Filed Under:  कविता

फोहरी मान्छे | देवी गुरुङ

21st February 2015   ·   0 Comments

devi gurungखेलमैदानमा धान रोपेर
ग्रिनपार्क उमार्ने हाम्रो अभियान
मान्छेहरुको मस्तिष्कमा सभ्यता उमार्न
थालिएका कैयौं यात्राहरुलाई
हाम्रो फोहरी वास्तविकताले
चुनौती दिइरहेछ
जलजलाको काखमा उभिएर
लुङ्ग्री र माडीको कञ्चनताभित्र
फोहरी आडम्बर लुकाएर
सभ्यताको आकाश बोकी हिड्ने
ओ मान्छेहरु
वातावरणीय प्रदूषण हटाउन
अब हामी हाम्रो चेतनाको दाग हटाऔं ।

फूलहरुले आफ्नो याम भुलेर फुल्दा
धानका बालाहरु समय छिप्पिदा पनि नझुल्दा
कुन सभ्यताको कुरा गर्छौं हामी
अनावृष्टि र अतिवृष्टिले
बस्ती बगेर मरिरहेका छन् मान्छेहरु
धुलो, धुँवा र फोहरले
सूर्य र पृथ्वीको बाटो छेकिरहेछ
त्यसैले, फोहोरमाथि उभिएर
के सभ्यताका भाषण फलाक्नु ?
वनजंगल मासेर त्यसैमाथि सुत्ने
हामी मानव कि जंगली ?
समाजभन्दा/समयभन्दा
वातावरणभन्दा/यो आकाशभन्दा
अति फोहोर छ मान्छे ।

आफ्नै प्राणको ओछ्यान लगाएर
अरुको जीवनमाथि कालो दृष्टि थोपर्दै
यो समयलाई दोष दिदै
हामी फोहरी बनिरहेछौं हरदिन
फोहरको दलदलमा उभिएर
सभ्यताको पाठ घोकिरहेका छौं सधै
किनकी हामी गणतन्त्रमा होइन कि
प्रजातन्त्रमा छौं ।

By

Readers Comments (0)