Filed Under:  कथा

चौकी | शरद देवकोटा

7th February 2015   ·   0 Comments

Bhuwan Devkota“थाहा पायौ तिम्ले ? रत्नप्रसादलाई त पुलिस चौकीमा लगेछन् नि ।”

“अँह, मैले त थाहा पाएकै छैन । किन लगेछन् नि चौकीमा ?”

“खै त्यो त मलाई पनि पत्तो भएन । मैले त सोमप्रसादले भनेपछि थाहा पाएको हुँ ।”

“कठै बरा, गाउँघरमा त्यति राम्रा मान्छे । बोली बचनमा कसैलाई भनी नबिराउने । हामीले थाहा नपाउने के काम बिगारेछन् हँ रत्नप्रसादले ?”

“त्यै त म पनि छक्क परेको छु । गाउँ समाजमा कसैले नराम्रो काम गरेमा उसलाई सम्झाउने र राम्रो काममा बाटो देखाउने मान्छे । कुन दिनदशा बिग्रिएछन् र यस्तो अशुभ खबर सुन्नुप¥यो । उता चौकीमा उनलाई पुलिसले बेसरी कुटेको छ भन्ने पनि सुनेको छु ।”

“त्यै त नि, सज्जनका पनि शत्रु हुन्छन् भन्ने कुरा रत्नप्रसादलाई चौकीमा लगेपछि घामजत्तिकै छर्लङ्ग भयो ।”

“हैन, त्यसरी त बिनाकारण चौकीमा नलैजानुपर्ने । अब त गणतन्त्र आएको छ । अनाहकमा कसैले दुःख नपाउनुपर्ने । खै, शत्रु लागेपछि कसको पो के लाग्दो रहेछ र ! हामीले केही गरौं भने मुद्दा मामिलाको कुरो । त्यसै अघि सर्नु पनि भएन ।”

“हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बीऊ जोगाउनु भन्छन् । नदेखेको र नबुझेको मामला प¥यो । भोलि साक्षी सर्जिमिन होला । कसलाई दोषी भन्ने, कसलाई निर्दोष भन्ने । मुद्दाका नौ सिङ भन्छन् । म त केही दिन शहरतिर जानुपर्ला भन्ने सोचेको छु ।”

“खै म पनि के गरौं, कसो गरौं भनिरहेको छु ।”

“यस्तो खबर साँच्चै हो त ? भनेर मलाई बिक्रमेले त उल्टै प्रश्न पो गर्छ बा ! गाउँभरि यस्तो सनसनी छ । ऊ भने के कसो हो भनेर न्यायाधीश जस्तै सोधखोज गर्छ । हैन आजकालको जमाना किन यस्तो आएको होला कुन्नि ! सब से भला चूप भन्ने सुनेको छु । त्यसै गर्दा बेस होला ।”

रत्नप्रसाद चौकीमा पुगेको खबर वल्लो पल्लो गाउँ हुँदै सुकेको खरमा लागेको आगो जस्तै सबैतिर फैलिदै गयो । युवाहरु जम्मा भए । पुलिस चौकी घेर्ने र त्यहा“बाट रत्नप्रसादलाई छुटाएर ल्याउने योजना बन्यो । गाउँलेहरु जम्मा हुँदै गए । समूहमा मान्छेको डर हराउँदै जान्छ । सबैमा जोश थपियो । दुई सयभन्दा बढीको जुलुस निकाल्ने तयारी भयो । बेलुकीको यस्तै चार बज्न थालेको हुँदो हो, पुलिस चौकीतिर जुलुस सोझियो । “पुलिस दमन बन्द गर । रत्नप्रसादलाई रिहा गर” नारा घन्कदै गर्दा त्यसको स्वरले वरपर सबैलाई चनाखो बनायो ।

गाउँको सिरानमा अस्थायी प्रहरी चौकी । जुलुस त्यतैतिर जाँदै थियो । अघि–अघि पुरनकी श्रीमती । काखमा बच्चा च्यापेका पुरन । त्यसपछि रत्नप्रसाद । यो सबै देखेपछि जुलुसका मान्छेहरुको स्वर एकाएक बन्द भयो । सबैले मुखामुख गर्न थाले । रत्नप्रसाद अचम्ममा परे । बिहानसम्म केही नभएको गाउँमा अहिले के भयो यस्तो ? आफ्नो रिहाइको माग पो गर्दैछन् गाउँलेहरुले । यो के आश्चर्य ? जुलुस र रत्नप्रसादको जम्काभेट त्यहीं भयो । जुलुसमा सामेलमध्ये अगुवाजस्तो भएको प्रदीपले रत्नप्रसादलाई सबै विवरण सुनायो । रत्नप्रसाद एकछिन त केही बोल्न सकेनन् ।

“हेर्नोस् न, पुरनकी नौ महिनाकी छोरीलाई झाडापखाला लागेछ । त्यो थाहा पाएर म उहाँको घर पुगें । हामी स्वास्थ्य चौकी पुग्यौं । त्यहाँ दिनभरिजसो सलाइन पानी दिएर बच्चाको उपचार भयो । के गर्ने आज नेपाल बन्द रे । जाँदा आउँदा पैदल । त्यसैले आउन ढिला भयो । मैले त शम्भुलाई हामी स्वास्थ्य चौकी जाँदैछौं । घरमा खबर गरिदिनू भनेको थिएँ । उसले के सुनेछ कुन्नि ! स्वास्थ्य चौकीको साटो पुलिस चौकी पो भनिदिएछ । रत्नप्रसादको यस्तो बयानले जुलुसमा सामेल कोही पनि एक शब्द नबोली आफ्नो घरतर्फ हिडे ।

By

Readers Comments (0)