Filed Under:  कथा

फेसबुक | होतराज पौडेल

7th February 2015   ·   0 Comments

Hotraj paudel‘खै खै म पनि हेर्छु, फेसबुक ।’ श्रीमतीले ल्यापटपको स्क्रीनमा झम्टिन आइन् । म स्वयं पनि त्यति परिचित थिइनँ त्यो फेसबुक भन्ने प्रविधिसँग । छोराको सहायताले एउटा फेसबुक एकाउन्टसम्म खोल्न सकेको थिएँ । प्रविधिसँग आफुलाई पनि परिवर्तन गर्न सकिनँ भने म आफ्ना मान्छेहरुको लाममा सबैभन्दा पछाडि हुने पक्कापक्की थियो । दुई वर्ष पहिले छोराले एक थान ल्यापटप उपहार पायो उसैको दिदीबाट ।

इन्टरनेटको सुविधा लिन नसक्दा त्यहीं भाँडो पनि ढुंगाको देउताजस्तो भयो, हरेक दिन बिहान उठ्नेबित्तिकै ढोग्न मन लाग्ने । बल्ल–तल्ल एउटा इन्टरनेट चलाउन मिल्ने कलमको बिक्रोजस्तो औजारको जोहो गरेको थिएँ । छोराको अति नै दिलचस्पी थियो त्यो कम्प्युटरसँग । उसैको सहायताले एउटा फारम भरें, नागरिकताको प्रमाणपत्र लिनलाई फारम भरेजस्तो । मेरो एक थान फोटो पनि टाँसियो त्यही ल्यापटपको स्क्रीनमै । श्रीमती म भन्दा अझ पछाडि थिइन् यो मामलामा । उनलाई यो भाँडोभन्दा बरु एक किलो पिंडालु उपहार पाएको भए एकदुई छाक तिउन तर्कारी टार्न सजिलो हुँदो हो । तर आज ख्वै किन हो, उनले पनि निकै चाखलाग्दो तरिकाले मेरै छेउँमा आएर टाँसिएर बसिन् इन्टरनेट चलाएको हेर्नलाई ।

‘पख न पख ! म खोल्दैछु, एकछिन समय लाग्छ ।’

‘के–के हुन्छ यो फेसबुकमा ?’ उनले चाख मानेर सोधिन् ।

‘धेरै पुराना साथीभाई, बिदेश गएका इष्टमित्र, स्वदेशमै पनि टाढा–टाढा बसेका चिरपरिचित सबैसँग एकैचोटी भेट हुने साझा चौतारी हो यो बुझ्यौ ?’ मैले आफुले बुझेको जति सोझै तरिकाले जवाफ दिएँ । मेरो जवाफसँगै फेसबुकका भित्ताहरु पनि टिलिक्क टल्किए ।

‘ओहो… यो त हाम्रो छोरा होइन र भन्या ? कहिले फोटो राख्न भ्याएछ यसले ?’ छोराको फोटो ल्यापटपको स्क्रीनमा देखेपछि अचम्मसँग फुर्किइन् श्रीमती । उनले अरु कसको–कसको फोटो आउँछ त्यो पनि हेर्न संकेत गरिन् । मैले खुट्टा पसारेर काखमा राखेको ल्यापटपलाई घिसार्दै उनले आफ्नो काखमा राख्न खोजिन् । उनमा एक किसिमको उत्सुकता पलाएर आयो । आफ्ना एक जोडी खुट्टाहरुलाई मैले पसारेको जस्तै पसार्न खोजिन् । कुर्ता अलि माथि सर्किएछ क्यारे, घुँडाभन्दा थोरै माथि सुरुवालमा फाटेका प्वालहरु देखिए । त्यसै त त्यो भैंसीले चपाएर थुकेको जस्तो भैसकेको थियो । त्यसमा पनि मुसाले खाएकोजस्तो प्वालहरु देखियो ।

‘तिम्रो त सुरुवाल फाटेछ नि ? धन्य ! उभिएको बेला कुर्ताले छोप्दो रै’छ ।’ मेरो मुखबाट प्वाक्क निस्किहाल्यो ।

‘ए बल्ल देख्नुभयो ? बिहे भएको सत्र वर्ष पूरा हुँदासम्म मलाई कति जोर कपडा किनिदिनुभएको छ ? याद छ कुनै दिन मलाई लत्ता कपडा ल्याइदिएको ?’

उनको मुखबाट एक हुल प्रश्नका तिखा काँडाहरु मेरो कानको प्वालभित्रको बाटो हुँदै छातीसम्म यात्रा गर्न पुगे । मेरो छाती भारी भएर आयो । उनको अनुहारमा हेर्न सकिनँ । घोप्टो मुन्टो लगाएर फेरि एकपटक हाम्रो विवाह भएको वर्ष सम्झिएँ । सत्र वर्ष पहिले आठ दश थान साडी सुटकेशभित्र हालेर जन्ती पछाडि लगाउँदै उनलाई लिन गएका दिनहरु स्मरण हुन थाले । त्यसपछिका वर्षहरुमा उनले कति ओरापरी फेरिन्, थाहै भएन ।

‘न रिसाउ न ! फेसबुक हेर्ने बेला यता स्क्रीनतिर ध्यान दिनुपर्छ ।’ मैले उनको ध्यान खिच्न खोजें र उनको काखबाट ल्यापटप टप्प टिपेर फेरि मेरै काखमा राख्दै भनें । चोर औंलाले बिस्तारै ल्यापटपको आँगन बढार्दै गयो । चिरपरिचित मान्छेका तस्बीर र त्यसको मुनि दुई/चारवटा वाक्यहरु कुनै अंग्रेजीमा, कुनै नेपालीमा, कुनै रोमनमा देखिन थाले ।

‘यी हेर त यति राम्रा फोटोहरु ! अब हामीले फोटो राख्ने एल्बम किनिराख्न पर्दैन । सबै यसैमा अटाउँछन् ।’

‘सुरुवालको प्रसंगले अँध्यारो भएको उनको अनुहारमा थोरै रोशनी थपिन थाल्यो । उनका आँखाहरु पुनः ल्यापटपको स्क्रीनमा केन्द्रित हुन लागे ।

‘यो कसको फोटो हो ?’ उनले एउटा सुन्दर केटीको उत्ताउलो फोटोतिर संकेत गर्दै सोधिन् ।

‘के थाहा ? मैले पनि कहाँ चिनेको छु र सबैलाई । आफुले चिने जतिको मात्र हेरे पुगिहाल्छ नि । नचिनेका मान्छेको तस्वीरमा चासो नदेउन त ।’

मेरो जवाफ उनलाई चित्त बुझेन । स्वास्नीमान्छेहरु बढी नै शंकालु हुन्छन् भन्थे, साँच्चै भन्दा हो रै’छ । उनले आवश्यकताभन्दा बढी खोतल्न थालिन् त्यो उत्ताउलो तस्वीरको बारेमा ।

‘मलाई यसको जवाफ चाहिन्छ । हाम्रो ल्यापटपमा अरु नचिनेका उत्ताउला केटीका फोटोहरु किन टाँस्ने ? हटाइहाल्नुस् त ! च्यातिहाल्नुस् न यो फोटोलाई ।’

उनी त झन् पड्किन पो थालिन् । त्यो फेसबुक भन्ने भाँडो नै त्यस्तै । चाहिने नचाहिने सबै एकै ठाउँ ।

‘यो सामाजिक सञ्जाल हो । यसमा जसले तस्वीरहरु राख्यो त्यसैले मात्र हटाउन सक्छ । यो त कागजको फोटोजस्तो होइन नि । बुझिनौ तिमीले?’ मैले बुझाउन कोसिस गर्दै भनें ।

‘ए यस्तो पनि सामाजिक सञ्जाल ? के छ यसमा त्यस्तो सामाजिक कुरा ? यो केटीले यस्तो फोटो टाँसेर पनि सामाजिक काम गर्छे ? भैगो म हेर्दैन यस्ता फेसबुक सेसबुक ।’

श्रीमतीको रिसको पारो थोरै माथितिर उकालो लाग्यो । च्याँठिएर जुरुक्क उठिन् । मैले सम्झाउन खोज्दै भनें, ‘सबै मान्छे नराम्रा हुँदैनन् । सबै मान्छे राम्रा पनि हुँदैनन् । संसारका सबै आविस्कारहरु मानव जीवनलाई फलदायी छन् मात्र सही सदुपयोग ग¥यो भने । सदुपयोग गर्ने तरिका र हेर्ने दृष्टिकोण मात्र सही भयो भने सबै कुरा सहज हुन्छ । तिमी रिसाउँदैमा न यो फेसबुक बन्द हुन्छ न मान्छेले फेसबुक चलाउन छोड्लान् ।’

मैले फेसबुकका पानाहरुलाई पल्टाउँदै गएँ । साथीभाई, इष्टमित्रहरुले रंगाएका फेसबुकका भित्ताहरु केलाउँदै गएँ ।

‘लौ हेर न, साथी त कोरिया पुगेछ । कस्तो नसुहाएको कोरियनसँग फोटो खिचेको । कोरियनहरु सलक्क परेको जिउडालमा उभिएका छन्, त्यो नेपाली साथी भने भ्यात्त भुँडी बाहिर निकालेर कोरियनको कुममा अडेस पो लागेछ ।’ मैले श्रीमतीलाई सुनाउँदै भने ।

‘खै कुन साथी हो ?’ उनले फेरि एकपटक चासो राखेर ल्यापटपको स्क्रीनमा हेर्न आइन् । मैले पनि साथीहरुले विदेश घुमेका रमाइला ठाउँहरुको अवलोकन गराएँ ।

‘अलि तल झार्नुस् त त्यो त चिनेको जस्तो लाग्छ ।’ उनको चाख अझ बढ्दै गयो ।

‘यी हेर यहाँ सबै हाम्रै मान्छेहरु छन् । सबै हाम्रा इष्टमित्र, चेलीबेटी, भतिजाभतिजी । कति सुन्दर ठाउँमा सयर गर्दैछन् ।’

‘लौ न यिनीहरुले पनि त्यस्ता कपडा लगाएका फोटो राखेछन् ? हैन यिनीहरुले आफै राखेका हुन् कि झुक्किएर आए यिनी फोटोहरु ? नेपालमा हुँदा त यस्तो कपडा लगाएको कहिलै देखिनँ नि मैले ?’

श्रीमतीले जिब्रो टोक्दै आश्चर्य व्यक्त गरिन् । मैले उनको गुनासोलाई बचाउ गर्दै भने, ‘तिमीले एउटा उखान सुनेकी छैनौ ? ‘देश अनुसारको भेष, देउता अनुसारको पूजा’ भनेको यही हो । त्यो ठाउँमा गएर पनि कुर्कुच्चा छोप्ने धोती लगाएर सप्कोले टाउको ढाक्नुपर्छ र ?’

मेरो जवाफमा उनी त्यति सहमत भएजस्तो लागेन । उनले फेरि प्रतिक्रिया व्यक्त गरिन्, ‘हैन आफ्ना मान्यजन र इष्टमित्रहरुले पनि यो फोटो देख्न सक्छन् भन्ने थाहा भएपछि यति छोटा हाप पाइन्ट र शरिरको छालाभन्दा कसिला टाइट कपडामा ठाँटिएका फोटोहरु प्रदर्शन गर्नुपर्छ त ?’ के देश छोड्यो भन्दैमा हाम्रो संस्कार छोड्नैपर्छ त ? के त्यो मुलुकमा पूरा शरीर ढाक्ने कपडा पाइदैन र ? ख्वै त त्यही मुलुकका धनीमानी, ठूलाबडा, मन्त्री, राष्ट्रपतिजस्ता मान्छेका श्रीमतीहरुले त राम्रै सभ्य कपडा लगाएका फोटोहरु टेलिभिजनमा देख्न पाइन्छ त ।’

उनले आदर्शका दुईचार शब्द भन्दै गइन् । मैले नसुनेको जस्तो गर्दै गएँ । सबैको आ–आफ्नै बिश्लेषण हो । उनी त्यो ठाउँमा पुगेको भए के गर्थिन् होला, त्यो उनैले जानून् । मलाई उनको गुनासोको जवाफ दिन मन लागेको थियो । आखिर मैले एकजोडी नयाँ कपडा किनेर दिन नसक्दा उनले फाटेको सुरुवाल लाउन परेको छ । फाटेर प्वाल परेको सुरुवाल लगाउनु पनि त त्यति शोभनीय थिएन । तर के गर्ने म एउटाको छोेटो कमाइ त्यसमा पनि चार जनाको परिवार पाल्नुपर्ने । बच्चाहरुको पढाइ त्यो पनि देखासिकी गरि बोर्डिङमै पढेका छन् । आफ्नो घर भन्नु छैन । सधैं अर्काको घरमा बहालमा बस्नुपर्ने । यस्तो चालाले त उनको सुरुवालले पनि कसरी पालो पाउला र खै ? मनमनै निराकार भगवानसँग प्रार्थना गरें, मेरी श्रीमतीको बस्त्रहरुमा थप प्वाल नपारिदेऊ !

‘तपाईंले त केही जवाफ दिनुभएन नि ?’ मेरो मौनता भङ्ग गर्दै सोधिन् ।

एउटा जवाफ दिनैपर्ने थियो दिएँ, ‘पूरै शरीर ढाक्ने कपडा लगाउँदा धेरै महंगो पर्ने भएर हुन सक्छ । पैसा कमाउन धेरै गाह्रो छ भन्ने सुन्छु, बिचराहरुलाई एक छाक खान पनि धौ–धौ होला, कसरी लगाऊन् त शरिरभरिको लुगा । फेरि अलिकति लाज छोप्ने त हो, त्यो त छोपिएकै छ नि ।’

उनलाई अझै चित्त बुझेन क्यारे फेरि भुनभुनाउन लागिन्, ‘आखिर म पनि त नवबुहारी थिएँ कुनै बेला, मैले कुर्कुच्चा ढाक्ने गरी लगा’को सुरुवाल र घुँडामुनिसम्म आउने कुर्ता लगाउँदा पनि घरमा निकै टीकाटिप्पणी चलेको थियो, धोती नलगाएकोमा । आखिर मान्यजन भनेको त सधैंभरिलाई मान्य नै हुन्छ त । तपाईंजस्ता मान्यजनहरुले यो भेषभुषाका बुहारीहरु देख्नुहुने रहेछ त किन मेरो मात्र त्यत्ति खेदो खन्न परेको थियो ।’

समयले कति कोल्टो फेरिसक्यो तर उनले आफ्नो इतिहासलाई वर्तमानको थालमा पस्किन सुरु गरिन् । वास्तवमा उनको चित्त दुखेको होला । उनको त्यो विगतको घाउलाई कोट्याउनु त्यति उचित त थिएन । तर उनको गुनासोभित्र लुकेका केही गहन पक्षहरु पनि छन्, जसले हाम्रो जस्तो परिवारलाई बढी नै संवेदनशील बनाउँछन् । वास्तविकता सबै छर्लङ्ग नै छ । पैसा कमाउन सक्यो भने सबै कुरा जायज हुन्छ ।

करोडपतिकी श्रीमतीले लगाएको पित्तल पनि सुन कहलिन्छ, छोटो बस्त्र पनि सभ्य कहलाउँछ, श्रीमान्लाई चुम्बन गरेका फोटोहरु सार्वजनिक गरे पनि तिनले प्रेम र स्नेह व्यक्त गरेको कहलाउँछ । झन विदेशको बसाई भनेपछि त धेरै कुरामा छुट हुँदो हो । आफ्नो धर्म संस्कृति र मानमर्यादा पालन गर्ने र जगेडा गर्ने ठेक्का त हामी स्वदेशमा बसेका सीमित आम्दानीले गुजारा गर्नेहरुले मात्र लिएका छौं । … यस्तै–यस्तै कुराहरु मनभित्र मडारिन थाले र म पनि बढी नै भावुक भएँ ।

श्रीमतीले मेरो गाम्भीर्यतालाई फेरि पनि भङ्ग गरिन्, ‘मैले एउटा कुरा बुझें आज, मान्छेको बानीव्यहोरा,मनमस्तिष्क, विवेकशीलता, सभ्यता, संस्कृति सबै कुराहरु परिवर्तनशील रहेछन्, त्यो पनि उसले कमाएको धनसम्पत्ति र दौलतको अनुपातमा ।’

बल्ल श्रीमतीले कुराको चुरो पकड्न थालिन् । उनले कुरा बुझ्ने संकेत पाएपछि मैले पनि उचित मौकाको फाइदा लिदै एक/दुइवटा कुरा व्यक्त गरिहाले, ‘बल्ल तिमीले कुरा बुझ्यौ नि । अबदेखि यो फेसबुकको फोटोमा कसले कस्तो कपडा लगायो अथवा कसले कतिसम्म अङ्ग प्रदर्शन गर्दै हिड्यो भनेर अरुको धेरै चिन्ता नगर । के भन्न सकिन्छ र भोलिका दिनमा, तिम्रो कुर्ता पनि फाट्यो भने केले छोप्छ र सुरुवालको फाटेको प्वाल ? आखिर मेरो आम्दानी र हाम्रो हैसियत तिमीलाई थाहै छ । भर्खर पढ्दै गरेका छोराहरु कहिले कमाउने हुने हुन् ? फेरि उनीहरु कमाउने भएपछि बिहे गरेर अमेरिकातिरै गए भने त यो फेसबुकको भित्तामा तिम्रै छोरा बुहारी भेटिन सक्छन् यसैगरी जसोगरि आज तिमीले अरुलाई भेटाएकी छौ ।’

मैले यति भनिरहँदा मेरा आँखा ल्यापटपको स्क्रीनमै थिए । श्रीमतीले मेरो कुममा आफ्नो टाउको अडाएर बसेकी थिइन् । मैले फेसबुक रंगमञ्चका पक्षहरुलाई विश्लेषण गर्दै गरेको उनले चुपचाप सुनिराखेकी थिइन् । एकाएक उनले आफ्नो टाउको उठाइन । मैले बिस्तारै मेरा आँखाहरुलाई ल्यापटपको स्क्रीनबाट उठाएर उनको अनुहारमा हेरें । उनका आँखाका परेलीबाट दुई थोपा आँसु छचल्किएर गालाको मध्य भागसम्म आइपुगेछन् । ओंठहरु थर्रर्र काँपिरहेका थिए । उनका हातहरुले कुर्ताको पुच्छरमा समाएर सुरुवालका प्वालहरु छोप्दै थिए ।

By

Readers Comments (0)