Filed Under:  व्यक्ति, संस्मरण | निबन्ध

घनश्याम सर | माधव ढुंगेल

31st January 2015   ·   0 Comments

Madhav Dhungel-1घनश्याम सर वास्तवमा अप्ठ्यारो मान्छे । सुरु–सुरुमा मलाई एकदम अप्ठ्यारो लाग्ने । रिसाउनु होला कि भन्ने परिरहने तर कुरा सुन्न भने मजा लाग्ने फेरि । कहाँ व्यङ्ग्य हो कहाँ होइन, छुट्याउन सजिलो नहुने । उहाँको कुरा बुझ्न उहाँको जीवन जान्नुपर्ने । उहाँको अवस्था बुझेको र प्रसङ्ग बुझेको हुनुपर्ने । होइन भने अप्ठ्यारो । कुरा सुनेर बसिएको हुन्छ, कुन व्यङ्ग्य हो कुन सीधा कुरा । कहाँ हाँस्ने, कहाँ संवदेनशील हुने, छुट्याउनै गारो । सोझो कुरा नहुने भएकाले बुझ्नमा समस्या । अनि कहाँ सही थाप्ने, कहाँ विरोध गर्ने छुट्याउनै गारो । सुन्ने मान्छे वाल्ल पर्नुभन्दा अर्को उपाय नहुने । प्रसङ्ग बुझेको छ भने उहाँका कुरा असाध्यै घत पर्ने । संवादहरु कविताका टुक्राजस्ता । कथ्य भाषामा पनि व्यञ्जना हुने । बुझेको छैन भने उहाँ जटिल मान्छे ।

दशैंको बेला थियो । यस्तो बेलामा हरेकसँग थोरबहुत पैसा हुने । काम पनि मारामार नहुने । शारदीय दिन, न जाडो न गर्मी । एउटा कता–कताको रमाइलो । त्यसमा थपियो घनश्याम सरको संवाद । सुन्नेहरु टन्न थिए बोल्ने प्रायः उहाँ नै हो । अरुको काम हाँस्ने र उहाँलाई उकास्ने । उहाँ दशैं मान्न घर जानेहरुको विरोधमा हुनुहुन्थ्यो । क्रान्तिकारीहरुले दशैं मान्ने होइन, हिजो हामीले बहिस्कार गरेको हो । बिग्रिएकाहरुले, रुपान्तरण हुन नसकेकाहरुले दशैंमा घर जाने हो । हामी क्रान्तिकारीहरुले खसी काट्नु हुँदैन, मासु त झन खानै हुँदैन । सुधारवादी, संशोधनवादी भइन्छ दक्षिणपन्थी अवसरवादी । यस्तै–यस्तै उहाँ भन्दै हुनुहुन्थ्यो । मलाई प¥यो अप्ठ्यारो । क्रान्तिकारी त हो कि होइन तर कार्यकर्ता त म पनि हँु माओवादीको । घनश्याम सर जाने बुझेको मान्छे, संस्कृतिविद, सौन्दर्यशास्त्री । उहाँले मासु खाने होइन भन्दै हुनुहुन्छ । आफू दशैंमा मासु खाने मान्छे । फर्सी, घिरौला, सागपात खानुपर्छ भन्नुहुन्छ । एक हिसाबले त हो पनि जस्तो लाग्ने । अर्को हिसाबले सोच्दा आडम्बर जस्तो लाग्ने । अब सही थाप्ने कि विमति राख्ने केही नबुझेर म छक्क । काग त काग तर कुहिरामा अल्मलिएको लाटो काग । पछि केही अन्दाज काटें, बजार महँगो छ । सङ्गठनले खर्च दिन नसकेपछि डब्लुटी कार्यकर्ताले घर कसरी जानु ? मासु कसरी खानु ?

क्रमभङ्गको प्रधान सम्पादक । बेला–बेलामा भन्नुहुन्थ्यो, अन्तर्राष्ट्रिय गीत गाऊँ । बैठक भनेर बोलायो, मान्छे बेलामा नआइदिने । जिम्मेवार भनिएका मान्छे भेट्न पनि खै किन हो कुन्नि गारै हुने । लेख जुट्दैन, प्रेस मान्दैन, भेट्नैपर्ने मान्छे पनि फेला पर्दैन । कुरो एक दिनको भएन, जुन दिन पनि उस्तै छ । घरैमा लेखेर बसेको भए पनि सिंगो ग्रन्थ तयार हुने बेला भइसक्यो, ट्याम्पु चढ्दैमा दिन बित्छ । यता जा, उता जा । दौडधूप मात्रै छ सधैंभरि । फोन खर्च बढेको बढ्यै । ट्याम्पुले दिनदिनै पैसा माग्छ । हुँदैन कोही भन्दैन, काम अगाडि बढ्दै बढ्दैन । छ महिना भैसक्यो, सात महिना भैसक्यो । कति सहन्छ एउटा मान्छे ? पत्रिकाले मागेका लेखहरु दिन सकिएन, सिर्जना गर्ने समय सडकमा उफ्रिदैमा ठिक्क । बेलुका थाकेर घर पुग्यो, आजको दिन पनि त्यसै बित्यो । हैरान हैरान हैरान भएर दिक्क लाग्दो रहेछ मान्छेलाई । झोंक नउठी किन कोही अन्तर्राष्ट्रिय गीतको कुरा झिक्थ्यो । खै कुन चाहिं देशमा हो नेताहरु, पार्टी फुटाउने बेलामा जुरुक्क उठ्थे रे । सबै मिलेर हात उचालेर स्वाभिमानपूर्वक अन्तर्राष्ट्रिय गीत गाउँथे रे ।

कारण दुइटा हुन सक्छ । पेट सानो भएर पनि हुन सक्छ, माया लागेर पनि हुन सक्छ । खाजा मन नपरेर हुँदै होइन किनभने रोजेको खाजा मन नपर्ने कुरै हुँदैन । आमुन्ने सामुन्ने खान बस्यो, झिकेर अलिकति अर्कालाई थप्ने । भन्ने, ठिटाहरुले खानु पर्छ । यस्तो भनेको बेलामा उहाँ गम्भीर हुने । बोलेको कुरा भित्रदेखि बोलेको हो । अनुहारमा हे¥यो, आफ्नै बाबुको झल्को आउँछ । अभिभावक देखिन्छ अनुहारभरि । खायो, खाएको हेर्ने सन्तोष मानेर । आफूलाई भने गौरव लाग्ने– यस्तो मान्छेसँग मैले काम गरेको छु । माया गर्ने त अरु पनि छन्, तर उहाँको माया पाउँदा खै किन हो, गर्वले छाती ढक्क फुल्ने र जिम्मेवारीबोध हुने । इतिहास र अग्रजहरुप्रति सम्मान जाग्ने । केही मैले पनि गर्नैपर्छ भन्ने भावना भित्रैबाट उम्लिएर आउने । खै कस्तो, तर एउटा बेग्लै अपनत्व ।

युवाहरुप्रति अलि भरोसा गरे जस्तो । कताकति छोराछोरीहरु जस्तो ठान्ने । ख्याल गर्ने । उमेरले त्यस्तो बनाएको हो कि, थाहा छैन ।

गुरु भने पनि अभिभावक भने पनि, एउटा भरोसा हुन्छ नि कसैसँग, त्यस्तो लाग्ने उहाँको व्यक्तित्व । उहाँलाई भेट्दा एउटा आधार पाए जस्तो । तैपनि जीवित छँदा यत्ति धेरै अभाव महसुस भएको थिएन ।

आज उहाँ हुनुहुन्न, अहिले उहाँको मूल्यबोध भएको छ । अभाव राम्रैसँग खड्किएको छ । विचारका बारेमा, राजनीतिका बारेमा, साँच्चै दिलको सल्लाह को सँग गर्नु ? जेठोबाठो भनेर, अनुभवी भनेर कोसँग सोध्नु भित्री कुराहरु ? छन त अग्रजहरु अरु पनि छन् तर उडाउने खालका भए भने सोध्ने इच्छा हुँदो रहेनछ । गोपनीयता पनि केही हो रहेछ । उहाँमा त्यो थियो । उहाँले उडाउनुहुन्न भन्ने कत्रो भरोसा ! उहाँले त्यत्ति जानेन भनेर हेप्नुहुन्न भन्ने कत्रो विश्वास ! उहाँ साँच्चै अभिभावक हो भन्ने कत्रो अनुभूति ! एकातिरबाट उहाँ विशिष्ट व्यक्ति हुनु हो जस्तो लाग्ने, अर्कातिरबाट उहाँ विशिष्ट हुनु होइन जस्तो पनि लाग्ने । उहाँ वास्तवमा विशेष हुनु हो कि आफन्त हुनु हो, अहिले पनि मसँग जबाफ छैन । उहाँ साधारण हुनु हो कि असाधारण हुनु हो अहिले पनि म झुक्किरहेछु । कति अग्रजहरुमा त्यो उचाइबाट गर्ने आदर हुँदैन, जुन उचाइको आदर उहाँमाथि थियो, अहिले त्यो झन् बढी अनुभूत भइरहेछ ।

के लेख्नुपर्ने हो घनश्याम सरका बारेमा लेख्दा ? के कुरा मैले सार्वजनिक गर्नुपर्ने हो ? घनश्याम सर, यतिबेला म फेरि तपाईंलाई सम्झिरहेको छु । प्रसङ्गवश क्रमभङ्गकै अफिसमा मैले तर्क गर्दा भनेको थिएँ, अग्रजहरुलाई बचाउने नयाँ पुस्ताले हो । नयाँ पिंढीले अग्रजलाई कसरी लिन्छ, त्यही आधारमा ऊ बाँच्छ भनेको थिएँ । त्यतिबेला तपाईंले भनेको कुरा सम्झिरहेको छु­– माधवजी, मेरो बारेमा संस्मरण लेख्दा तपाईंले मलाई छुच्चो लेख्नुहोला हैन ? खै घनश्याम सर, अहिले किन हो किन मलाई त्यस्तो लेख्न मनै लागेको छैन । मैले त्यति बेला हो भनेको थिएँ तर अहिले बारम्बार त्यो हैन जस्तो लागिरहन्छ ।

म अहिले असाध्यै रुन्चे बच्चो भएको छु सर, म एकदम निरीह उल्लु भएको छु । मलाई थाहा छ, तपाईं अहिले कहीं पनि हुनुहुन्न, म तपाईंसँग बोल्न सक्तिनँ । तर मैले मोबाइलबाट नम्बर हटाएको छैन । किन–किन हटाउनलाई हातै जाँदैन । न तपाईंको फोन आउँछ कि जस्तो लाग्ने । न तपाईंलाई फोन गर्नुपर्छ कि जस्तो लागिरहने । म एकदम मूर्ख भएको छु सर । साना–साना तर्कनाहरु आइरहन्छन्– घनश्याम सर, तपाईं कहाँ हुनुहुन्छ ? म सानो मिटिङमा छु, आउन अलि ढिलो हुन्छ होला है ।

By

Readers Comments (0)