Filed Under:  मनोरञ्जन, व्यक्ति

अञ्जान साथी बनाउँदै प्रशान्त

24th January 2015   ·   0 Comments

prashant bc- के.एल. पीडित

उनका सयौं अञ्जान साथीहरु छन् । अनेक रुपरंङका, अनेक भूगोलका, अनेक उमेर समूहका, अनेक विचारधारा र मनोविज्ञान भएका औ अनेक कथा र चरित्र बोकेका । पृथ्वी गोलो भए पनि उनीहरुसँगको त्यो विशेष क्षण, त्यो सार्थक एवं यादगार भेट फेरि नहुन पनि सक्छ । अतः उनी ती दुर्लभ पलहरु क्यामेरामा कैद गरिहाल्छन् सधैंका लागि ।

उनी अर्थात् प्रशान्त बुढाथोकी प्रायः दिनहँ एल्बमका पानाउहरु पल्टाउँदै आफ्ना ती अञ्जान साथीहरुलाई पढ्छन् । ती फोटोहरु पढ्दै गर्दा उनलाई अनौठो भावधाराले तरंगित बनाउँछ । कहिले औधी रोमाञ्चित हुन्छन् उनी कहिले औधी भावुक । कसैको नामथर थाहा छैन उनलाई । फोटो खिच्दा उनी नामथरतिर पनि लाग्दैनन् । तर ती सबै मान्छेहरु उनका साथी हुन्, अञ्जान साथी ।

दाङ घोराहीका २५ वर्षीय तन्नेरी प्रशान्त एक विशिष्ट प्रतिभा हुन् । उनी कलाका एक गम्भीर साधक हुन्, सिर्जनाका निष्ठावान् पूजारी हुन् । कला र सिर्जनाप्रतिको उनमो गहिरो सम्मोहन छ । र हरपल उनी नूतन सिर्जनको खोजीमा हराइरहेका हुन्छन् । सिर्जनाका माध्यमबाट उनी जीवनलाई रचनात्मक र सार्थक बनाउन चाहन्छन् ।

प्रशान्तको रुचि क्षेत्र फोटोग्राफी हो । फोटोको माध्यमबाट समय, घटना, परिवेश, पात्र, चरित्र एवं मनोभावको कलात्मक तादाम्यता निर्माण गर्नु र प्रत्येक दृश्यमा गम्भीर अर्थ र सार्थक सन्देश प्रवाह गर्नु उनको ध्येय हो । उनी फोटोग्राफीलाई एक सिर्जना कार्यको रुपमा लिन्छन् । ‘फोटोग्राफी एक कला हो, सिर्जना हो,’ प्रशान्तले फोटोग्राफीको परिभाषा बताए, ‘मानिसको जीवनशैली, पद्धति र मनोभावलाई अर्थपूर्ण एवं कलात्मक रुपमा दृश्यांकन गर्नु पुनःसिर्जना हो ।’

उनको फोटोग्राफी मान्छे केन्द्रित छ । मान्छेलाई पछ्याउन उनलाई सर्वाधिक प्रीतिकर लाग्छ । मान्छेका बहुविविध भावभंगिमा, चरित्र र मनोभावलाई कलात्मकरुपमा दृश्याउनु उनको पहिलो ध्येय हो । दृश्याइएका फोटोहरुलाई उनी पटक–पटक सम्पादन गर्छन् र त्यसलाई निकै अर्थपूर्ण बनाउँछन् ।

prashant 1बुुबा ओमभक्त बुढाथोकी र आमा शान्ता बुढाथोकीको कोखमा जेष्ठ सन्तानका रुपमा जन्मेका प्रशान्त करिब ९ वर्षअघि पढाइको सिलसिलामा अष्ट्रेलिया हानिएका थिए । एकाउण्टेन बन्ने लक्ष्यले उनी पढाइमा होमिए, तीन वर्षमा एम फिल सकाए पनि । उतै करिब दुई महिना जति जागिरे पनि भए । तर उनलाई यो क्षेत्र औधी शुष्क औ कष्टकर लाग्यो ।

उनले एकाएक मोड परिवर्तन गरे ।

एउटा क्यामेरा किने र जागिर लत्याएर स्ट्रिम फोटोग्राफी (सडक फोटो पत्रकारिता) शुरु गरे । उनको सिर्जनायात्राको नयाँ औ सार्थक मोड यहींबाट शुरु भयो । पढाइको सिलसिलामा तीन वर्षका लागि अष्ट्रेलिया पुगेका प्रशान्तले त्यहाँ झण्डै नौ वर्ष बिताए । यसक्रममा उनले फोटोग्राफीमा डिग्रीको कोर्ष सकाए र नवीन कला र प्रविधिसम्बन्धी विशेष ज्ञान, सीप हासिल गरेर नेपाल फर्किए ।

अहिले उनी दाङमै सिर्जनारत छन् । फोटोग्राफीको साथसाथै व्यवसायमा पनि संलग्न छन् । उनका बुबा ओमभक्त दाङका प्रतिष्ठित व्यवसायी एवं समाजसेवी हुन् । उनी व्यवसायमा बुबालाई सघाउँदै आएका छन् ।

नेपाल फर्किनेबित्तिकै उनले दाङका संचारकर्मीहरुका लागि फोटोग्राफीसम्बन्धी विशेष कार्यशाला सञ्चालन गरेको थिए । त्यो दाङको फोटोग्राफीसम्बन्धी पहिलो कार्यशाला थियो । दाङको फोटो पत्रकारिता क्षेत्रको संस्थागत एवं विधागत विकासका लागि यस कार्यशालाले विशेष योगदान पु¥याएको महशुस गरिएको छ ।

दाङमा प्रशस्त प्रतिभा र सम्भावनाहरु हुँदा हुँदै पनि अपेक्षाकृत सिर्जनात्मक माहोल नहुँदा प्रशान्त चिन्तित छन् । अनुज पुस्तालाई सही मार्गनिर्देशन र सिर्जना कार्यमा अग्रसर बनाउन विशेष अभियान संचालन गर्ने उनको सोच छ । ‘म यहीं केही गर्न चाहन्छु । नयाँ पुस्ताका किशोर किशोरीहरुलाई सिर्जनातिर अभिप्रेरित गर्न साथीहरुसँग मिलेर अभियान चलाउन चाहन्छु ।’ प्रशान्त आफ्ना सोच र योजनाबारे बोले ।

समाजमा रचनात्मक एवं सिर्जनात्मक अभियानहरु नहुँदा युवा पुस्ता बरालिएर हिड्ने र विकृतितिर उन्मुख हुने अवस्था छ । यसलाई रोक्न अघिल्लो पुस्ता गम्भीर एवं जिम्मेवार हुनुपर्ने प्रशान्तको धारणा छ । संग्रहित फोटोहरुको प्रदर्शनी र पुस्तक प्रकाशन गर्ने प्रशान्तको सपना छ । यी फोटोहरुमार्फत् उनी समाजलाई रचनात्मक एवं कर्मशील बनाउन चाहन्छन् ।

चित्रकारिता पनि विशेष दख्खल छ उनको । यद्यपि फोटोग्राफी शुरु गरेदेखि उनले स्केच गर्न भने लगभग छाडेका छन् । पछिल्लो समय फिल्म निर्देशनतिर उनको झुकाव देखिन थालेको छ । उनले भर्खरै मात्र छोटो चलचित्र द बाइकर्सको निर्देशन गरेका छन् ।

हरेक सिर्जनाले नवीन एवं सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने धारणा राख्ने प्रशान्त एक उर्जाशील औ प्रतिभाशाली सिर्जनाकर्मी हुन् । हरेक पल उनी नवीनतम् सिर्जनामा लागिरहून्, शुभकामना ।

By

Readers Comments (0)