Filed Under:  कथा, सौगात विशेष

मुटुको रङ | बसन्त विवश आचार्य

14th February 2015   ·   0 Comments

Basant_bibasमाघको बूढ्यौलीमा कठ्याङ्ग्रिएको काठमाडौंलाई रातले बिस्तारै च्याप्दै लगिरहेको छ । त्यसै त दिनमा सुत्ने अनि रातभर उठ्ने ‘बदनामी’ कमाएको काठमाडौंमा रातको कुनै शून्यता भेटिदैन । सबैतिर कोलाहल रबरजस्तै तन्किरहेको छ । ठमेलको व्यस्त बार अगाडि छु म । कुनै विशेष खोजमा मेरा पाइलाहरु त्यहाँ रोकिएका थिए । भ्यालेन्टाइन डेको सप्ताह भर्खर सुरु भएको छ । आज पहिलो दिन ‘रोज डे’ । केही थान निर्दोष गुलाबहरुको ज्यान लिएर जोडीहरु प्रेमको ‘नाटक’ लोकार्पण गर्दैछन् ।

‘म काठमाडौं आइपुगें कमरेड’ कवि संगीतश्रोताको कविता कृतिको नाम नक्कल गरेर काठमाडौं टेकिसकेको जानकारी कलंकी चोकबाटै फेसबुक स्टाटसमा पोखिएको थियो । काठमाडौं बैगुनी शहर हो । यहाँ पसेपछि जस्तोसुकै मान्छे पनि बैगुणी बन्छ । अरुका लागि के छ थाहा छैन ? मेरो लागि यो मिथकजस्तै बनेको छ । काठमाडौं छिरेपछि को–को न भेटौंला भनेको सबै व्यस्त हुन्छन् । खाली हुनेहरु पनि व्यस्तताको जीवन्त अभिनय गर्छन्, छुट्याउनै हम्मे–हम्मे पर्छ । फेसबुकमा स्टाटस लेख्यो भेट्न मन हुनेले आफै ‘कल’ गर्छ । अचेल म पनि बाठो भएको छु ।

स्टाटस लेखेको तेस्रो दिन फेसबुक खोल्दा म्यासेन्जरमा लामो ‘म्यासेज’ थियो ।

‘तिमी काठमाडौं आएको फेसबुकबाट थाहा भयो । भेट्न मन थियो तिम्रो नम्बर छैन मसँग । थाहा छ, कुनै व्यस्त कामले तिमी आएका छौ । फेरि तिम्रो मष्तिस्कको सानो कुनाबाट पनि म हराइसकेकी छु । तर पनि जीवनमा एक पटक प्यास मेटिने गरि कुरा गर्न मन छ, तिमीलाई हेर्न मन छ ।’

आकृतिको म्यासेज थियो । सँगै ‘फ्रेन्ड रिक्वेस्ट’ पनि । कुनै दिन आँसुका लागि आँखा र दुख्नका लागि मन बनेको हो कि जस्तो लाग्थ्यो आकृतिको अप्राप्य प्रेम देखेर । जीवनको बैंसालु उमेर प्रेमको काकाकुल भएर बिताउने नायक थिएँ म । मनमा भर्खर पलाएको कलिलो मायाको मुना भाँचिदिने बैगुनीको नाममा एक शब्द लेख्ने पनि जाँगर चलेन । फेसबुक ‘साइन आउट’ गरें ।

मैले ‘बालै’ दिइनँ । फ्रेन्ड रिक्वेस्ट पनि स्विकार गरिनँ ।

साँझ फेरि म्यासेन्जरमा म्यासेज नकचरो शैलीमा सुटुक्क आइपुग्यो ।

‘तपाईंको स्टाटस पढे निकै राम्रो लाग्यो, कसको लागि लेख्नुभएको ?’

दिमागमा कतिबेला फुरेको थियो, त्यो दिन मैले लेखेको स्टाटस थियो– ‘जुन दिन सूर्यको उज्यालोबाट टाढा हुन सकुँला त्यही दिन मर्लान् तिम्रा यादहरु ।’

कुनै दिन मनको कुनामा लुकामारी खेल्ने मान्छेसँग कति अहम्को पर्खाल ठाडो पार्ने ? जीवनमा जस्तो कठोर मान्छे पनि प्रेममा मैन बन्छ ।

अहमताले हार खायो प्रेमले नै जित्यो । मैले रिक्वेस्ट स्विकारें अनि लेखें म्यासेन्जरमा– ‘जसलाई देख्दा दुःखले पछ्याएको आभाष गथ्र्याै, त्यसैसँग फेरि खुसीको घाम देख्न थाल्यौ ?’

ऊ अनलाइनमा रहिछ, जवाफ तत्काल आयो ।

‘तिमीसँग भेट्न खोज्नुको अर्थ पश्चाताप होइन, प्रेम हो । र, हिजो प्रेम नगरेको मान्छेसँग अचानक प्रेम गर्न खोज्नु पश्चाताप पनि होइन ।’ जवाफ निकै तेजिलो थियो । फेरि थपियो ।

‘आज प्रेम नभएको मान्छेसँग भोलि प्रेम हुन सक्छ र आज प्रेम भएको मान्छेसँग भोलि घृणा भरिन सक्छ ।’

‘जुन प्रेममा आज र भोलिको भिन्नता हुँदैन, त्यो नै प्रेम हो । के मुटुको रङ कहिल्यै खुइलिन्छ र ?’

मैले पनि मन थाम्न सकिनँ ।

फेसबुक कनेक्सन टुट्यो । लोडसेडिङले फेरि दुई किनारा बनाइदियो ।

मान्छेले प्रेम गरेर आनन्दभन्दा दुःख बढी पाइन्छ भन्ने जान्दा जान्दै पनि प्रेमकै बाटोमा हिड्न मन पराउँछ । मनमात्र होइन प्रेममा मान्छेले दिमाग पनि आधा गुमाउँछ । अप्राप्य प्रेमको लामो अनुभूतिबाट मनमा मैले कूँदेको कुरा हो यो ।

नयाँ दुनियाँमा छुट्टै प्रेमको रङ बोकेर हिडेको मलाई फेरि अतीतको घाउ बल्झाउने मन छैन । प्रेम नै मान्छेको सबैभन्दा ठूलो कमजोरी हो । प्रेमलाई साहस भन्नेहरु किताबका अक्षरमा मात्र प्रेम पढेका मान्छे हुन्, तिनले मुटुमा प्रेम कहिल्यै कूँदेका हुँदैनन् ।

साँझ फेसबुक खोल्दा फेरि म्यासेन्जर म्यासेजले मोटाएको थियो ।

‘मलाई तिमीप्रति पश्चाताप पनि छैन, अनि गहिरो प्रेम पनि छैन । नयाँ जिन्दगीमा यात्रा गरेर भर्खर छोरा पनि जन्मिएको रहेछ, यस्तो सुन्दर परिवारलाई आँखा लगाउने मन पनि होइन मेरो । बस्, तिमीसँग मन पखाल्न मात्र चाहेको छु । भेट्नै मन छैन भने भैगो । जिन्दगीमा कस्ता–कस्ता घाउ त निको पारें यो पनि सहुँला । शनिबार ठमेल कफी हाउसमा भेटौं म आठ बजे आइपुग्छु, तिमी आउ या नआउ म १० बजेसम्म तिमीलाई कुरेको हुनेछु ।’

जवाफ लेख्नका लागि किबोर्डमा औंलाहरु नै चलेनन् । संसारमा कति कुरा यस्ता पनि हुन्छन् जसको सामना गर्ने सामथ्र्य मान्छेले राख्नै सक्तैन ।

***

घोराहीको पद्मोदयबाट १२ कक्षा सकेपछि, अगाडिको बाटो किरिङमिरिङ पारिएको सेतो पानाजस्तै थियो । अमूर्त भविष्य । घरमा नियमित पैसाको श्रोत थिएन । केही गरिखाने मनमा साहस थिएन । नयाँ बाटो कोरेर हिड्ने या यात्रा स्थगित राख्ने ? दुइवटा विकल्प मात्र थिए । पहिलो विकल्पमा ‘औंठा छाप’ लगाएँ ।

तुलसीपुरमा ‘प्राइभेट’ शिक्षाको आरम्भ भयो । मासिक १ हजार २ सय तलबमा सानो कक्षामा पढाउने गतिलो अवसर पाएँ मैले । घरको सामान्य वातावरणको दबाबले होला, आँखामा कहिल्यै सपनाहरु परेड खेलेनन् । रङ्गहीन बतासजस्तै कहाँनेर सपनाहरु लुकामारी खेलें मैले पत्तै पाइनँ ।

‘तपाईको रुटिङ पूरै बनिसक्यो, त्यही हेरेर मात्र कक्षामा जानुहोला !’

स्कुल भर्ना भएको पाँचौ दिन आकृति मिसको आदेश आयो । आकृति अर्थात् मैले पढाउने विद्यालयको सबै व्यवस्था हेर्ने जिम्मेवारी पाएको मान्छे । बस् यो भन्दा परिचयको दायरा फराकिलो थिएन । मलाई संसारमा सबैभन्दा गहिरो काम भन्नु नै केटीसँग बोल्नुजस्तो लाग्थ्यो ।

जीवनमा कैयौ आँसुहरु भ्रमका नाममा झर्छन् । हो, मेरा आँखामा कैयौ आँसुहरु पनि भ्रमकै बाटो समातेर म देखि छुट्टिए ।

स्कुलका दिनहरु मेरा लागि रोमाञ्चक थिए । सुरु–सुरुमा पढाउँदाको आनन्द, त्यसपछि आकृतिले मलाई प्रेम गर्छिन् भन्ने भ्रममा बाँचेको आनन्द ।

स्कुलका बिदाका दिनहरु सेकेन्ड गनेर बिताउँथें । लाग्थ्यो, सडकमा हिड्ने हरेक पागलहरु प्रेमकै कारण बौलाएका होलान् । म पनि करिब–करिब पागल भइसकेको थिएँ ।

रमेश विकलको मधु र मालतीको कथामा दुबैलाई रुपान्तरण गरेर म गगनमा उडिरहेको हुन्थें । म अहिले पनि ठोकुवाका साथ भन्न सक्छु, यति तड्पाइको अन्तिम रेखाको आविष्कार कुनै वैज्ञानिकले गरेको छ भने त्यो एकोहोरो प्रेमकै तड्पाइ हुनेछ । यो भन्दा मन रुवाउने तड्पाइ कुनै हुनै सक्तैन ।

एकपटक मेरो एकोहोरो प्रेमलाई दोहोरो पार्नका लागि उचित अवसर थियो । स्कुलले पिकनिक लगेको थियो चमेरे गुफा । शिक्षकहरुको मात्र पिकनिक भएकाले केही थप रोमाञ्चकता मनमा थपिएको थियो । करिब तीन घण्टाको एकतर्फी बाटो मैले आकृतिको अनुहार मनमा सजाएर काट्न पाउने भएँ । मनको तुलबुल शान्त पार्न प्रेम ‘रिलिज’ गर्ने दह्रो अठोट गरें । कसैगरी पनि सकिएन । पिकनिक खाँदा गु्रप फोटो खिच्ने अवसरको भरपुर सदुपयोग गरें । आकृतिसँग टाँसिएर खिचियो फोटो । कति दिनसम्म करेन्ट लागिरह्यो । उपचारै भने गर्ने अवस्था आउन पाएन ।

कहिलेकाहीं साहसले जिद्दी नगरेको पनि होइन तर उल्टो परिणाम आयो भने कसरी बाँच्ने होला ? बरु होला र नहोलाको यही दोधार नै ठीक । मन आफै सम्हालिन्थ्यो ।

न मनको कुरा खोल्न सकें, न त मुटुको तस्बिरलाई देखाउन नै । प्रेम, तडप र अभावकै बीचबाट एउटा बाटो निकालें । मैले भविष्यको लेखाजोखा नगरेर स्कुल छाडिदिएँ । कम्तिमा भेट नहुँदा मन सम्हाल्न त सजिलो होला । कति काँचो रहेछ दिमाग झनै माया बढेर पो गयो ।

गाउँमा साथी थियो प्रकाश । मन दुख्दा र हाँस्दा सँगै हुने । मेरो बर्बादीले दिग्दार भएर उसले योजना बनायो मेरै मुखबाट प्रस्ताव राख्ने । मलाई सोच्दा पनि छिन–छिनमा पिसाब लागेर आउँथ्यो । ओहो ! सकिदैन क्यारे । प्रेमको नाममा हर्टअट्याक भएर सहिद भइयो भने ? तर प्रकाशले प्रेम र प्रस्तावका बारेमा लामो प्रशिक्षण दियो । जतिसुकै डरले मुुटु कमाए पनि राजी भएँ । रातभरि मैले तयारी गरें ‘आकृति म तिमीलाई मन पराउँछु, के तिमी मन पराउँछ्यौ ? मन पराउने भए राम्रो भयो नपराउने भए भन म आफुलाई कुन कुरामा सुधारुँ तिम्रो योग्य हुनका लागि ?’ प्रकाशले ताली बजाएर डाइलग ओके ग¥यो । मैले भुल्छु कि भनेर रातभरि घोकिरहें ।

***

फेसबुक म्यासेजको रिप्लाइ नगरे पनि मनमा कता–कता माया पलाएर आयो । सधैं जित्ने प्रेमले आज पनि जित्यो ।

म निर्धारित समयभन्दा आधा घण्टा अगाडि नै पुगेको छु । मनमा न उत्साह छ न त भय र प्रेम नै । बस् म औपचारिकताका लागि उभिएको छु । केही अगाडि प्रेमका नाममा बाँडिएको गुलाब कुल्चिएर प्रेम जोडीहरु ‘तेरेविन किक मुझे लगती नहीं’ भन्दै उफ्रिरहेका छन् डान्सबारभित्र । सोच्छु– प्रेम कति सस्तो छ बजारमा । अर्को मन भन्छ के यो प्रेम हो त ? कर्पोरेट सहरमा प्रेम पनि कर्पोरेट बन्दैछ ।

मन खाने लेखक स्यामुअल लभरलाई सम्झन्छु, ‘आउ मेरो दिलको फ्ल्याटमा बस तिमीले भाडा तिर्नुपर्दैन’ के यस्तो प्रेम अझै जीवित छ ?

***

बिहान भयो, प्रेम प्रस्ताव कण्ठ पार्दा पार्दै कतिबेला आँखा चिम्लिएछु थाहै भएन । प्रकाशले उठाएपछि मुख धोएँ, प्रकाशकै आग्रहमा क्रिम लगाए अनि हल्का स्प्रे पनि ।

आकृति साथीसँग क्याम्पस आउँदै थिई, प्रकाशले पिछा गरेर साथीलाई किनारा लगायो । म झटपट आकृतिको नजिकमा गएर रातभरि घोकेको डाइलग एकै सासमा भनें ।

अँध्यारो थियो, आकृतिले कस्तो अनुहार बनाई ? थाहा भएन तर जवाफ भने हेर्नलाई सुक्ष्मदर्शक यन्त्र नै चाहिने गरि मुटु टुक्रा–टुक्रा बनाएर गई । ‘अबदेखि यस्ता कुरा नगर्नू, म फरकखाले केटी हुँ ।’

म साइड लागें । कल्पनामा कैयौं दिन इञ्जिनियरिङ गरेर बनाएको घर भत्कियो ।

खेतको बाली असिनाले सखाप पारेजस्तै मेरा रहर पनि एकैपटक शून्यताका हराए । प्रकाशले नयाँ तरिकाले पिछा गरिरहन निर्देश ग¥यो मेरो जाँगर सेलाएर गयो । प्रेम भने ‘स्क्वाएर’ अनि ‘क्यूव’का हिसाबले बढ्दै गयो ।

***

‘ए सरी है म अलि ढिला भएँ ।’ ट्याक्सीबाट झरेर आकृतिले औपचारिकता निभाई । ‘जाउँ कफी खान ।’ उसले भित्र कतै कुनाको क्याफेमा लगी ।

पाँच वर्षपछि एकैपटक भेट भएको थियो आकृतिसँग । उमेर आफै बूढो भएछ आकृति उस्तै थिई । ‘अप्ठ्यारो त मानेका छैनौ नि, मैले साह्रै कर गरें है ।’ संवादको लिडिङ आफै गरी ।

‘कर गर्नु तिम्रो अधिकार पनि हो, मैले एकोहोरो माया गरेको मान्छे न हौ ।’ मैले शब्द नापेर जवाफ फर्काएँ ।

‘तिमीलाई मेरो मनको कथा थाहा छ ?’

‘मनसम्म पुग्नै कहाँ दियौ र थाहा पाउनु, म त बाहिरबाटै फर्किएको मान्छे नि ।’

उसलाई घोचेछ क्यार ‘भैगो विगत छाड अब नयाँ कुरा गर्ने हो ।’

‘प्रेम र रक्सी त जति पुरानो भयो उति मजा पो आउँछ त ।’

उसले सुन्ने चेष्टा गरिनँ या सुनेर पनि नसुनेझैं गरी ।

संवाद बदली ‘तिम्रो प्रगति फेसबुकमा हेर्छु अनि तिम्रा माया भरिएका स्टाटस पनि तर तिमीलाई साथी बनाउने हिम्मत गरिनँ । अचानक काठमाडौं आएको थाहा पाएर जबर्जस्त गरेको ठिकै भयो भेट त भयो नि ।’

‘तिमीले बोलाएको भए म दाङबाट गाडी चढेर पनि आउने थिएँ, झन् काठमाडौं हुदाँको कुरा गछ्र्यौ ?’

‘यति गहिरो कुरा गर्न पहिले नै जानेको भए के हुन्थ्यो, के हुन्थ्यो ?’

अनुहारमा पश्चाताप घोलिएको थियो । मलाई नयाँ मोड दिन मन लाग्यो, ‘के हुनु मेरो छोराको आमा तिमी हुन्थ्यौ होला ।’

कुराले भित्री मन चसक्क पारे होला, अनुहार न हाँस्नु, न रुनु बनाई ।

‘वाहियात कुरा सोच्नुको कुनै अर्थ छैन’ भित्र अर्कै कुरा राखेर बाहिर आदर्श छाँटी । मुखले जे बोले पनि भाव भने आँखामा पौडिरहेको थियो ।

‘ल रात पनि प¥यो अब काममा जानुपर्छ, मेरो कुरा यो कागजमा लेखिएको छ घरमा गएर खोल है ।’

कुरा मनमा धेरै थियो । तर पनि कर गर्न सकिनँ । कहिलेकाहीं अधिकारको कुरो पनि आउँदो रहेछ ।

क्याफे कुनाबाट अर्को कुनामा ऊ पछाडि नफर्किएर लम्किई ।

म्यासेज पढ्नलाई कोठामा आउन हतार थियो । अर्को क्याफे छिरें अनि पत्रका अक्षरमा पौडिएँ ।

तिमी आउँछौ भन्ने मलाई लागेको थियो । त्यही भएर मैले कागजमा मन दौडाएको हुँ । मलाई न तिमी जति साहित्य आउँछ न त चोखो प्रेम नै गर्न । तर पनि मन पखाल्न खोज्दैछु । तिम्रो नयाँ जिन्दगीसँग निकै खुसी छु । कम्तिमा आफुलाई माया गर्ने मान्छे नयाँ जिन्दगीमा रमाइरहेको त छ ।

तिमीले प्रस्ताव राख्नुभन्दा अगाडि नै तिमी मलाई प्रेम गर्छाै भन्ने थाहा थियो । तर मलाई त्यतातिर खासै ध्यान थिएन । जब तिमीले प्रेम प्रस्ताव राखेपछि मैले अस्विकार गरें त्यसको साता दिनपछि बल्ल मैले तिमीलाई नियाल्न थालें र बिस्तारै प्रेम पनि गर्न थालें । तर आफैले अस्विकार गरेको प्रेमलाई जोड्नका लागि कहिल्यै भन्ने हिम्मत मनमा आएन । फेरि मैले अस्विकार गरेपछि तिम्रो मनस्थिति पनि बदलिएको र तिमीले नयाँ दुनियाँमा सपना देख्न लागेको थाहा भयो । कुरो साँचो पनि रहेछ पछि तिमीले प्रेम विवाह गर्दा थाहा भयो  ।

साँच्ची ! तिमीले मेरै घर अगाडिबाट दुलही लगेर भित्र्याउँदा म कति रोएँ । मूल्य नहुने आँसुको कसले लेखाजोखा गरोस् । कहिलेकाहीं संसार भुलेर भए पनि जबर्जस्ती तिमीसँगै नयाँ जिन्दगी सुरु गर्ने विचार नि आउँथ्यो । तर नयाँ जिन्दगीमा रमाइरहेको तिम्रा अनुहार देखेर म पछि हट्थें ।

यसैबीच निकै राम्रो घरबाट प्रस्ताव आएको भनेर मलाई घरमा बिहे गर्न दबाब दिइयो । मैले नाइँ भनेर बुबाआमालाई केही विकल्प दिन सकिनँ ।

बिहे भयो तर मेरो शरीर मात्र उता थियो मन भने तिमीतिरै । खोइ मेरो निरासपन देखेर होला मेरो घरबार टिकेन । त्यसपछि यतै काठमाडौमा बस्दै आएकी छु ।

जीवनमा एकपटक मनको कुरा तिमीलाई सुनाउने मन थियो, आज सुनाउन पाएँ । लाग्छ, अब जीवनमा बाँकी केही कुरा पनि छैन ।

मलाई यो शहरले दिक्दार बनाएको छ । यसर्थ म सबै छाडेर कतै जान चाहन्छु, जहाँ तिम्रा कल्पना र यादहरु मात्र होऊन् । तर त्यस्तो ठाउँ कहाँ हुनु ? म काठमाडौंमा कसरी बाँचेको छु ? मनमा कौतुहलता मात्र राख्नु जवाफ नखोज्नू । मान्छेले भविष्य कर्मले लेख्छ भन्थे साँचो रहेछ ।

जीवनमा किताबका पानामा पढेभन्दा सयौं गुणा पीडा हुँदोरहेछ याद बोकेर बाँच्न । बस् म पनि तिमीलाई प्रेम गर्छु भनेर व्यक्त गर्न पाएँ । यो भन्दा खुसी र गौरवको कुरा केही हुन सक्दैन । तिमी नयाँ जीवन नयाँ तरिकाले बाँच्न सिकेको मान्छे, म पुरानो जीवन कोट्याएर बाँच्ने मान्छे ।

पत्रमा गुलाब थिएन, गुलाबको चित्र थियो ।

By

Readers Comments (0)