Filed Under:  समीक्षा

संगीन समयले उठाएका छालहरु

24th January 2015   ·   0 Comments

Khageswar Bhandari1- खगेश्वर भण्डारी

बिद्रोहीको साहस गोली नबनोस्
कसैको नि रगत होली नबनोस्
(पृष्ठ नं. ४६)

समयको मागलाई पहिचान गर्न नसक्ने पाखण्डी नेताजीहरुमाथि खबरदारी गर्ने माथिका पंक्तिहरु उदीयमान गजलकार महेन्द्रबाबु बस्नेतको ‘संगीन समय’ गजल संग्रहबाट लिइएको हो । रगतै रगतले भिजेको नेपाली माटोका सन्ततिहरुको मौलिक चाहना हुन् । यहाँ राजनैतिक अन्योलता र राजनैतिक बेइमानीले गर्दा फेरि पनि बिद्रोह गर्ने स्थिति नआओस् र रगतको होली खेल्न नपरोस् भन्ने भाव माथि उल्लिखित गजलका पंक्तिहरुले व्यक्त गरेका छन् ।

पटक–पटक रगत बगाउनुपर्दाको दर्दनाक पीडा नेपाली जनताले भोगिसकेका छन् । त्यो रगत खेर नजाओस् र बिद्रोहीले हतियार उठाउन नपरोस् भन्ने सारगर्वित गजल संग्रह ‘संगीन समय’ गजलकार बस्नेतको दोस्रो गजल संग्रह हो ।

Sangeen samaya७९ पृष्ठमा फैलिएको यस गजल संग्रहमा ७४ वटा गजलहरु संग्रहित छन् । यसमा संग्रह गरिएका गजलहरुले समग्रमा देशको राष्ट्रिय स्वाभिमान गिर्न लागेको र नेपाली जनताले कहिल्यै पनि सुख, समृद्धि र शान्ति नपाएका कथा व्यथाहरु पोखिएका छन् ।

नेपाल राजनैतिक अपराधीहरुको हातमा परेको छ । सामाजिक विकृति, विसंगति र राजनैतिक बेइमानीले गर्दा देश नै थिलोथिलो भएको छ । नेपाली जनता खुसी हुनुपर्ने स्थिति छैन । गर्वले छाती फुलाउने हो भने अपराधीहरुलाई कार्बाही गर्न सक्नुपर्छ । छाती फुलाउन र गर्व गर्नका लागि विशिष्ट कार्य त गर्नैपर्छ । कुनै काम नै नगरी छाती फुलाउन, हाँस्यास्पद हो भन्दै गजलकार बस्नेतले पृष्ठ ३९ मा आफ्ना गजलका हरफहरु यसरी व्यक्त गर्छन्–

हत्यारालाई हत्कडी नै लगाएर छाती ठोक
दण्डहीनता देशबाट भगाएर छाती ठोक ।

पौरख गर्नेहरुका लागि संसार खुल्ला छ । प्रगति गर्नेलाई यहाँ प्रशस्त सम्भावना छन् । प्रशस्तै सम्भावना बोकेका देशमा पनि किन उन्नति भएको छैन । यस सन्दर्भमा गजलकार अत्यन्त सजग छन् र सबैलाई एकपटक प्रयास गर्न जोडदार आह्वान गर्छन् उनी–

उज्यालो छ संसार पाइला चालेर त हेर
आशा बोकी मनको दियो बालेर त हेर
(पृष्ठ नं. २०)

नेपालको स्वाभिमान र राष्ट्रियता सिमानाको कारणले मात्र मिचिएको छैन । साँस्कृतिक रुपमा पनि हाम्रो स्वाभिमानमा धक्का लागेको छ । आँच आएको छ । परसंस्कृतिको अन्धानुकरणले नेपाली संस्कृति छिया–छिया भएको छ । आधुनिकताको नाममा नेपालजस्तो गरिब मुलुकका गरिब युवायुवतीले एकातिर लगाउने कपडा र चप्पल नपाएर नाङ्गै खुट्टा हिडिरहनु परेको छ भने अर्कोतिर कपडा लगाएर जिउ नढाकिने पहिरनप्रतिको मोह जागेको छ । यस्तो बिडम्बनापूर्ण स्थितिलाई गजलकार गजलमा यसरी शब्दहरु भर्छन्–

तुषारोमा खाली खुट्टा हिड्न विवश छन् यहाँ
पहिरन लगाई नछोपेको अङ्गकै चर्चा चल्छ
(पृष्ठ नं. ४७)

सल्यान जिल्लाको थारमारेमा २०४९ सालमा जन्मेका गजलकार महेन्द्रबाबु बस्नेत पछिल्लो समयमा नेपाली साहित्यमा देखापरेका युवा प्रतिभा हुन् । ‘उनैका लागि’ गजल संग्रह प्रकाशित गरेर गजल लेखनको क्षेत्रमा आफूलाई उपस्थित गराएका गजलकार बस्नेत यसपटक ‘संगीन समय’ गजल संग्रह प्रकाशित गरेका छन् । सरल शब्दमा ठाडो भाषा शब्दले ठ्याङ्क ठोक्ने गजलकारको यस कृतिमा संग्रहित गजलहरुले नेपाली समाजको यथार्थ धरातल बोल्छन् ।

नेपालको वास्तविक अवस्थालाई मध्यनजर गरेर कोरिएका गजलहरुले राष्ट्रको निकास खोजिरहेका छन् । माया प्रेमभन्दा पनि देशप्रेमका भावनाहरु यस गजल संग्रहमा तुलनात्मक रुपले बढी देखिन्छ । गजलकारलाई देशप्रेमले आकुल व्याकुल बनाएको हुनाले देश बिगार्ने र समाज भाँड्ने भडुँवाहरुप्रति बिद्रोह गर्ने इच्छा छ । उनका गजलमा भावका दृष्टिले देशभक्तिपूर्ण आवाज गुञ्जिएको छ । देशको कथा व्यथा बोलेका छन् । कतै कतै गजलकारका आफ्नै अनुभूति र सोचाइहरु पनि आएका छन् गजलहरुमा ।

सामान्य रुपमा हेर्दा गजलको स्वरुप देखिए पनि शास्त्रीयताका दृष्टिकोणले गजलमा हुने सम्पूर्ण तत्वहरु कृतिमा आएका छैनन् । गजलको पूर्णतः शास्त्रीय नियमप्रति गजलकारले कतै बिद्रोह गर्न पुगेका छन् । भाव पक्षले गर्दा गजलहरु पठनीय छन् ।

विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको यो गजल संग्रहले समाज बिकास र राष्ट्र प्रगतिको आशा गर्दछ । नयाँ पुस्तामा देखा परेका राजनैतिक, सामाजिक वितृष्णाको पर्दाफास यस गजलमा देखिन्छ । नयाँ पुस्ताको आवाज बुलन्द गरिएको यो गजल संग्रह पठनीय र संग्रहनीय छ ।

By

Readers Comments (0)