Filed Under:  कथा

पच्चीस सयका बा | गणेश ओली

21st February 2015   ·   0 Comments

ganesh new photoवनका चरा । खोलाको कलकल । हावाको निष्फिक्रीपन । जूनको चहक । सूर्यको आफ्नै गति । ताराहरुको टिलपिल । यस्तै जीवन जिउन चाहन्छ मान्छे ।

खुला आकाश । खुला धर्ति । यसैमा छन् अनेक प्राणी । मानिस पनि यस्तै एक प्राणी हो । तर समाजले देशको सीमारेखा कोरेको छ । वर्गको सीमा रेखा उस्तै । असीमित सीमाहरु ।

यति मात्र छैन । अनेक जञ्जालका डोरी छन् । यही डोरीमा जीवनको समुन्द्र तर्न अभिशप्त छ मानिस । त्यसमा पनि गरिबका सीमारेखा अनेक छन् । धनीलाई धनको आडम्बरमा यस्ता सीमारेखा तोडेको देख्दैन मानिस । लाजको/कानूनको/समाजको डन्डाले गरिबलाई नै प्रहार गरिन्छ यहाँ ।

यस्तै समाजको कोलमा पेलिनेमध्ये एक हुन् लालजनी थरुनी ।

राप्तीको केन्द्र हो तुलसीपुर बजार । बजारदेखि ४ किलोमिटर तल छ जलौरा गाउँ । त्यही गाउँका जमिन्दार हुन् सुरेन्द्र साहु । उनी ठकुरी परिवारका हुन् तर उनलाई गाउँलेले चिन्ने नाम हो सुरेन्द्र साहु । उनका २ छोरा छन् ।

एउटा घर छ । घर सुन्दर छ । चिटिक्कको बगैंचा । घर भलादमी रङले सजाइएको छ । जान्ने सुन्नेहरु भन्छन् त्यही घरमा बार पनि छ रे । त्यहाँ रङ्गीचङ्गी बत्ती बल्छन् । त्यही रंगीन रङमा रङ्गिन्छन् परिवार र साथीभाइहरु ।

यतिबेलाको समाज धन हुनेहरुको हो । पैसा हुनेहरुको घर–घरमा कोठा–कोठामा झिलीमिली हुन्छ । सुरेन्द्र साहुको जस्तै । तर सुसभ्य मानिने सहरका कोठाचोटा हेर्दा जति उज्याला हुन्छन्, त्यसभित्रको पाटो अँध्यारो हुन्छ । उनीहरुको घरबाट निस्किने फोहर, उनीहरुको मन र व्यवहार एकै हुन्छ– डुङडुङ गन्हाउने ।

बाहिरबाट हेर्दा यो परिवार र घर सुन्दर छ । यहाँका मानिस र उनीहरुको कपडा, बाहिरी रबाफ अर्कै छ । तर फरक छ उनीहरुको व्यवहार । मन ।

यसै घरमा बस्छिन् लालजनी । यस घरमा आउने धेरैलाई यो घर र परिवारको सुन्दरता थाहा छ । यो घरको कुरुप कथा । कुरुप चरित्र भने लालजनीलाई मात्र थाहा छ ।

यो समाजले घृणा गरेको । अपहेलित, उपेक्षित भनेकी पात्र हुन् लालजनी थरुनी । उनी नदीजस्तै छिन् । उनको व्यवहार पवित्र बसन्ती हावाजस्तै छ– निष्कपट । मन ऐना जस्तै छ ।

हररात रंगीन घर । शरीरमा विभिन्न अत्तर । समाज त्यहीं अत्तर । घरको बाहिरी रंग र रवाफमा रनभुल्ल छ । अन्तर्यमा यो समाज पुग्दैन र पुग्न चाहदैन । यस्ता मानिसको गुदी थाहा पाए पनि सान–मान, इज्जत र आडम्बरको खोलले सबै ढाक्न खोज्छ समाज ।

लालजनी थरुनी जन्मले त्यस घरकी त हैनन् तर कर्मले उनी त्यस घरकी अभिन्न सदस्य हुन् । उनी त्यस घरको कम्पाउन्डमा त बस्छिन् । त्यो रङ्गीन घरमा प्रवेश पाउँछिन् तर त्यहाँको जुठो भाँडा लिन । फोहोर कपडा लिन ।

उनको बासस्थान छ त्यस घरको गाइगोठमा । जो त्यस घरका मानिसले मोटाउन दूध खान पालेका हुन् । बिहान उठ्नेबित्तिकै चिया पिउन । घ्यू खान । उनी पशु त होइनन् तर उनले खाने खाना र उनी बस्ने घर त्यहाँका पशुसरह नै हो । यो घरमा पुग्नेहरु उनकै त्यही कथा थाहा पाउँदैनन्, चाहदैन पनि यो समाज ।

उनी जन्मेको बर्धवा गाउँ हो । जहाँ थारु जातिको बाहुल्यता छ । कुनै समय त्यस ठाउँ बन्जर थियो । थारुहरुले नै त्यहाँको बन्जर जमिन उर्वर बनाए तर कागज (लालपूर्जा) आफ्नो नाममा बनाएनन् । एक मालमोत अधिकारीको नाममा छ त्यो मौजा । र, नजिकैको मौजा छ दाङका तत्कालीन अञ्चलाधिशको नाममा ।

लालजनी आठ वर्षको हुँदा सुरेन्द्र साहुको घरमा पुगेकी थिइन् । आफू जन्मदा लिएको बाबुको क्रण असुली गर्न उनीलाई उनका बाबुआमाले त्यहाँ पठाएका थिए । उनलाई राम्रो लुगा लाउने र मिठो खाना पाइने आशा देखाउँदै बुवा साउने थारुले त्यहाँ पु¥याएका थिए । उनको बाल मस्तिष्कमा थियो, ‘मिठो नाना लाउने र मिठो खाने घरमा म जाँदैछु ।’ त्यहाँको नारकीय जीवन र त्यस घरका मानिसको राक्षसी व्यवहार उनलाई थाहा थिएन ।

उनी एउटा फूल हुन् । फुल्न नपाई ओइलाएको फूल । कला नबुझ्ने बजारियाले दिशा पुछेर फालेको ढुंगो । तर उनलाई कालीगढले भेटाएको भए सुन्दर मूर्ति बनाउँथ्यो । तर उनको जीवन बगरमा पल्टिएको ढुंगोजस्तै भएको छ ।

उनलाई त्यहाँ पठाउँदा उनको मनमा जुन मिठो कल्पना थियो तर बाबा साउनेको मनमा भने नमिठो सम्झना थियो । जो उसको जेठी छोरीले भोगेकी थिई । दिदीले । श्रीमतिले । अरु–अरु थुप्रै थारु महिलाले भोगेका थिए ।

लालजनी त्यहाँ पुग्दा आकाशमा ताराहरु हाँसिरहेका थिए । (वास्तवमा रोइरहेका थिए) चराहरुले गीत गाएका थिए । उसलाई त्यो गीत सुन्दर लागेको थियो तर वास्तवमा चराहरुले विरह ओकलिरहेका थिए । चट्याङ परेको ठाउँमा फालो खोज्न हिड्ने ग्रामीण गोठालोजस्तै थियो उसको त्यो चाहना । उसका रहर नदी किनारमा बालुवाको महल बनाउने बालकहरुको रहरजस्तै थिए । तर जीवन बालुवा होइन । न त कसैले रहरले बनाएको खेलौना । उनी त खुला हरियाली चौरबाट तानिएर जोत्न लगिएकी गोरुजस्तै न हुन् ।

ऊ त्यही गोठमा हुर्किई जहाँ धेरै गाई बाच्छा हुर्केर बेचिइ सकिएका थिए । साहुका छोराहरु त्यही दूध, दही, घ्यू खाएर आफ्नो शरीर सुडौल बनाएका थिए । उनी त्यहाँबाट बेचिइनन् । त्यहाँका गाई र उनीमा त्यतिमात्र फरक थियो ।

उनको जवानीको रङ त्यहीबाट उड्यो । बालापन त उसँग कानेखुसी गर्न नपाई अलप भए । उनले सधै भाँडाको फोहोर फालिन् । खलोको गोबर फालिन् । त्यतिमात्र फालिनन्, फालिन् आफ्ना जीवनका सुन्दरतम बैंसहरु ।

एकदिनको कुरा हो । त्यो घरमा पार्टी थियो । पार्टीमा थिए सुरेन्द्र साहुका सारा आफन्त । उनीहरुका आफन्त र परिवार रक्सीसँग रमाए । झुमरको उज्यालो र बारको झिलीमिलिीमा नाचे । मध्यरातसम्म यस्तै चल्यो । अँध्यारो बढ्दै गयो । सबै सुते । उनको भने काम सुरु भयो । फोहर उठाउने । भाँडा माझ्ने ।

रात छिप्पिदै थियो । साहुको छोरा रक्सीको नमिठो गन्ध निकाल्दै बाहिर निस्कियो । रक्सी वाक्न थाल्यो । शान्ति थरुनी ऊ ढल्पलाएको देखेर उठाउन गइन् । उनको मनमा दया थियो । निर्दयी साहुको छोराको मनमा पाप पलायो । कलुषित भावना जाग्यो । उनले उसलाई सहारा दिएर कोठामा लग्न खोजिन् तर उसले ठेल्दै उनलाई उल्टो गोठतिर लग्यो ।

उनको मनमा डर जागेर आयो । उनी भाग्न खोजिन् । कहाँकी पशुसँग खाना खाने लालजनी कहाँको पशुको दूध दही खाएर हुिर्कएको साहुको छोरो ।

उनलाई गोठमा पु¥याएरै छाड्यो । उनको डर झन् बढ्दै गयो ।

फूल फक्रदा बास्ना हरहराएझैं उनको जवानी हरहराउँदो थियो । वनका लहराझैं कपाल लहराउँथ्यो । समुन्द्रको ज्वारजस्तै थियो जवानीको लहर पनि ।

साहुहरु लालजनीहरुको जवानी आफ्नो अधिकार सम्झन्छन् । आज पनि ऊ त्यही सोच्दैछ । लालजनीलाई साहुको छोराले गोठमा लगेर लडायो ।

भाग्न खोजिन् ।

सकिनन् ।

उम्कन खोजिन् ।

सकिनन् ।

चिच्याउन खोजिन् ।

घाँटी थिच्यो ।

कराउन पनि सकिनन् ।

उसले लालजनीलाई बेस्सरी अठ्यायो । उनको कौमार्य लुट्यो ।

उसले स्वर्गको अनुभव ग¥यो ।

उनले नर्कको ।

उसले जीवनको स्वाद पायो ।

उनले जीवनमा कहर पाइन् ।

ऊ लडबडाउँदै कोठातिर लाग्यो ।

जाने बेला भन्यो ‘कसैसँग भनिस् भने मारिदिन्छु ।’

उनी रातभरि सुतिनन् ।

त्यो कालो रात । हेर्दाहेर्दै एउटा सुन्दर फूल बुटले कुल्चियो । यसको सुन्दर जवानी कसैको प्यास मेटाउने सार्वजनिक धारो बन्यो । एउटा सुन्दर बिहान ग्रहण लागेर अन्धकारमा परिणत भयो । एउटा सिङ्गो संसारमा ग्र्रहण लाग्यो । एउटा बज्रपात प¥यो । जसरी उसका दिदीहरुले यो अवस्था भोगिसकेका थिए । त्यो वातावरण । मलामी बिदाइको शोकमग्न क्षणजस्तै बन्यो ।

दिन बढ्दै गए । उनको पेट पनि बढ्दै गयो । घरमा गाइगुई चल्न थाल्यो । बाबुको हो या छोराको ? यस अगाडिका दिनमा बाबुका पनि यस्तै धेरै कथा भएका थिए । बाबुका तर्फबाट पेट बोकाइएकी कति केटी त्यस घरबाट निकालिइएका थिए ।

एक र्मिमिरे साँझ । सुरेन्द्रको घरमा सभा बस्यो । गाउँको एक थारु युवा बोलाइयो । पच्चीस सय रुपैयाँ दिएर पेटको बच्चाको बाऊ उसैलाई तोकियो ।
०००

By

Readers Comments (0)