Filed Under:  मनोरञ्जन

चलचित्रमा रोल्पा | खेम बुढामगर

21st February 2015   ·   0 Comments

Khem_budhaRolpa film 2नेपाली राजनीतिक वृत्तमा सशस्त्र युद्धका कारण रोल्पा चर्चामा रहे पनि नेपाली सिने जगतका लागि टाढाको विषय नै रह्यो । ‘जनयुद्ध’ सम्बन्धी नेपाली चलचित्र बने तर, ती सबै रोल्पा बाहिर । दश वर्षे युद्धसम्बन्धी चलचित्र बन्दा होस् या युद्धसाहित्यमा रोल्पाका पात्र, लोकेसन, बिम्ब, बोल्ने शैली र कला समेटिएनन् भने ती अपूरा हुन्छन् ।

युद्धसम्बन्धी चलचित्र मात्र होइनन् अन्य नेपालीपनका चलचित्र निर्माणका लागि पनि रोल्पामा कयौं कथावस्तु छन् । यहाँ आफ्नै खाले कला, संस्कृति, मौलिक जीवनशैली, प्राकृतिक सौन्दर्यता, भाषा र कथावस्तु छन् । तर पनि नेपाली चलचित्रका पर्दामा ती शून्यप्रायः छन् । यो नेपाली सिने जगतका लागि दुर्भाग्य थियो र रोल्पालीका लागि पनि ।

बिदेशी चलचित्रको नक्कल गर्न घुँडा खुल्काउने तर नेपालकै सुन्दर भूभागमा रहेका कैयन् रचनात्मक कथावस्तु खोज्न नेपाली सिने जगत पछि परेकै छ । यसको अभाव पूर्तिको विकल्प नेपाली चलचित्रकर्मीमा रहेको मौजुदा सोचमा आउने बदलाव नै हो ।

तर, पछिल्लो समयमा नेपाली सिनेकर्मीको सोचमा बिस्तारै परिवर्तनको छनक देखिन थालेको छ । यसको एउटा सानो उदारहण, एक साता अघि नेपाली र विदेशी सिनेकर्मी रोल्पामा आउनु हो । अखिल नेपाल चलचित्रकर्मी संघको अगुवाईमा उनीहरु अलगधारका फिल्म निर्माणका लागि लोकेसन र विषयवस्तु खोज्न रोल्पा आए ।

संघका अध्यक्ष केपी पाठकले त्यसको नेतृत्व गरे । माघ २३ देखि फागुन १ गतेसम्म एक साता उनीहरु कार्यशालामै व्यस्त भए । नेपाली र बिदेशी सिनेकर्मी सहभागी रहेको अन्तर्राष्ट्रिय चलचित्र कार्यशालाले रोल्पालाई चिनाउन मद्दत पुग्यो । उनीहरुले उद्घाटनका दिन नेता, सरकारी तथा गैरसरकारी क्षेत्रका अगुवा, प्रतिनिधि, उद्योगी, पत्रकारलगायतबाट औपचारिक र अनौपचारिक रुपमा रोल्पालाई चियाउने कोशिस गरे ।

Rolpa film 1‘नयाँ विषयवस्तु र नयाँ लोकेसनका लागि रोल्पामा आएका सबै चलचित्रकर्मी खुशीले फुरुङ भए ।’ संघका अध्यक्ष पाठकले प्रतिक्रिया दिए । काठमाडौं केन्द्रित भएर निर्माण गरिने फिल्म मौलिक र समाजलाई मार्ग प्रशस्त गर्ने खालको नहुने गरेको आरोप खेपिरहेका बेला ‘वैकल्पिक चलचित्र निर्माण’ अभियानका लागि रोल्पामा कार्यशाला हुनु सुखद नै हो ।

कार्यशालामा नेपाली सिने क्षेत्रका कथा, पटकथा लेखक, क्यामेरा पर्सन, निर्देशकहरु गरी साठी बढीको जमघट रहेको थियो । कार्यशालालाई सहजीकरण गर्नका लागि भारतीय चलचित्र निर्देशक शेखर दास, भारत केरलाका सिने फोटोग्राफर सन्नी जोसेफ र इजिप्टको कायरोका पटकथाकार, फिल्म सम्पादक तथा प्राध्यापक सफा अलाइसी ह्याक, नेपाली फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा समेत आएका थिए ।

पहिलो दिन चलचित्रकर्मीले रोल्पा जिल्लाको चिनारीसम्बन्धी डकुमेन्ट्री हेरेका थिए । कार्यशालाका ४ दिन नेपाली र बिदेशी छानिएका फिल्मको विश्लेषण, फिल्म क्षेत्रका लागि वैकल्पिक कथावस्तु र रोल्पामा छोटा चलचित्र निर्माणबारे छलफल केन्द्रित रह्यो । फोटो फ्रेमिङ, कथावस्तु प्रस्तुतिशैली लगायतका छलफल निकै रोचक रहे ।

ghodagaunकार्यशालामा सहभागी चलचित्रकर्मीको ६ वटा समूह रोल्पाको गाउँसम्म पुग्यो । लोकेसन र कथावस्तु खोज्दै उनीहरु कोर्चाबाङ, घोडागाउँ, गुरुङगाउँ, मेबाङ र माडीचौर पुगे । गाउँमा जाँदा गाउँलेले स्थानीय कला, संस्कृति, झाँकीले न्यानो स्वागत गरे । ६ समूहले गाउँमै कथालेखन, पात्र चयन र छायाँङ्कन गरे । दुइदिनसम्म गाउँमै अहोरात्र खटिएका उनीहरुले छोटा फिल्म तयार गरे । सदरमुकाम लिबाङ फर्किएपछि इडिटिङ/मिक्सिङ गर्दै रातभर तल्लीन रहे ।

सुन्दर नगरी सदरमुकाम लिबाङमा अन्तिम दिन अर्थात् फागुन १ गते रोल्पामै निर्माण गरिएका आधा दर्जन लघु चलचित्र प्रदर्शन गरियो । चलचित्रकर्मी, पत्रकार, सर्वसाधारण, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, राजनीतिक पार्टीका नेताहरुले लघु फिल्म हेरे । एमाओवादीका महासचिव एवं पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरासमेत सहभागी भए ।

रोल्पामै तयार पारिएका फिल्मले दर्शकलाई लोभ्याए । प्रत्येक समूहले तयार गरेको चलचित्रलाई प्रतिस्पर्धाका रुपमा प्रदर्शन गरियो । प्रतिस्पर्धामा वेइटिङ, रोमान्स इन रोल्पा, अन्तिम, दिलसरा, पोतारी र टीका लघु चलचित्र प्रदर्शन गरियो । प्रतिस्पर्धामा रहेका चलचित्रको मूल्यांकन भारतीय चलचित्र निर्देशक शेखर दास, इजिप्टको कायरोका पटकथाकार, फिल्म सम्पादक तथा प्राध्यापक सफा अलाइसी ह्याक, नेपाली फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा, चलचित्र निर्देशक केपी पाठक र ओम प्रतिकले गरे । प्रतिस्पर्धामा ‘रोमान्स इन रोल्पा’ चलचित्र उत्कृष्ट भयो । उत्कृष्ट चलचित्रलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

रोमान्स इन रोल्पा माडीचौरका ७० वर्ष नाघेका लालबहादुर बुढामगर र आसरा बुढाममगरको जीवनशैलीमा आधारित रहेको छ । बूढ्यौली उमेरमा पनि उनीहरुले गरिरहेको जीवन संघर्षलाई चलचित्रमा देखाइएको छ । कोर्चाबाङमा छायांकन गरिएको ‘अन्तिम’ चलचित्रमा युद्धमा सहभागी पतिको लडाईमा मृत्यु भएकै दिन घरमा सुत्केरी हुँदा पत्नीको पनि अत्यधिक रक्तश्राव भई देहावसान भएको मार्मिक कथावस्तु समेटिएको छ । प्रतिस्पर्धामा रहेका अन्य चलचित्रले विवाहपश्चात् परदेशिएकाको प्रतीक्षा, मेहनतजस्ता विषयवस्तु समेटिएका थिए ।

अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा सम्पन्न साताव्यापी कार्यशालाले चलचित्रकर्मीलाई रोल्पा चिन्न सजिलो बनायो । लामा चलचित्र निर्माण गरी रोल्पाको कला, संस्कृति एकसाथ देशभर देखाउन सकिने निर्देशक शर्माले प्रतिक्रिया दिए । चलचित्रका लागि रोल्पा उपयुक्त गन्तव्य बन्ने विश्वास उनमा आएको छ ।

चेतन कुवँरको संयोजकत्वमा स्थानीय व्यवस्थापन समितिले निकै मेहनत गरेको थियो कार्यशाला सम्पन्न गर्नका लागि । कार्यशाला अबधिभरका बेलुका सिनेमा हल नभएको रोल्पाको सदरमुकाम लिबाङको खुलामञ्चमा चर्चित नेपाली चलचित्र प्रदर्शन गरियो । जसमा दर्शकको निकै घुँइचो लागेको थियो । निःशुल्क प्रदर्शित झोला, सहिद, परिवर्तनलगायतका चलचित्रले रोल्पालीलाई निकै लोभ्यायो ।

चलचित्रमय बनेको लिबाङमा फागुन १ गते खुलामञ्चमै विधिवत रुपमा कार्यशाला समापन भयो । समापन समारोहमा उत्कृष्ट चलचित्रलाई नगद २५ हजारले पुरस्कृत गरिएको थियो । सहजकर्ता शेखर, सफा अलाइसी, शर्मालाई सम्मान र स्थानीय व्यवस्थापन समूह/व्यक्तिलाई प्रशंसित गरेको थियो संघले ।

समापन समारोहमा भारतीय चलचित्र निर्देशक दासले रोल्पा निकै सुन्दर रहेको प्रतिक्रिया दिए । त्यस्तै इजिप्टका सफा अलाइसीले नेपाली चलचित्र उद्योगले नयाँ फड्को मार्ने विश्वास व्यक्त गरिन् । नेपाली चलचित्र निर्देशक शर्माले भारतीय चलचित्रको नक्कल गर्नु दुर्भाग्य भन्दै रोल्पाजस्तै नेपालका दुर्गम गाउँमा प्रशस्त कथावस्तु रहेको खुलाए ।

एमाओवादीका महासचिव एवं पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरा समापनमा पनि प्रमुख अतिथि रहेका थिए । रोल्पामा आएर नयाँ–नयाँ कथावस्तुमा चलचित्र निर्माण गर्न सकेकोमा महराले खुशी व्यक्त गरे ।

एकसाता रोल्पा चलचित्रमय बन्यो । चलचित्रकर्मीलाई रोल्पामा कथावस्तु, लोकेसन र संस्कृतिको अध्ययन गर्नमा धेरथोर सहयोग पुगेकै छ । लामा चलचित्रका लागि उनीहरु रोल्पा आउन सके भने अझ यसको पुष्टि हुनेछ । नेपाली चलचित्रकर्मीका लागि रोल्पा उपयुक्त गन्तव्य बनोस्, शुभकामना ।

By

Readers Comments (0)