Filed Under:  कविता

कठपुतली | मनोज चौधरी

7th February 2015   ·   0 Comments

ठूलाका हात आशीर्वाद
सानाको त्वम् शरणम्
औंला घुमाउँदा नाच्नुपर्ने
मुख चलाउँदा हाँस्नुपर्ने
सबैलाई हतार छ
आशीर्वाद लिनलाई लिप्त छन् ।

कसैको मुखमा गास
कसैको हातमा भाग
कोही टुलुटुलु दिग्भ्रमित
कसैले खाने थालमा रछ्यान
बस्, फरक छन् औंलाका भेद
औंला चल्दा नाच्छन् ।

सबैको आश उस्तै छ
दृष्टि आपूmमा परोस्
कृपाको पात्र बनौं
र, स्यालको रजाईं गर्न सकियोस्
अपसोच ! औंलाको विभेद देख्ने
सु र कू छुट्याउन नसक्ने
कठ र पुतली नचिन्ने
पक्ष र विपक्षका मुर्खहरु
भागबण्डाका अनुयायीहरु ।

कोही घुर्की लाउँछन्
कोही सुर्की ठोक्छन्
न पक्षमा सद्दे न विपक्षमा
जन्मदै टेढा, जन्माइएका टेढा
यिनी तिनको मोहरा भए
बिचार राख्ने बोरा भए
छायाँतिर गोरा भए
घामतिर काला भए
तर सबै एउटै भए
औंलामा नाच्ने कठपुतली भए ।

By

Readers Comments (0)