Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुङ्ग्री | २०७१ फागुन ९

21st February 2015   ·   0 Comments

फुचुंग्री : हाम्रा राजनीतिक दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्रसँग “गोप्य सहमति” गरेको र त्यसलाई पालना नगरेको आरोप लगाएछन् । दलहरुले चाहिं “कुनै सहमति भएको छैन” भन्न थालेछन् । भनेपछि दोहोरी त अब त्यता पो सुरु भो नि ?

काका : त्यै त भन्या फुच्ची ! हुँदा–हुँदा त अब पूर्वराजासँग भएको “गोप्य सहमति”को पो कुरो आउन थाल्यो । हामीले देश चलाउन सक्ने छैनौं, केही वर्षपछि यतै फर्काइदिउँला भन्ने सहमति पो गरेका थिए कि ? यत्रो वर्ष संविधान नबनाएपछि शंका गर्न त पाइयो त क्यारे । कि कसो ?

फुचुंग्री : हाम्रा केपी शर्मा ओली अंकलले त केही महिनाभित्रै संविधान ल्याएर देखाइदिने पो भनेछन् । बूढाले साँच्चै भनेका होलान् त ?

काका : “झिलीमिली झिलीमिली फुई खाजा” भन्ने केटाकेटीका खेल थाहा छ कि छैन ? तेरा नेता अंकलहरुले भनेर हुने भए त उहिल्यै संविधान ल्याइसक्थे । कुरा ग¥यो कुरैको दुःख भन्याजस्तो के ।

फुचुंग्री : अनि हाम्रा एमाओवादी अङ्कलहरुले संविधानसभाको माताचाहिं आफैलाई भन्नुहुन्छ । तर, संविधान बनाउने प्रक्रियामा जाँदाचाहिं विरोध, नाराबाजी र तोडफोडमा उत्रनुहुन्छ । अनि, संविधानसभा छोडेर जिल्लातिर पो घुमिराख्नु भा’को छ ए काका ?

काका : त्यै त हो नि फुच्ची । आफूले भनेको कुरा हुन्जेल “आमा” पनि आफै “बाउ” पनि आफै । आफूले भनेको नभएपछि क्यै पनि होइन रे । यस्तै छ फुच्ची नेपालको चलन । कसलाई के भन्नु र ?

फुचुंग्री : अनि हाम्रा खुमबहादुर खड्का अंकल पनि आजभोलि दाङतिर आएर अलि अलि खङ गर्न थाल्नु भाछ रे नि ? हराएका बूढा, कहाँबाट झुलुक्क देखिन्छन् हँ ?

काका : उफ !!! के–के सोध्छे यो फुचुंग्री पनि !!!???

By

Readers Comments (0)