Filed Under:  कविता

प्रेम दिवस | दीपा धिताल

14th February 2015   ·   0 Comments

Dipa Dhitalस्वार्थी प्रेमको यो ठूलो शहरमा
पृथ्वीको सारा जग नै हल्लिएको बेला
सूर्यले दिन चन्द्रमाले रात र धर्तीले माटो फेरेको बेला
यी हजारौं प्रेमी जोडीहरुको बीचमा उभिएर
तिमीलाई यो रातो गुलाब दिन चाहन्छु
र सबै सामु चिच्याएर भन्न चाहन्छु
देश तिमी नै हौ मेरो विश्वस्त प्रेमी
तिमीले मलाई स्वीकार गर या तिरस्कार
तिम्रो कठ्याङ्ग्रिने चिसो बतासको छहारीमा बसेर
तिमीभित्रै हराउन मन छ
जिन्दगीका आँसु र हाँसो एकै ठाउँमा संगालेर
आज प्रेम दिवस
प्रेमिल सम्झनाका थुंगाहरु तिमीसामु चढाउन मन छ
यो गुलाबभन्दा गाढा माया तिमीलाई
यो गुलाबभन्दा कोमल माया तिमीलाई
यी गुलाबहरु तिमीभन्दा गाढा नहून्
यी गुलाबहरु तिमीभन्दा कोमल नहून्
फेरि अर्को गुलाब खोज्न
अर्कै बगैंचामा धाउन नपरोस्
थाहा छ तिमीलाई यहाँ त शुद्धताको मापन हुन्छ
सत्यतालाई कसी लगाइन्छ
यति माथि उठिसकेको आदर्शको पहाड
राता गुलाबहरुले मात्र रंगिन सक्दैन
हो देश म तिमीलाई असाध्यै प्रेम गर्छु
आज प्रेम दिवस तिमीसँगै म हिमाल चढ्न चाहन्छु
तिमीसँगै म पहाड उक्लिन चाहन्छु
तिमीसँगै म तराई झर्न चाहन्छु
तिमीसँगै म आकाशमा स्वतन्त्र भई उड्न चाहन्छु
त्यसैले सुरुवातको पहिलो सिढीमै म भन्दैछु
नौरंगी इन्द्रेणीले सजाएर बादलुको घुम्टो ओढाएर
एक चिम्टी यहीं धर्तीको सिन्दूर भरेर लैजाऊ
तिम्रै परिवेशमा
किनकि देश तिमी नै हौ मेरो विश्वस्त प्रेमी ।

By

Readers Comments (0)