Filed Under:  विचार | टिप्पणी

पर्यटकको पर्खाइमा धारापानी

7th February 2015   ·   0 Comments

Meghraj_acharya- मेघराज आचार्य

आजभन्दा २५/३० बर्ष अगाडिको कुरा हो । म एसएलसी सकेर क्याम्पस पढ्ने क्रमममा दिदीको घरमा बस्ने गर्थें । त्यतिबेला दिदी भिनाजुको गाउँ ठाउँको मन्दिर भएर होला । म भाञ्जा–भाञ्जी र साथीभाइसँग बेला–बेलामा धारापानी मन्दिरमा जाने गर्थे । त्यसबेला धारापानी परिसरमा एउटा ठूलो साजको रुख थियो । त्यसको छेऊमा एउटा छुट्टै आकृतिको पाइलाको डोबजस्तो छापहरु देखिन्थे । त्यसको छेऊमा एउटा प्वाल थियो । जसबाट पानी जति खन्याए पनि कहाँ जान्थ्यो थाहा हुँदैनथ्यो । यो अनौठो प्रकृतिको संरचना भएर होला त्यस ठाउँ वरपरका बासिन्दा जल चढाउन आउँथें । त्यो ठाउँलाई सामान्य पर्खालले संरक्षण गरेर राखिएको थियो । त्यस ठाउँमा शिवजीको अलौकिक शक्ति छ भनेर होला प्रत्येक बर्ष महाशिवरात्रीका दिन पूजाआजा र मेला लाग्ने क्रम बढ्दै जान थाल्यो । त्यहीं क्रममा संयोगले प्यूठानबाट झरेका एक जना बालब्रम्हचारी लक्ष्मीकान्त अधिकारी त्यहीं मन्दिर व्यवस्थापनको जिम्मा लिएर बस्न थाल्नुभयो । उहाँले आफ्नो कार्यकालमा त्यहाँ पार्टी पौवा धर्मशाला आदि बनाएर यसको विकासको क्रमलाई अगाडि बढाउँदै लाग्नुभयो । कालगतीले उहाँ धेरै बाँच्नुभएन । त्यसपछि अरु मन्दिर व्यवस्थापन समितिका सदस्यहरुबाट यसको विकास निर्माण हुँदै गयो । अघिपछि फाटफुट मानिस देखिए पनि शिवरात्रीको दिन मानिसहरुको जाने क्रम बढ्दै जान थाल्यो । दुई चार बर्ष त त्यही पढ्ने क्रममा हाम्रो युवा पिढीले पनि शिवरात्रीको दिन मेला लाग्ने समयमा एक दुई दिन स्वयम्सेवकको जिम्मा पाउँथ्यौं । सायद आफ्ना इष्टमित्रको गाउँ–ठाउँ भएर होला हामीहरु पनि जोशका साथ सहयोग गर्दथ्यौं । त्यसैले यसबारे पुरानो इतिहास र किंबदन्ती धेरै भए पनि मैले प्रत्यक्ष जानेको त्यहीं थियो ।

dharapaniतर म अहिले धेरै बर्षपछि गएको शनिबार धारापानी मन्दिरमा गएँ । मैले धारापानी मन्दिर र त्यस वरपरको क्षेत्रमा धेरै परिवर्तन पाएँ । पहिले त्यस्तो सुनसान धारापानी मन्दिर बल्ल अहिले आएर मानिसहरुको दैनिक आवतजावत भीडभाड र पर्यटकीय थलोको रुपमा अग्रसर भएको पाएँ । हुन त धेरै बर्षपछि भएर पनि होला । तैपनि त्यहाँ बस्ने मानिसहरुबाट अहिलेको एक दुई बर्षमा धारपानी परिसरमा ठूलो परिवर्तन र विकास निर्माण भएको सुन्नमा पाएँ । त्यहाँ बस्ने एक दुईजना मन्दिरका शुभचिन्तकले बल्ल धारापानी मन्दिरले एउटा सक्षम अध्यक्षसहितको मन्दिर व्यवस्थापन टिम भेटाएको छ भनेर तारिफ गरेको पनि सुनें । जे होस् बल्ल दाङको धारापानी क्षेत्र खाली बर्षको एकपटक शिवरात्रीमा मेला लाग्ने ठाउँ मात्र नभएर प्रत्येक दिन भक्तजन र पर्यटकहरुको भीड लाग्ने थलोको रुपमा विकसित भइरहेको रुपमा पाएँ । शनिबारको दिन भएर होला पूजा गर्ने मानिसहरुको घण्टौं लामो लाइन थियो । पहाडी सौन्दर्यतालाई हेर्ने र त्यहाँका अरु संंरचनाहरुलाई हेर्ने मानिसहरुको भीडभाड थियो । मलाई यस्तो अनुभूति भयो कि धारापानी क्षेत्र दाङलाई राष्ट्र र अन्तर्राष्ट्रसामू चिनाउने पर्यटक थलोको रुपमा विकास हुन अब कत्ति पनि बेर लाग्ने छैन होला । अहिलेका मन्दिर व्यवस्थापन समितिलाई यस्तैगरी दङाली जनताको साथ सहयोग र मन्दिर व्यवस्थापन टिमको सक्रियता रहेमा मन्दिर परिसरमा एउटा ठूलो जलाशय वा पोखरी निर्माण र दक्षिणतर्फको पहाड अग्लो टापुमा उत्तरतर्फ फर्केर हेर्दा सम्पूर्ण दाङ देखिने र दक्षिणतर्फ फर्केर हेर्दा भारतको दूरदराजसम्म देखिने एउटा अग्लो भ्यूटावर बनाउने सोच छ र मन्दिर वरपर औषधिको लागि प्रयोग हुने विभिन्न किसिमका जडिबुटीहरु रोपेर मन्दिर परिसरलाई हराभरा बनाउने सोच छ भनेर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले योजना सुनाउनुभयो । साँच्चिकै सोच अनुसार यी महत्वाकांक्षी योजना पूरा भए भने धारापानी क्षेत्र एउटा रमणीय ठाउँ हुनेछ । जसले गर्दा देशका दूरदराजमा र अन्तर्राष्ट्रबाट पनि भक्तजन र पर्यटकहरु नआउलान् भन्न सकिदैन ।

हुन त अहिलेको युग भनेको विज्ञापनको युग हो । विभिन्न सञ्चारमाध्यम, र जनमानसमा पाण्डवेश्वर मन्दिर धारापानीको अहिले आएर निकै चर्चा परिचर्चा गरिएको छ । कहिले नाग देवताको चर्चा, कहिले विश्वको ठूलो त्रिशुलको चर्चा, कहिले गणेश मूर्तिको चर्चा र कहिले शिव पार्वतीको रासलीला आदि इत्यादि जे होस् यी चर्चा परिचर्चा जे भए पनि अहिले आएर त्यहाँ जाने आन्तरिक पर्यटक र भक्तजनको संख्या ह्वात्तै बढेको छ । धार्मिक विचार र पाटो आ–आफ्नो ठाउँमा होला । तर त्यहाँको भौगोलिक बनावट र मनोरम दृश्य हेर्दा पनि कम महत्वपूर्ण ठाउँ छैन धारापानी क्षेत्र । हुन त मलाई भन्ने हो भने धर्ममा भन्दा कर्ममा विश्वास गर्ने मान्छे । देवताको सेवाभन्दा मानवसेवामै विश्वास गर्ने मान्छे हुँ । तैपनि धर्मलाई कुनै चमत्कार र जादूको छडी नमाने पनि यसले अहिलेको अराजक बन्दै गएको समाजलाई पर्दापछाडि केही शक्ति छ है भनेर खबरदारी गर्ने थलोको रुपमा लिएको छु धर्मलाई । जसले गर्दा थोरै भए पनि अनुशासनमा हिड्ने वातावरण बनाएको अहिलेको यस छाडा समाजलाई । हुन त अहिलेको यस बैज्ञानिक युगमा धर्ममा भन्दा कर्ममा विश्वास गर्नेले नै विकासको चमत्कार देखाएका छन् । यहाँ साँझ बिहान एक छाक खान र राम्ररी लाउन नपाएर र आवश्यक औषधि उपचार नपाएर अकालमा ज्यान गुमाउने मान्छेहरु पनि छन् भने अर्कोतर्फ करोडौं खर्च गरेर मठ मन्दिर र मूर्ति स्थापनामा लगानी गर्ने मानिस पनि छन् । फरक यत्ति हो कसैको नजरमा मानवसेवा ठूलो होला त कसैको नजरमा मठमन्दिरमा मूर्ति स्थापना होला फरक सोचमा नै हो । यी सब सोचाइ र दृष्टिकोणबीचको मत मतान्तर जे जस्तो भए पनि सारतत्व यो हो कि जसले जुन रुपमा आफूलाई जीवनमा आनन्दमय बनाउँछ र सन्तुष्टि पाउँछ त्यहीं नै एक किसिमको धर्म हो जस्तो लाग्छ मलाई ।

जेहोस् अहिले आएर धारापानी मन्दिरको विकास निर्माण र प्रगतिमा जे जति सहयोग र सद्भाव देखिएको छ, यो समग्र जिल्लाको धार्मिक र पर्यटकीय विकाससँग जोडिएको छ । यसले समग्र दाङ जिल्लाको पहिचानलाई अगाडि बढाउन थप मद्धत गर्नेछ । यहाँ यस्तै किसिमका मानिसको आवतजावत र भीडभाड बढ्दै जाने हो भने यहाँ पछि गएर हुने फोहर व्यवस्थापन र पानीको समस्यालाई पनि त्यस ठाउँका बासिन्दा र मन्दिर व्यवस्थापनले समयमै सोच्न जरुरी छ । यदि घोराही सदरमुकामदेखि मन्दिर क्षेत्रसम्म पक्की सडक र बबई नदीमा पक्की पुल निर्माण हुने हो भने धारापानी क्षेत्रमा बाह्रै महिना भक्तजन र पर्यटकहरुको आवागमन बढेर अबका दश बीस बर्षमा बाग्मतीको पशुपति विकास क्षेत्रजस्तो शिवधाम नहोला भन्न सकिदैन । यसको लागि विभिन्न संघ संस्था, राष्ट्र र अन्तर्राष्ट्रको समेत सहयोगको खाँचो देखिन्छ । मैले त्यसदिन शनिबार भएर होला मानिसको भीडभाडमा दिन बितेको पत्तै पाएन । त्यहाँ बस्ने मानिसलाई सोधे सधैं यस्तै हो त भीडभाडभन्दा शनिबार र सोमबार यस्तै नै हो अघिपछि अलि कम मात्र हुन्छ भन्ने जवाफ पाएँ । शिवरात्रीको पर्ब नजिक भएर होला अध्यक्षसहितको व्यवस्थापन टिम मन्दिर व्यवस्थापन र भौतिक निर्माण व्यवस्थापनमा व्यस्त देखिन्थ्यो । आ–आफ्नो ठाउँमा कसैलाई फूर्सदै थिएन । उता पूजा गर्ने भक्तजनहरुको पनि साँझ पर्दासम्म पनि घण्टौं लामो लाइन सकिएको थिएन । मन्दिरदेखि पश्चिमतर्फको डाँडामा पिकनिक खान आउने जाने विद्यार्थी भाइबहिनीहरुको भीडभाड र नाचगान चलेकै थियो । मैले पनि पहाडको अग्लो थुम्कामा बसेर यी सबै दृश्यहरु रोचक तरिकाले हेरिरहेको थिएँ । मनमनै सम्झना गरें मैले पढ्दाको विद्यार्थी जीवनको अनकण्टार डरलाग्दो धारापानी र अहिलेको यो विकास निर्माणको गतिमा अगाडि बढिरहेको धारापानीमा धेरै परिवर्तन भएको महसुस गरें । म सँग छेऊमा बसेका भाई विश्वराज आचार्यलाई भनें, ‘हामी बाल्यकालमा जाने गरेको बाह्रकुने दह अहिलेसम्म पनि काम गरेर देखाउने मानिस नपाउँदा होला खासै परिवर्तन हुन सकेको छैन । प्राकृतिक सुन्दरता र मनोरम दृश्यले बाह्रकुने दह पनि कम महत्वको ठाउँ छैन । नगरपालिकामा भएर पनि त्यसको हुनुपर्ने विकास निर्माण भएको छैन भने धेरे छोटो इतिहास बोकेको बजारदेखि टाढाको धारापानी क्षेत्र धेरै चर्चायोग्य भइसक्यो । दह अझैं पनि ओझेलमा परेको छ’ भनें । भाइले पनि हो त नि भनेर जवाफ दिए ।

त्यसैले भन्नैपर्ने हुन्छ कि मन्दिर व्यवस्थापन समितिको निस्वार्थ सक्रियता र सबैको यस्तै किसिमको सहयोग र सद्भाव हुने हो भने दाङको धारापानी क्षेत्र अबको केही बर्षभित्रै एउटा गतिलो पर्यटक भित्र्याउने पर्यटन क्षेत्रको रुपमा विकास हुँदै जानेछ ।

By

Readers Comments (0)