गर्ने ।

– साहित्यका विभिन्न विधा तथा संस्कृतिका फाँटमा अध्ययन गर्ने गराउने तथा साहित्यिक पत्रिकाको प्रकाशन गर्ने ।

– गोष्ठी आदि अध्ययन अनुसन्धानका निष्कर्षहरूलाई प्रकाशित गरि प्रचार प्रसार गर्ने ।

– तोकेको क्षेत्रमा साहित्य, कला र संस्कृतिको उत्थानका निम्ति प्रयत्नशील रहने ।

– देशका विभिन्न साहित्यिक संघसंस्थाहरूसँग सम्बन्ध राख्दै साहित्यको विकासका निम्ति अनुभवको आदान–प्रदान तथा सामञ्जस्यता कायम गर्ने ।

– साहित्यकारहरूको स्वतन्त्रता र यसको संरक्षणका निम्ति निरन्तर प्रयत्नशील रहने ।

– स्वस्थ र सामाजिक चिन्तनयुक्त साहित्य, संस्कृतिको सिर्जना तथा निर्माणमा जोड दिने ।

– जातीय भेदभाव, छुवाछुत, लिङ्गभेद र धर्मको आधारमा भेदभाव नगर्ने ।

– सबै भाषा र संस्कृतिको समान र समुचित विकासमा जोड दिने ।

– निरन्तर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको पक्षमा रहदै देशको स्वाभिमान तथा आत्मसम्मानको रक्षाको निम्ति दृढतापूर्वक उभिने ।

२) क्षेत्र बिस्तार :

स्थापनाकालदेखि दाङ जिल्लामा मात्र सीमित रही आफ्ना गतिविधिहरू संचालन गर्दै आएकोमा विधानको मर्म एवं उद्देश्यबमोजिम २०६४ मा भएको यसको अधिवेशनबाट नै यसको क्षेत्रलाई विस्तार गरि राप्ती अञ्चलको पूरै क्षेत्रलाई समेटेर आञ्चलिक रुप धारण गरेको छ । तत्पश्चात् यसको केन्द्रीय कार्यालय दाङ जिल्लाको घोराहीमा रहेको र यस अञ्चलका ५ वटा जिल्लाहरुमा जिल्ला शाखाको नामबाट क्रियाशील रही विभिन्न साहित्यिक गतिविधिहरू निरन्तर रुपमा संचालन हुँदै आएका छन् ।

अतः हाल केन्द्रमा अञ्चलका सबै स्रष्टाहरूलाई समेटेर ३१ सदस्यीय एक केन्द्रीय कार्यसमिति र प्रत्येक जिल्लाहरूमा बिधानबमोजिमका सदस्य पदाधिकारीहरू रहेका जिल्ला कार्यसमितिहरू गठनसमेत भै क्रियाशील रहेका छन् भने केन्द्रीय कार्यालयलाई निरन्तररुपमा सञ्चालित बनाइराख्न, विधानबमोजिम विभिन्न रचनात्मक गतिविधिहरू संचालन गरिराख्न र जिल्ला शाखाहरूमा नीति निर्देशन दिई कार्यलाई सुचारु बनाई राख्नका लागि ९ सदस्यीय (केन्द्रीय पदाधिकारीहरू मध्यकै) एक केन्द्रीय सचिवालय संचालन समिति समेत केन्द्रीय कार्यालय घोराहीमा रहेको छ ।

३) संस्थापक तथा वर्तमान अध्यक्ष :

यसको स्थापनाकालका संस्थापक अध्यक्ष दाङ जिल्लानिबासी नारायणप्रसाद शर्मा (नारायण गुरु) हुनुहुन्छ, जो वर्तमानमा सल्लाहकारसमेत रहनुभएको छ । यसैगरि उहाँपछि दाङकै गिरिराज शर्मा, अमर गिरी हुँदै वर्तमान केन्द्रीय अध्यक्षमा दाङ घोराही निवासी पुरुषोत्तम खनाल विगत वर्षदेखि हुनुहुन्छ ।

४) संस्थाको भवन, अचल सम्पत्ति र आर्थिक अवस्था :

परिषद्को दाङ घोराही नगरपालिका वडा नं. ११ मा करिब ९ धुर दर्ता श्रेस्ता जग्गामा (जो ४ धुर नगरपालिकाबाट भोगाधिकार प्राप्त र ५ धुर पुरुषोत्तम खनालबाट निःशुल्क प्राप्त जग्गा) २ तले भवन निर्माण भएको र त्यसमा नै यसको केन्द्रीय कार्यालयसमेत रहेको छ । जुन भवनको निर्माण जि.वि.स., न.पा., सांसद विकास कोष, संस्कृति मन्त्रालय एवं अन्य विभिन्न संघ/संस्था, आजीवन सदस्यहरू र विभिन्न महानुभावहरुको सहयोगबाट हुँदै आएको छ । तथापि यसको पूर्ण रुपमा निर्माण एवं अन्य भौतिक संरचनाका लागि आर्थिक अवस्थालाई मजबुत बनाउन जरुरी देखिन्छ ।

५) मासिक कृति समीक्षा कार्यक्रम :

गत २०६२ साल जेष्ठ महिनादेखि नियमित मासिक रुपमा हरेक महिनाको अन्तिम शुक्रबार अपरान्ह ३ बजे परिषद्को सभाकक्ष घोराहीमा सञ्चालन गरिदै आएको यो कार्यक्रम हाल २०७१ माघ महिनासम्म आइपुग्दा बिभिन्न स्रष्टाका जम्मा १ सय १४ औं श्रृङ्खलाहरु सम्पन्न भैसकेका छन् ।

(६) द्वैमासिक कार्यक्रमहरु

(क) एकल रचना वाचन कार्यक्रम : गत २०६६ साल भाद्र महिनादेखि नियमित द्वैमासिक रुपमा हरेक विजोडा महिनाको दोश्रो शुक्रबार अपरान्ह ३ बजे परिषद्को सभाकक्ष घोराहीमा सञ्चालन गरिदै आएको यो कार्यक्रम हाल २०७१ फाल्गुण महिनासम्म आइपुग्दा जम्मा ३४ जना स्रष्टाहरूका श्रृङ्खलाबद्घ एकल रचना वाचन भइसकेका छन् । जो निकै रोचक एवं प्रभावकारी बन्दै गएको पनि छ ।

(ख) छन्दसंगम कार्यक्रम : छन्द बचाउ अभियान अन्तर्गत गत २०६७ मंसिरदेखि नियमित द्वैमासिक रुपमा हरेक जोडा महिनाको दोश्रो शुक्रबार अपरान्ह ३ बजे परिषद्को सभाकक्ष घोराहीमा सञ्चालन गरिदै आएको यो कार्यक्रम हाल २०७१ माघ महिनासम्म आइपुग्दा जम्मा २६ वटा श्रृङ्खलाबद्घ छन्दवाचनहरू पुगिसकेका छन् । जो निकै रोचक एवं प्रभावकारी बन्दै गएको पनि छ ।

(७) वार्षिक साहित्यिक कार्यक्रम :

परिषद्ले आफ्नो स्थापनाकालदेखि नै हरेक वर्ष बृहत वार्षिक साहित्यिक कार्यक्रमहरू गर्दै आएको छ । यसबाट हालसम्म सयौं जना स्रष्टाहरू पुरस्कृत हुँदै आएका छन् भने बालबालिकाहरुका लागि छुट्टै स्थापित पुरस्कारबाट पनि ६ दर्जन जति बालबालिकाहरू समेत पुरस्कृत भैसकेका छन् । यसका साथै साहित्यिक एवं सामाजिक क्षेत्रमा क्रियाशील बिभिन्न महानुभावहरूलाई र अग्रज साहित्यकारहरूलाई समेत कदर–पत्रसहित सम्मान गरिदै आएको छ ।

(८) विभिन्न पुरस्कारका अक्षयकोषहरु :

परिषद्मा वि.सं.२०४५ सालदेखि हालसम्म विभिन्न महानुभावहरूले स्थापना गरेका करिब ७ लाख रुपिया बराबरका (रु. १ लाख ५० हजार राशीकादेखि रु. दश हजारसम्मका) डेढ दर्जन जति पुरस्कारका अक्षयकोषहरू रहेका छन् । ती पुरस्कारहरू बैंकमा अक्षयकोष खोलिएको र त्यसबाट आउने ब्याज कम्तीमा पनि दशप्रतिशतमा नघटाई हरेक वर्ष पुरस्कार प्रदान गरिदै आएको छ ।

(९) अन्य विभिन्न अक्षयकोषहरु :

– परिषद्का आजीवन सदस्यहरूबाट उठेको रु. १ लाखको रकम अक्षयकोषमा राखिएको र त्यसैको वार्षिक ब्याजबाट नै परिषद्को मुखपत्र राप्तीदूत प्रकाशित गरिदै आएको छ ।

– यसका साथै लेखकहरूका लागि प्रकाशन कोषको पनि थालनी गरिएको छ ।

(१०) बिभिन्न प्रकाशनहरू :

– परिषद्ले प्रत्यक वर्ष आफ्नोे वार्षिक मुखपत्र राप्तीदूतको प्रकाशन गर्दै आएको छ । हालसम्म १२ वटा मुखपत्रहरू प्रकाशनमा आइसकेका छन् ।

– परिषद्ले त्रैमासिकरुपमा साहित्यिक पत्रिका अन्तध्र्वनिको समेत प्रकाशन गर्दै आएको छ । हालसम्म ४४ पूर्णाङ्कसम्म प्रकाशन भइसकेको छ ।

– परिषद्ले बिभिन्न स्रष्टाका कृतिहरूमा प्रकाशकीय भूमिका निर्वाहसमेत गर्दै आएको छ । जसमा हालसम्म बिभिन्न स्रष्टाका बिभिन्न विधाका ४२ वटा साहित्यिक कृतिहरू यस परिषद्मार्फत प्रकाशित भइसकेका छन् ।

(११) राष्ट्रिय स्तरका बिशेष कार्यक्रमहरू :

परिषद्को आयोजनामा २०७० मा दाङमा राष्ट्रिय कविता महोत्सव भव्यताका साथ सु–सम्पन्न भएको थियो । यसैगरि २०७१ मा परिषद्को व्यवस्थापनमा राष्ट्रिय लोकवार्ता संगोष्ठी सम्पन्न भयो । यसैगरि विगतका वर्षमा नेपाल प्रज्ञा प्रतिष्ठान र यस परिषद्को संयुक्त आयोजनामा साहित्य संगोष्ठी सम्पन्न भयो । यसबाहेक दाङ जिल्लामा हुँदै आएका राष्ट्रिय स्तरका बिभिन्न साहित्यिक एवं सांगीतिक कार्यक्रमहरूमा परिषद्को उपस्थितिसहितको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

(१२) अन्य महत्वपूर्ण गतिविधिहरू :

– परिषद्को केन्द्रीय समितिको आयोजनामा विभिन्न समयमा अञ्चलका पाँचवटै जिल्लाहरूमा बिभिन्न प्रकारका साहित्यिक गतिविधिहरू संचालन गरिदै आएको ।

– परिषद्ले स्थानीय एफ.एम. रेडियोहरुबाट आञ्चलिक रुपमा (सबै जिल्लाहरुबाट सुन्न सकिने गरि) परिषद्को आफ्नै प्रस्तुतिमा साहित्यिक कार्यक्रमहरू सन्चालन गरिदै आएको ।

– यसका साथै परिषद्का विभिन्न जिल्ला शाखाहरूबाट पनि आ–आफ्नै किसिमका मासिक, द्वैमासिक, वार्षिक एवं अन्य समयमा विविध साहित्यिक गतिविधिहरू निरन्तररुपमा संचालन हुँदै आएका ।

– विभिन्न समयहरुमा स्रष्टाहरूको इच्छा एवं आग्रहबमोजिम बिशेष सांगीतिक, साहित्यिक एकल रचनावाचन कार्यक्रमहरू हुँदै आएको ।

– विभिन्न स्रष्टाहरूद्वारा रचिएका र प्रकाशन गरिएका पुस्तकाकार कृति एवं गीति एल्बमहरूको बिमोचन तथा समीक्षा ।

– राष्ट्रिय स्तरका बिभिन्न दिवंगत साहित्यकारहरूका स्मृति तथा जन्मजयन्तीका अवसरमा उहाँहरुको सम्झनामा साहित्यिक कार्यक्रमहरू संचालन ।

– यसै वर्ष २०७१ को शुरुवातदेखि नेपालमा दिगो शान्ति र संविधान प्राप्तिका लागि हरेक कार्यक्रमहरूमा ‘हाम्रो अभियान, शान्ति र संविधान’ भन्ने मूल नारालाई अगाडि सार्दै आएको ।

– विभिन्न अन्तरक्रिया, छलफल, विचार गोष्ठी, समीक्षा, बैठक आदि गतिविधिहरूको समेत बेला मौकामा आयोजना गरिदै आएको ।

– पुस्तकालय तथा साहित्यिक एवं सांस्कृतिक संग्रहालयको स्थापना गर्ने भावी सोच राखेको छ ।

– अन्य साहित्यिक एवं सांस्कृतिक संघसंस्थाहरूका विभिन्न गतिविधिहरूमा परिषद्को संलग्नता रहँदै आएको ।

यसरी राप्ती साहित्य परिषद्ले आफ्नो निजी भवन निर्माण, कार्यालयको भौतिक संरचनाहरूको व्यवस्थापन एवं साहित्य, संगीत, कला र संस्कृतिका क्षेत्रमा विविध गतिविधिहरू मासिक, द्वैमासिक, वार्षिक एवं बिशेष रुपमा कार्यक्रमहरू निरन्तर तवरले संचालन गरि यस अञ्चलको साहित्यिक उन्नयनमा जोड दिदै र यसलाई राष्ट्रिय रुपमा सर्वत्र चिनारी गराउँदै आएको छ र त आज यो सबै विचारका स्रष्टाहरू अट्न सक्ने एउटा साझा चौतारी बन्न पुगेको छ ।

अतः राप्ती अञ्चलकै जेठो एवं क्रियाशील साहित्यिक संस्था यस राप्ती साहित्य परिषद्ले उपयुक्त बमोजिमका गतिविधिहरू निरन्तर रुपमा गरिरहेको र यसरी साहित्यिक उन्नयनमा महत्वपूर्ण योगदान दिएकै कारण यसको उच्चमूल्याङ्कन गर्दै ‘हेमराज पहारी स्मृति प्रतिष्ठान’ कास्की पोखराले रु. १ लाख नगद पुरस्कारसहित यही फागुन १७ गते दाङ घोराहीमा एक समारोहका बीच परिषद्लाई सम्मान गर्न लागेको हो ।

जसबाट यस परिषद्लाई साहित्यिक उन्नयनको क्षेत्रमा अझ सशक्तरुपमा क्रियाशील बन्नेतर्फ उच्च हौसला एवं प्रेरणाका साथ जिम्मेवारी थपिन गएको छ भने परिषद्ले स–गौरव पुरस्कार स्वीकार गर्दै उक्त गरिमामय प्रतिष्ठानप्रति सधन्यवाद हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

By

Readers Comments (1)

  1. Dr.Bhim khatiwada, Dharan, Sunsaree says:

    RAPTI sAHITYA PARISHAD MADHYAPASHCIMLAI KENDRA BANAYERA KRIYASHEEL RAHE PANI YASKO BHUMIKALE SAMAGRA NEPALI WAGMAYAKO SHREEBRIDDHIMA MAHATWAPURNA YOGDAAN PURYAYEKO CHHA.
    SANSTHAPAK GURE NARAYAN SHARMA DEKHI PURUSHOTTAM KHANAL SAMMAKO TEAMLAI DHANYAWAD.

    YASKO KARYA PRAKASHAN AJHAI WISTRIT RUPLE HOS VANNE KAMANA SAMET, KULMANIJILAI DHANYAWAD.