Filed Under:  पर्यटकीय गन्तव्य

दाङमा पर्यटन लगानी– परिणाम शून्य

21st February 2015   ·   0 Comments

Dhaniram_sharma- धनिराम शर्मा

राप्तीको विकासको प्रवेशद्वार मानिने दाङको आर्थिक विकासको एक महत्वपूर्ण आधार पर्यटन हो । कृषि र पर्यटनको बेजोड सम्भावना भएको दाङले सरकारी नीति तथा कार्यक्रम एकरुपताको अभावमा लगानी अनुरुप पर्यटन क्षेत्रमा परिणाममुखी सुधार गर्न सकेको छैन । लगानीको औसत मात्रा धेरै देखिए पनि परिणाममा गुणात्मकता आउन नसकेको पर्यटन सरोकारवालाको प्रतिक्रिया छ । लगानीको आकार ठूलो देखिन्छ तर परिणाम शून्य भएको छ ।

चालु आर्थिक वर्षको अनुमानित तथ्यांकलाई आधार मान्ने हो भने दाङमा सरकारी, निजी र समुदाय स्तरबाट झण्डै पौने दुइ अर्ब रुपैयाँ बराबरको लगानी भएको तथ्यांक छ । निजी क्षेत्रले होटेल आवासमा डेढ अर्ब बढी लगानी गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघको तथ्यांकमा छ । उता पर्यटन मन्त्रालयले गत आर्थिक वर्ष २०७०÷७१ र चालु आर्थिक वर्ष २०७१/७२ लाई जोड्दा पौने ३ करोड बढी लगानी गरेको बताएको छ । विगत १० वर्षयताको सरकारी लगानीलाई समेत कुल औसतमा जोड्दा हालसम्म करिब पौने दुइ अर्ब रुपैयाँ बढी लगानी भइसकेकोे अनुमान गरिएको छ । होटेल आवास, घरबास कार्यक्रम, पूर्वाधार निर्माण, संरक्षण र प्रवद्र्धनका शीर्षकमा यति रकम खर्च भएको हो ।

लगानीको औसत र सरकारी कार्यक्रमबीचको तालमेल नहँुदा परिणाम आउन नसकेको निजी क्षेत्रको टिप्पणी छ । मुख्यतया पूर्वाधार क्षेत्रमा सरकारी लगानी न्यून अनि निजी क्षेत्रलाई विश्वासमा लिन नसक्नु पर्यटन विकासको बाधक भएको निजी क्षेत्रको बुझाई छ । निजी क्षेत्रले होटेल आवासमा हात हाले पनि अन्य क्षेत्रमा लगानी गर्न नसकेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले बताउनुभयो ।

होटेल आवासबाहेक पर्यटकीय गन्तव्यका क्षेत्रमा व्यवसायीहरुले लगानी गर्न सकेका छैेनन् । तर पछिल्लो चरणमा व्यवसायीहरुले पर्यटनमा लगानी गर्ने मनस्थिति बनाएको उहाँले जानकारी दिनुभयो । पर्यटन क्षेत्र तत्काल नाफामुखी नहुने र यसको लाभ लिन केही समय पर्खनुपर्ने बाध्यताले पनि तत्काल जोखिम मोल्न नसकेको बञ्जाडेले खुलासा गर्नुभयो । लगानीको सुनिश्चितता गर्न सरकारले पनि ठोस कार्यक्रम ल्याउन नसकेको उहाँले बताउनुभयो ।

‘पछिल्लो चरणमा होटेल आवासको क्षेत्रमा डेढ अर्ब बढी लगानी भएको अनुमानित तथ्यांक छ’, उहाँले भन्नुभयो, ‘व्यवसायीहरु लगानी गर्न पनि तयार हुनुभएको छ, होटेल हुँदै घरबास कार्यक्रम, प्याराग्लाइडिङ लगायतका क्षेत्रमा लगानी गर्न तयार भएका छौं ।’ यद्यपि जिल्लागत एकरुपताको कार्ययोजना बनाउन सकिएमा अब निजी क्षेत्र पनि लगानी गर्न पछि नपर्ने उहाँले बताउनुभयो ।

दाङको पर्यटनको विकास गर्न कम्तीमा पनि राप्तीका जिल्लाहरुसँगको कनेक्टीभिटीलाई मध्यनजर गर्न सकिए पर्यटन विकास सम्भव हुने उहाँको विचार छ । तुलसीपुरको विमानस्थल सञ्चालन नहुँदा दाङको पर्यटन विकासमा बाधा भएको बञ्जाडेले बताउनुभयो । ‘साना विमान सञ्चालन हुँदा धेरै खर्च लाग्ने र ठूलो जहाज ल्याउन धावनमार्ग अपूरो हुने भएकाले हवाइसेवा सञ्चालनमा समस्या छ’, उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, ‘यद्यपि सरकारले हवाइसेवालाई निरन्तरता दिन सके दाङको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्छ ।’

राप्ती पर्यटन प्रवद्र्धन समन्वय समितिका सदस्य सचिव डा. गोविन्द आचार्यले दाङमा पर्यटनको क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनेको बताउनुहुन्छ । अहिलेसम्म भएका प्रयासहरु सकारात्मक भए पनि प्याराग्लाइडिङ घरबास कार्यक्रम इत्यादिमा लगानी गर्न सके ठूलो सम्भाव्यता भएको आचार्यको दावी छ । सरकारले नीति तथा कार्यक्रम ल्याउने र आवश्यकीय पूर्वाधारमा लगानी गर्ने भए पनि निजी क्षेत्रले पर्यटनको क्षेत्रमा अपेक्षाकृत लगानी गर्न नसकेका प्रतिक्रिया दिनुभयो । सरकारी लगानी दुई आर्थिक वर्षमा झण्डै पौने तीन करोडभन्दा बढी भए पनि परिणाममा देखिन नसकेको स्वीकार गर्दै निजी क्षेत्र अगाडि आउनुपर्ने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारी नीतिअनुसार अब एकीकृतरुपमा लगानी गर्न सकेमा पर्यटन क्षेत्रमा रुपान्तर गर्न सकिन्छ, त्यसको लागि सबै साझा कार्ययोजना आवश्यक छ ।’

समुदाय स्तरमा पनि पर्यटन क्षेत्रमा लगानी गर्न लहर देखिएको छ । पछिल्लो चरणमा धार्मिक पर्यटकीय गन्तव्य पाण्डवेश्वर धामको पर्यटन प्रवद्र्धन गर्न समुदायहरु आफै कस्सिएका छन् । विश्वको अग्लो त्रिशुल स्थापना गरेर चर्चामा रहेको पाण्डवेश्र समुदाय स्तरबाट पर्यटन क्षेत्रमा लगानी गरिएको सम्भवतः मध्यपश्चिमै पहिलो हुन सक्छ । पछिल्लो तथ्यांकअनुसार स्थानीय समुदायले ६० लाख बढी लगानी गरेको पाण्डवेश्वर महादेव धाम व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले बताउनुभयो । उहाँका अनुसार सरकारको मात्र मुख ताक्नुभन्दा स्थानीय तहमा पनि केही गर्न सकिन्छ भनेर लागेको र अहिले धार्मिक पर्यटन प्रवद्र्धनमा उत्साहजनक माहोल बनेको अधिकारीले बताउनुभयो । विश्वकै अग्लो त्रिशुल स्थापना गरेर चर्चा बटुलेको पाण्डवेश्वर धाम यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बन्दैछ । वर्षमा ५ लाख पर्यटकले धामको अवलोकन गर्ने गरेको समितिको दावी छ ।

त्यसैगरी जिल्ला विकास समितिको पहलमा दाङमा घरबास कार्यक्रमका लागि सौडियारको सिसहनियाँ थारुग्राम, गढवा–२ को अवधिग्राम र लक्ष्मीपुर–७ सवारीकोट मगरग्राम प्रस्ताव गरिएको हो । प्रस्तावित ग्रामहरुमध्ये सवारीकोटको मगरग्राममा स्थानीय समुदायको पहलमा ५ लाख बढी लगानी रहेको तथ्यांक छ । घरबास कार्यक्रमलाई व्यवस्थित गर्न स्थानीयहरु नै लागि परेका छन् । सिसहनियाँको थारुग्राम र गढवाको अवधिग्राम सुनसान बन्दैछन् स्थानीयमा जाँगर देखिएको छैन  । सरकारी तहबाट लगानी भए पनि पर्यटन शिक्षा र चेतनाको अभावमा ती ग्रामहरुले प्रगति गर्न नसकेको पर्यटनसँग सरोकार राख्नेहरुले बताए । यससँगै बाह्य तथा आन्तरिक पर्यटक दाङ भित्रिए पनि त्यसको अध्यावधिक गर्ने कुनै निकाय नहँुदा पनि पर्यटन आगमनको सही तथ्यांक नभएको उनीहरुले बताउँछन् । सरोकारवालाहरुले यसलाई व्यवस्थित गर्न सक्नुपर्ने उनीहरुको धारणा छ ।

त्यसैगरी चालु आर्थिक वर्षमा ८४ लाख रुपैयाँ पूर्वाधारका लागि बजेट विनियोजन र निकासा भएको पर्यटन कार्यालय भैरहवाका निमित्त कार्यालय प्रमुख प्रेमनारायण पन्थीले बताउनुभयो । गत वर्ष पनि यही अनुपातमा सरकारी लगानी रहेको पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार दाङका मुख्य पर्यटकीय गन्तव्यहरु जखेरा ताल संरक्षणका लागि ५ लाख, बाघनाथ बाबाकुटी संरक्षण ७ लाख, बाह्रकुने दह ७ लाख, राप्ती उद्यान प्रवद्र्धन गर्न दश लाख, बगारबाबा रिहारको लागि दश लाख, छिल्लीकोट पर्यटन प्रवद्र्धन गर्न दश लाख, चमेरे गुफाका लागि दश लाख, पुरन्धारा छहरा संरक्षण गर्न पाँच लाख, शान्ति उद्यान भ्यूटावर लमहीलाई तीन लाख, रामजानकी कोइलाबास ७ लाख, बराह बासुदेव ढिकपुर–४ मा पाँच लाख, पाण्डवेश्वरमा ५ लाखलगायतका शीर्षकमा बजेट विनियोजन भएको पन्थीले बताउनुभयो । जखेरा ताल, बाह्रकुने दह, बगरबाबा रिहार, पुरन्धारा छहरा र रामजानकी कोइलाबासका समितिहरु सम्झौता गर्न नआएको उहाँले बताउनुभयो ।

वर्षेनी जिल्लामा थुप्रै बजेट पुगे पनि परिणाममा अपेक्षाकृत नतिजा देखिन नसकेको पन्थीले बताउनुभयो । स्थायित्वसहितको सरकारको अभाव, योजनाको सही पहिचान हुन नसक्नु, निजी क्षेत्र आकर्षित हुन नसक्नु, सम्भाव्यता अध्ययनबिना बजेट विनियोजन गरिनु इत्यादिले पर्यटन क्षेत्रमा लगानी अनुरुपको फल आउने नसकेको उहाँको भनाई छ । मुलतः राजनीतिक दबाबले काम गर्न बाध्य हुँदा सही योजनाहरुमा बजेट पुग्न नसकेको उहाँको प्रतिक्रिया छ ।

यसरी सरकारी लगानी निजी क्षेत्र, समुदाय स्तरबाट लगानीको दर धेरै भए पनि व्यवस्थित गुरुयोजना अनि कार्यक्रममा एकरुपताको अभावले दाङको पर्यटन क्षेत्रले गति लिन नसकेको पर्यटन जानकारहरु बताउँछन् । जिल्लामा थुप्रै पर्यटकीय गन्तव्यहरुको पहिचान भए पनि व्यवस्थित गुरुयोजनाको अभावमा पूर्वाधार प्रचार प्रसारको अभाव र नयाँ सोच र राजनैतिक हस्तक्षेप इत्यादिका कारण पर्यटन विकासको गतिमा अपेक्षाकृत परिणाम नआएको पर्यटन चिन्तकहरुको प्रतिक्रिया छ ।

By

Readers Comments (0)