Filed Under:  कथा, सौगात विशेष

गुगल सर्च गर्दै | नवीन विभास

28th February 2015   ·   0 Comments

Nabin_bibhasबारी पनि बाझा छन् । बाझा छन्, आलु लाउने खोर्रे पनि ।

मनबारीका के कुरा ।

गाउँमा अचेल यस्ता समाचारचाहिं सुनिन्छ:

फलानो हिजो मात्र अरबबाट आइपुगे गाउँमा वा आइपुगे बाकसमा । सुनिन्छ, फलानोको अरब उड्ने पखेटा पलाएछ । फलानो तीन बर्ष बढाएर नागरिकता बनाउन गए, अरब उड्नलाई । लडाइँमा मारिएका फलानोका पत्नी फलानीले आत्महत्या गरिन् । फलानो सहिदका बाआमाले माखा हाँक्छन् । यस्तो खासखुस पनि चल्छः फलानो अरबेको जोइको चक्कर फलानो ब्यारेक वा पुलिसचौकीको लाहुरे (सेना वा पुलिस) सित वा फलानो ठाउँको तोरी लाहुरेसित चल्दैछ ।

‘काँ जान लागिऊ ठूल्जी ? एक चिलम कक्कर खाइकन जाउला,’ बैशाखी छेउमा राखेर झिंगा धपाउँदै गरेका कमरेड बलब अर्थात् धनसिंहले मनकलालाई भने ।

बेनी आक्रमणमा बायाँ खुट्टा गुमाएपछि बैशाखीको भरमा तलमाथि गरिरहेका बलबलाई न उनको पार्टीले जिम्मेवारी दिएको छ न त घरले ।

‘अर्रे कि भनिस् कि हँ कमारा ? न कान सुन्ने न आँखा देख्ने । खजा भया ज्यान,’ बोलाएजस्तो लागेपछि मनकलाले कमरेड बलबलाई सोधिन् । अलि ठूलो आवाजमा अघि भनेकै कुरा बलबले फेरि दोहो¥याए ।

‘भर्कल्न खाया छु । …म ता ठूलपाखा बस्न जान ला’छु,’ मनकलाको मुखबाट यस्सै निस्कियो । आजभोलि दिसा गर्नलाई चर्पी छ ।

बाटो छेवैमा थियो बलबको घर । भत्कन लागेको । उनको घरसितै जोडिएको थियो, ईश्वरीप्रसाद उर्फ कमरेड चट्याङको घर । पार्टी इन्चार्ज भएपछि उनको घरले प्रधान दीर्घराज र जिल्ला सभापति सुरेन्द्रको घरलाई सिधै टक्कर दिएर उछिनेको थियो । ईश्वरी त प्रायः कि लिबाङमा भेटिन्छन् कि काठमाडौंमा ।

‘जुङ्रा मार्न लाग्या छौ, परेमकी जेई,’ एकोहोरिएर जुम्रा मारिरहेकी प्रेमकी आमा बिनसराले सुनिन् । मनकलाले पनि सुन्ने भए पो ।

दोस्रो पटकको खारा आक्रमणमा बलबीर मारिएपछि बिनसरा फुकीढल भएकी थिइन् । माओवादी नेतृत्वमा दुईपालि नै सरकार बनेपछि उनी बिसोर भइन् । उनलाई लागेको थियो कि सरकारमा गएपछि उनको घर र छोराछोरीलाई माओवादीले पक्कै सम्झनेछ । सम्झेन । बरु युद्धकालमा पार्टीका मान्छे आएर बाली लगाइदिए । घर छाइदिए ।

बिनसराले वास्ता नगरेपछि लौरो टेक्दै मनकला दिसा गर्ने ठाउँ चोयाबारीमा गइन् । मल नहाले पनि यसै हल्कने चोया गाउँमा चर्पी बनेपछि दुब्लाएछन् ।

ठाउँ–ठाउँमा ढुंगा थिए जसमा टुक्रुक्क बसेर दिसा गर्थे गाउँलेले । झारपात पनि उसैगरी मौलाएका थिए । उनै ढुंगामा टुक्रुक्क बसिन् । दिसा गर्ने बेलाजस्तो कोही आउला कि भन्ने जगजगी थिएन ।

त्यै ढुंगामा बसेर उनले लाखरखोले कक्कड सुल्पामा घान हालिन् । छड्केले चारे र झुलोमा हिर्काएर आगो सल्काइन् अनि आगो सल्केको झुलो सुल्पामा भरेको कक्कडमाथि बसालिन् । त्यसपछि लामो सर्को तानिन् । कक्कडको धुँवा निस्क्यो ।

के सम्झेर कुन्नि ? नजर यसो घुमाइन् । उनका आँखा चुनबाङखोलामा पुगे । कुनै बेला बेतालले हिड्ने चुनबाङखोला पनि दुब्लाएछ उनीजस्तै । अहिले त बर्खामा पनि खोला मोटाउन छाड्यो भन्छन् । तर सुसाइरहेको थियो आफ्नै तालमा । दुब्लाए नि खोलाले आफ्नो धर्म छाडेको रहेनछ ।

उनको आँखाले खोला धमिलो देख्यो । खासमा खोलाको पानी धमिलो थिएन । उनको आँखा धमिलिएको थियो । खोलामा पनि रगत बग्न छाडे पनि रगतले बल्झाएका आँसु भने गाउँ र बनपाखामा थामिएका थिएनन् । उनका आँखामा आए– अन्तरघरे सुर्माली, घारीघरे भुरा, फारुलाबोटे, भीरपाटे काइँला, बाख्राकोटे र ट्याम्के । तीमध्येका कोही सरकारी सेनाले कसैलाई घरमा कसैलाई भारी बोकाइ लगेर मारेका थिए । कतिचाहिं लडाइँमा आफ्ना छोराछोरीले बलिदान गरे भनेर गर्व गर्ने बेला पार्टीले पनि माया मार्दा बिसोर हिडिरहेका जिउदा मान्छे थिए ।

‘आँ, के सम्झनु दुःखका कुरा,’ उनले प्रसंग मोड्न सुल्पा टक्टक्याएर बासामा राखिन् ।

त्यसपछि उनको आँखामा आए आफ्नो बैंसयामका उकाली–ओराली । लाकुरचौर, ओबाङ, लाकुरीबाङ, स्यानगोरी र ठूल्गोरी । कैयौं दिनरात मस्तराम नाचेगाएका पल उनका

आँखामा बल्झिए ।

कहाँ हो कहाँ उडेर जाने के मन पनि चराजस्तो ।

कुङ्रीपोकमा ठकान बसेको सम्झिइन् । गुन्यूचोलो र भारेडोको चिनो पाएको सम्झिइन् । बदलामा तन्नेरीलाई खिर पकाएर दिएको, टोपी र बोल्लाको गादो चिनो दिएको पनि ।

‘थकान बस्ने चौपारी ?’

सम्झन कोशिस गरिन् । भत्किसकेका थिए । कति भत्कन लागेका थिए । चलन फेरिदै गएका थिए ।

खेतीपातीको यामबाहेक महिनाका १, ५, १०, १५, २५ गते ठकान राख्थे । ठकानका लागि ती गते रोज्जा थिए । टाढा–टाढाका आफन्तबीच र तरुननन्नेरी आफ्ना घरदेखि बीचमा पर्ने ठाउँमा भेट हुन्थे । ती चौपारी वा ओडार या रुखको बोटमुनि सन्चोबेसन्चो र सुख दुःख साटासाट गर्थे । चिनजान नभएका चिनजान गर्थे । तरुनतन्नेरीले माया गाँस्थे ।

कुङ्रीपोकको ठकानबाट नै मनकलाले घरबार जोडेकी थिइन् ।

‘लहनाले यता जुराइछ र,’ यति भनेर उनको आँखामा पोहोर मात्र माथि लागेका श्रीमान् आए, ‘पापी एक्लै गए । अझैै बोलान्नन् । आफू माथि गएर हाइसोके भैगे ब ।’

थाहा छैन, किन–किन उनलाई श्रीमान् मरेपछि मर्न रहर लागेको छ । मृत्युदेखि सातकोष पर भाग्ने मान्छेको जात कहिलेकाहीं किन मृत्युको पुकार गर्छ हँ ? रामजाने ।

चोयाबारीमा अलिछिन बसेर घर फर्किइन् । भकारो रित्तोजस्तो थियो । भकाराका एक छेउमा थिए– दुई थान गाई । एक थान पाडी । दुई थान बाख्रा । यति थोरै बस्तुभाउ पनि खान नपाएर दुब्लाएका थिए ।

‘जाङ्ङरपाङ्ङर सक्किए, आफ्ना दिनसितै,’ बस्तुभाउलाई नल्ठा (सुकेको मकैको) नल्ठा राखिदिएर भनिन् । त्यसपछि मान्छे नबस्दा थोत्रिएर आफै ढल्न थालेको घरमा पसिन् । ढोका खोलेर भित्र पस्दा उनको टाउकोमा माकुराको जालो लपेटियो । भुइँमा धुलो थियो । घरको थाममा धमिरा लागेको थियो । बाटो लाग्न साइत गरेका पर्सुल, खाँबा उनीजस्तै बूढा भएका थिए ।

‘घर नध्वाँएसी ता घर त्यस्सै थोत्रिजान्छ के र,’ मनमनै भनिन् । परिवारका तन्नेरी सदस्यजति अरब उडेपछि उनी बुहारीसित अर्को घरमा मात्र मान्छे बस्थे । पुरानो घरमा उनको मन बसेन । कता जाम् के गरौं भयो । त्यसपछि उनी बाहिरिइन् । घंघारुको पातलो लौरो टेक्दै सुस्तरी पँधेरातिर लागिन् । पानी लिन होइन, पँधेराछेवैको चौपारीमा गाउँका बूढाबूढीसित गफिन ।

चुङ्चुङे, चुन्बाङेनी, माइली धमिनी, ट्याम्के, भीरपाटेनी, जुुम्लीबस्ने, हलहले, बाठाकोप्चे, किम्बोटेमध्ये धारोछेवैको चौपारीमा उभिएको बूढो लाँकुरी बोटमुनि कोही पुगिसकेका थिए त कोही पुग्दै ।

‘लौ आमाजू, एक चिलम कक्कर खाऊ ।’

‘तम्रो कक्कर ता स्यानो कर्रो रैन्छ बाल ।’

‘यो खाऊ, लाखरखोले कक्कर । अस्ति चार माना बेसाइकन लिइछन् ब । कान्छा हलहलेको छोरी माइत जाने बेला मगाया रै’छन् ब ।’

पुरानगाउँले बादीले बनाएको सुल्पामा कक्कडको घान हाले । त्यसपछि सुल्पाबाट निस्केर माथिमाथि उडेका धुँवासित उड्दै कुराकानी पनि बाटो लागे ।

‘होइन किउ बुद्या जेई त पुलिससत प सल्क्या छ भन्छन् । अस पुइले अरबबट पठाया पैसा काँ फुक्किलो गरे ब,’ मनकलाले भनिन् ।

‘जोख्या बाबै ता बिल् छकालदेखि जरो आइकन कष्टे भया छन् गरे ।’

‘हामी लुजा लंगाराले बोक्न सक्तैनम् ब । तन्नेरी छैनन् ।’

‘माइत गएँ भन्यौ नाना ? हो तो मेर्ता कोइ भए प । घर हुल्ला पार्कन साइलोको पर्याल कालापार गया छन् ब जेठाका अरब ।’

‘मासी परान सक्किगे । हित्ति पनि धौ धौ प आएँ । अब ता मानो सक्किगो के र ।’

‘आब ता धने पन् अरब गैजाने हो गरे ब । लिबाङ गइकन उसको के हो तो पासफोटो बनाइकन आयो । काटमुन्नु भिक्सा हान्न जान्छ गरे । हो तो नजा भनेको मान्दैन । उसका सङसत (साथीसित) गयो । चौधको घरमा गया छैन ब । उम्मिर बढाइकन नार्गितासार्गेता बनायो गरे ।’

झण्डै एक घण्टाजति बूढाबूढीका बोली पनि एकमाथि अर्को ओभरल्याप भएर बगे । कुराकानीसित कक्कडको धुँवा हावाको दिशासँगै कहिले उत्तर र कहिले दक्षिण बहे ।

त्यसपछि गाई फुकाएर चराउन बनतिर लगेको कोलोको धुन बज्यो । धारोको टुटी बिग्रेर चौबीसै घण्टा बगिरहने चौपारीछेवैको धारोको आवाजसित कोलोको धुन मिसिएर चर्कन थाल्यो ।

‘होइ आमाजू, तम्ले के भनिऊ हँ ? मल्ता नाम्रोसत पज पाइन हे’ भन्दै एकअर्काले के भनेको हो भन्ने ठीक तवरले नदेखे पनि नसुने पनि आ–आफना कुरा भने । कान र आँखाले पनि माया मार्दै गरेका ती बूढाबूढीले एकोहोरो भए पनि कुरा गरे । आ–आफैले सुनाए । नथाक्दासम्म आ–आफ्ना कुरा सुनाए । आ–आफ्नै तालमा कुरा गरे अनि बाटो लागे ।

चौपारीमा कुराकानी गरेपछि मनकला सिधै बारीमा गइन् ।

बारीमा त बनमारा हल्केको थियो ।

‘यै कम्द राङ्कोटे मुक्खेबाट एउटा बोका, आठ धार्नी रक्सी र दुुइटा चवानी माला दिएर लिएको हो । पिउठान अड्डा गइकन पास गरेको । इज्यार खनेको,’ बनमारा पन्छाउँदै अनि गनगन गर्दै थचक्क बसिन् ।

जनयुद्धमा बचेको उमेर बोकेर उनको छोरा, नाति र नातिनी साउदी उडेका थिए ।

बाझो बारी छामिन् । ढुंगाजस्तै कडा थियो । माटो पनि रिसाएजस्तो लाग्यो ।

नजर डुलाइन् ।

‘आब काँ थकान्ने होला यो मन ?’

बूढीले चिउडोमा हात लगाएर गमिन् । यताउति हेरिन् । छेउटुप्पा त युद्धकालमै कमाउन छाडेका थिए भने अब घरबारीसमेत बाँझा हुने क्रम बढेको थियो ।

मनकलाले सम्झिइन्, अरब उड्दा लिएका रिन । कहिले रिन तिर्ने हुन् र फर्कने हुन् अरबबाट । ठेगान थिएन । घरबारीसमेत बाँझा भएका थिए ।

फोनमा एकोहोरो बोल्दै भनेकी हुन् छिटो आउन । मनले जाम भने पनि पखेटा भए पो आऊन् । गाउँमा तन्नेरीका बिउ नै नरहने गरी अरब उड्न थालेका थिए । जुँगाका रेखीसमेत नबसेका केटाहरु उमेर बढाएर पासपोर्ट बनाउँदै अरब उड्दै थिए ।

‘के सधैं यस्तै भइरहला तो ?’

बाँझो बारीमा हल्केको बनमारासित उनले भनिन् ।

‘मौभादीले ता गर्छ कि भन्या थें । काटमुन्नु गएपछि उतै सन्नमन्न भो । गरिबको लागि कोही नआउने भो । कसो गरिबको दिन नआला भनी लागेर मारिएका परिवारले र घाइतेले गौनु माखा हाक्छन् । के लुल भो कोजानी ?’

सास रोकिएलाजस्तो टुपुक्क भयो उनको मन । त्यसपछि अनायास चिच्याइन्, ‘रणे ए रणे । छिटो आइज कमारा । काँ थकान्ने मन ? रहरबारी र घरबारी कहिले होला हराभरा ?’

बूढो स्वर समुद्रपारि पुग्ने कुरै भएन । बदलामा चुनबाङखोलाको प्रतिध्वनि मात्र आयो, ‘र…णे …आइ…ज…।’

प्रतिध्वनिसँगै बाजी लागेर माओवादी नेता ईश्वरीप्रसाद, प्रधान दीर्घराज, जिल्ला सभापति सुरेन्द्रको घरका टिभीले एकै स्वरमा भनेः सिंहदरबार, बालुवाटार, सानेपा, बल्खु र पेरिसडाँडाका मूली कहिले धुलिखेल, नगरकोट रिसोर्ट पुगी कतिले केटाकेटी र बूढाबूढीलाई पनि बेच्ने नयाँ साउदी अरब गुगलमा सर्च गर्दैछन् त कति रमिते छन् । …बचेजतिलाई पनि नयाँ अरबतिर खेदे न रहन्छ बाँस न बज्छ बाँसुरी । टिभी जति चर्कदै गयो उति नै बनमारा उखेल्ने कोशिस गर्दै मनकला बोलेको मधुरो आवाज क्रमशः बढ्न थाल्यो, ‘के सत् हर्रिगो र ? मान्छेले सत् हार्न हुन्न । एकदिन पालो आउँछ । पर्खनुपर्छ ।’

कहिलेसम्म ?

उनीसित यसको जवाफ भने थिएन ।

By

Readers Comments (0)