Filed Under:  कविता

शहीद | बिकास मगर

31st January 2015   ·   0 Comments

प्रिय शहीद
उठेर निद्राको ऐंठनबाट
ठोक्दैछु सलाम तिम्रा लागि
फेरि एकपटक
तिम्रा सपनाहरु सम्झेर म
ईश्वर साक्षी राखी अमर प्रण लिदैछु

छातीमा गोली थाप्ने
साहसी आँट देखेर
सलाम ठोक्दैछु तिम्रा लागि
उज्यालोका निम्ति ताता गोली निलेर
प्रभातको रातो किरणमा
जब, अनुवाद भयौ
त्यसै दिन सम्मानरुपी
गरेको थिए– लालसलाम ।

तिमी व्यक्ति, समाज सँगसँगै
सम्पूर्ण राष्ट्रको समानताका लागि लड्यौ
तर,
आज हामी बिभेदमा गाँजिएका छौं
तिमीजस्ता हजार शहीदहरु
बिभाजन गरिदैछन् बिधा–बिधामा
एकतिर ठूला शहीद, अर्कोतिर साना शहीद
एकतिर महान शहीद, अर्कोतिर गुमनाम शहीद

प्रिय शहीद
हिजो पार्टी–पार्टीमा असमझदारी थियो
प्रत्येक दल–दलमा बेमेल थियो
तँपाई र म पाईको ठेलमठेल थियो
आज
पार्टी आफै असमझदारीको जुलुस बोकी रहेछ
शान्ति र संविधान भन्दै टायर बालिरहेछ
तिम्रा आदर्श–वाणीहरु
भुँइचालोमा झै डगमगाइरहेछन्
तर,
आशा छ तिम्रो बलिदानको सगरमाथा
डगमगाउने छैन कहिल्यै
तिम्रो साहसको अगाडि
हामी पानी–पानी हुनेछौं
बिदाइसाथ सलाम छ प्रिय शहीद ।
०००

By

Readers Comments (0)