Filed Under:  कुराकानी

साहित्यलाई बिक्ने मालका रुपमा रुपान्तरित गर्न खोजिदैछ

31st January 2015   ·   0 Comments

Amar giriअमर गिरी– प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान

समकालीन नेपाली साहित्यलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ र यसको टे«न्डलाई कसरी हेरिरहनुभएको छ ?

समकालीन विषयवस्तुमा आधारित भएर लेखिएको साहित्यलाई समकालीन साहित्य भनिन्छ । समकालीन विषयवस्तुमा आधारित भएन भने समकालमा लेखिएको साहित्य पनि समकालीन नहुन सक्छ । समकालीन साहित्यमा समकालीन यथार्थका विविध पक्षहरुलाई अभिव्यक्ति दिइन्छ । समकालीन यथार्थलाई हेर्ने दृष्टिकोण, यथार्थको प्रतिबिम्बन विधि, सिर्जनामा अन्तर्निहित उद्देश्य आदिबाट समकालीन साहित्यको टे«नको निर्माण हुन्छ । यसकारण समकालीन साहित्यका पनि विविध टे«न वा प्रवृत्तिहरु रहेका छन् । प्रगतिवाद, आलोचनात्मक यथार्थवाद, उत्तरआधुनिकतावाद आदि समकालीन साहित्यमा पाइने केही महत्वपूर्ण प्रवृत्तिहरु हुन् । समकालीन यथार्थका अँध्याराहरुप्रति आलोचनात्मक हुनु र सुधार तथा परिवर्तनको चाहना राख्नु समकालीन साहित्यको महत्वपूर्ण विशेषता हो ।

नेपाली साहित्यको क्षेत्रमा देखिएको तीव्र बजारीकरणले साहित्यको गाम्भीर्यतालाई कस्तो असर गर्ला ?

साहित्यको बजारीकरणले साहित्यको गम्भीरतालाई कस्तो असर गर्ला भन्ने प्रश्नमाथि विचार गर्नुअघि संक्षेपमा साहित्यको बजारीकरणका बारेमा चर्चा गर्नु उपयुक्त हुनेछ । साहित्यको बजारीकरणको तात्पर्य साहित्यलाई बजारमा बिक्री गरिने अन्य वस्तुसरह मान्दै त्यस अनुसार त्यसको उत्पादन र बजार प्रबद्र्धनमा जोड दिनु हो । साहित्यको बजारीकरणमा बिक्रीका अन्य वस्तु र साहित्यका बीचमा कुनै भेद गरिदैन । फलतः साहित्य अन्य वस्तुसरह सामान्य उपभोगको वस्तु मात्र रहन्छ ।

साहित्य उपयोगितामूलक रहे पनि अन्य वस्तु र साहित्यको उपयोगितामा आधारभूत अन्तर रहेको छ । यही अन्तरले साहित्यको उपयोगितालाई अन्य वस्तुहरुको उपयोगिताबाट अलग गर्दछ । साहित्य मनुष्यको हृदय र मस्तिष्कसँग जोडिएको छ । यसका संज्ञानात्मक, विचारधारात्मक र सौन्दर्यात्मक प्रकार्यहरु रहेका छन् । तर साहित्यको बजारीकरणमा यी सबै कुराहरुको खास अर्थ रहँदैन । साहित्यलाई न त सामाजिक यथार्थको अभिव्यक्तिका रुपमा हेरिन्छ न त यसले सामाजिक परिवर्तनका निम्ति भूमिका निर्वाह गर्छ भन्ने कुरालाई नै स्वीकार गरिन्छ ।

साहित्यको समाजपरक एवम् सौन्दर्यपरक भूमिकालाई अस्वीकार गर्नु साहित्यको बजारीकरणको एक मुख्य चरित्र हो । साहित्यको मनोरञ्जनात्मक पक्षलाई महत्व दिनु, गहिराइ होइन सतहमा रमाउनु, मनुष्यको यौन मूल प्रवृत्तिलाई केन्द्रमा राख्नु र त्यसलाई भद्दा र अश्लील ढंगले प्रस्तुत गर्नु, रहस्य र रोमाञ्चलाई महत्व प्रदान गर्नु आदि बजारीकृत साहित्यका मुख्य विशेषताहरु हुन् ।

साहित्यको बिक्री वितरणको तरिकालाई मात्र साहित्यको बजारीकरण मानिन्न । बिक्री वितरणका अनेक तरिका हुन सक्छन् । ती तरिकाहरुलाई साहित्यको बजार प्रबद्र्धनमा अपनाउन सकिन्छ । साहित्यको बजारीकरण एक समग्र दृष्टिकोण हो । यो साहित्यलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र यसको बजार प्रबद्र्धन गर्ने समग्र प्रक्रियासँग जोडिएको छ । साहित्यको बजारीकरणले साहित्यलाई एक वस्तु मात्र ठान्छ र यसको महत्व बढीभन्दा बढी बिक्नुमा रहेको देख्छ । यसले साहित्यलाई बिक्ने मालमा रुपान्तरित गर्न भन्छ र त्यसैअनुरुपको लेखनमा जोड दिन्छ ।

साहित्यको बजारीकरणका मुख्यतः दुईवटा उद्देश्यहरु रहेका छन्– मुनाफा र बजार अनुकूल मनुष्यको निर्माण । मुनाफा साहित्यबाट धन आर्जनसँग जोडिन्छ, बजार अनुकूल मनुष्यको निर्माण मनुष्यलाई बजारको एक अंग बनाउने कुरासँग गाँसिन्छ । बजार अनुकूल मनुष्यको निर्माण पूँजीवाद अनुकूल मनुष्यको निर्माण हो । यसले पूँजीवादको मानवद्वेषी चरित्रलाई जायज ठह¥याउँछ । समकालीन पूँजीवादले विश्वव्यापी रुपमै यस्तो साहित्यलाई प्रोत्साहित गरिरहेछ । सूचना संयन्त्रहरुको व्यापक प्रयोगहरुका माध्यमबाट आज यस्तो मनुष्य समाजको निर्माण गरिदैछ जो यस्तै साहित्यलाई रुचाउँछ । यस्तो प्रयास हामी अन्य ढंगले पनि गरिएको पाउँछौं । साहित्यको बजारीकरण अलि पहिल्यैदेखि आरम्भ भए पनि उत्तरआधुनिकतावादी चिन्तनको बिकास, बित्तीय पूँजीवादको आरम्भ र भूमण्डलीकरणसँगसँगै यसले पनि तिव्रता पाएको देखिन्छ ।

नेपालमा पनि साहित्यको बजारीकरण आरम्भ भएको छ । लेखक, प्रकाशक र सञ्चार माध्यमको साँठगाँठबाट यसले जीवन पाएको छ । यी तीनैको संयुक्त प्रयासबाट प्रचारको यस्तो मायालोक तयार गरिन्छ, जसले पाठकलाई प्रभावित मात्र गर्दैनन्, कमजोर साहित्यलाई ‘उत्कृष्ट’ सावित गर्ने सामथ्र्य पनि राख्छन् । आज मिडियाले चर्चामा ल्याएका कतिपय कृतिहरुलाई दृष्टान्तका रुपमा अघि सार्न सकिन्छ । आज कतिपय प्रकाशकहरुले लेखकलाई यस्तो लेख्नुस् भनेर निर्देशन समेत दिन थालेका छन् । कतिपय लेखकहरु प्रकाशक र बजारको आवश्यकता अनुसार आफूलाई ढाल्दैछन् । यसको प्रतिवाद गरिन आवश्यक छ । साहित्यका निम्ति बजार चाहिन्छ तर बजारीकरण र बजार एउटै कुरा होइनन् भन्ने यथार्थलाई हामीले हेक्का राख्न जरुरी छ ।

पछिल्लो समय साहित्यिक लेखनमा छिरेको घोष्ट राइटिङलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?

नेपालमा घोष्ट राइटिङको विधिवत् जसो आरम्भ भएको धेरै भएको छैन । घोष्ट राइटिङको चलन विश्वव्यापीरुपमै रहेको छ । नेपालका निम्ति घोष्ट राइटिङ नयाँ जस्तो लागे पनि विश्व सन्दर्भमा यो कुनै नयाँ कुरा होइन । घोष्ट राइटिङमा वास्तविक लेखक पर्दा पछाडि रहन्छ । खास गरेर लेखनमा अधिकार नभएका तर सार्वजनिक जीवनमा महत्वपूर्ण स्थान राख्ने व्यक्तित्वको आत्मवृतान्तलाई घोष्ट राइटिङका माध्यमबाट प्रस्तुत गरिन्छ । यसबाट महत्वपूर्ण व्यक्तित्वका विचार, भावना र अनुभवहरुले सार्वजनिक हुने अवसर पाउँछन् र पाठकहरु त्यसबाट लाभान्वित हुन्छन् ।

सामान्यतया यस दृष्टिले हेर्दा घोष्ट राइटिङ अनुचित लाग्दैन । तर अचेल घोष्ट राइटिङका नाममा अनेकन विकृति र विसंगतिहरु मौलाएका छन् । महत्वपूर्ण व्यक्तित्वको आत्मवृतान्त मात्र होइन उपन्यास, नियात्रा आदि जस्ता विधाको पनि आज घोष्ट राइटिङ गरिदैछ । घोष्ट राइटिङका माध्यमबाट प्रकाशित कृतिहरु पुरस्कृत हुँदैछन् र जो स्रष्टा नै होइनन् तिनै स्रष्टाका रुपमा सम्मानित गरिदैछन् । यसका पछाडि नाम र पैसाको भोकले काम गरेको देखिन्छ । आत्मवृतान्तको घोष्ट राइटिङमा समेत इमान्दारिता देखिन्न । आत्मवृतान्तको घोष्ट राइटिङमा देखिने इमान्दारिताको कमीका कारण यस्ता आत्मवृतान्तका पुस्तकहरु विश्वसनीय कम र आत्मप्रशंसा बढी अनुभव हुन्छन् । घोष्ट राइटिङका नाममा मौलाएको यस प्रकारको विकृतिका विरुद्ध संघर्ष गर्न आवश्यक छ ।

साहित्यका क्षेत्रमा कर्पोरेट संस्थाहरुको सक्रियता र यसको प्रभावलाई कसरी लिनुभएको छ ?

साहित्यका क्षेत्रमा कर्पोरेट संस्थाहरुको सक्रियतालाई सकारात्मक रुपमा लिन सकिन्न । यो सक्रियता साहित्यको उन्नयनसँग निकै कम र बढी आफ्नो व्यापार प्रबद्र्धन र साहित्यको बजारीकरणसँग गाँसिएको छ । कर्पोरेट संस्थाहरु आजको बित्तीय पूँजीवादका अवयवहरु हुन् । संस्थागत उद्देश्यका साथसाथै यस्ता संस्थाहरु वित्तीय पूँजीवादका व्यापक हित एवम् अभिष्टहरुसँग जोडिन्छन् । संस्थागत उद्देश्यहरु पनि बित्तीय पूँजीवादका व्यापक हित एवम् अभिष्टहरुभन्दा बाहिर रहँदैनन् ।

ठूल्ठूला कर्पोरेट संस्थाहरुद्वारा आयोजित साहित्य उत्सव वा मेलाहरुको तस्बिर हेर्ने हो भने यो कुरा स्पष्ट हुन्छ । उनीहरु साहित्यमा लगानी गरेर व्यवसायका निम्ति आवश्यक सांस्कृतिक पर्यावरणको निर्माण गर्न पनि चाहन्छन् । उनीहरु यसका माध्यमबाट आजको भूमण्डलीकृत पूँजीवादका जराहरुलाई अझ बलियो बनाउन चाहन्छन् । उनीहरु साहित्यलाई साहित्यको सोद्देश्यपूर्ण भूमिकाबाट च्यूत गर्दै यसको सामाजिक सारतत्वलाई नै समाप्त गर्न चाहन्छन् । हामीले कर्पोरेट संस्थाहरुले साहित्य र संस्कृतिको क्षेत्रमा गर्ने लगानीका अभिष्टहरुलाई स्पष्ट गर्नुपर्छ । हाम्रो जस्तो देशमा साहित्य र संस्कृतिका क्षेत्रमा ठूल्ठूला बाह्य कर्पोरेट संस्थाहरुको लगानीलाई हाम्रो मुलुकको नवऔपनिवेशीकरणको प्रक्रियासँग पनि गाँसेर हेर्नुपर्दछ । साहित्यिक उत्सवहरु हामीले आफ्नै बलबुतामा आयोजना गर्न प्रयत्न गर्नुपर्छ । कयौं साहित्यिक संघ संस्थाहरुले यसो गरिरहेका छन् ।

साहित्य समाज परिवर्तनको साधन हो भन्ने मान्यतालाई औंलो ठड्याउँदै यो फगत आनन्दानुभूतिका लागि गरिने सिर्जनशील कार्य हो भन्नेहरुको जमात बढ्न थालेको छ, उनीहरुलाई के भन्नुहुन्छ ?

यस्तो धारणा धेरै पहिलेदेखि राखिदै आइएको छ । यस्तो धारणा चरम व्यक्तिवादसँग सम्बन्धित छ । चरम उपभोक्तावादको विकास भएको समकालीन सन्दर्भमा साहित्यलाई आनन्दानुभूतिका निम्ति गरिने सिर्जनात्मक क्रियाकलापका रुपमा लिने स्रष्टाहरुको संख्या पनि बढ्दै छ । यसप्रकारको प्रवृत्तिको सम्बन्ध साहित्यको सामाजिक चरित्रलाई समाप्त गर्न चाहने समकालीन पूँजीवादका रणनीतिहरुसँग पनि जोडिएको छ । साहित्य जीवन र जगतदेखि अलग रहन सम्भव छैन । जीवन र जगतसँगको सम्बन्धभित्रै साहित्यको सामाजिक भूमिकालाई नियालिन्छ । साहित्यलाई जतिसुकै आनन्दवादी दृष्टिकोणका आधारमा हेरे पनि मनुष्य समाज रहेसम्म साहित्यको सामाजिक चरित्र र उपयोगिता समाप्त हुने म देख्दिनँ । साहित्यलाई समाजसँग अलग गर्ने र निर्जिव तुल्याउने प्रयास पनि म सफल हुने देख्दिनँ ।

नेपाली बजारमा पछिल्लो समयमा आइरहेका आत्मकथाहरुको टे«नलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?

अहिले आत्मकथा वा आत्मसंस्मरणहरु प्रशस्त लेखिदै छन् । यो लेखन अलि जोखिमपूर्ण हुन्छ । यो जोखिम मूलतः इमान्दारिताका सन्दर्भमा देखा पर्दछ । आत्मकथा लेखक आफू र अरुप्रति इमान्दार रहन सक्नुपर्दछ । इमान्दारीपूर्वक आत्मकथा लेखिएको छैन भने त्यो आत्मकथा नै हुँदैन । निसन्देह, जीवनका सबै गुह्य कुराहरु खोल्न कठिन हुन सक्छ तर उसले जति लेख्छ त्यसमा इमान्दारिता देखिनुपर्छ । लेखक इमान्दार छ कि छैन भन्ने कुरा पुस्तक पढ्दै गयो भने थाहा हुन्छ । नेपाली बजारमा आएका कतिपय यसप्रकारका कृतिहरुमा इमान्दारिता पाइन्न । त्यहाँ भएको कुरा लुकाइएको र नभएको कुरा पस्किएको पनि पाइन्छ । अहं, आत्मप्रशंसा, अतिरञ्जनाकृत अनुभव, विचार, भावना र अनुभवको वास्तविक प्रस्तुतिभन्दा पनि प्रचार मोह आदि यस्ता कतिपय कृतिहरुमा पाइने गम्भीर कमजोरीहरु हुन् । आत्मकथा वा आत्मसंस्मरण लेख्नेहरु यस्ता कमजोरीहरुबाट बच्दै विश्वसनीय बन्न सक्नुपर्दछ । पाठकहरु स्वयंले यसप्रति गम्भीर आलोचनात्मक सरोकार राख्नुपर्दछ ।

समकालीन नेपाली साहित्यमा प्रगतिवादी साहित्यको अवस्थालाई कसरी लिनुहुन्छ ?

समकालीन नेपाली साहित्यमा प्रगतिवादी साहित्य एक प्रमुख धाराका रुपमा रहेको छ । समकालीन यथार्थको क्रान्तिकारी कलात्मक पुनर्सिजनका दृष्टिले यो सबैभन्दा अगाडि देखिन्छ । विधागत हिसाबले भन्दा प्रगतिवादी साहित्य सबैभन्दा समृद्ध कविता विधामा रहेको छ । प्रगतिवादी साहित्यको स्थिति कमजोर नरहे पनि यसलाई गुण र रुप दुबै दृष्टिले समृद्ध गर्ने कुरामा प्रगतिवादी स्रष्टाहरु अझ गम्भीर बन्न आवश्यक छ ।

तपाई प्रलेसको अध्यक्ष पनि हुनुहुन्छ, प्रगतिवादी साहित्यको लागि प्रलेसले संस्थागत रुपमा के गर्न सक्छ ?

प्रलेसले प्रगतिवादी साहित्यको उन्नयनका निम्ति स्थापनाकालदेखि नै कार्य गर्दै आएको छ । स्रष्टाहरुलाई संगठित र प्रशिक्षित गर्नु, प्रगतिवादी साहित्यलगायत साहित्यका विविध विषयहरुमा गम्भीर वैचारिक विमर्शलाई अघि बढाउनु, प्रगतिवादी साहित्यमाथिको वैचारिक आक्रमणको प्रतिवाद गर्नु, विधागत गोष्ठीहरुको आयोजनाका माध्यमबाट सिर्जनात्मक कार्यलाई प्रेरित र प्रोत्साहित गर्नु आदि प्रगतिवादी साहित्यको उन्नयनका निम्ति प्रलेसले संस्थागत रुपमा गर्दै आएका कार्यहरु हुन् । पत्रिका प्रकाशन पनि प्रलेसले गर्दै आएको छ । प्रलेसले अहिले पनि संस्थागत रुपमा यिनै कार्यहरु गर्दैछ ।

अलिकति सन्दर्भ बदलौं, अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ तर कतिपय वामपन्थी र प्रजातन्त्रवादीबाट नै यसको विरोध आरम्भ भएको छ । धर्मनिरपेक्षता एक महत्वपूर्ण सांस्कृतिक विषय पनि हो । एक साहित्यिक र संस्कृतिकर्मीका नाताले यसलाई तपाईंले कसरी हेरिरहनुभएको छ ?

यस विषयमा स्पष्ट हुन धर्मनिरपेक्षताको समग्र अवधारणा, यसको इतिहास, यसविरुद्धका प्रतिवाद र यसका अभिष्टहरुका बारेमा अलि लामो चर्चा आवश्यक हुन्छ । यहाँ यस्तो चर्चा सम्भव छैन । पश्चिममा धर्मनिरपेक्षताको इतिहास धर्म र राज्यबीच चलेको द्वन्द्वसँग जोडिए पनि धर्मनिरपेक्षताको अवधारणा पश्चिममा पुनर्जागरणले अगाडि सारेका मान्यता, प्रबोधन परियोजनाले सूत्रबद्ध गरेका मूल्यहरु एवम् लोकतान्त्रिक राजनीतिक चिन्तनको बिकाससँग सम्बन्धित रहेको छ । वैज्ञानिक चिन्तन, लोकतान्त्रिक राष्ट्र निर्माणको अवधारणा, समतापूर्ण समाज निर्माणको दृष्टिकोण आदिबाट धर्मनिरपेक्षता सम्बन्धी अवधारणाको निर्माण भएको पाइन्छ । धर्मनिरपेक्षता लोकतान्त्रिक राष्ट्रको एक महत्वपूर्ण अभिलक्षण हो । यो मनुष्यको तार्किकीकरण र सेक्कुलराइजेसनको प्रक्रिया हो ।

कतिपयले धर्मनिरपेक्षतालाई इसाइ धर्मको विश्वव्यापी प्रचारको उपकरणको रुपमा व्याख्या गर्छन्, कतिपयले यसलाई पश्चिमी वर्चश्वसँग पनि गाँसेर हेर्छन् । यी दुबै कुरा गलत छन् । धर्मनिरपेक्षता आधुनिक दृष्टिकोण र मूल्यहरुको निर्मिति थियो र रहेको छ । धर्मनिरपेक्षतामाथि आरम्भदेखि नै धार्मिक अतिवादीहरुबाट प्रहार हुँदै आएको छ । यसभित्र सबै धर्ममा विद्यमान अतिवादी सोचाइहरु पर्दछन् ।

समकालीन विश्वमा धर्मनिरपेक्षतामाथि अझ बढी प्रहार भएको पाइन्छ । पश्चिममा इसाइहरुबाटै यसको विरोध भएको छ । नेपालमा धर्मनिरपेक्षताको आलोचना विभिन्न कोणबाट शुरु भएको छ । कमल थापाहरुको धर्मनिरपेक्षताको विरोधलाई बुझ्न सकिन्छ तर खुमबहादुर खड्का र मोदनाथ प्रश्रितहरुको विरोधलाई लोकतान्त्रिक एवं वामपन्थी शक्तिहरुले अस्वभाविक भन्नु स्वभाविक छ । खड्का, प्रश्रितलगायतहरुमा देखापरेको यो चिन्तन प्रकारान्तरले कमल थापाहरुको चिन्तन सदृश रहेको छ । वास्तवमा यो भारतमा देखा परेको हिन्दू राष्ट्रवादकै अर्को संस्करण हो, जसभित्र पहिचानको राजनीतिको विखण्डनको अतिवादी सोंच प्रतिबिम्बित भएको देखिन्छ । यस चिन्तनभित्र हिन्दू धर्मका माध्यमबाटै नेपालीहरुलाई आपसमा बाँध्न सकिन्छ र नेपाली समाजको इसाइकरणका विरुद्ध लड्न सकिन्छ भन्ने सोच रहेको पाइन्छ । जुनसुकै तर्कका आवरणमा प्रकट भए पनि यो अलोकतान्त्रिक एवम् गैरमाक्र्सवादी चिन्तन हो । यसले लोकतन्त्रलाई होइन कमल थापाका अभिष्टलाई बलियो बनाउने कार्य गर्दछ । नेपाल जस्तो बहुधार्मिक देशमा धर्मनिरपेक्षताको महत्व अझ बढी रहेको छ ।

तपाई अहिले प्रज्ञा प्रतिष्ठानको प्राज्ञ हुनुहुन्छ, नेपाली साहित्यको समृद्धिका लागि के कस्ता काम गर्न सक्ने सम्भावना देख्नुहुन्छ ?

प्रज्ञा प्रतिष्ठानले नेपाली साहित्यका साथै वाङ्मयका अन्य क्षेत्रको समृद्धिको लागि समुचित कार्य गर्न आवश्यक छ । खासगरी प्रज्ञा प्रतिष्ठानको सानो आकारको बजेका कारण भने जस्तो कार्य गर्न अप्ठ्यारो परेको छ । आउँदा दिनमा यस समस्याको समाधान गर्ने दिशातिर हामीबाट गम्भीर पहल हुनेछ । प्रतिष्ठानसँग प्राज्ञिक कार्यका निम्ति पर्याप्त रकम भयो भने साहित्यको समृद्धिका निम्ति अझ धेरै कार्य गर्न सकिनेछ ।

प्रस्तुति : डिल्ली मल्ल

By

Readers Comments (0)