Filed Under:  संस्मरण | निबन्ध

मनाङतिर घुम्दै जाँदा | केबी मसाल

14th February 2015   ·   0 Comments

KB_Mashalजीवनमा के देख्नुपर्ने, के भोग्नुपर्ने, देखेको र भोगेको मानिसलाई मात्र थाहा हुन्छ । नदेखेका मानिसहरुलाई वास्तविक कुरा पनि विश्वास नलाग्न सक्छ । नदेखेको मानिसलाई मान्छे काटेको कुरा प्रहरीलाई खबर गर्दा उल्टै प्रहरी हाँस्यो भन्दा उसको बुझाई कस्तो होला ? एउटै देशमा बस्ने हामी नेपाली, धर्म, संस्कृति र रीतिरिवाज फरक त्यसैले मैले देख्नुप¥यो मान्छे काटेको दृश्य ।

यो घटनाको परिदृश्य हो हिमालपारीको जिल्ला मनाङ चामेको । २०३४ तिर हो, मैले मनाङ जिल्ला भ्रमण गर्ने अवसर पाएको थिएँ । मनाङको सदरमुकाम चामेमा केही दिन बस्ने काम प¥यो । चामेमा त्यतिबेला बजार कुनै व्यवस्थित थिएन । खानेपानी, शौचालयजस्ता मानवीय कुराहरु खुल्ला प्रकृतिमा निर्भर हुनुपर्दथ्यो । सदरमुकामबासीहरुलाई नुहाउन भने मस्र्याङ्दीको किनारमा प्राकृतिक तातोपानी थियो । जुन अहिले पनि छ ।

एकदिन बिहान घुम्ने क्रममा चामेनजिकैको घट्टेखाला नजिकै पुगेको थिएँ । सल्लाघारीको जंगलका मानिसको आवाज सुनें । यसो हेरेको त त्यहाँ केही मानिसहरु एउटा मानिसलाई काटिरहेका रहेछन् । त्यस्तो दृश्य देखेर म डराएँ । आत्तिदै प्रहरी कार्यालय पुगें । मान्छे काटेको कुरा सुनाउँदा प्रहरी त हाँस्न थाल्यो । अनि पो थाहा पाएँ मरेको मानिसलाई काटेका रहेछन् ।

मनाङमा बौद्धमार्गीको बसोबास छ । उनीहरुको मृत्यु संस्कार तिब्बती बौद्ध धर्म लामा, पुरोहितवाद र कर्मकाण्डमा आधारित हुँदोरहेछ । बौद्धमार्गी मनाङ जिल्लाबासीहरुको मृत्यु संस्कारमा लामा पुराहितको भूमिका महत्वपूर्ण मानिने रहेछ । मानिस मरेको निश्चित गर्नेदेखि लास उठाउने र अन्य संस्कार गर्ने काम लामाकै उपस्थितिमा हुने रहेछ । लामाकै निर्देशनमा मृतकको अन्तिम संस्कार कसरी गर्ने भनी टुङ्गो लगाइने रहेछ । बौद्धमार्गीहरुले मृतकको अन्तिम संस्कार अग्निदाह, जमिनमा गाड्ने, पानीमा बगाउने र मृतकको लासलाई जमिनमा छाड्ने, जलाउने अथवा काटेर गिद्धलाई खुवाउने प्रचलन रहेछ ।

उतिबेला मनाङ जानको लागि लमजुङको सदरमुकाम बेशीसहरदेखि माथि मनाङसम्म पैदल यात्रा र घोडाबाहेक अन्य विकल्प थिएन । डुम्रे–बेशीसहर मोटर मार्ग पनि नबनेको समय थियो । बेशीसहरबाट माथि लागेपछि खुदी, भुलभुले, ङादी, बाहुनडाँडा, स्यागे, जगत, च्यामचे पार गरेपछि दुई दिनको यात्रामा मनाङ लमजुङको सिमाना ताल भन्ने स्थानमा पुगिने थियो । तालमा त्यतिबेला दुई वटा भट्टी पसल मात्र थिए । खाना बस्न परे त्यो बाहेक अन्य विकल्प थिएन । तालबाट मस्र्याङ्दी नदीको तिरैतिर, उकाली, ओराली हिडेपछि धारापानी, बगरछाप, तिमाङलेख, थान्चोक र कोतो हुँदै सदरमुकाम चामेसम्म पुगिन्थ्यो । हिमाल टाढाबाट देखे पनि हिउँ भने नजिकबाट कहिले पनि देखेको थिइनँ मैले । हिउँ नदेखेको मान्छे मलाई मनाङको हिउँले जाडो र रमाइलो त गराइदिएको थियो । तर खोला नाला र पानी खाने धाराहरु नै हिउँले जमाएको देख्दा भने अचम्म लाग्यो । जाडोमा सदरमुकाम चामेको तातो पानीले भने सबैलाई राहत नै पु¥याएको छ ।

चामेबाट एकदिन पैदल यात्रापछि माथिल्लो मनाङ उपत्यकाको भूगोलले जो कोहीलाई पनि लोभ्याउँछ । चारैतिर हिमाल देखिने र थोराङ लेकको काखमा रहेको तिलिचो तालले मलाई पनि आकर्षित गरायो । खाङसर, ध्यारु, ङावल गाउँका बाक्ला बस्तीको हिमाल फेदीको गाउँको वर्णन गरेर नै सकिन्न । माथिल्लो मनाङ गाउँ प्रायः गरेर एउटा गाउँ एक गाविस छ । टंकी, पिसाङ, भ्राका र मनाङ गाविसहरु सबै हिमाली उपत्यकामा पर्दछन् ।

अन्नपूर्ण र लमजुङ हिमाल पारीको भूगोलमा रहेको मनाङ जिल्ला उपल्लो बीचको र तल्लो गरी संस्कृति, भेषभुषा र अन्य रहनसहन पनि फरक रहेको छ । तिब्बती भाषामा म्हनाङ शब्दबाट अपभ्रंश भएर जिल्लाको नाम पनि मनाङ रहन गएको रहेछ । जसको अर्थ तिब्बती भाषामा म्ह को अर्थ सहायता र नाङको अर्थ देउ भन्ने रहेछ । नामको अर्थजस्तै मनाङमा सबै चीज अन्य जिल्लाबाट लैजानुपर्ने हुँदोरहेछ ।

धेरै नेपालीहरुलाई थाहा नहुन सक्छ । मनाङ जिल्लामा धान हुँदैन भनेर । मनाङ जिल्लाको सिमामा पर्ने लमजुङ जिल्लाको चिप्ला, उपल्लो चिप्लासम्म धानको खेती हुन्छ । तर मनाङको सिमाना शुरु हुने तालबाट नै मनाङमा धान खेती हुँदैन । पानी छ, माछा हुँदैन् । सिचाइ छ तर धान खेती हुँदैन । नेपालको भूगोलमा धान खेती नहुने जिल्ला मनाङ मात्र हो । मनाङभन्दा चिसो बढी हुने जिल्ला र ठाउँमा पनि धान खेती हुने गरेको पाइन्छ । तर मनाङमा धान नफल्ने मात्र होइन धान खेती नै गरिन्न । ०३३/३४ तिर कृषि मन्त्रालयले मनाङ जिल्लाको ताल, बगरछाप, तिमाङ लेक, थान्चोक र सदरमुकाम चामेको कोतो भन्ने स्थानमा धान खेतीको लागि हावापानी, माटो सबै परिक्षण गरेको थियो । तर पनि त्यसको कारण भने पत्ता लगाउन सकेको छैन । सामान्यतया चिसोको कारण ले धान खेती नभएको भन्ने तर्क भए पनि यसको अनुसन्धान हुन जरुरी छ ।

तिब्बती मुलका लामा, भोटे र गुरुङ जातिको बसोबास भएको मनाङमा खासगरी नाचे, ताचे, बडारगाउँ, थोचे, धारापानी र घेराङ गाउँमा गुरुङ जातिको बस्ती रहेको छ । धर्म, संस्कृतिका हिसाबले मनाङमा सबै बौद्धमार्गीहरुको बसोबास छ । अन्य जिल्लामा भएजस्तै ऐतिहासिक हिन्दू धर्मका मठमन्दिरहरु मनाङ जिल्लामा भेटिदैन । केवल गुम्बाहरु छन् ।

मनाङ जिल्लाको अति दुर्गम गाविस हो– नार र फु । यो गाविसमा पुग्न सदरमुकाम चामेबाट नार खोलाको बाटो तीन दिन पैदल हिड्नुपर्दछ । त्यहाँ जानको लागि बाटोमा खाने बस्ने सबै बन्दोबस्तीका सामान भएन भने गाह्रो हुन्छ । बाटोमा चौंरी गोठबाहेक अन्य मानव बस्ती भेटिदैन । हिउँ जमेको समयमा सबै खोला र ठूला नदीको पानी पनि हिउँले जमाएको हुन्छ । पानीको प्रवेग बढी भएको ठाउँमा हिउँ माथि जमेको हुन्छ भने पानी मुनिबाट बगेको हुन्छ । मानौं पाइपबाट पानी बगेको झैं हुन्छ । त्यस्तो अवस्थामा हिमाली घोडाहरु यात्राको बेला चलाख हुन्छन् । पहिला खोलामा हिउँ जमेको भए अगाडिको खुट्टाले एक पटक हिउँ छाम्ने र जान सकिने भए मात्र घोडा अगाडि बढ्छ । अन्यथा हिउँको भाग पातलो भएको अवस्था छ, अर्थात् टेक्दा खोलामा वा नदीमा परिने भए घोडाले छुनासाथ थाहा पाउँछ ।

हिमाल र हिमश्रृंखलाको पहाड, बहुमूल्य जडिबुटी, प्राकृतिक वन सम्पदा, अपार जलस्रोत, विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल र हिमकुण्डहरु मनाङ जिल्लाका सम्पति हुन् । नेपाल एकीकरण हुनुभन्दा पहिले मनाङ लमजुङ जिल्लाकै भूगोल थियो । २०१८ सालमा १४ अञ्चल र ७५ जिल्ला बनाउने बेला मनाङ छुट्टै जिल्ला भयो । सुरुमा जिल्ला सदरमुकाम राख्ने बेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाँडामा राखिएको थियो । त्यसपछि मनाङ जिल्लाको थोचेमा र पछि चामेमा सदरमुकाम सारिएको हो । मनाङलाई छुट्टै जिल्ला बनाएर विकास निर्माण र प्रशासनिक कामको थालनी गर्दा पनि सुरुमा मनाङबासीले नेपाल सरकारको कानून मानेनन् ।

सदरमुकाममा सरकारी कार्यालय भए पनि कुनै कामका लागिसमेत मनाङेहरु आएनन् । पछि राजा महेन्द्रले जिल्लाको भ्रमण गरी उपल्लो मनाङेहरुलाई बिना भन्सार तेस्रो मुलुकमा व्यापार गर्न दिने सर्त मनाङेसँग गरेपछि क्रमशः नेपालको कानून र नीति नियम मान्न थालेको मनाङेको इतिहास छ । मनाङ कुल २ हजार २ सय ४६ वर्ग किमिमा फैलिएको छ । अग्ला भिराला पहाड, उच्च हिमश्रृंखलाहरु पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल र उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछ । तल्लो मनाङको नाचे गाउँको उत्तरमा पर्ने ठूलादी हिम ताल अर्को आकर्षक मनाङको प्राकृतिक सम्पदा हो । यो तालको बारेमा अध्ययन अनुसन्धान हुन सकेको छैन । अति विकट र जनसंख्याको हिसाबले सबैभन्दा कम जनसंख्या भएको जिल्ला हो मनाङ । अहिले पनि मनाङ जिल्लाको जनसंख्या १३ गाविसमा कुल ६ हजार ५ सय ३८ मात्र रहेको छ । हिमाली जिल्ला उपल्लो मनाङबासी अधिकांश काठमाडौंमा बस्ने र वैदेशिक व्यापारमा लाग्ने हुँदा मनाङको जनसंख्या कम देखिएको हो ।

बाहिरबाट हेर्दा मनाङ जिल्लाबासीलाई जुन रुपले धनी मानिन्छ, वास्तविकता त्यस्तो छैन । रेडियो पत्रपत्रिकाबाट खेलकूदसँग जोडेर मनाङ मस्र्याङ्दीको नाम प्रायः आइरहे पनि अन्य कुरामा मनाङ धेरै पछाडि छ । नार र फु गाउँको जनजीवन त्रासपूर्ण अवस्थामा छ । आलु, करु र उवा मात्रको खेती हुने नार र फु गाउँमा अन्य सबै खाद्यान्न किनेर खानुपर्दछ । सदरमुकाम चामेबाट एउटै खोला नारखोला १८ ठाउँमा तरेर हिड्नुपर्दछ । शिक्षा, खानेपानी, खाद्यान्नको अभावमा जीवनयापन गर्नु पर्छ त्यहाँका मानिसहरुले । तल्लो मनाङ नाचे, थोचे र धापानी गाउँहरुमा रहने बासिन्दाहरुको जीवन पनि कष्टकर मानिन्छ । केवल पर्यटन व्यवसायमा निर्भर रहनुपर्ने मनाङबासीका समस्या अनगिन्ती छन् । अहिले लमजुङबाट चामेसम्म ७२ किमि कच्ची सडकमा यातायात सुरु भएको छ । तत्कालीन समयमा द्वन्द्व बढ्न थालेपछि ०५७/५८ देखि नेपाली सेनाले सडक खन्ने काम सुरु गरेको थियो । पदयात्री पर्यटकहरुको भरमा चलेको मनाङ जिल्लाको जनजीवन त्यहाँ एकपटक पुगेपछि मात्र थाहा हुन्छ ।

By

Readers Comments (0)