Filed Under:  समीक्षा

‘सिरानीमा जून’ नियाल्दा | दोर्ण घर्तीमगर

7th February 2015   ·   0 Comments

Sirani ma junDorn_ghartiविजयराज ज्ञवाली समकालीन नेपाली गजलका क्षेत्रमा चर्चित नाम हो । उहाँको गजलमा बेग्दै स्वाद पाइन्छ । जसले अर्को गजल पढ्न पाठकलाई घच्घच्याउँछ । गजलको धर्म र मर्मलाई पहिल्याएर शक्तिशाली र सुन्दर गजल रचना गर्ने थोरै गजलकारहरुको पंक्तिमा उहाँको नाम पर्दछ । फुटकर गजलबाटै चर्चा कमाएका ज्ञवालीले २०६५ मा जिन्दगीका बिम्बहरु प्रकाशन गर्नुभएको थियो । त्यसैको सफलता, चर्चा र हौसलो भर्खरै अर्को गजल संग्रह सिरानीमा जून प्रकाशन गर्नुभएको छ ।

कुनै पनि भाषा अनि कला साहित्यको विकास मापन गर्न गजल विधालाई मूल्याङ्कन गरे पुग्छ । हाम्रो नेपाली भाषामा पनि गजल र गजलकारहरुको अभाव छैन । कहिलेकाहीं सुनिन्छ, धेरै लेखिने तर कम पढिने विधा हो गजल । तर व्यावसायिक प्रकाशन गृहहरुबाट एक पछि अर्को गजल संग्रह छापिनुले नेपाली गजल पाठक पछिल्लो समयमा गजलप्रति धेरै आकर्षित छन् भन्ने संकेत गरेको छ । यसको पछिल्लो उदाहरण हो, विजयराज ज्ञवालीको गजल संग्रह– सिरानीमा जून ।

जुन गजलले मन मष्तिस्कमा प्रभाव पार्न सक्छ, त्यही गजल शक्तिशाली अनि सुन्दर हुन्छ । पुस्तकको नाम नै राखिएको सिरानीमा जूनको सन्दर्भमा लेखिएको गजल–

सिरानीमा जून पर्दा तिम्रो याद आयो
खुशी सबै सागर तर्दा तिम्रो याद आयो

कति शान्त, सुन्दर अनि प्यारो थियो गाउँ
बाध्य भई बसाइ सर्दा तिम्रो याद आयो
(पृष्ठ–१)

गजलकार ज्ञवाली गजलमा खाली माया प्रेमका कुरामा मात्रै अल्झिएका छैनन्, उनले आफ्ना गजलमा देश दुखेको, सिमा मिचिएको र देश नै पराइले लुट्ने हो कि भन्ने दुःख पीडा मिसिएका पीडित नेपाली नागरिकका चित्कार पनि समेटेका छन्–

सुस्तासँगै लुम्बिनी दुख्ने हो कि पीर लाग्छ
मेरो सगरमाथा पनि झुक्ने हो कि पीर लाग्छ
(पृष्ठ–३६)

उनले गरिबी, अभाव र असमानताले हेपिएका, पछि पारिएका उत्पीडित जनहरुको पीडा, सीमान्तकृत मानिसहरुको जीवन र उनीहरुको मनोदशालाई गजलमा यसरी प्रस्तुत गरेका छन्–

सबैलाई चाहिने पैसाको मुठो होइन र ?
यो संसार जालझेल र झुठो होइन र ?
(पृष्ठ– ३५)

उनले आफ्ना गजल निकै सरल शब्दहरुबाट बुनेका छन् । तर तिनै सरल शब्दहरुमा बिद्रोहको हुँकार देखिन्छ । काठमाडौंको सत्ता आफ्नै विवेकले शासन गर्नेभन्दा विदेशीको इशारामा चल्ने गरेको र बिग्रिदै गएको आरोप छ उनको गजलमा । उनी भन्छन्–

आजभोलि ठीक छैन चाला काठमाडौंको
विदेशीको हातमा साँचो ताला काठमाडौंको
(पृष्ठ–५५)

विजयराजका गजलमा गजल संरचना र बनोट सजिलो र सरल छ तर त्यसले पार्ने प्रभाव गहिरो र स्थायी छ । उनी कलात्मकताका साथै विचारलाई विशेष महत्व दिन्छन् । गजलमार्फत् विचार र व्यवहार एकै नभएको अहिलेको सामाजिक यथार्थलाई चित्रण गर्दै कलम र तरबारको एउटै नहुने कुरा बताउँछन्–

सबैको विचार एउटै हुँदैन
र त व्यवहार एउटै हुँदैन

रगतले इतिहास लेख्नु भनेर के गर्नु ?
कलम र तरबार एउटै हुँदैन
(पृष्ठ– ६५)

समयप्रति उनी निकै दुखित छन् । समयले मानिसलाई घरि–घरी दुःख दिएको उनको अनुभव गजलमा पोखिएको छ । आशा देखाउँछ समयले नै तर प्रगतिको बाटोमा बाधक बन्न आइपुग्छ समय नै । उनी समयले निष्ठूर बनेर घरि–घरि फैदै काटेर ढालिरहेको दुखेसो पोख्छन् गजलमा–

प्रगतिको छेको हाल्छ समयले घरी–घरी
मुटभित्र आगो बाल्छ समयले घरी घरी ।

हुर्काउँछ मलजल गरी ठूलो हुने आश देखाई
फेदै काटी किन ढाल्छ समयले घरी घरी ।
(पृष्ठ–६४)

शालीन, सभ्यता र प्रेम प्रणय जीवनको गहना हो । उनी आफ्नी प्रेमिकालाई परम् सुन्दरीको रुपमा प्रशंसा गर्दै यदि भगवानले देखे भने पनि उनी हैरान हुने बताउँछन्–

भगवान पनि हैरान हुन्छ भेटेपछि तिमीलाई
यो ओठमा मुस्कान भेटेपछि तिमीलाई
(पृष्ठ– ६६)

प्रेम–प्रणयका अतिरिक्त गजलकार ज्ञवालीले राष्ट्र र राष्ट्रियताप्रति सङ्लो आस्था, माया र चिन्ता व्यक्त गरेका छन् । उनी देशलाई अनेक नाममा विखण्डन गर्नुभन्दा राष्ट्रिय एकतामै समृद्ध हुने विश्वास गर्छन् र मेची–काली र हिमाल, पहाड, तराई मुटुमा धड्किरहेको बताउँछन्–

मेचीकाली, हिमाल, तराई धड्कनमा छ मेरो देश
संघीयता सुन्दा लाग्छ विभाजनमा छ मेरो देश
(पृष्ठ– ५६)

गजलकार ज्ञवालीको हृदय साह्रै भावुक र कोमलताले भरिएको छ । त्यसैले हाम्रा सांस्कृतिक पर्वहरु हाम्रो औकातभन्दा टाढा देखेर उनी चिन्ता व्यक्त गर्छन् । उनी दशैं, तिहारजस्ता पर्वहरु हुने खानेहरुका लागि मात्र हो, गरिबहरुका लागि होइनन् भन्ने कुरा गजलमा यसरी व्यक्त गर्छन्–

गरिबको आँसु झार्न किन आउँछ यो चाडबाड
ऋणमाथि ऋण थुपार्न किन आउँछ यो चाडबाड
(पृष्ठ– ४८)

गजलको मक्तामा तखल्लुस प्रयोग गरिन्छ । गजलकार विजयराजको गजलमा तखल्लुसको प्रयोग यसरी गरिएको छ–

अँध्यारो छ पक्कै यो औंशीको रात हुनसक्छ
उनी आइनन् त्यसैले त ‘विजय’ निराश देखिन्छ
(पृष्ठ– ५२)

मानव जीवन प्रेम र हार्दिकताबाट सरल बन्दछ । गजलकार ज्ञवालीले आफ्ना गजलमा प्रेम, हार्दिकता, स्वतन्त्रता, राष्ट्र, राष्ट्रियता, युगबोध एवम् जीवनबोधलाई प्रकट गरेका छन् । गजल संग्रह ‘सिरानीमा जून’–२०७१ मा निखारता र परिस्कार पाइन्छ । गजल संरचना नमिलेको र नसुहाएको कतै पनि देखिदैन ।

७१ वटा गजलहरु संगृहित यो कृति पछिल्लो समयका नेपाली गजललाई बुझ्न चाहनेहरुका लागि राम्रो सन्दर्भ सामग्री बन्न सक्छ । सिर्जनाको आगो बालेर समुन्नत समाज र राष्ट्र निर्माणका लागि जागरण पैदा गर्ने अभियानमा विजयराज ज्ञवाली सक्षम देखिएका छन् ।

गजलले गजलकार ज्ञवालीको भावना र कुण्ठामात्रै बोल्दैनन्, मानवीयता, लोकतन्त्र र आवाजविहीनहरुको आवाज पनि बोल्छन् । यसमा गजलकार ज्ञवालीका गजलहरु सक्षम छन् ।

By

Readers Comments (0)