Filed Under:  संस्मरण | निबन्ध

स्मरणमा सिमाबासीका तस्बीर

24th January 2015   ·   0 Comments

ShibRaj Panthi- शिवराज पन्थी

पश्चिम नेपालका साहित्यकारहरुको बर्षौंदेखिको धोको, नेपालगञ्ज कोइलाबास चुरे पदयात्राको । भर्खरै सूर्यास्त भएको बेला एकाएक फोनको घण्टी बज्यो । मित्र कोपिलाले कुनै सम्बोधनबिना आवाको शैलीमा बोले, ‘सिमानाहरुको भ्रमण यसपालि साकार हुने भो, पर्सिका लागि तयार भएर बस्नू ।’ नेपथ्यमा अरु कोही बोलेजस्तै भान भयो, दाङ र नेपालगञ्जका ४५ काटेका कोपिलाहरुले सल्लाह मिलाएर खबर गरेपछि २०७१ कार्तिक २२ देखि चार दिने पदयात्रा तय भयो ।

कोठामा बसेर कलम घुमाउने साहित्यकर्मी लेखकहरु पनि चार/चार दिनको पदयात्रा गर्न सक्लान् ? मिथ्याको दुस्साहस सम्झे तर केही बोलिनँ । मेरो मुटुले पनि ढ्याङ्ग्रो ठोक्न थाल्यो । लगातार चार दिनको पैदलयात्रा कष्टपूर्ण सम्झें । अनि बूढा साहित्यकार निमबहादुर थापाको प्रश्न ‘म बूढो पनि तपाईंहरुसँग पैदल हिड्न सकुँला र ?’

पिठ्युँमा स्लिपिङ ब्याग, गुण्टा तथा झोलामा नुन, चामल र चिउरा बोकेर नाकाबासीको अवस्था बुझ्न साहित्यकर्मीको पदयात्रा शुरु भयो । मध्यपश्चिमाञ्चल गजल प्रतिष्ठान, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च, थारु भाषा तथा साहित्य संरक्षण मञ्च दाङ र सर्बदा साहित्य संगम बाँकेका पदाधिकारीसहितको प्रतिनिधिमुलक टोली कार्तिक २२ गते देउखुरीको गढवा आइपुग्यो । शितल होटलको गरम खाना, इलाका प्रहरी कार्यालय र गढवा गाविसको सिफारिस लिई हामी प्रस्थानबिन्दु कोइलाबासतर्फ लाग्यौं । इच्छा भएर पनि पदयात्रामा जान नसकेका साहित्यकर्मी मित्रहरु हरी पोख्रेल र हिमोढ पहाडीले बिदाइ गरेर प्रेरण दिए । लमही कोइलाबास सडकसँग भलाकुसारी गर्दै कक्रहवा, जमुनीबास, चिसापानी हुँदै उकालो चढ्यौं । यात्रामा अछामका झनक अधिकारी (बारुद) बाँकेका खगेन्द्र गिरी कोपिला, कैलालीका सागर कुस्मी, बर्दियाका जे.बी. अनुरागी, कमल रोका र हरिप्रकाश भण्डारी तथा दाङ देउखुरीका निमबहादुर थापा, छविलाल कोपिला, शिवराज पन्थी, गुरुप्रसाद कुमाल (बुलबुल) र आशिष बुढा ।

युद्धकालमा भुमिगत भएका जनसेनाजस्तै हाम्रो लस्कर देखेर स्थानीयहरु दंग पर्थे । उकालोमा स्वाँ स्वाँ गर्दै अघि बढ्दै गर्दा म बूढो मान्छे तपाईंहरुसँग हिड्न सकुँला ? भन्ने नागरिक अगुवा थापाजी त हामीभन्दा निकै तन्नेरी साबित हुनुभो– भेट्नै गाह्रो । चिसापानीको पानी अञ्जलीमा राखी पिउँदै देशका अहोधारीहरुले देख्न र छाम्न नसकेको भिन्दै भूगोलको मार्ग उक्लिएर डाँडामा बिश्राम ग¥यौं । हामीसँग छिन्नभिन्न भई भत्केको लमही कोइलाबास सडकले नेपथ्यबाट प्रश्न गरिरहेको थियो, ‘ए, लेखकहरु यो देशको सरकारले मलाई सेटलाइटबाट देखेको छ ? या प्रत्यक्ष ? तिमीहरु उसलाई सोध ।’

सडकले मात्र होइन हाम्रो शरीरबाट बगिरहेको पसिनाले समेत हामीसँग दुखेसो पोख्दै थिए, ती पसिनालाई झोलाका चिउराले पुछेर बोतलको पानीले थुतुनो भिजाउँदै एकै क्षण गजल, मुक्तक र कविता भट्याएर उनैलाई सुनायौं जसले हाम्रा मष्तिस्कहरुमा छिन्नभिन्न सडकका खाल्डा र जिङ्ग्रिङ परेका ढुंगाले पैतला र मुटुमा घोचिरहेका थिए । शून्य जंगलका रुख बृक्षहरु पनि कविता सुन्दै थिए । यात्राअघि बढ्दै जाँदा माथि टापुमा मुसीनाकाको एरो लगाइएको गोरेटो देखाउँदै ढुंगा गाडिएको थियो । त्यहाँ केही क्षण फोटो सेसनमा सुस्ताएर दक्षिणतर्फ नजर लगाउँदा भारत–नेपालको सिमाना जंगलको रंगले सहजै छुट्टिएको सन्देश दिन्थ्यो ।

केहीबेर ओरालो झरेपछि कोइलाबास–१ मुसीनाका झुल्कियो । थकान र प्यासले सबैका मुख ओभाएका थिए । पेटका आन्द्राहरु चाउरिएर बटारिदै थिए । यहीबीच ओरालो बाटोले जीउ नै थर्थर काँपिरहेको थियो । मुसीनाकास्थित पुनाराम घर्ती र कुमीसरा घर्तीको आँगनमा पाइला टेक्यौं र परिचय दर्शायौं । हामीलाई लागेको भोक, प्यास र थकानको पीडाले उनीहरुको अनुहारमा सजिलै स्पर्श गरेछ घर्ती बूढाबूढीले बडो स्नेहपूर्वक ‘यही बसौं, रुखो काक्रो जे छ त्यही खाउँला’ भने । दुई मिनेटमै छोरीलाई अह्राएर चिया टकारे ।

हामीले उहाँलाई आत्मीयता र मीठो चियाका लागि धन्यवाद दिदै त्यहाँबाट बिदाइ भई तल पठारतिर बास खोज्न गयौं । कोइलाबास–१ मुसीनाकामा नेपाल प्रहरीको एउटा चौकी रहेछ । नेपाल–भारत सिमाको २८ नं. पिलरबाट झण्डै १ किमि यतै माटोले पोतेको, खरले छाएको र चकमन्न अँध्यारोमा मोबाइलको बत्ती बालेर प्रहरी जवान भात पकाउँदै थिए । नेपाल–भारत सिमा क्षेत्रमा पनि सशस्त्र सिमा सुरक्षाबल थिएन । सिमाको रक्षा गर्ने त ती बीर नाकाबासी नै रहेछन् । लेखक पत्रकारको टीम यसरी कहिल्यै सिमा क्षेत्रमा आएकै थिएन भन्दै प्रहरी चौकी इन्चार्ज जगत शाहीले मनै बिछ्याएर हामीहरुलाई स्वागत गरे । नाकाबासीहरुसँग केहीबेर भलाकुसारी गर्दै त्यहाँका यथार्थ पीडा संकलन ग¥यौं । सायद यही हार्दिकताले हुन सक्छ हाम्रो टिमका गजलकार मित्र बुलबुलले भोलिपल्ट यसरी गजल भट्याए–

नाकामा भेटियो कोहीनूर तिमीले देखेनौ
सिसाझैं भयो चकनाचुर तिमीले देखेनौ
खांग्रा, सुनपत्री अनि भौवा देखिन्न आँखाले
टाढा भए सुस्ता र महेशपुर तर तिमीले देखेनौ

रातभर नाकाबासीको अवस्था बुझ्दा साहित्यकारहरु भावविह्वल देखिन्थे । उनीहरुको स्नेह र सौहाद्रता हाम्रा लागि कोहिनूर नै थियो । खांग्रा, सुनपत्री र भौवा नाका त अहोधारीहरुले देखेनन् नै सुस्ता र महेशपुरका बासिन्दाहरुको पीडा नै उनीहरुका लागि वास्तवमै टाढा भएको छ । बिहानीको झुल्के घामपछि प्रहरी चौकीमा कवि गोष्ठी सकेर गाउँका अगुवा कर्णबहादुर घर्ती र धनबिर रोकाले हामीलाई कोइलाबासतर्पm पठाए । डेढ घण्टाको पदयात्रापछि दशगजाको जंगलको गोरेटो हुँदै कोइलाबास पुग्यौं । हाम्रो उद्देश्य बुुझेपछि गाविस सचिव स्थानेश्वर न्यौपाने र सशस्त्र प्रहरी सिमा सुरक्षाबल कोइलाबासले हामीलाई स्वागत ग¥यो । सिमा प्रहरी चौकीका प्रसनि रामबहादुर शाहीले पीडा व्यक्त गर्दै ‘कोइलाबास आज रुवाबास’मा परिणत भएको संज्ञा दिनुुभयो । कुनै जमानामा पश्चिम नेपालका नाकाहरुमध्येकै चर्चित यो राप्तीद्वारको भन्सार अहिले हिउँदे खोलाको पानीजस्तै चक्रक्क सुकेको रहेछ । जीर्ण र खण्डहर बनेको कोइलाबासका नेपालीहरुको सपना उदास थियो६क्। त्यहाँका बासिन्दाले लेखकहरुले हाम्रो पीडा लेख्ने भए अब केही हुन्छ कि भन्ने भावना बोकेजस्तो मानिन्थ्यो । कोइलाबासको खण्डहर बजार, जीर्ण रामजानकी मन्दिर, उहिलेदेखि ठिङ्ग उभिएको दुुई देशको सिमानाको गेटले उन्मुक्तिको आभास व्यक्त गरेजस्तै लाग्थ्यो । पिउने पानीको अभावमा काकाकुलजस्तै बिरक्तिएका त्यहाँका बासिन्दाले मुख भिजाउने आशा बोकेका थिए तर हामीसँग कापीकलम, क्यामेरा, रेकर्डर र पीडा बुुझ्ने भावनाबाहेक अरु केही थिएन । पीडा त उसलाई मात्रै थाहा हुन्छ जसले ती नाका क्षेत्रहरुमा बसेर भोगिरहेका छन्, काठमाडौंका चिल्ला गाडी, घुम्ने कुर्सी र महलमा बसेर बिलासिताको जीवन व्यतीत गरेका राष्ट्रघाती नेताहरुलाई नाकाबासीको पीडा के थाहा ?

यात्रा लामो थियो, खबरीनाकातर्फ सिमानाको दशगजा जंगलमार्ग हुँदै लाग्यौं । त्यहाँ एकजना महिलाले नाका क्षेत्रमा लेखक पत्रकार पैदल यात्रा गर्दै आउँदैछन् भन्ने खबर रेडियोबाट सुनेकाले हाम्रो प्रतिक्षा गरिरहेको बताइन् । उनले भावुक भएर भनिन्, ‘हाम्रो दुःख सबै कुम्लो पारेर लगिदिनुस्.. सरकारलाई काठमाडौं पठाइदिनुहोला ।’ घरी नेपाल त घरी भारतको जंगल हुँदै सिमा क्षेत्र र पिलरहरु अध्ययन अवलोकन गर्दै हाम्रो टोली गुुरुङ नाका पुग्यो र दुुई टोली भएर बास बस्यो । नाकाका अगुवा धनबहादुर रोकाले हामीलाई सौहाद्रता र स्वागतसाथ खान बस्न दिनुभयो । बास बस्ने ठाउँमा हामीले नाकाबासीको अवस्था र उनीहरुको पीडा संकलन गर्दथ्यौं र त्यही गजल, मुक्तक, कविता बनाएर सुनाउँथ्यौं । भोलिपल्ट भालेको डाँकोसँगै गुरुङ नाकाबाट सुकौली, सिरिया हुँदै सिमा स्तम्भ अवलोकन गर्दै बेला–३ पटौलीनाका पुग्यौं । बीच–बीचमा हरेक नेपाली बस्ती नजिक बसेको भारतीय एसएसबीले हामीलाई सोधपुछ गर्दथ्यो । प्रत्येक व्यारेकमा इण्ट्री गराई नेपाल प्रहरीले दिएको सिफारिस देखाउँदै हामी अगाडि बढ्दै गर्दथ्यौं ।

भोकले पेट टेंटी परेको थियो । घाँटी भिज्ने ¥याल पनि सकिएजस्तै लाग्थ्यो । पटौली नाका पुुग्नासाथ मायामान रोका र उहाँको परिवारले हाम्रो जम्बो टिमलाई खाना बनाएर खान दिनुभयो । ४५ घरको बस्ती रहेको पटौलीमा पनि भारतीय एसएसबी रहेछ । खाना खाएर बरवा, बिसखबरी, कल्याणपुर हुँदै खांग्रा पुुग्ने योजनामा हामी अगाडि बढ्यौं । द्वन्द्वकालमा बिसखबरीका बासिन्दा बिस्थापित भएपछि हाल तीन घरमात्र बसोबास गरेका रहेछन् । पहिले पहिले फोहोरी नाका भनिने कल्याणपुरमा भने ४३ घर बसेका । सिमाबासीहरु न त नेपाली रेडियो, टेलिभिजन सुन्ने, हेर्ने सुविधा पाएका छन् न पत्रिका पढ्ने नै । टावर नभएका कारण नेपाली सिमकार्डहरु नै प्रयोग गर्नबाट वञ्चित उनीहरु राज्यबाटै हेपिएको महसुस गर्दै भारतीय सिम प्रयोग गरेका छन् । नेपालमै बसेर पनि भारतीय सिमबाट नेपालको कोर्ड नम्बर थिची अति महंगो चार्जमा आफन्तलाई फोन गर्न विवश रहेछन् उनीहरु ।

युद्धकालमा एक माओवादी कार्यकर्ता कल्याणको हत्या भएकाले फोहोरी नाकाको नाम हाल कल्याणपुर राखिएको रहेछ । त्यो आसपासमा हाम्रो टोली दुई समूहमा बिभाजन भई जंगलभित्रै हरायौं । कसैका हात खुट्टामा फोका उठेका थिए त कसैका तिघ्रा र साप्रामा कैंडा लागेर फाली पसेका तर पनि साहित्यकर्मीहरु जति दुःख अनुभूति गर्थे उति नै बढी गजल, कविता, मुक्तक लेखेर सुुनाउन पछि पर्दैनथे । एउटा बस्ती काटेपछि अर्को बस्ती नआउँदासम्म नेपाल–भारतको दशगजामा निर्मित घना जंगलको गोरेंटो हिड्नुुपर्ने । कारणबस साँझसम्म अर्को बस्ती भेटिएन भने जंगलमै हराएर बेहाल हुने त्रासले लठ्ठीको सहारामा चाउचाउ, चिउरा चपाउँदै बाटो काट्न तल्लीन हुन्थ्यौं । निमबहादुर थापासँग रहेको अघिल्लो टोलीमा रहेका हामी साँझ नपर्दै राजपुरको खांग्रा नाकामा पुुग्यौं । बाँकेका खगेन्द्र गिरि, जेबि अनुुरागीलगायतको टोली पछाडिबाट झमक्कै भएपछि झुुल्कियो । ५७ घरधुरी रहेको यस नाकामा बाक्लो बस्ती र नेपाल प्रहरीको चौकी रहेछ । साँझ नै प्रहरीलाई जानकारी गराई हामी बाँडिएर बस्यौं । एउटा टोली धनबहादुुर बुुढाको घरमा त अर्को टोली चौकीनजिकै रहेको रामश्वर बुुढाको घरमा । मन, वचन र कर्मले नाकाबासीले हामीलाई हार्दिकता व्यक्त गरे । कोइलाबासको मुसीनाकादेखि घङराल, कोइलाबास, सिसौरा, खबरीनाका, गुरुङनाका, सुकौली, सिरिया, पटौली, बरवा, विसखबरी, कल्याणपुुर र खांग्रा गरी ४ गाविसका १४ नाकाका नेपाली बासिन्दाहरुसँग भलाकुसारी गर्दै दुःख, पीडा र अनुुभव लिदै सिमा क्षेत्रका पिलर र दशगजाको अवस्था अध्ययन गर्दै खांग्रा पुुग्दासम्म उनीहरुको वास्तविकता नियाल्दा भावविह्वल भयो टोली । दैनिक उपभोग्य चिज सबै भारतमै पुुगेर ल्याउन उनीहरु विवश छन् । बिरामी पर्दा उपचारका लागि कोइलाबासबाहेक कुनै नाकामा स्वास्थ्य चौकी छैनन् । न त माध्यमिक विद्यालयहरु नै छन् । नेपाली रुपैयाँ चल्दैन त्यहाँ सबै चिजको मूल्य भारुमा नै लेखिएको हुँदो रहेछ । जिल्लाको अड्डा अदालतमा जाँदा भारतीय मार्ग हुँदै १ सय ७५ किमि दुुरी पार गरेर घोराही जानुुपर्ने बाध्यता । कयौं चेलीबेटीहरुको भारततिरै बिहे भएको, लोग्ने मान्छे बिरलै देख्न पाइने, सबै कमाउन भारत र तेस्रो मुलुकतिर गएका । नेपाली बसेका प्रत्येक नाकाहरुमा भारत सरकारले सिमा सुुरक्षा बल एसएसबी राखेको छ तर नेपाल सरकारले चौकी पनि सबै ठाउँमा राख्न सकेको छैन । सिमानामा बसी सिमा सुुरक्षा गर्नुुपर्ने सशस्त्र प्रहरीको सिमा सुुरक्षा बल ३३÷३४ किमि यतै पूर्वपश्चिमको भालुुबाङ र लमहीमा राखिएको छ । नेपाल भारत सिमानाको जंगलमा दशगजाबाट बाटो छ तर दशगजा क्षेत्रभन्दा १ किमि माथि चुुरे पहाडको फेंदी माथिपट्टि सिमा स्तम्भ र पिलरहरु छन् । पिलरहरु देख्दा नाकाका बासिन्दा भारतीय भूमिमा बसेका छन् भन्ने सहजै बुझिन्छ । कयौं पिलरहरु भत्किएर जीर्ण छन् ।

२०४० सालमा राजा विरेन्द्रले नाकामा बस्ती बसालेको र आफूहरु त्यही बेलादेखि बसोबास गरेको नाकाबासी बताउँछन् । नेपाली भूमिको सिमाना मिचिनुु र सिमानामा चेलीहरु लुुटिनुुप्रति नेपाल सरकारलाई कत्ति पनि वास्ता छैन । चिन्ता छ त बरु सिमाबासीहरुलाई नै । बरु उनीहरु स्वयं भारतसँग मुुकाबिला गरेर बसेका रहेछन् । वास्तवमा नेपाल सरकार होइन नाकाबासी नेपाली जनता नै सिमा क्षेत्रका रक्षक बनेर बसेका छन् । नेपाल सरकार र शहरका बासिन्दाभन्दा ती नाकाबासी गाउँ र गाउँलेहरु कति इमान्दार, नैतिकवान र सिमा सुुरक्षाप्रति जिम्मेवार । यो देशको सरकारले देख्न र छाम्न नसकेको यौटा भिन्दै भूगोल पो रहेछ नाका क्षेत्र र त्यहाँका नेपालीको अवस्था त ।

राजपुुर गाविसका खांग्रा नाकाबासी गाविस कार्यालयमा पुुग्न ८ घण्टा पैदल हिड्नु पर्दोरहेछ । यात्राको समीक्षा अनुभूतिसँगै कवि गोष्ठी राखेर हामी यात्रालाई विश्राम गर्नेतर्फ सोच्यौं । नाकाबासीका पीडासँगै माया र सहानुभूतिको रसपान गर्न पाउँदा सरकारको उदासीनताप्रति बर्दियाली कवि हरिप्रसाद भण्डारीले नाकाबासीलाई यसरी बिदा गरे–

कहाँ सोचिएको थियो र देश पाइएला सिमानामा
सोचिएको थियो अभाव देखेर मन दुखाइएला सिमानामा
सिमाबासीले मनै बिछ्याएर स्वागत गरे
माया खुवाएर अघाइदिए
म चामल बोकेर गएथें सोचेर भोकाइएला सिमानामा
भोक भेट्ने पानी, तिर्खा मेट्ने शिक्षा
अभाव जाने बाटो छैन
मुटुमा राखेर देश, कसरी जिन्दगी बिताइएला सिमानामा
तिमी कहिलेसम्म बस्छौ पत्थर कुदेंर यो स्वार्थी शहरमा
जाउ एकचोटी खोज्दै मनका देवता भेटाइएला सिमानामा ।

घुमाउरो खोलाको कुइनेटो छिचोल्दै दुइखोलीको संगम चप्रिया खोलामा नाका अवलोकनमा आएका लेखक साहित्यकारको खबर रेडियो पत्रिकाबाट थाहा पाएर स्वागत गर्न शहरबाट गाउँ फर्किदै गरेका युवाहरुको ठूलो समूह खांग्रातर्फ फर्किदै थियो । बीचमै बसेर उनीहरुसँग केही क्षण भलाकुसारी गरी बिदा भएर उकालो चढ्यौं । टापुबाट देउखुरी फाँट नियाल्दै कौरिया खोलाको बस्तीमा खाना खाने भनी एउटा टोली जोहो गर्न अगाडि बढे पनि अनुकूल नपरेपछि भोकले टेटी परेको पेट बोकेर राजपुरको जंग्रहवा पुगी ट्याक्टरको ट्रालीमा बसेर पदयात्रीको टोली डुंगाबाट राप्ती नदी पार गर्दै पूर्वपश्चिम राजमार्गको रिहार पुगी आ–आफ्नै गन्तव्यतिर लाग्नुअघि २०७१ कै फागुनको दोस्रो हप्ता खांग्रादेखि बाँकेसम्मका नाकाहरु अवलोकन गर्ने योजना तय भयो । सिमा अवलोकन र पदयात्रापछि नेपालगञ्जमा पत्रकार सम्मेलन गरी राज्यको ध्यान केन्द्रीत गराउने योजना बनाउँदै स्मरणको ऐनामा १४ नाकाको पहिलो तस्बीर खिचेर पदयात्रा स्थगन ग¥यौं ।

देशका चर्चित साहित्यकार, लेखक र पत्रकारहरु विरलै घुम्छन् यस्ता ठाउँहरु अनि सत्ताधारीका नजर शून्य हुन्छन् यस्ता भूगोल देख्न । जहाँ गोर्खाली बहादुरहरु आफै बर्दीबिनाका प्रहरी बनेर सिमा सुरक्षा गरी रहेको वास्तविकता भेटिन्छ ।

By

Readers Comments (0)