Filed Under:  काका र फुचुङ्ग्री | लल्लुराम

२०७१ माघ १० गते शनिबार

24th January 2015   ·   0 Comments

फुचुंग्री : माघ ८ अनि माघ ८ भन्दाभन्दै “हात्ती आयो हात्ती आयो फुस्सा” पो भएछ नि काका ? हाम्रा सभासद् अङ्कलहरुले संविधान त ल्याएनन् नै उल्टो लड्न पो थालेछन् नि ?

काका : हाम्रा नेता पनि उस्तै, सभासद्हरु पनि उस्तै । यतिका दिनसम्म लड्न र बिना टुङ्गोको बैठक बस्नमै दिन बिताए । बाचाकसम बिर्सेपछि यस्तै त हुन्छ नि फुच्ची ? लाज पचाउनलाई कुर्सी टेबुल पो भाँच्न थालेछन् ।

फुचुंग्री : त्यै त भन्या काका ? हुँदा–हुँदा त कुर्सी टेबुल पो भाँच्न थाल्नुभएछ हाम्रा सभासद् अङ्कलहरुले त । बिचरा ती निर्जीव कुर्सी टेबुलले के पो बिगारेका हुँदा हुन् र नि ?

काका : त्यै त भन्या फुच्ची । त्यस्ता कुर्सी र टेबुल त मै बूढाले नि भाँच्थे होला । मान्छे भाँच्या भए पो बहादुर ! कि कसो ?

फुचुंग्री : हाम्रो नेपालका मान्छेलाई नि के भा’को होला हँ काका ? पुलिसका पनि डीएसपी साप त घुस लिँदालिँदै पक्राउ परेछन् । पक्राउ गर्ने नै पक्राउ पर्न थालेपछि बिग्रिएन त खेलो ?

काका : लाज पचेपछि यस्तै हुन्छ फुच्ची । संविधान बनाउन गएकाले कुर्सी भाँच्छन्, अपराध रोक्ने बाचाकसम खाएर जागिर खाएकाहरु आफै घुस खान थाल्छन् । हुँदाहुँदा त चीनले दिएको नेपाली सेनाको हतियार अफ्रिकाका बिद्रोहीहरुसँग पो भेटियो रे । कुरा गर्यो कुरैको दुःख फुच्ची !

फुचुंग्री : हाम्रो यता संविधानसभाका खेलाडीहरु जति नालायक अरु कोही भएनन् । तर, क्रिकेटका खेलाडीहरुले पो हाम्रो नाक राख्दिने भएछन् । क्रिकेट खेलाडीको जीत सुनेरै भए पनि चित्त बुझाउने त भो नि काका अब ?

काका : उफ !!! के के सोध्छे यो फुचुंग्री पनि ???!!!

By

Readers Comments (0)