Filed Under:  समीक्षा

निखारिएका कवि र कविता

14th February 2015   ·   0 Comments

Nim Bdr Thapa- निमबहादुर थापा

हामी पनि कतै सायद कारागार नै चाहिरहेका छौं
लाएर पाउमा चाँदीका जंजीरहरु
पहिरिएर सुनचुराका हत्कडीहरु
सिउँरिएर शीरमा दासताका शीरफूलहरु !

ए बानिरा शीर्षकको कविताका यी हरफहरु शुरुमा राखेर पाँच कविमध्येकी कवि बहिनी निलम कार्की ‘निहारिका’प्रति स्नेहपूर्वक शुभकामना प्रदान गर्दै कविता संग्रह …१४ वर्षपछि नामक कृतिमाथि दृष्टिगोचर गर्न चाहन्छु ।

केही दिन पहिले देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको नियमित कार्यक्रममा शनिबार मञ्चका उपाध्यक्ष शेरबहादुर चौधरीको घरमा जुटेका थियौं । त्यो दिन साहित्यकार उदयराज आलेले एकल कविता वाचन गर्ने, वाचित कविताबारे चर्चा गर्ने र समग्र देउखुरीको साहित्यिक गतिविधिबारे संक्षिप्त छलफल गर्ने कार्यक्रम राखिएको थियो । त्यहाँ आउदा युवा कवि एवं देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरि पोख्रेलजीले …१४ वर्षपछि कविता संग्रहका दुईप्रति हातमा लिएर आउनुभएको थियो । कार्यक्रम शुरु नहुँदैको सुन्ने समयमा एक नजर मात्र हेर्नका लागि भनेर नजिकै बस्नुभएका उदयराज आले र मेरा अनन्य मित्र अप्रा सुबेदार कान्तुराज चौधरीलाई दिनुभयो ।

14म भने चिटिक्क परेको पुस्तकलाई लोभलाग्दो नजरले हेरिरहें । सुनेको थिएँ, पाँच कविहरुको संयुक्त कविता संग्रह काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा विमोचन भयो रे । कविहरु को–को रहेछन् ? कतिवटा कविता रहेछन्, प्रकाशक को रहेछ र पुस्तकको सफाइ कस्तो होला ? भन्ने जिज्ञासा कार्यक्रमभरि मेरो मनमा खेलिरह्यो । चाहेर पनि एक नजर नियाल्ने अवसर छोप्न सकिनँ । कार्यक्रम शुरु भयो र सकियो पनि । जलपान कार्यक्रममा छोटो समय दिएर हिड्ने तरखरमा जुट्यौं किनभने शेरबहादुरजी एउटा कार्यक्रमका लागि तुरुन्तै नारायणगढ जाँदै हुनुहुन्थ्यो । घर फर्कने बेला हरिजीले तपाइँले यो किताब पढ्न मन गरेजस्तो लाग्यो, ल लिनोस् भन्दै दिनुभो । मोटामोटी नियालेर थन्काउने बानी छैन र बोर्डिङ स्कुलका बच्चालाई होमवर्क घोकाएजस्तै तुरुन्तै पढिहाल्नुपर्ने पनि के भो र ? तर जतन गरेर राख्ने फुर्सद मिलाएर पढ्ने गरेको छु ।

अलि पहिले काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा विमोचन भएको कविता संग्रह १४ वर्षपछि कविहरु कृषु क्षेत्री, गोवर्धन पुजा, आरएम डंगोल, निलम कार्की निहारिका र हरि पोखे्रल पाँच जना खारिएका कविहरुको संयुक्त संग्रह रहेछ । यसमा सबैका १४–१४ वटा कवितामध्ये पोख्रेलजीले गद्य पद्य दुई विधामा लेख्नुभएको छ । वि. सं. २०५७ सालतिर राष्ट्रिय कविता प्रतियोगितामा सम्मानित कविहरुले सम्झनास्वरुप प्रकाशन गरेका रहेछन् ।

कविताहरु भाव, विम्ब र अलङ्कारले परिपूर्ण छन् । कवितामा आशावादी सन्देश, देशलाई उज्यालोतिर लैजाने चाहना र जाँगर भेटिन्छ । देशको राजनीतिक अस्थिरताप्रति कविहरु संवेदनशील र माटोको मायाले ओतप्रोत छन् । श्रम र धन खर्चेर उच्च शिक्षा आर्जन गर्दा पनि स्वदेशमा रोजगार नपाई विदेसिनुको पीडा बेस्सरी पोखिएको छ । विदेशमा सुख सुविधा भोग गरे पनि मातृभूमिको मायाले पिरोलेको गुनासो छताछुल्ल छ कविताहरुमा । त्यतिमात्र होइन, कवितामा समानताको खोजी, लैंगिक विभेद, विकृति, विसंगति, देखासिखी र साँस्कृतिक विचलन बढिरहेकोमा चिन्ता व्यक्त गरिएको छ ।

चराले सधैं उज्यालोको गीत गाउँछ
निविड–निष्पट्ट–निर्जन रातका विरुद्धमा
सुप्रभातको गीत गाउँछ

कविता संग्रह १४ वर्षपछिका कविताक्रमको पहिलो कविता चराको गीत शीर्षकमार्फत् कृषु क्षेत्रीले अँध्यारोविरुद्ध लड्ने उद्घोष गर्दै चराहरुलाई स्वतन्त्रताभन्दा प्यारो अरु केही हुँदैन भनेका छन् ।

अर्का कवि गोवर्धन पुजाले ‘अमेरिकाको दशैं’ शीर्षकमा महान पर्व दशैं होस् या अन्य पर्व सम्झनामा मात्र रहेकोमा यसरी पीडा बोध गरेका छन्,

दौडिएर पुग्न पनि समुन्द्रले रोक्दो रै’छ
थाहा भयो मिलन विछोड भावीले नै तोक्दो रै’छ
मन्दिर गई देवी पुज्ने चाहना नि बासी रह्यो
गयो यसपालिको दशैं जसरी आयो
त्यसरी नै गयो

अर्का कवि आरएम डंगोलले बुद्धको देशमा चलिरहेको राजनीतिक खेललाई ‘एउटा यस्तो अवसर’ शीर्षकको कवितामा यसरी व्यक्त गरेका छन्–

बुद्धको कुरा गर्नु छ
र सुनाउनु छ उपदेश
संविधानको कुरा गर्नु छ
र गाउनु छ देशको गीत
राष्ट्रियताको कुरा गर्नु छ
र खेल्नु छ लुकामारीको खेल

संयुक्त कृतिमा सहभागी कवि निलम कार्की निहारिका अन्तर्राष्ट्रिय नारी लेखन मञ्चकी संस्थापक अध्यक्षको भूमिकासहित अमेरिकामा कार्यरत छन् । उनले ‘हातहरु’ शीर्षकको कवितामा लेख्छिन्–

नारी अस्मिताको खिल्ली उडाउँदै
द्रौपदीको चीरहरणमा थपडी बजाउनुपर्छ
पाण्डवलाई वनबास पठाउन
शकुनीको कुटिल पासाको समर्थन गरिदिनुपर्छ
दुर्योधनहरुका हरेक पापको भागिदार बन्नुपर्छ कर्णहरु

अर्का कवि हरि पोख्रेलले देशमा संक्रमणकाल लम्बिरहेको बेला मनाइने पर्वहरुमा खुशी पाएका छैनन् र ‘म कसरी दशैं मानूँ’ शीर्षकमार्फत् प्रश्न गर्दैछन्–

अस्तित्व समाप्त भएको क्षण
बर्बादी र निमिट्यान्नको
यो डरलाग्दो परिवेशभित्र
जिउदो खसीको मूल्य तोकेर
मैले कस्तो खुशी छानूँ
भन
म कसरी दशैं मानूँ
म कसरी तिहार मानूँ

देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङका अध्यक्षसमेत रहेका कवि पोख्रेलले ‘मैले नहेरे पनि’ शीर्षकको पद्य कवितामा देशको माया यसरी पोखेका छन्–

आफ्नो देश पहाडमा शहरमा हाँसेर बाँच्दैछ रे
पूर्खाको सपना पवित्र मनमा राखेर नाप्दैछ रे
आफै फेर्छ मुहार यो मुलुकले फेर्दै नफेरे पनि
मेरै देश नेपाल हेर्छ अरुले मैले नहेरे पनि

एउटा पाठकको हेराइमा कृति सशक्त छ । स्तरीय बनाउनका लागि कताकति शब्दहरु अलि कठीन छन् जसले साधारण पाठकलाई बुझ्न अप्ठ्यारो पर्न सक्छ । समग्रमा कृति पठनीय र संग्रहनीय छ । युवा कविहरुको साहित्यिक यात्रा र समग्र पक्षको उज्यालो भविष्यका लागि शुभकामना ।

By

Readers Comments (0)