Filed Under:  समीक्षा

सीमावारिबाट सीमापारि पुग्दा

21st February 2015   ·   0 Comments

khemraj_sharma- खेमराज शर्मा

गजललाई नेपाली साहित्यमा भित्र्याउने युवाकवि मोतीराम भट्ट हुन् । गजल एक गेय विधा हो । गजलमा दुई पंक्तिको शेर हुन्छ । हरेक शेरमा अन्त्यानुप्रास मिलेको हुनुपर्छ । प्रत्येक जोडा मतलामा अनुप्रास, रदिफ आवृत्त हुने हुँदा त्यहाँ मिठो उच्चारण वाद ध्वनीको निर्माण हुन्छ ।

गजल गेयात्मक र लयात्मक मात्र नभएर कलात्मक पनि हुनुपर्छ । तखल्लुसमा गजलकारको संक्षिप्त नाम दिएर गजलको अन्त्य भएको पनि पाइन्छ । गजल यत्तिकै शेरमा रचिनुपर्छ भन्ने छैन प्रायः बिजोर शेरमा लेखिनुपर्छ भन्ने भनाइ छ । हालका दिनमा आएर छोटा गजल लेख्ने गरेको पनि पाइन्छ ।

sima wari pari‘सीमावारि सीमापारि’ १५ जना रोल्पाली स्रष्टाहरुको सामुहिक शब्द खेती हो । रोल्पामा जन्मेर गरिबीको पिरलोलाई मत्थर पार्नलाई सीमापारि अर्थात् मरुभूमिमा आफ्नो जीवन घोटिरहनुभएका ९ जना र स्वदेशमा दुखजिलो सहेर बस्नुभएका ६ जनाको मिलनबिन्दू बनेको छ गजल संग्रह सीमावारि सीमापारि ।

हिजोका दिनमा अभाव, पीडा, अन्याय, अत्याचारलाई एकान्तमा बसेर आँसु झारेर बगाइन्थ्यो तर आज भने जमाना फेरिएको छ । दुःख र पीडालाई शब्दबाट आँसु र आक्रोशको रुपमा पोख्ने गरिन्छ । यिनै दुःखी मनहरुले सिलाएर बनेका शब्दका मालाहरु साहित्य बनेर पोखिन्छन् र पाठकको आँखाले, मनले जोखिन्छन् ।

‘जति भयो टाढा उति भयो गाढा’ भनेझैं घर छाडेपछि घरपरिवारको महत्व र माया झल्कदो रहेछ भने देश छाडेपछि देशको माया र वरपिपलुको छायाले पिरल्दो रहेछ । यिनै पिरोलिएका परदेशीका मनहरुले शब्दका थुंगा पठाएका रहेछन् र यताले पनि त्यस्तै थुंगा मिसाएर तयार भएको रहेछ– १५ थरी रङको एक माला ‘सीमावारि सीमापारि’ ।

१५ जना गजल स्रष्टाहरुमा सबै युवा मनहरु छन् । कर्ण गिरी (२०३२) देखि महेश केसी (२०५२) उमेरका हिसाबले माथिल्लो र तल्लो पुस्ताका देखिन्छन् भने बाँकी सबै ४ देखि ५ दशकबीचका देखिन्छन् । जसमा १३ जना पुरुष छन् भने बाँकी २ जना महिला ।

जातीय हिसाबले हेर्दा १३ जना नै जनजाति समुदायबाट आएका छन् भने २ जना अन्य जातिबाट । सबै गजलकारको मन पिरोलेको पाइन्छ– देशले राजनीतिक निकास नपाएकोमा, संविधान नबनेकोमा । देशको व्यथितिले गजलकारको मन चिमोटिरहेको पाइन्छ । देशमा शान्ति र स्थायित्व भए श्रम र पसिना स्वदेशमा नै खन्याउन तत्पर देखिन्छन् युवा मनहरु ।

घर समाजको मायाले उनीहरुको मन भक्कानिएको देखिन्छ । दर्दरुपी कठोर ढुंगासित टाउको ठोक्नलाई स्वेदशमा, विदेशमा घोरिन पुगेको साहित्यिक मनहरुलाई सलाम गर्नैपर्छ । जहाँ अभाव त्यहाँ सिर्जना भनेझैं चौरासी व्यञ्जनले घेरिएको सुनको थालीले जनताको साहित्य सिर्जना गर्न कहाँ सक्छ होला र ?

संसार दुई वर्गमा विभाजित छ । हुने खानेहरु खाओ, पिओ र मोज गरेको आदर्शले प्रेरित हुन्छन् भने हुँदा खानेहरु जिउनका लागि संघर्ष गरेको आदर्शले प्रेरित हुन्छन् । यी दुई वर्गले आफ्नो वर्ग स्वार्थका लागि साहित्य रचना गर्छन् । हुनेखानेहरु व्यूटी, लभ र सेक्सलाई महत्व दिदै व्यक्ति प्रेमलाई महत्व ठान्छन् भने हुँदा खानेहरु सच्चा प्रेममा विश्वास राखेर वर्गीय प्रेममा विश्वास राख्छन् । उनी आफ्नै सुन्दरतालाई प्रधान ठान्छन् ।

‘सीमावारि सीमापारी’को मालाभित्र सजिन पुगेका १५ रङका यी रङ्गीन पुष्पहरु रोल्पाका उपज हुन् । यस जिल्लाका सम्पत्ति हुन् । कमल विवश मगर, कर्ण गिरी, केशव पुनमगर ‘मितज्यू’, खेमराज गाउँले, देवी गुरुङ, दोर्णाचार्य बुढामगर ‘कान्छा’, नवीन लोचनमगर, नौलोदीप मगर, बाबुलाल बुढामगर ‘ढाङढुङे’, मनप्रसाद पुनमगर, महेश केसी, मालबहादुर वली ‘मिलन’, बसन्त घर्तीमगर ‘अभिषेक’, समीप बैरागी र सर्मिला रोकामगर यस मालाभित्र समेटिएका छन् ।

यिनीहरु कहिल्यै पनि ओइलाउनु हुँदैन, झर्न हुँदैन । यी फूलहरु हाम्रा पाखा, खेतबारीहरुमा ढकमक्क फुल्नुपर्छ । प्रत्येक गजलकारका ९ वटा गजलका हिसाबले १ सय ३५ वटा गजलहरु यस कृतिमा समावेश छन् । त्यसमध्ये ५ जनाको उच्चस्तरका छन्, ५ जनाको मध्यमस्तरका र ५ जनाको तुलनात्मक हिसाबले सिकारु अवस्थाका छन् ।

केहीमा शब्द अलि बढी प्रयोग भएको हुँदा गति यतिका साथ गाउन कठिन देखिन्छन् । सबैमा अन्त्यानुप्रास मिलेको देखिन्छ । धेरै गजलहरु फैलाउन सकिने अवस्था हुँदाहुँदै पनि सोझो पार्नाले पूर्ण भाव प्रकट गर्न असमर्थ देखिन्छ ।

विज्ञ साहित्यकारबाट भाषा सम्पादन भएको हुँदा भाषिक समस्या छँदै छैन भन्दा पनि हुन्छ । शब्द सरल भएकाले बुझ्नलाई कठिन छैन । कुनै बैगुन नभएको मान्छे र केही कमी नभएको कृति हुँदैन भन्ने भनाइ छ । त्यसको अपवाद यस कृति हुने पनि भएन । समग्रमा यस गजलसंग्रह सीमावारिदेखि सीमापारिसम्मका सबैले पढ्न र गाउन योग्य छ ।

खासगरी सीमापारिको फूलहरुलाई म के भन्न चाहन्छु भने नेपालीहरुको बहादुर मनलाई खाडीका पसिनासँग सधं नबगाउनुहोस् । हाम्रो जीवनलाई कुहेको ढलसित तुलना नगरौं । हाम्रो जिउँदो विचारलाई मरेको लाससँग तुलना नगरौं । हामी आशाको दीप बालौं । मृत्यु र निराशालाई हाम्रो आगनसम्म टेक्न नदिऔं । हामी नेपाली हुनु र नेपाली जातमा विश्वास राखौं तर परम्परागत जातभातमा विश्वास नगरौं । स्वदेशमा सुन फलाउनेहरुलाई मात्र होइन । परदेशमा पसिना खर्चेर धन फलाउनेलाई पनि सलाम । तपाईहरुको पसिनाले नै देश सिञ्चित छ र राष्ट्रिय शान जीवन्त छ ।

साहित्यिक रचनाको अर्को नाम निरन्तर साधना हो । तपाईहरुमा विचारको कमी छैन । शब्दको कमी छैन । भावना र मायाको कमी छैन । मित्रहरु, छालालाई सुन्दर र प्रधान नठान्नुहोस्, भोलि चाउरिन सक्छ । पुष्ट मुख, हात र पाखुरालाई मात्र सुन्दर नठान्नुहोस्, समयले चाउरिन सक्छ । सुन्दर विचारलाई मात्र सुन्दर देख्नुहोस् । सुन्दर समाजलाई सुन्दर देख्नुहोस्, सुन्दर नजरलाई मात्र सुन्दर देख्नुहास् । तपाईहरुका कलम थाक्नुहुन्न । तपाईहरुका कलमले वैचारिक कुरुपताको खोइरो खन्न छाड्नुहुन्न । विभिन्न कठिनाइको बाबजुद पनि साहित्यिक कृति रचना गर्नुभएकोमा बधाई ।

कृति : सीमावारि सीमापारि
विधा : गजल
गजलकार : १५ जना रोल्पाली
भाषा सम्पादन : डी.बी. टुहुरो
प्रकाशन वर्ष : २०७१
पृष्ठ : १४+१५०
मूल्य : १५०

By

Readers Comments (0)