Filed Under:  मनोरञ्जन

रथमा आउँदै हिरो | के. एल. पीडित

31st January 2015   ·   0 Comments

bishalचक्लेटी हिरोको लोभलाग्दो क्रेज बनाएका विशाल पोख्रेल माघ २३ देखि नेपालभर रथमा आउँदैछन् । उनको रथयात्रा यसपालि विशेष छ । आफ्ना लाखौं प्रशंसकहरुसँग सेतो पर्दामार्फत् उनले अन्तक्र्रिया गर्नेछन् र एउटा नूतन आभासले उनीहरुलाई रोमाञ्चित गर्नेछन्, आल्हादित गर्नेछन्, गौरवान्वित गर्नेछन् ।

रथ उनको पाँचौ चलचित्र हो । रिलिजका दृष्टिले भने दोस्रो । त्रिकोणात्मक प्रेमकथामा आधारित रथको प्रोमो अहिले निकै रुचाइएको छ र प्रचार पनि उत्तिकै आक्रामक देखिएको छ । नारी पुरुषबीचको सम्बन्ध रथका दुई पांग्राझैं हुनुपर्छ भन्ने मूल कथ्य रहेको चलचित्र रथ पछिल्लो समयको एक अर्थपूर्ण चलचित्र हो ।

माघ २३ देखि अल नेपाल रिलिज हुन थालेको रथबाट नायक विशाल निकै आशावादी छन् । यस चलचित्रले उनलाई एक सफल नायकको बलियो परिचय दिने कुरामा विशाल ढुक्क छन् । ‘मैले खेलेका सबै चलचित्रहरुमध्ये यो चलचित्र विशेष बनेको छ । मैलै यस चलचित्रबाट सर्वाधिक आशा गरेको छु ।’ नायक विशालले उत्साहित भाव बताए ।

भइहाल्छ निबाट हिरोमा डेब्यु गरेका विशालले दब्दबा, नतिजा, राइट च्वाइस र रथमा नायकको भूमिका निर्वाह गरेका छन् । उनको पहिलो फिल्म भइहाल्छ नि प्रदर्शनमा आइसकेको छ । यस चलचित्रबाट उनको चक्लेटी अदा निकै रुचाइएको थियो । यस चलचित्रबाट उनी सर्वोत्कृष्ट नवनायकको नोमिनेशनमा समेत परेका थिए । भइहाल्छ नि मा उनको लभर व्याएको लोकप्रिय छविका कारण उनले लगालग चलचित्र पाइरहेका छन् ।

नायक विशाल नेपाली चलचित्रको पछिल्लो पुस्ताका सर्वाधिक प्रतिभाशाली औ सिर्जनशील कलाकार हुन् । अध्ययन, अनुभव र सिर्जनात्मक क्षमतामा उनी सबैभन्दा अगाडि छन् । अभिनय, नृत्य, द्वन्द्व एवं कमेडीमा उनी उत्तिकै प्रभावशाली रुपमा अभिव्यक्त हुन सक्छन् ।

बुवा विनोद पोख्रेल र आमा कमला पोख्रेलको कोखमा दाङ घोराही–७ महदेवामा जन्मेका विशाल सानैदेखि फरक रुचिका थिए । नृत्य, खेल एवं व्यायाममा उनको विशेष अभिरुचि र दक्षता थियो । बौद्धिक एवं राजनीतिक पारिवारिक पृष्ठभूमिमा जन्मे हुर्केका विशाल भने कलाक्षेत्रतिर अग्रसर हुँदै थिए । यही अभिरुचि र अग्रसरताले एक दिन उनलाई सेतो पर्दाको हिरो बनायो र लाखौं दर्शकहरुका मुटुको ढुकढुकीमा सजिए उनी ।

कला क्षेत्रमा प्रभावशाली परिचय बनाउने र समाजलाई मनोरञ्जनमार्फत् उत्प्रेरणा दिने अभिलाषा बोकेर नायक विशाल २०५८ सालमा काठमाडौं हानिए । प्रारम्भका दिनहरुमा संघर्ष गर्दै उनी त्यो समयका सर्बाधिक चर्चित टेलिसिरियलहरु थोरै भए पुगीसरी, आमा र जीवनचक्रमा अनुबन्धित भए । यी सिरियलहरुमा उनले आफ्नो कला सामथ्र्य गजबले प्रस्तुत गरे र आफ्नो शानदार उपस्थिति जनाए । करिब ७/८ वर्षमा उनले १ सय ७९ भागसम्म लगालग अभिनय गरे ।

यी वर्षहरुमा उनले धेरै सिके । कला क्षेत्रका सीमा, सामथ्र्य र प्रवृत्तिको सुक्ष्म अध्ययन अनुभवले उनलाई कम उमेरमै एक परिपक्व कलाकार बनायो । ‘म अहिले जे छु र जहाँ छु त्यो टेलिसिरियलको प्रतिफल हो ।’ नायक विशालले वास्तविकता ओकले, ‘टेलिसिरियलले मेरो अभिनयमा निखार ल्याइदियो ।’
चलचित्रमा डेब्यू गर्नुअघि उनले धेरै टेलिभिजनहरुमा थुप्रै रियालिटी शो संचालन गरे । यी रियालिटी शोहरुमा उनले अपत्यारिला औ ईष्र्यालाग्दा कीर्तिमानहरु बनाएका छन् । उनी नेपालमा सर्वाधिक बढी डान्सिङ रियालिटी शो संचालन गर्ने व्यक्ति हुन् । उनी परिकल्पनाकार समेत रहेको नेपाल टेलिभिजनमा प्रसारित भएको सर्वाधिक चर्चित डान्सिङ रियालिटी शो छमछमीका होस्ट पनि हुन् । यस शोमा उनले झण्डै ४० हजार नृत्य क्षेत्रका प्रतिभाहरुलाई अवसर दिएका थिए । यो बाहेक उनले लिटिल च्याम्प, सरोबर, सुपरभिजे, कनेक्सनलगायतका रियालिटी शोहरु संचालन गरेका छन् ।
हजारौं नवप्रतिभाहरुसँगको अन्तक्र्रिया, मेचीदेखि महाकालीसम्मको कलायात्रा र पचास बढी ठूलास्तरका कार्यक्रमहरुमा होस्टको अनुभवले नायक विशाललाई परिपक्व र स्पातिलो बनाएको छ । यी अनुभवहरुले उनलाई गजबको आत्मविश्वास र उत्प्रेरणा दिएका छन् । ‘ममा पूर्ण आत्मविश्वास छ । नयाँ ऊर्जा छ । म अब जुनसुकै भूमिका पनि निर्वाह गर्न सक्छु ।’ विश्वासभावमा बोले विशाल ।
अनुभवले समृद्ध बहुप्रतिभाशाली नायक विशाललाई अब माघ २३ को प्रतीक्षा छ । उनी आफ्नो संघर्ष र सिर्जनाको प्रतिफल हेर्न निकै व्यग्र बनेका छन् । उनको आग्रह छ ‘माघ २३ देखि देशभर एकसाथ प्रदर्शनमा आउन थालेको चलचित्र रथ एकपटक सबैले हेरिदिनुहोला । नेपाली कलाकार चलचित्रलाई माया गरिदिनु होला ।’

By

Readers Comments (0)