Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

काका र फुचुङ्ग्री | माघ १७

31st January 2015   ·   0 Comments

फुचुंग्री : काकाले सुन्नु भो ? चारैतिर ग्याँसको हाहाकार मच्चिएको छ । सरकार केही गर्न नसकेर थच्चिएको छ । नगद नारायण तिरेर पनि ग्याँस नपाइने हाम्रो देश कति महान है ?

काका : के को सुन्ने नि ? आँखैले देख्यो, ज्यानैले भोग्यो नि फुच्ची । सरकारमा रहेका तेरा अंकलहरु दोहोरीमा व्यस्त छन् । अनि तिनीहरुको देशका जनतालाई यो भन्दा अरु सास्ती के हुन्छ त ?

फुचुंग्री : त्यै त भन्या काका । हाम्रा नेता महाशयहरुले संविधान जारी गर्लान् भनेको त एक्कासी दोहोरी गाउने र रेस्लिङ खेल्नेतिर पो लागे । दोहोरी गाउँदा गाउँदै माया पिरती लाम् पनि भन्न भ्याउँदा रै’छन् ए काका तिनीहरुले त ?

काका : “नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छो बाउको अनुहार” भनेजस्तै भा’छ फुच्ची तेरा नेता अङ्कलहरुलाई पनि । आफू पानीमाथिको ओभानो बन्नलाई कहिले रेस्लर बन्छन्, कहिले ठोकदोहोरी गायक गायिका, कहिले चाहिँ लोकदोहोरी गायक गायिका । संविधान नबने जनतामा नाङ्गिने डर पनि उस्तै । यस्तै हो फुच्ची, सयथरि बाजा सयतिर ताल !

फुचुंग्री : त्यै भएर त होला । फेरि हाम्रा सुशील दा चाहिँ प्रचण्ड अंकललाई फकाउन आफै प्रचण्ड निबास पुगेछन् । एमालेले पनि अलि लत्रेर वार्तामा आउन एमाओवादीलाई आग्रह गरेछ नि ?

काका : संविधान नदिएसम्म जनताले कसैलाई छोड्ने छैनन् क्यारे । नाचे पनि, हाँसे पनि, रेस्लिङ खेले पनि, फकाए पनि, फुलाए पनि जनतालाई संविधान चाहियो । त्यै भएर तेरा सुशील दाले तेरा प्रचण्ड अङ्कललाई फकाउन थालेका त होलान् नि । कि कसो ?

फुचुंग्री : अनि माघ १६ गते सहिद दिवस रै’छ काका । सहिद अङ्कलहरुले स्वर्गलोकमा बसेर आफू सहिद भएकोमा पछुतो मान्दै हाम्रा नेताहरुलाई धारे हात लगाएर बेस्सरी सरापेका होलान् नि काका ?

काका : उफ !!! के–के सोध्छे यो फुचुंग्री पनि ???!!!

By

Readers Comments (0)