Filed Under:  मनोरञ्जन

सपना पूरा गर्न ‘ड्रिम’

14th February 2015   ·   0 Comments

arun pun- अजय जीएम

मान्छेका रुचि, चाहना र सपना पनि कस्ता–कस्ता ? त्यही भएर त यो विश्व अनौठो र रहस्यमय छ । सबै मान्छे आ–आफ्नो सपनाको पछि लागेर दगुरिरहेका हुन्छन्, भौंतारिइरहेका हुन्छन् । यस्तै सपना देख्नेहरुमा पर्छन्, घोराही नगरपालिका सेवारका अरुण पुन ।

उमेरले अझै सानै छन् अरुण । २०५५ पुस ५ गते आमा केशकुमारी पुन र बुवा सनबहादुर पुनको कोखबाट जन्मिएका अरुण अहिले जनज्योति विद्यामन्दिर घोराहीमा कक्षा ९ मा अध्ययनरत छन् । भविष्यमा एउटा सफल नायकको रुपमा चिनिने र स्थापित हुने सपना छ उनको । आफ्नो त्यही सपना पूरा गर्ने अभियानकै क्रममा उनले ल्याएका छन्, ड्रिम । ‘भविष्यमा सफल नायक बन्ने चाहना छ’, अरुण भन्छन्, ‘त्यही भएर फिल्म क्षेत्रमा पाइला चाल्दैछु र ड्रिम पनि त्यसकै उपज हो ।’

कला क्षेत्रमा निकै रुचि भएकैले होला कि अरुणले कक्षा ७ मा अध्ययन गरिरहँदा नै ‘आई एम वाकिङ अन लोन्ली वे’ नामक छोटो फिल्म तयार पारे । उनी भन्छन्, ‘अहिले त्यतिबेलाको कुरा सोच्दा र त्यो मुभी हेर्दा साह्रै हाँसो उठ्छ । उसै त सानो उमेर, त्यसमाथि पढाइको बोझ । तैपनि शर्टमुभी तयार पार्दा साह्रै खुशी लागेको थियो ।’

arun_1पढाइलाई निरन्तरता दिदै धेरै कोसिस र मेहनतपछि उनले कक्षा ८ मा अध्ययन गरिरहँदा आफ्नो सपनाको एउटा खुड्किलो उक्लिए, ड्रिममार्फत् । ‘आफ्नो सपनाको एउटा खुड्किलो पार गरेकाले शर्टमूभीको नामै राखें ‘ड्रिम’, अरुण थप्छन् । ड्रिममा अरुणको आफ्नै मुख्य भूमिका रहेको छ । ‘ड्रिम’ पछि अरुणले अन्य दुईवटा शर्टमुभी तयार पारिसकेका छन्, ‘रिभेञ्ज अफ द घोष्ट’ र ‘जङ्गल जेट’ ।

‘रिभेञ्ज अफ द घोष्ट’ र ‘जङ्गल जेट’मा अरुण स्वयम् र इशान्त बीसी, अभरख हमाल, कमल केसी, गौरव अधिकारी, सागर सुवेदी र शिव केसीको अभिनय रहेको अरुणले बताए । अभिनयमा आफ्ना सहपाठी एवम् अन्यले सहयोग गरेता पनि त्यसको खर्च भने अरुणका दाइ राजेन्द्र पुनले व्यहोर्दै आएको अरुणले बताए ।

अरुणले चलचित्रको छायाङ्कन घोराही बजारको आसपासमै गर्दै आएका छन् । अध्ययनको साथसाथ चलचित्र निर्माणको काम पनि सँगसँगै अगाडि बढाउनु परेकाले नजिकमै छायाङ्कनको काम सक्नुपरेको बताउँछन् अरुण ।

अग्रजहरुको प्रोत्साहन र सकारात्मक टिप्पणीहरुले उनी झनै हौंसिएका छन् । यही हौसलाले गर्दा हामीमाझ ‘ड्रिम–२’ पस्किने तयारीमा जुटेका छन् अरुणले । नवनायक अरुणको अभिनय यात्राको सफलताको कामना !

By

Readers Comments (0)