Filed Under:  संस्मरण | निबन्ध, सौगात विशेष

फिलिम | लेनिन बञ्जाडे

21st February 2015   ·   0 Comments

Lenin_banjade“बसन्ते, एक…एक…एक ही रास्ता लाग्यो ।”

दौडिदै आएको रमेशले एकाएक गाउँ थर्कायो । एक हप्तादेखि ‘चित्रहार’मा अजय देवगण र रविना टन्डन छमछमी नाचेको देखिरहँदा हामीलाई वाक्क लागिसकेको थियो । ‘फूल और काँटे’ आएदेखि रमेश र मेरो मनमा सानोतिनो हुन्डरी ल्याएको थियो अजयले । नयाँ वर्ष र दसैंका शुभकामना कार्डमा अजयले बन्दुक भिरेका पोस्टकार्डले सहर पिटेको थियो । रमेश र म त्यसका डाइहार्ड फ्यान ।

“विद्यानाश ?”

“आम्मापोइ हो, कस्सोनाले छिरिसक्या थें, यस्का बाउ गजवीरले देख्यो, हिँत्तिन समातेर पर्छायो,” दायाँतिर कन्सिरी देखाउँदै भन्यो ।

दाहिने हात मुठी पारेर दायाँ करङ छेउनेरैबाट कुहिनो पछाडि हुत्ताएँ, “या ऽऽऽ ।”

“पैसा छ ? मसँग त २ रुप्पेमात्रै छ, हाप्ट्यामबाट छिर्छु । तँ नि ?”

मेरो लागि सर्वाधिक उल्लासमय खबर सुनाउन रेलझैं कुदेर आएको रमेश त्यसपछि ओइलायो । ऊसँग पैसा थिएन ।

“तँ जा, म ढोकामा आउँछु । ढोक्कैमा बसेस् नि, फेरि माटो हाल्देलान् चोरहरूले ।”

“ल ल । बरु तैंले भेली ल्याएर आएस्, फर्किंदा चिउरासँग खानुपर्छ ।”

०००

filim-posterघोराहीको बीच सहरमा थियो राप्ती हल– ‘पुरानी हवेली’को बंगलाजस्तो । हलबाहिर दुबैतिर गन्हाउने नालीको गन्धले फिल्म हेर्न जानेहरू पनि सराप लिएर आएजस्तो गर्थे । त्यसमाथि हलभित्रबाट आउने पिसाबको कुलोले वरपर कसैलाई कहिल्यै पिनास लाग्दैनथ्यो ।

हलको ढोकैमा टिकट जाँच्न गजवीर (चौधरी) बसेको हुन्थ्यो । ज्यान फर्सीजस्तो थियो, डल्लै न डल्लो । हामीलाई छेउमा कतै देख्यो भने उसका नजर टिकटतिर भन्दा हामीतिर बढी हुन्थे । उसलाई छक्काएर कैयन् पटक गेटभित्र छिरेका थियौं । स्टिलको टर्च लाइट बालेर उसले हलभित्र धुइँधुइँती हामीजस्ता घुसपैठहरूलाई खोज्थ्यो र भेटाउँदा ट्वाइलेटमा लगेर थुन्दिन्थ्यो । तर, हलभित्र पनि हाम्रा स–साना ग्याङ हुन्थे, कोही ट्वाइलेटमा थुनियो भने पिसाब फेर्न निस्केको बहानामा ढोका खोल्दिने अनि आँखा छल्दै लुसुक्क भित्र छिर्ने । कतिपटक त्यसरी छिर्दा गजवीरले देख्थ्यो र टर्च लिएर हलभरि खोज्थ्यो । हामी सिटमुनि लुकेर उसलाई छल्थ्यौं । सिटमुनि लुक्दाको सकस भने अत्यासलाग्दो हुन्थ्यो ।

बाल्कोनीबाहेक हलका सबै सिट काठका थिए, बसिरहँदा टट्टाउँथ्यो । त्यसमाथि चुइँगम चेप्टिने डर! यो काममा पनि हामी सिद्धहस्त थियौं । एकपटक चुइँगम टाँस्दाटाँस्दै म रंगेहात फेला परेपछि गजवीरले गालामा सुम्ला उठाउँदै नयाँ नियम लगाइदिएको थियो– हलवरिपरि चुइँगम चपाउन बन्द । बाहिर चुइँगम चपाउँदै घुमेको देख्यो भने पनि ऊ लखेटीलखेटी कुट्थ्यो ।

पछि हामी बस्ने सिटमा पनि चुइँगम चेप्टिन थाले । चुइँगम आतंक स्पेसलमा बढी थियो, जहाँ बाल्कोनीभन्दा गरिब र प्रथम श्रेणीभन्दा धनी मान्छे बस्थे । तर, १० रुप्पे तिरेर स्पेसल टिकट काट्नेहरुको ‘इमेज’ भने गतिलो थिएन । रमेश भन्थ्यो– स्पेसलको कुनामा अनेकखालका गतिविधि हुन्थे रे ! कतिपटक त ऊ मलाई एक्लै छाडेर स्पेसलको कुनातिर लुक्न जान्थ्यो अनि रातोपिरो भएर फर्किन्थ्यो ।

रमेशलाई जन्म दिने आमा थिइनन्, त्यसैले ऊ दिदी पार्वती र कान्छी आमा (घैंटे दिदी)सँग बस्थ्यो । डल्ली भएकीले हामी घैंटे दिदी भन्थ्यौं । रमेशले उनीबाट आमाको माया अनुभव कहिल्यै गर्न पाएन । दिदीको प्यारो त थियो तर कहिलेकाहीं आमाको कुरा सुनेर उसले पनि लुछेर भकुर्थी । कारण थियो– रमेशको गोली (गुच्चा) खेल्ने अद्भूत बानी, जसको गुरू म थिएँ ।

उमेरले ११ वर्षका हामी दुवै गोलीका नामुद सुपरस्टार थियौं गाउँभरि । हामी अरु–अरुसँग भिड्थ्यौं, जित्थ्यौं र फेरि उनैहरूलाई बेच्थ्यौं । गोली जित्नुको अन्तिम उद्देश्य हुन्थ्यो– राप्ती हलमा गएर ४ रुप्पेको प्रथम श्रेणी टिकट किन्नु । २ रुप्पे भयो भने गजवीरलाई फकाएर हाफटाइमबाट छिर्न पाइन्थ्यो । अर्काे पटक २ रूप्पे हुँदा हाफटाइसम्म हेर्ने प्रबन्ध मिलाउँथ्यो गजवीर ।

वरपरका साथीहरू हामीसँग गोली खेल्न कहिल्यै अघि सरेनन् । उनीहरू बुझ्थे– रमेश र मेरो गाउँभरि हैकम चल्छ । तर, हामीसँग कोही नखेलेपछि आम्दानीको बाटै सुक्थ्यो, त्यसैले अरु गाउँ चहाथ्र्यौं र जितेर फर्किन्थ्यौं । जितेको पैसा रमेशले बढीजसो खाजा खानमा खर्चिन्थ्यो, म फिलिम हेर्न । घैंटे दिदीले हप्तामा चार दिनजसो उसलाई खानै नदिएर घरबाट लखेट्थिन् ।

घैंटे दिदीले रमेशलाई हेला गरेको देखेर मेरा कन्सिरी तात्थे ! एकदिन रिसैरिसमा भनें, “ए रमेश, तेरी आमाको भुँडीमा एउटा टुटी झुन्डाइदिम् न, बुढीले लास्टै खिसखिस गरी । कराई भने घैंटोको टुटी बन्द गर्दिम्ला ।”

यसपछि रमेश मसँग तीन दिन बोलेन । उसले आमालाई माया गरेर हो या मैले होच्याएको ठानेर, दुःख मानेछ । ती तीन दिन उसका र मेरा लागि सग्ला तीन जुनी बराबर थिए ।

बोल्नै परे ‘आलुभान्टा’ भन्ने चलन थियो । हामीमध्ये कसैले पनि पहिले एक–अर्कालाई बोलाउन सकेनौं । साथीहरूले बोलाउन कर गरिदिए पनि हुन्थ्यो झैं लाग्थ्यो । र, उनीहरूले पनि कहिलेकाहीं कर गरिदिन्थे अनि हामी पालैपालो नामका अगाडिका अक्षर भन्थ्यौं ।

म भन्थें, “र”

रमेश भन्थ्यो, “ब”

सबै अक्षर सकेर म भन्थें, “रमेश”

रमेश भन्थ्यो, “बसन्ते”

अनि दुइटैको नाम काढेर हामी बोल्थ्यौं ।

घरबाट लखेटिनेमा म रमेशभन्दा तीनगुणा अघि थिएँ । सिंगो खानदानमै मजत्तिको चोर अरु थिएन । गाउँका सर्वाधिक लठ्ठक गोलीबाज र चोरमा म सधैं टप फाइभमा रहें । रमेश पनि सूचीबाट कहिल्यै बाहिरिएन । घरका जुन कुनामा पैसा लुकाए पनि म भेट्टाउँथें र खुसुक्क बारीका डल्लामा चेप्थें । कहाँनेर कुन डल्लामा कति पैसा छ, मलाई कण्ठ हुन्थ्यो । बिहान टुसुक्क बस्ने बहानामा पैसाको सघन अनुगमन गर्थें । हाफपाइन्टको इन्टरलक उधारेर भित्र पैसा कोच्थें । नांगै पारेर खोज्थे तर अहँ कसैले कहिल्यै भेटाएनन् ।

यताउति गरेर पैसा जम्मा भयो भने १२–३ शो हेर्न जान्थें । बेलुकीको सो जाँदा घरमा प्रष्ट शंका हुन्थ्यो र आमाले बाँसमा बाँध्थिन् । ४ बजेभन्दा ढिलो घर फर्किएँ भने आमाले सिधै डल्ला समातेर गाली गर्दै गाउँको पुछारसम्म लखेट्थिन्, “यस्लाई दैवले चुँड्नी, पखेस् भरे आउलास् । तेरा खुट्टामा सुम्ला उठाइनँ भने तेरी आमा हैन ।”

म खुरुरुरु दौडिन्थें, आमाले निसाना लगाउँथिन् ।

अनि कम्मरभन्दा मुन्तिरको भाग अलि उठाएर भन्थें, “इस् आउँछु ।”

कहिलेकाहीं रमेश र म सँगसँगै भागिरहेका हुन्थ्यौं, दुइटी आमाहरु डल्लाले हामीलाई चहारिरहेका हुन्थे ।

आमाको दायाँ गालामा पोलेको टाटो थियो । जतिखेर पनि डल्लाले चहार्दा म रिसले भावन्नै हुन्थें र आमालाई चिच्याएर ‘टाटे’ भन्थें । आमा तरर आँसु झारेर फर्किन्थिन् अनि म पीरले काल्लिन्थें र तरक्क आँसु झार्थें ।

“सब यस्का बाउले बिगारेका हुन्, यौटो फिलिमि फेरिन नहुनी !”

हो, मलाई बुवाले बिगार्नुभएको थियो ।

राप्ती हलभन्दा दक्षिणतिर ५० मिटरको दूरीमा हाम्रो फेन्सी पसल थियो । बुवा बिहान पाँचै बजे पसल जानुहुन्थ्यो र बेलुकी ८ बजेतिर फर्किनुहुन्थ्यो । नेपाली फिल्म सकेसम्म नछुटाउने भएकाले बुवासँग मेरो जम्थ्यो ।

“भागेर हेरिस् भने मर्छस्, मै लान्छु तँलाई हेराउन,” बुवाले धेरै पटक चेतावनी दिनुभएको थियो, “हिन्दी फिलिम हेर्न हुन्न, केटाकेटी बिग्रिन्छन् । फेरि बोलेको पनि सप्पै बुझिन्न ।”

मैले स्वीकृतिमा मुन्टो हल्लाउँथें र बुवालाई छिटो पिसाब लागिदिए हुन्थ्यो भन्दै कामना गर्थें । कहिलेकाहीं कामना लाग्थ्यो पनि, पसल मलाई छाडेर बुवा ट्वाइलेट जानुहुन्थ्यो । उहाँ नफर्किंदै गल्लाबाट १० को नोट घटिसकेको हुन्थ्यो । बुवा फर्किंदा म कुचो लिएर बढारेको जस्तो गर्दिन्थें ।

पैसा झिकेकै दिन स्कुलबाट फर्किंदा बाटामा रिक्सा भट्याउँदै थियो, “तपाईंको आफ्नै गणेश चलचित्र मन्दिरमा अपार भीडका साथ चलिरहेछ, राजेश हमालको सुपरहिट नेपाली कथानक चलचित्र ‘अधिकाककक रककक ।”

वाह, क्या गजब ! मनभित्र पुलुक्क गुबारा फुल्यो, कानमा चरा चिरबिर चिरबिर गरे । राजेश हमालको नाम सुन्नेबित्तिकै मनमा हलचल आइसकेको थियो । ‘युगदेखि युगसम्म’मा मरेको मान्छे ‘अधिकार’मा आउँदै थियो, अर्की हिरूनीसँग । रिक्साले पूरा बजार फन्को लगायो तर अहँ बुवाको कानसम्म पुगेन ।

दौडिएर पसलअघिको बेन्चमा बसें । लुगा फेर्न गइनँ, फर्किंदा १ घण्टा बितिसक्थ्यो । अनेक मान्छे आए, लुगा किने, गफ गरे अनि गए । मेरा आँखा भने पसलको घडीमै अडिएका थिए टक्क– जसरी चिलले आकाशबाट जमिनमा सिकार हेर्छ । बुवा घरिघरि मलाई पुलुक्क हेर्नुहुन्थ्यो, म घोसेमुन्टो लगाउँथें । ५ बज्दै साढे ५ भयो अनि सुइँ पौने ६ मा गएर अडियो । मेरो मुटु जोडजोडले धड्कियो । सोचें– पसलमा कोही मान्छे नआइदिए हुन्थ्यो, बजार सुनसान भइदिए हुन्थ्यो, लाइन गइदिए हुन्थ्यो । मिनेटको सुइँ ५० बाट ५५ मा जाँदा पनि अहँ, बुवा डेग चल्नुभएन । सुइँ ५८ मा गएर अडिएपछि बुवाले एकाएक भन्नुभयो, “हिन् ।”

बुवाले सटर झार्नुभयो, मेरो मन उघ्रियो । मुटु एकपटक जोडले धड्किएर बिस्तारै धीमा भयो, बजारका सबै मान्छे हँसिला लागे, संसार कति सुखी छ जस्तो लाग्यो । बुवाले १५ रुप्पेमा बाल्कोनीको एउटा टिकट किन्नुभयो, म काखमा टुसुक्क बसें ।

“अबदेखि पैसा चोरिस् भने बाल्कुनीमा कहिल्यै हेराउन्न बुझिस् ?” पर्दामा राजेश हमाल देखिनुअघि बुवाले भन्नुभयो, “खै दिउँसोको पैसा ले त फेन्टा किनम् ।”

लाजले भुतुक्क भएँ, बोल्नै सकिनँ । हाफपाइन्टको इन्टरलकभित्र गुटमुटाएर राखेको १० को नोट दिएँ र मनमनै प्रतीज्ञा गरें– अब पैसा कहिल्यै चोर्दिनँ र मज्जाले पढ्छु अनि पास हुन्छु । मेरो प्रतीज्ञा लामो समयसम्म कायम रह्यो, १४ घण्टासम्म ।

तर, बुवाले त्यसरी बिगार्नुअघि पनि म फिल्म हेर्थें ।

(४ वर्षअघि)

“बसन्ते ह्याँ आ !” एकदिन सबेरै बुवाले हकारेर बोलाउनुभो ।

“५ रुप्पे काँ हालिस् ? चुपचाप भन्ने भए भन् नत्र तेरो खैरेत छैन ।” एकाएक बुवाले यसो भन्दा मेरा नौनाडी गले, मुटु छालै छेड्ने गरी धड्कियो । घोसेमुन्टो लगाएर भनें,

“कुन्नि तो, मलै के था ?”

दिनभरि होटलमा चिया–समोसा बेचेर स्टिलको सानो बाकसमा गनेर बुवाले २५ वटा ५ का नोटको गड्डी राख्नुभएको थियो, अर्काेदिन बिहान २४ वटामात्रै थिए ।

“झुठ बोल्छस् ? मलाई था छैन भन्ने मानिस् ?” बुवाले कन्चटका रौं तान्नुभो, “खुरुक्क भन्, नत्र जिविसको ट्वाइलेटमै बास हुन्छ तेरो आज ।”

जिविसको ट्वाइलेट भन्नेबित्तिकै म फेरि भीरबाट खसेजस्तो भएँ । डुङडुङ्ती गन्हाउने ट्वाइलेटमा ५ मिनेट बस्नु पनि कुरुक्षेत्र जितेजस्तो हुन्थ्यो, म कसरी टिक्नु ?

“मैले लगेको हैन के !” मैले यत्ति भनें, बुवाले समातेर सरासर जिविसको ट्वाइलेट लगेर थुनिदिनुभो । बिहान सबेरै भएकाले मलाई ट्वाइलेटबाट उम्किन कम्तीमा ४–५ घण्टा लाग्थ्यो । १ घण्टा बसिसकेपछि थाम्न सकिनँ, के गरुँ कसो गरुँ भयो । सिलिङतिर भेन्टिलेसन देखें । फ्लसमाथि टेकें र भेन्टिलेसनबाट निस्किएर सरासर स्कुल गएँ । त्यसदिन मेरो २ कक्षाको नेपाली परीक्षा थियो । ९ बजेतिर मलाई ट्वाइलेटमा नदेखेपछि सबैले सबैतिर खोजेछन् । म जानसक्ने सम्भावित ठाउँमा म कतै थिइनँ । अनि एकाएक हल्ला फैलिएछ–

“बसन्ते त भाग्यो रे !”

“बसन्ते रुँदै गएको मैले देखेको हुँ ।”

तर, दिउँसो म परीक्षा दिएर लुरुलुरु फर्किएँ । हराएको छोरो एकाएक फर्किंदा बुवा बोल्नै सक्नुभएन । मैले घोसेमुन्टो लगाएर सुँक्कसुँक्क गर्दै भनें, “अन्याय फिलिम हेरेको हुम्, अब चोर्दिनँ ।”

बुवा धेरै बेरसम्म बोल्नुभएन ।

०००

नामुद चोर भएकोले जतिखेर पनि मलाई घरभित्र पस्ने अनुमति थिएन, म गोली खेलेर दिनभरि रमाउँथें । बेलुकी बुवासँग आमाले लाइने लगाएको सुन्थें, “हेर्दाहेर्दै बसन्ते काम नलाग्ने भो !”

एकदिन सुनें, “बसन्तेलाई अब बोर्डिङमा हाल्दिऊँ, यत्तिकै छाडिम् भने त सर्वस्व हुन्छ ।”

एकमन खुसीले हुरुक्क भएँ । म पनि चाहन्थें बोर्डिङ पढूँ र टाई लगाएर स्कुल जाऊँ । छरछिमेकका साथीहरू बुट्टेदार टाई लगाएर ब्याग बोकेको देख्दा मलाई औधि डाह हुन्थ्यो । भाइ त पहिलेदेखि नै बोर्डिङ जान्थ्यो, अब दिदी र मलाई पनि हाल्ने कुरा चल्दै थियो । कुरा चलेनमात्रै, बोर्डिङमा भर्ना भयौं पनि ।

तर, गोली खेल्ने र चोर्ने बानी छुटेन । आमा र बुवाको नजरमा म कुलंघार, गोलीबाज र हुल्याहा थिएँ । यो विशेषण मेरो टाउकोमा सधैं झुन्डिरह्यो ।

एकदिन दिदीको खुत्रुके रित्तो भेटियो । घरमा हल्लाखल्ली भयो । हिसाब गर्दा ५ सय जति रहेछ खुत्रुकेमा । एउटा ५ रुप्पेको च्यातिएको नोटबाहेक त्यो खुत्रुके सर्वांग नांगो थियो । भाइ सानो भएकोले उसलाई कसैले शंका गरेन, बाआमाले चोर्ने कुरा भएन, खुत्रुकी दिदीकै भइहाल्यो । अन्तिम शंका ममाथि आएर टक्क अडियो ।

“बसन्ते ह्याँ आ !” आमाले चिच्याएर बोलाउनुभो । म लुरुलुरु गएँ ।

“यो भुर्कीको पैसा काँ हालिस् ? खुरुक्क भन् नत्र तेरा हड्डी भाँच्छु ।” शरीरभरि काँडा उम्रिए, मुटु जोडजोडले धड्कियो ।

“मलाई के था, मुसाले लग्यो होला । ऊ त्यत्रो भ्वाङ छ त !” मैले बचाउ गरें, “पैसा लगे पनि त्यत्रो ५ सय लग्छु क्या हो मैले ? जहिले नि मलाई मात्रै देख्नी !” मैले निन्याउरो मुख लगाएँ ।

आमाले खुत्रुकेतिर हेर्नुभो, त्यसमा २ इन्चजत्रो भ्वाङ थियो ।

“त्याँ हेर्नुस् न, नोट पनि धुजाधुजा भा’छ, मुसाले नै टुक्रा पारेको हो,” मैले अझै जोड दिएँ ।

आमालाई पनि हो न हो मुसाले नै लगेको जस्तो लाग्यो ।

त्यो खुत्रुकेको पैसाले मैले ‘आँधीबेहरी’, ‘आँखें’, ‘दिल है बेताब’, ‘डर’, ‘बाजीगर’, ‘दामिनी’, ‘अनारी’, ‘गर्दिस’, ‘लुटेरे’, ‘खलनायक’ जस्ता हिट फिल्म भ्याइसकेको थिएँ । पैसा हराएपछि पहिलो निसाना मै बन्छु भन्ने पक्का थियो, मुसाले फुटाएजस्तो गरेर ५ रुप्पेको नोट धुजाधुजा पारेको थिएँ । आमा र दिदीले कहिल्यै भेउ पाएनन् । त्यसपछिका वर्षमा यस्ता दुईवटा अरु खुत्रुके फुटे, आमा र दिदीले मुसालाई सरापिरहे ।

०००
तर, ‘एक ही रास्ता’ लागेको दिन रमेश र मसँग पैसा थिएन । आमाले बिहानै भकुरेपछि ऊ भात पनि नखाएर स्कुल गएको थियो । फर्किंदा राप्ती हलमा बडेमानको पोस्टर देखेर छिर्न खोजेको रहेछ, गजवीरले कन्सिरी तानेर हुत्याइदिएछ ।

“ऐया, मा¥यो कुकुर्नीको छोरोले,” हलभित्र अजय देवगनको सेकेन्ड फाइट चलिरहँदा रमेश एक्कासि चिच्यायो । एकमाथि अर्काे खप्टिएर ढोकाबाट हेरिरहेका सबै हुत्तिए । रमेशभन्दा माथि अरु दुईजना थिए, त्यसपछि म । सबै उछुट्टिँदा म बुंग भुईंमा लडें ।

देब्रे आँखा छोपेर रमेश जोडले करायो, “तेरा बाउको के खाइदया छम् र माटो हाल्छस् ए भोषडी ? तँ पुर्ने त होस्, पख् न साले, आम्मापोइ छाड्दिनँ ।”

मेरो २ रुप्पेले एकजनाको पनि पूरा टिकट आउँदैनथ्यो । मलाई हाफटाइमपछि एक्लै आधा हेर्ने मन लागेन, त्यसैले सल्लाह गरेर दुवैजनाले ढोकाको चरबाट सुरुदेखि हेर्ने निधो गरेका थियौं । हलको उत्तरतिर नालीछेउमा रहेको ढोकाको ३ इन्चजति चरबाट हामीले यसैगरी लगभग ५० वटा फिलिम पूरै भ्याइसकेका थियौं । फाइट र गीतमात्रैको हिसाब गर्ने हो भने सयौं थियो । प्रत्येक सिन र डाइलग कण्ठ हुन्थे । चरबाट हेर्ने ठाउँ नभएको बेला त्यत्तिकै उभिएर हिरोसँगसँगै डाइलग बोल्थ्यौं ।

तर, हरेक पटकका हेराइ कष्टपूर्ण भए । एकमाथि अर्काे खप्टिएर हेर्दा सबैभन्दा मुनि थिच्चिनेको हविगत हेर्नलायकको हुन्थ्यो । त्यसमाथि अर्काे आतंक थियो– माटो । टिकट काटेर भित्र छिर्नेहरूले चरबाट हेर्नेको आँखामा माटो हाल्नु बहादुरी र गर्नैपर्ने नियमित रुटिनजस्तै थियो । सानो चरबाट आधा पर्दामा आधा सिन हेर्दा कतिखेर झ्याप्प आँखामा माटो पथ्र्याे र एकछिन संसार अँध्यारो हुन्थ्यो, वरिपरिका मान्छे धमिला देखिन्थे । त्यसपछि भयंकर र डरलाग्दा गालीको वर्षात् हुन्थ्यो । तर, जब टिकट किनेर छिथ्र्यौं, हामी पनि त्यसैगरी माटो हाल्दिन्थ्यौं र त्यस्तै डरलाग्दा गाली खान्थ्यौं ।

“कुक्कुरहरू !” रमेशले आँखा खोल्नै सकेको थिएन, एकजनाले नालीछेउ ड्रममा राखेको पानी ल्याएर छ्यापिदियो ।

“भो नकरा, त्यो पुर्नेलाई भोलि यै नालीमा पुर्नुपर्छ,” मैले ढाडस दिँदै भनें ।

“भोलि हैन, अहिले निस्किएला नि ३ बजे १ पख् न !”

रमेशले पुर्नेलाई नछोड्ने अड्डी लियो । मलाई भने मनमनै डर लाग्यो । लडाइझगडा भनेपछि मेरा नौनाडी गल्छन्, त्यतिबेला पनि गल्यो । रमेश अलि हक्की स्वभावको थियो, कसैलाई कुट्नु परे हामी उसैलाई अघि साथ्र्यौं । तर, पुर्ने रमेशभन्दा उमेरले जेठो थियो, यो सम्झेर मेरो मुटु जोडले धड्कियो ।

देव्रे आँखा चिम्म गरेर दाहिने आँखाले मान्छे हेरिरहेको रमेशलाई देख्दा एकछिन काउकुती लाग्यो हाँसोले ।

“हाहा, तँ त अशोक होन्डा जस्तो देख्खिस् यार, कालै न कालो,” मैले खित्काउँदै भनें ।

“तँ पनि मर्लास् साले, हल्ला नगर धेरै ।” रमेशले थर्काएपछि कलेजो बटारिने गरी हाँसें । यस्तो हविगत मैले धेरैपटक भोगिसकेको थिएँ, रमेश यसैगरी हाँसेको थियो । हाँस्नेमात्रै होइन, उसले गाउँभरि मेरो बिल्ला गर्दिन्थ्यो ।

सोधें, “पुर्नेलाई पछार्लास् त तैंले ?”

“पछार्नेमात्रै हैन, सालेले आज बाउको बिहेमा पञ्चेबाजा बजाउँछ ।”

मेरो हाँसो रोकिएन, रमेशले जोडले पर हुत्ताइदियो ।

३ बजे फिलिम छुट्यो । रमेशको शंका सही रहेछ, त्यो पुर्ने नै थियो ।

“ओए हरामी, किन माटो हालिस् ?” रमेशको देव्रे आँखा अझै धुम्म टालिएको थियो । फिलिम हेर्ने मान्छे पातलिसकेका थिए ।

“किसको हरामी भनिस् ? बढ्ता हुन्छस् ?” पुर्ने गर्जियो, “अँ मैले हालें माटो के गर्छस् ? अस्ति तैले नि त्यै खड्डाको माटो हालेथेनस् ?”

पुर्ने पुरनकुमार गुप्ता थियो, जसको बोलीमा हिन्दी लवज मिसिन्थ्यो । उमेरले जेठो भए पनि रमेशजत्तिको हक्की र ज्याद्रो थिएन । रमेशले सीधै थुतुनोमा मुड्की बजायो ।

मेरो सातोपुत्लो उड्यो । पुर्ने पनि भर्खर अजय देवगनको किक हेरेर निस्किएको थियो, त्यही जोसमा उसले पनि बजायो । एउटा आँखा लिएर युद्धमैदानमा उत्रिएको रमेशको देव्रे गाला पुक्क भयो ।

“साले कुकुर्नीको छोरो, भेली बेच्छु भनेर फुर्ती लाउँछस् ?” पुर्नेको घाँटी अठ्याएर रमेशले वर्गीय र क्षेत्रीय गाली ग¥यो, “साले बिहारी भोषडी ।” पुर्ने लल्याकलुलुक भयो, अरु केटाहरूले छुट्टयाए । म भने डरले छेउ परिनँ ।

“मार्दिन्छु साले,” दुई जनाले समातेको हात उछिट्टयाउँदै रमेश चिच्यायो, “छाड साला, यसलाई आज कटुवा खोलामा लगेर पुर्दिन्छु ।”

पुर्ने केही बोलेन । रमेशले एक मुड्कीमात्रै खाएको थियो, पुर्नेका त मुखभरि निलडाम थिए । गजवीरले देखेछ, दौडिँदै आएर पुर्नेलाई तानेर लग्यो । कहिलेकाहीँ गजवीरलाई भेली र च्युरा ल्याइदिएर पुर्नेले उसलाई आफ्नो वशमा पारेको थियो ।

हाम्रो ‘एक ही रास्ता’को पहिलो सो छुट्यो ।

०००

बेलुकी रमेशको घरमा डड्याङडुडुङ सुनियो । आँखा बल्लबल्ल पाकेका टमाटरबाट काँचा टमाटर भएका थिए, गाला सुन्निएकै थियो ।

“यो कुकुर्नीको छोरोले मलाई सुखसँग बाँच्न दिएन, तेरी आमाले के छोरो पाई, थुक्क कुलंघार !” घैंटे दिदी चिच्याएको हाम्रो घरसम्म सुनियो । त्यसमाथि पार्वती पनि आमासँगै लागेर रमेशलाई भकुरी ।

“तँलाई तँलाई हरिया बाँसमा चुइँकाउनी, मैले के पुराएकी थिइनँ र यस्तो गुन्डागर्दी गर्ने भइस् ?” घैंटे दिदीको आवाज झन् चर्कियो, “दिमागमा गोबर छ, उल्टै हिरो पल्टिने तँ ? खै पार्वती दाम्लो ले, यसलाई बानेर खारखोली बगाएर आउँछु ।”

पार्वती दाम्लो लिन गई ।

“कुन जुनीमा यस्की आमाले छाडेर गै, सँगसँगै किन लइने त्यो जगल्टेनीले, हरे हरे,” घैंटे दिदी झन् चिच्याइनन् । दिउँसो गाला सुन्निएको रिस थियो, रमेश पनि जोडले तथानाम गाली गर्दै करायो र आमालाई हुत्याएर निस्क्यो । पार्वती उसको पछिपछि दौडी । रमेशले उसलाई पनि गालामा बजायो, ऊ रुँदै घर गई ।

रातिमा रमेशको जाने ठाउँ कहीँ थिएन, हाम्रै घरको पेटीमा आएर बस्यो ।

“ए बसन्ते, बसन्ते,” कानेखुसी गरेजसरी बोलायो । म सुटुक्क बाहिर आएँ । उसको गाला अझै सुन्निएको थियो, सुपाडीको डल्लो हालेजस्तो ।

“अलिति भात दे न, मस्तै भोक लाग्यो यार । बरु त्यो १२ रुप्पे दिनु पर्दैन, यसैमा सुल्ला गरेस् !”

उसले मलाई तीनवटा फिलिम हेराएको १२ रुप्पे सम्झाएर हिसाबकिताब ग¥यो । म एकछिन अवाक् भएँ, मन सुन्न भयो, केही बोलिनँ । बिस्तारै भित्र भान्सामा गएर एउटा डल्लो भात प्लास्टिकमा ल्याएर दिएँ, तरकारी थिएन । उसले कपाकप निस्तो भात खायो– मैले आफ्नो जिग्रीलाई एकडल्लो भात बेचें ।

०००

त्यसको ६ दिनपछि रमेश फेरि जोडले गाउँ थर्किने गरी चिच्यायो–

“ए बसन्ते !! गुमराह लाग्यो !!!”

By

Readers Comments (0)