Filed Under:  विचार | टिप्पणी

आगतमा नेपाली कविताको बाटो | महेश पौड्याल

7th February 2015   ·   0 Comments

नेपाली साहित्यमा १९९२ फागुन १६ गते गोरखापत्रमा प्रकाशित गोपालप्रसाद रिमालको कविता “कविको गान” नै सचेतरुपमा लेखिएको प्रथम आधुनिक नेपाली कविता हो भनिएको छ । यसरी हेर्दा हामीले “आधुनिक” काव्ययात्रा गरेको असी वर्ष पूरा हुन लागेको छ । आठ दशकपछि साहित्यको विश्व मानचित्रमा नेपालको उपस्थिति त्यस्तो सन्तोषजनक देखिदैन । त्यसैले त थियोडोर रिकार्डी भन्छन्, “नेपाली साहित्य पश्चिमा मुलुकमा अपरिचितप्राय छ” (१५७) ।

हुन पनि विश्वका यत्राविधि विश्वविद्यालयहरूमा साहित्य पढाइन्छ, नेपाली साहित्यको कृति नेपाली विभागबाहेकका विभागहरूमा खासै पढाइँदैन । हामीले शिरिषको फूलको भूतकालीन रटान गरेर आत्मसन्तुष्टि लिइरहनु हुँदैन । यति शोध अनुसन्धानहरू हुन्छन्, नेपाल छुटेकै हुन्छ । विश्वभरि यति धेरै नेपाली आप्रवासी र डायस्पोरा छरिएका छन् र धेरै साहित्यिक प्रयास भइरहेको समाचार सुनिन्छ, तर बार्बरा स्टोलर मिलर (१९९४) को “मास्टरवर्कस् अफ एसियन लिटरेचर इन कम्पेरेरिभ पर्सपेक्टिभ”मा नेपालको उपेक्षा भएको छ । दक्षिण एसियाली नारीवादी चिन्तनबारे उमा नारायणनले १९९७ निकालेको डिस्लोकेटिङ कल्चरमा नेपाल कहींनिर पनि आउँदैन । पल ब्राइनले २००३ मा आधुनिक दक्षिण एसियाली साहित्यबारेको अनुसन्धान कृति प्रकाशित गरे, नेपाल छुट्यो । जोसुवा एस मोस्टो (२००३) ले कोलुम्बीय विश्वविद्यालयबाट प्रकाशित आधुनिक आपूर्वी एशियाली साहित्यको शोधग्रन्थमा पनि नेपाल छैन । २००५ मा विलार्ड स्पिगिलमेनले लेखेको हाउ पोएट्स सी द वल्र्डमा नेपाली परेनन् । एसियाको अन्तर्देशीय सांस्कृतिक अध्ययन सम्बन्धमा कुअन–सिङ चेन र चुआ बेङ् हुआतको इन्टर एसिया कल्चरल स्टडी (२००७) मा नेपाली समेटिएन । बेन्जी झेङ (२००८) ले सम्पादन गरेको उत्तर अमेरिकामा बस्ने एसियाली कविहरूको कविता सङ्ग्रहमा नेपालको नाम छैन । २०१२ मा रोजमेरी एम केन्फिल्ड रेइसमेनले प्रकाशित गरेको एसियन पोएट्समा नेपाली कविले प्रवेश पाएको देखिँदैन । बालसाहित्यमा पनि पिटर हन्टले १९९६ मा प्रकाशित गरेको विश्व बालसाहित्य ज्ञानकोषमा नेपाल छैन ।

पछिल्ला केही वर्षमा नेपाली साहित्यका थुप्रै अनुवाद गन्थ्रहरू पनि आएका छन् र केही त स्तरीय पनि छन् । माइकल हटको द हिमालयन भ्वाइस (१९९१) र मञ्जुश्री थापा र सम्राट उपाध्यायले अनुवाद गरेर मनाओ जर्नल (२००१) मा छापेका प्रतिनिधि नेपाली कविता यसका उदाहरण हुन् । तर रचना आफ्नै वैचारिक आयतनको शक्तिशाली धरातलमा नउभिँदासम्म अनुवादकले रचनामा प्राण भर्न सक्दैन सायद । त्यसैले यस्ता केही प्रयासका बाबजूद नेपाली साहित्य अझै अपरिचित नै रह्यो । केही राम्रा गन्थका अनुवाद सन्तोषजनक नहुनाले पाठक तानेनन् । मुनामदन, शिरीषको फूल र सेतो बाघका अङ्ग्रेजी अनुवाद असफल अनुवादका सफल नमूनाहरू हुन् । साहित्यमा अन्तर्राष्ट्रियस्तरमै स्थापित जर्नलहरूमा नेपाली साहित्यका केही विश्लेषणहरू अवश्य पाइन्छन् । उदाहरणका लागि हवाइ विश्वविद्यालयको मनेवा जर्नल, फेमिनिस्ट रिभ्यू, एसियन थिएटर जर्नल, बुलेटिन अफ द स्कुल अफ ओरिएन्टल एण्ड अफ्रिकन स्टडिज, जर्नल अफ साउथ एसियन लिटरेचर र जेस्टोरले सङ्ग्रहित गरेका थुप्रै जर्नल लेखहरू । तर तिनीहरू समस्त नेपाली साहित्यका प्रतिनिधि र विश्वस्तरका लेखहरूका गम्भीर विश्लेषण होइनन् । तिनीहरूले पश्चिममा नेपाली साहित्यको सामथ्र्यलाई स्थापित गरेर विश्वको ध्यान तान्न सकेनन् । त्यसैले विश्वआकाशमा नेपाली साहित्य अझै विभिन्न कारणहरूले एक टापु नै बनिरहेको कुरा सत्य हो ।

हामीले जस्तै या भनौं हामीभन्दा पनि पछाडि आधुनिक युगमा प्रवेश गरेका अन्य साहित्यहरू पनि छन्, जसले आफैंलाई विश्वमानचित्रमा बलियो हुँकारका साथ स्थापित गरिसके । अधिकांश उत्तरऔपनिवेशिक राष्ट्र र तेश्रो विश्वका भनिएका राष्ट्रहरू सन् १९५० पछि आधुनिकताको युगमा प्रवेश गरेका हुन् । अफ्रिकी साहित्यमा आधुनिकताको इतिहास चालीस वर्षको पनि छैन । वास्तवमा त्यो पूर्णतया उत्तर–औपनिवेशिक साहित्य हो । फारा जसमिन ग्रिफिन भन्छन्, “बितेका तीस वर्षमा अफ्रिकी मूलका लेखकहरूबाट साहित्यको विष्फोटन नै भएको छ । (१६५) ।” नगण्य साहित्यको बाटोबाट आधुनिकतामा प्रवेश गरेर एक शताब्दी पनि नपुग्दै आज अफ्रिकी साहित्य विश्वसाहित्यको एक विशाल हिस्सेदार बन्न पुगेको छ र गुन्टर ग्रास, वोले सोयिंका, चिनुवा अचेबे र जी. एम. कोयट्जीजस्ता शिखरहरू जन्माइसकेको छ । तनुरे ओइजाडे भन्छन्, यसको कारण हरेक अफ्रिकी लेखकमा “कुनै न कुनै प्रकारले नेग्रो हुनुको विशिष्ट अनुभव मुखरित गर्ने प्रवृत्ति हो” (४६) । अफ्रिकी र अफ्रिकी–अमेरिकी साहित्य पचासको दशकमा आधुनिकतामा प्रवेश गरेको हो । आदिवासी हुनुको गौरवबोध र आफ्नो सभ्यताको विकासका आदिम जराहरूको खोज केरिबियाली आधुनिक साहित्यको पनि मूल कथ्य हो । लिजाबेथ पाराभासिनी गेवर्ट भन्छन्, “आधुनिकतावादका दौरान एकपछि एक आएका विभिन्न साहित्यिक प्रवृत्तिमा केरिबियाली साहित्यको सबैभन्दा महत्वपूर्ण कथ्य आफ्नो सभ्यताको जरो अफ्रिकी सभ्यतामा छ भन्ने हो ।” (६९०) यसबाट डेरेक वाल्कोट र भलेरी ब्लुमजस्ता हस्ती जन्मिए र आफ्नै सभ्यताको गीत गाएर अमर भए ।

ल्याटिन अमेरिकी आधुनिकता पनि उत्तरऔपवेशिक युगकै आधुनिकता हो । पचास वर्षभित्र आज ल्याटिन अमेरिका विश्वसाहित्यको मानचित्रमा एउटा हिमालजस्तो भएर उभिएको छ । पाब्लो नेरुदा, भार्गस ल्होसा र गेब्रियल मार्खेजको उपस्थिति एक डरलाग्दो उपस्थिति हो । नेरुदा निजी यथार्थका नवीन गायक हुन् भने भार्गस ल्होसा र गेब्रियल मार्खेज आफ्नो मौलिक अभ्यासबाट चर्चामा आएका हुन्, जसको जग ल्याटिन अमेरिकाको विशिष्ट जीवन अनुभव र मिथकको जगमा आएको छ । मार्खेजको लेखनबारे जुअन क्यास्ट्रो भन्छन्, “मार्खेजको जादुवी यथार्थवाद ल्याटिन अमेरिकाको आन्तरिक यथार्थ हो ।”

अफ्रिकी र केरिबियाली साहित्यभन्दा पनि ढिलो, अझ हामीभन्दा पनि दशकौं ढिलो आधुनिकतामा प्रवेश गरेको अरब साहित्य र चिनियाँ साहित्यले सेरेना इभादी, खलिल गिब्रान, एडवार्ड सेड, हा जिन र मोयानजस्ता हस्ताक्षर तयार गरेको छ । खलिल गिब्रानले प्रेमको व्याख्यामा अभूतपूर्व कलात्मकता दिए भने अन्य लेखक र उनीहरूसँगै लेखनमा आएका एक विशाल समूहले आफ्नै संस्कृति र सभ्यताका मौलिक कुराहरू गरे । “अरब संस्कृतिमा आम संस्कृतिको केन्द्रिय विशिष्टता हुन्छ र यसको साहित्य भनेको आफ्नै आम संस्कृतिका विविध स्वरुपप्रतिको प्रतिक्रिया र सम्वाद हो ।” यसको पुष्टि खालिद हुसैनी र जामिल आहमदका आख्यान हुन् । लि ह्वा– यिङ् (२०१०) का अनुसार सन् १८१८ तिर आधुनिक युगमा प्रवेश गरेको चिनियाँ साहित्यले आजसम्म आउँदा सिल्कोजस्ता चमत्कारिक डायस्पोरालाई जन्म दियो, जसले चिनियाँ मिथकको जगमा साहित्य लेखेर पुसकार्ट पुरस्कार र जिनियस पुरस्कार जिते । भारतको त के कुरा गर्नु, विश्व साहित्यमा १९१३ सालतिरै टेगौरको चमत्कारिक उदय र त्यसपछि वर्तमानसम्म आउँदा सल्मान रुस्दी, अमिताभ घोष, अरुन्धती रोय, अनिता देसाइ, निसिम इजेकियल र कमला दास विश्वसाहित्यका अभिन्न नाम हुन पुगेका छन् ।

आधुनिकताको एक शताब्दीभित्र नेपाली कविताको अन्तर्राष्ट्रिय उपस्थिति कमजोर हुनु नेपाली काव्यप्रेमीहरूका लागि चिन्ताको विषय हो । हामी एकपछि एक वादहरूका अन्वेता पनि भयौं । विभिन्न गुट–उपगुटमा पनि विभक्त भयौं । हामीले काव्यशिल्पको त्यो उच्चतम नमूना, जसलाई कवि मेथ्यू आर्नोल्डले टचस्टोन भनेका छन्, सायद निर्माण गर्न सकेनौं । वास्तवमा मौलिक नेपाली ज्ञान, नेपाली हुनुको विशिष्ट अनुभव, नेपाली मिथक, इतिहास र भुगोल र नेपालको अथाह सांस्कृतिक निधिमा टेकेर धेरै कविहरू आएका हुन् र आज पनि आइरहेका छन् । तर हाम्रो फेसनेबल समालोचना पद्धतिले तिनीहरूको मूल्यलाई पहिचान गरेको पाइएन, तिनीहरूको गम्भीर मूल्याङ्कन भएको पाइएन र अनुवादकले त्यस्ता काव्यको अनुवाद गरेको पाइएन ।

हामी के गर्न सक्छौं ? हामी विश्वसाहित्यको स्पर्श नपुगेको कुनै नवीन यथार्थको उत्खनन् गर्न सक्छौं । यो कठीन छ । बृहतरुपमा आधुनिक नेपाली कविताको इतिहासमा यसका लागि कहिल्यै सामूहिक प्रयास भएकै छैन । आधुनिक नेपाली कविताका लक्षणमा मौलिक ज्ञानको खोजी कहिल्यै परेन । मोहनराज शर्माले रेखाङ्कित गरेका आधुनिकताका लक्षणमा क्लिष्टता र दुरुहता, कुण्ठा र निराशा, प्रेम, देशप्रेम र प्रकृतिप्रेम, बेथितिको विरोध, यौनवाद र रतिरागात्मकता, मार्मिकता र व्यङ्ग्यजस्ता विषय परे (२०५२) तर मौलिक ज्ञानको खोजी, कहिनिर पनि परेन । त्यसैले, हामी आफ्नो काव्यलाई आफैंतिर फर्काउन सक्छौं । आफ्नै मौलिक ज्ञानको धरातलमा उभिएका काव्य र काव्यसाधकहरूका इतिहासभरि छरपष्ट छरिएका कवितालाई हामी पुनर्पठन, सङ्ग्रह र अनुवाद गर्न सक्छौं । हाम्रा कविताको बिम्ब–विधानमा हामी आफ्नो सभ्यता, संस्कृति, इतिहास, लघुइतिहास, लोकजीवन, स्थानीय रङ आदि विशिष्ट निधिहरूको थप प्रयोग गर्न सक्छौं । जसले विश्वको पाठक कुनै नवीन ज्ञानको श्रोत हाम्रो काव्यमा पाउनेछ । यस साझा प्रयासलाई “रोमान्टिक रिनासा” भन्न सकिएला ।

तपाईहरू नेपाल– आजको राजनैतिक मानचित्रको नेपाल र नेपाली सभ्यताको आयतनमा फैलिएको अमूर्त नेपाल–को अथाह ज्ञान धरोहरबाट टिपेर हामीलाई कविता दिनुहोस् । हामी अनुवाद गर्छौं, विश्वबजारमा लिएर जान्छौं र विश्वसँग गम्भीर काव्यिक बहस गर्छौं । समालोचकहरूले विभिन्न नाममा पश्चिमा सिद्धान्तको पूर्वी संस्करण पस्कदै लेखक र पाठकलाई “नयाँ” भनेर अल्मल्याउन अब सक्दैनन् । आयातित उत्तरआधुनिकताभन्दा हामीले आफ्नै प्रकृतिको विशिष्ट आधुनिकता खोज्नुपर्छ । यी सबै प्रयासलाई हामी काव्यबाट शुरु गर्न चाहन्छौं र यो प्रयासलाई हामीले “कवितामा नेपाल” भनेका छौं । यहाँनिर नेपाल भन्नाले राजनीतिक भूगोलको नेपाल साथै विश्वभरि छरिएका आप्रवासी र डायस्पोराले बोकेको अमूर्त तर बलियो नेपाल पनि हो । यस प्रस्तावमा कवि, अनुसन्धाता, समालोचक, अनुवादक, प्रकाशक र उदार दाताको मिलनको खाँचो छ । जसको प्रयास हामी गरिरहेका छौं । हामीलाई साथ दिनुस्, हामी नेपाललाई विश्वमानचित्रमा साहित्यमार्फत् “वैकल्पित ज्ञानको केन्द्र”का रुपमा स्थापित गर्ने गम्भीर, इमान्दार र प्राज्ञिक प्रयास गर्नेछौं ।

By

Readers Comments (0)