Filed Under:  कविता

त्यो राजधानी तिम्रो होइन

14th February 2015   ·   0 Comments

Nabin_C- नवीन लोचन मगर

सोझो रुख बालेर आगो सेक्छन् त्यहाँ
जून झारेर उज्यालो बस्ती रोप्छु भन्नेहरुलाई
बाटैभरि ऐंठन पारिदिन सिपालु छन् तिनीहरु
सीमाहीन आकाश नाप्न हिडेका कैयौंलाई
पखेटा काटिदिएर बगर बनाउन माहिर छन्
त्यही बगरमा तड्पाउँछन् हामीलाई
र हाँस्छन् अट्टहास छोडी
मानवतालाई घोडा बनाइ
विषको खेती सिंचिनेहरुको बीचमा
तिम्रो अस्तित्व कसरी उज्यालिन सक्छ ?
त्यसैले फर्क
त्यो राजधानी तिम्रो होइन ।

आफ्नै आँसु र पसिनाको बाटो बनाई
जीवनका असीमित चाहना बोकी
पुग्छन् कैयौं निष्कपट श्रमहरु त्यहाँ
उचित मूल्यको आशमा
असमानताका खाडलहरुमा घोलिन्छन् बेस्सरी
जून झार्ने सपनाको ठूला बिछ्यौना बनाइ
सधैं–सधैंको लागि उतै आँखा चिम्लिने
ओ मेरो साथी
उसले त तिम्रो अमूल्य सम्पत्तिलाई
कहिल्यै नभेटिने कुहिरोमा मिसाइदिन्छ
आँसु र पसिनाले उघारेको गगन ढाकी
श्रमको मूल्य खोज्न खाडीतिर सिकाउँछ
त्यसैले फर्क अब यतै
किनकि, त्यो राजधानी तिम्रो होइन ।

अधिकारसँगको हाम्रो दूरीलाई
पुस्तौंदेखि गुमनाम बनाउँदै
आजादीको संकल्पमा निस्केका
मान्छेहरुको बोलीसमेत सुकाउने
उखेलौं त्यो सिंहदरबार
चिथोरौं त्यो पुरानो राजधानीलाई
बनाऔं सबै–सबैको आफ्नो राजधानी
हाम्रै श्रम र पसिनाको राजधानी
फर्क साथी यतै आऊ
बनाऔं हाम्रो आफ्नै राजधानी
किनकि त्यो राजधानी तिम्रो होइन ।

– रोल्पा

By

Readers Comments (0)