Filed Under:  संस्मरण | निबन्ध

असल छिमेकी गुमाउँदाको पीडा

21st February 2015   ·   0 Comments

Nim Bdr Thapa- निमबहादुर थापा

एउटा असल छिमेकी पनि घर परिवारको सदस्य भन्दा कम महत्वको हुँदो रहेनछ । टीकाराम चौधरीको स्वर्गारोहणले मलाई त्यही अनुभूति भइरहेको छ यतिबेला ।

आज म २१ बर्ष पहिले फर्केर बनगाउँ चोक वरिपरि घुमिरहेको छु र मेरो आँखा वरिपरि पान चपाउँदै टहल्दै छन् स्वर्गीय भाइ टीकाराम चौधरी । उनी विगत ६ बर्षदेखि सुगरको बिरामीबाट पीडित थिए । स्वाभाविक उपचार सेवा लिदा लिदै २ बर्ष पहिले सुगरले उनको आँखामा हान्यो र सुस्त–सुस्त गलाउँदै माघ २९ गते ५१ बर्षको उमेरमै उनको भौतिक शरिरलाई हामीबाट खोसेर लग्यो प्रकृतिले ।

मृत्यु हामी सबैको अवश्यम्भावी छ । यो प्रकृतिको नियम हो । जान्दाजान्दै पनि मानिसलाई किन पीडा हुन्छ ? त्यो पनि प्रकृतिको नियम हो सायद । हरेक चेतनशील प्राणीमा समवेदना हुन्छ, आत्मीयता हुन्छ, अपनत्व हुन्छ र भावस्पर्श हुँदो रै’छ । त्यसैले त पशुपंक्षीहरु पनि मित्रजन आउँदा अपनत्व प्रकट गर्दछन् र पराइ आउँदा सावधानीको सन्देश प्रवाह गर्दछन् ।

धर्मशास्त्र अनुसार उनको बास अहिले स्वर्गमै भएको हुनुपर्दछ किनभने मेरो अनुभवमा उनी असाध्यै सज्जन थिए । जीवनयापन गर्ने स्वार्थ सबैमा हुन्छ । उनी निहित स्वार्थी पटक्कै थिएनन् । एउटा छिमेकीलाई हेर्ने व्यवहार र मानवले अर्को मानवलाई हेर्ने दृष्टिकोण असल थियो । स्वर्गीय भाइ टीकाराम चौधरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उनको आत्मालाई शान्ति मिलोस् इश्वरसँग प्रार्थना गर्दछु ।

म २०४८ देखि बनगाउँमा बसोबास गर्न आउँदा टीकाराम लमही नगरविकास समितिमा तल्लो तहका कर्मचारी थिए । उनको बसाई अहिलेकै स्थान बनगाउँ चोकमै थियो । दुई भाइ साना छोराहरु आँगन वरिपरि खेल्थे । टीकाकी जीवनसंगिनी दुखनी चौधरीले आफ्नो त्यो सानो झुपडी घरभित्रै खुत्रुके पसल पनि राखेकी थिइन् । टीकाले अफिसबाट आउँदा लमहीबाट सामान ल्याइदिन्थे ।

टीकाको जेठो छोरो मनोज अलि वरपर खेल्न जान्थ्यो, त्यही मौका छोपेर कान्छो ध्रुव आमाको छातीमा टंगिन्थ्यो । ध्रुवे अरुसँग त्यति मान्दैनथ्यो । दुखनी बहिनीले मजेत्रोले ध्रुवेलाई बोकेर तीन–तीनवटा पाठापाठी ब्याउने बाख्राको सेवा गर्थिन् र ग्राहकका लागि पानको पत्तामा कथ्था पनि लगाउँथिन् । फूर्सदको बेला कथ्था लगाउने काम टीकाले गर्थे ।

२०५१ साल असोजमा म सेवा निवृत्त भएर आएँ र त्यही चौराहामा पसल गरेर बस्न थालें । दुइ बर्ष अरुको घरमा भाडा लिएर पसल गरेपछि टीकाले नै आफ्नो एकछेउ काटेर दिएको ठाउँमा पसल गर्न थालें । अब हामीहरु बिहान ६ बजेदेखि साँझ ८ बजेसम्मका लागि एउटै परिवार बनेर दिनहरु बिताउँथ्यौं । बिहानमा मैले पसलकै छेऊमा दूध पनि संकलन गर्थें । त्यो बेला टीकाले मेरो पसलमा सघाउँथे । दुःख सुख बाँड्थ्यौं र चियानास्ता पनि बाँड्थ्यौं ।

अफिसबाट आउँदा ल्याएको सामान जहानलाई बुझाउने बित्तिकै मेरो पसलमा आउँथे र सुनाउँथे अफिसमा भए गरेका समाचारहरु । अनि मैले पनि देवगढ वाचनालयमा प्राप्त पत्रपत्रिकाहरुमा आएका समाचारहरु सुनाउँथें । त्यहीं गफिन्थ्यौं, बस्थ्यौं र बहिनीले त्यहीं चियानास्ता ल्याइदिन्थिन् खान्थ्यौं । मेरो बासस्थान एकसय मिटर पश्चिममा थियो । बिहान साँझ म पसलमा बस्थें । पसलबाटै राजनीति, पत्रकारिता र समाजसेवा पनि गर्ने भएकोले हाम्रा स–साना छोराछोरी पनि आमासँगै पसलमै जान्थे । त्यहीं दाजुहरुसँग खान्थे, खेल्थे र सुत्थे । यसरी हाम्रा दिनहरु सहकार्यमै बितेका थिए । मनोज क्याम्पस पढ्न घोराही गयो र एसएलसी पछि ध्रुवे लालसेना बन्यो । टीकालाई सुगरले छोइसकेको रहेछ ।

उनले त्यो सानो झुप्रो फालेर चारकोठे पक्की घर बनाइसकेका थिए । एक मानो घर खेतीबाट खान पुग्थ्यो । छोटो परिवार सुखी थियो । म २०५४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षको उमेद्वार बने । उनी कर्मचारी भएकोले प्रचार गर्न त हिडेनन् तर मलाई सल्लाह–सुझाव राम्रो दिन्थे । शंकै नगरेको बेला उनलाई सुगर देखा प¥यो अलि बढी नै । दुबै आँखा कमजोर बनायो र पछि एउटा बन्द नै भयो । विगत छ महिनादेखि उनको शरिर भारी भयो । सामान्यतया ५५–६० किलो तौल भएको मान्छे ७५–८० पुग्यो शरिर । पटक–पटक अस्पताल भर्ना गरेर पानी निकाल्दै रगत दिदा पनि सुधार भएन । आँखा नदेख्ने हुँदा पनि सेतो छडीको सहाराले आफ्नो क्षेत्र घुम्थे, चिनेका घरमा पुगेर हालखबर बुझ्थे । व्यस्त समयका मानिसहरु उनलाई भेट्न नआउँदा पनि उनी आफै पुग्थे ।

मसँग भेट हुनेबित्तिकै सोध्ने गर्थे के छ दाइ देशको हालखबर ? नेताहरुले संविधान लेख्छन् कि लेख्दैनन् भन्नुस् तपाई पत्रकार मान्छे धेरै कुरा बुझ्नुहुन्छ । केही समय भए पनि उनको पट्यारलाग्दो समय कटाउन घरमा पस्थें, तुरुन्तै पानी, चिया या अन्य नास्ता के बनाउँ भन्न आतुर हुन्थे । भन्थे, मेरो पनि समय कट्छ यस्तै हो जीवन जति बाँचिन्छ मिठो बोलेर बसौं ।

दुइ दशकको असाध्यै सौहार्दपूर्ण र सहकार्यको पारिवारिक बसाई यतिबेला भावबिभोर बनेको छ मेरा लागि । बिदा हुने अघिल्लो दिन उनको जीवन असाध्यै कष्टकर रह्यो । २८ माघको साँझ कामको सिलसिलामा बाहिर रहेको कान्छो छोरो ध्रुव आएपछि उनको अव्यक्त मुखाकृतिले बिदा मागेको आभास दिन्थ्यो, जुनबेला म सँगै थिए । मृत्युसँग लडिरहेको उनको शरिर र मुखाकृति हेरेर मैले पनि मन थाम्न सकेनछु । दुई थोपा आँसु उनको शरिरमा चुहाएर म र मेरी जीवनसंगिनी घर फर्कियौं । आखिर त्यो दुई थोपा आँसु उनको बिदाइका लागि पुष्पगुच्छा रहेछ । बिहान भालेको डाँकोसँगै उनको आत्माले भौतिक शरिर त्याग्यो । अब भाइ टीकाराम चौधरी हाम्रो सम्झनामा मात्र रहनेछन् । उनको आत्माको चिर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु । अलबिदा भाइ टीकाराम चौधरी ।

By

Readers Comments (0)